Khadya Bibhag

कृषि बजारको अभाव (सम्पादकीय)

बिचौलियाका कारण त्यहाँका व्यपारीले नेपाली तरकारीभन्दा सस्तोमा भारतको तरकारी पाइरहेका हुन्छन् त्यही भएर नेपालका किसानले आफ्नो वस्तु बेच्न पाएका हुँदैनन् ।

माघ २० गते चितवनका किसानले उत्पादन गरेको तरकारी बिक्रि नभएको भन्दै त्यसको विरुद्धमा सडकमा फ्यालेर विरोध जनाएको छ । त्यसको ठिक चार दिनपछि झापाका किसानले उचित मूल्य नपाएको भन्दै बिर्तामोडको मुक्तिचौकमा अण्डा र कुखुरा फ्यालेर विरोध गरेको छ ।

यो सांकेतिक विरोधको दुईटा उदाहरण मात्र हुन् । यसरी आज मात्र किसानले सडकमा कृषिजन्य वस्तु फ्यालेर विरोध जनाएको होइन । २०७५ मा धादिङमा र २०७६ चितवन मा तरकारी बिक्रि नहुँदा किसानले ट्याक्टरले खेतमै जोतेर सरकारको विरोध गरेका थिए । २०७६ मै केरा बिक्रि नहुँदा कैलालीका किसानले नदीमा बगाएर सरकारको विरोध गरेका थिए । यसरी आफ्नो मागप्रति सरकारको ध्यानाकर्षित गराउन किसानले दूध, हरियो तरकारी, फुलफूल, अण्डा, कुखुरालगायत अन्य कृषिजन्य वस्तु सडकमा फ्याल्दै आएका छन् तर सरकार त्यसप्रति ध्यान दिएको छैन ।

चितवनमा तरकारी फ्यालेर विरोध गर्दा प्रधानमन्त्री प्रचण्डले तुरुन्त त्यसप्रति सुनुवाई गर्दै संयोगले त्यो दिन चितवनमै रहनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला साहलाई फोन गरेर घटना के हो, त्यसको सत्य तथ्य बुझि समाधानका लागि पहल गरेर त्यसको जानकारी आफूलाई पनि गराउन निर्देशन दिनुभएको थियो ।

कृषि मन्त्री ज्वाला साह पनि तत्कालै त्यहाँका सरोकारबालाहरुसँग छलफल गर्नुभयो । किसानसँग भेट्नु भयो, सरकारी निकायका पदाधिकारीसँग समेत छलफल गर्नुभयो । तर हालसम्म त्यहाँका किसानले राहतको अनुभुती गर्न पाएको छैन । कुनै पनि किसानको उत्पादन खेर नजाने गरी कृषि मन्त्रालयले पहल गर्ने भनेर काठमाडौँ फर्किनु भएका मन्त्री साहले त्यसको बारेमा खसै काम गर्नुभएको छ ।

कृषि मन्त्रालय अर्थात सरकारले आत्मनिर्भरको नाममा उत्पादनमा जति जोड दिएको छ त्यति जोड उत्पादन भएको वस्तु बिक्रिमा दिएको देखिएको छैन । किसानले उत्पादन गरेको कृषिजन्य वस्तु बजारसम्म जान सक्दैन । बजारमा गएपनि त्यहाँ आफ्नो समान बिक्रि गर्न पाउँदैन ।

बिचौलियाहरुले चलखेल गरेको कारण किसानले कृषिजन्य वस्तु नबेचिकन फर्किनु पर्ने अवस्थाको सृजना गरिदिएको छ तर त्यही विदेशबाट आएका तरकारी, फलफूल, माछा, मासु, अण्डालगायतका कृषिजन्य वस्तु बिक्रि वितरण भइरहेका हुन्छन् । कालिमाटी, बल्खुलगायत विभिन्न तरकारी बजारमा भारतलगायत विभिन्न ठाउँबाट आएका ट्रकबाट तरकारी झारिरहेका हुन्छन् तर नेपाली किसानको तरकारीको गाडी भित्र पनि छिर्न पाइरहेका हुँदैन ।

बिचौलियाका कारण त्यहाँका व्यपारीले नेपाली तरकारीभन्दा सस्तोमा भारतको तरकारी पाइरहेका हुन्छन् त्यही भएर नेपालका किसानले आफ्नो वस्तु बेच्न पाएका हुँदैनन् । बिक्रि नभएपछि फर्काएर लगेका हुन्छन् । किसानले आफ्नो समान बेच्ने बजार पाएको छैन । राजमार्ग साइड तथा यातायात सुविधा भएको ठाउँबाट तरकारी जसोतसो बजार पुगेका हुन्छन् तर ग्रामिण क्षेत्रमा उत्पादन भएका तरकारीहरु बजारसम्म पुग्न सकेका हुँदैन । त्यसपछि सडकमा फ्याल्नुबाहेक अन्य उपाय किसानसँग हुँदैन ।

आयातमा वृद्धि भएको भन्दै सरकारले उत्पादनमा लगानी लगाई रहेको छ तर किसानले उत्पादन गरेको वस्तु बजारसम्म जान्छ कि जाँदैन, किसानले उत्पादन गरेको उपज बेच्न पाइरहेको छ कि छैन त्यतातिर ध्यान दिएको छैन ।

किसानले उत्पादन गरेको वस्तु बजारसम्म लानका लागि बाटो छैन । यतायातको सुविधा छैन । बजार नपाएर किसानले उत्पादन गरेको बस्तु खेतबारीमा कुहिएको पाइन्छ । उत्पादन भएको बस्तु बजारसम्म नपुग्दा आयातमा जोड दिएको हो । किसानको खेतबाट ल्याउनुभन्दा विदेशबाट समान ल्याउन व्यपारीलाई सजिलो भएको छ । त्यहीं भएर किसानले उत्पादन गरेको वस्तुभन्दा आयातमा जोड दिएका हुन्छन् । त्यसले गर्दा आयात वृद्धि भएको हिसाब देखाउँछन् ।

उत्पादनको हिसाब गर्ने हो भने नेपालीलाई पुग्नेगरि उत्पादन भइरहेको छ । तर त्यति नै मात्रामा आयात पनि भएको देखाइएको छ आखिर उत्पादन भएको वस्तु जान्छ कहाँ ? सरकारले यसलाई पनि खोज्नुपर्ने देखिन्छ । नेपालमा उत्पादनको कमी छैन, कमी छ त व्यवस्थापनको । नेपालमै उत्पादन भएको वस्तुलाई व्यवस्थित गर्न सकियो भने आयातमा भरपर्नु पर्दैन । तर सरकारले उत्पादनमा मात्र जोड दिएको छ, बजारमा कुनै ध्यान दिएको छैन ।

तपाईको प्रतिक्रिया