माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा चयन भएपछि देशमा अस्वभाविक रुपमा अन्तराष्ट्रिय गतिविधि बढेको छ । सर्वभौम देशमा यसरी विदेशीहरुको चलखेल हुनु भएको राम्रो संकेत होइन । अहिले भारत, चीन, अमेरिकाले नेपालमा आफ्नो गतिविधि तीब्र पारेको छ । नेपालमाथि आआफ्नो बर्चस्व कायम राख्नका लागि ती देशहरुको बीचमा प्रतिस्पर्धा देखिएको छ ।
भारत र चीन नेपालको छिमेकी देश भएको हुनाले ती देशका प्रतिनिधि आउनु जानुलाई समान्य रुपमा लिनसकिन्छ तर पछिल्लो समय अमेरिकाले जसरी नेपाललाई आफ्नो प्राथमिकतामा राखेको छ त्यसले नेपालको लागि नराम्रो संकेत हो । खुल्ला सीमाका कारण भारत नेपालमा आउनु जानु समान्य कुरा हो । त्यसलाई त्यति असजिलो लिन सकिदैन । भारत र नेपालबीच कुटनीतिक सम्बन्ध मात्र होइन, जनता–जनताको बीचमा पारिवारिक सम्बन्ध, साँस्कृतिक सम्बन्ध अर्थात नेपाल–भारतबीच बेटी रोटीको सम्बन्ध रहेको छ । विश्वका अन्य देशको सम्बन्धभन्दा नेपाल र भारतको सम्बन्ध फरक छ ।
नेपाल–भारतबीच लुम्बनी–गयाको सम्बन्ध छ । नेपाल–भारतबीच अयोध्या–जनकपुरको सम्बन्ध छ । नेपाल–भारतबीच पशुपति–बाबाधामको सम्बन्ध छ । अर्थात नेपाल–भारतबीचको सम्बन्ध विशेष प्रकारको सम्बन्ध रहेको छ । सोही सम्बन्ध अनुसार पनि दुवै एक अर्काको देश आउ जाउ गरेका हुन्छन् । नेपाल र नेपाली जनताले त्यतिसम्म पचाउन सक्छ तर चीन र अमेरिकासँग कुटनीतिक सम्बन्धबाहेक अरु केही छैन ।
तर जुन स्वार्थका कारण अमेरिका र चीन नेपालमाथि दृष्टि जमाएर बसेका छन् । त्यसले आउने दिनका लागि राम्रो संकेत गरेको छैन । अमेरिका र भारतसँग चीनको राम्रो सम्बन्ध छैन । नेपालमा भारतको जुनखालको पक्कड छ, त्यो पक्कडका कारण चीन झस्केको छ । र, भारतलाई काउन्टर दिनका लागि चीन नेपालमा आफ्नो पक्कड बनाउने प्रयासमा लागेको छ । नेपालसँग चीनको कुनै मतलब छैन । मतलब छ भने भारतसँग मात्र । नेपालको बाटो हुँदै बोर्डरमा गएर आफ्नो विरुद्ध कुनै हरकत नहोस् भनेर भारतलाई रोक्न चीन नेपालमा सक्रिय भएको हो । आफ्नो उपस्थिति देखाउनका लागि चीनले विभिन्न नाममा नेपालमा गतिविधि गरिरहेको छ ।
तर जसरी नेपालमा चीनको गतिविधि बढ्यो त्यसरी नै अमेरिका पनि इन्ट्री गरेको छ । पहिला अमेरिकाले नेपाललाई भारतको नजरले हेथ्र्यो तर जब नेपालमा चीनले आफ्नो गतिविधि बढायो अनि अमेरिकाले पनि आफ्नो उपस्थिति देखाउन थाल्यो । पछिल्लो समय अमेरिकाबाट उच्च तहका प्रतिनिधिहरु नेपाल भ्रमणमा आएर फर्केका छन् त्यसले नेपालको कुटनीतिमा मात्र होइन, सामरिक विषयमा पनि सोच्न बाध्य बनाएको छ । अमेरिकाका जासुसी संस्थाको प्रमुख विलियम जोसेफ बन्र्स पनि नेपाल आउन लागेका थिए । उनको सबै तयारी पुरा भएको थियो । तर अन्तिम समयमा उनको भ्रमण रद्द भएको हो ।
प्रधानमन्त्री प्रचण्डले नै त्यो भ्रमण रद्द भएको हो । पछिल्लो समय भारत, चीन र अमेरिकाबाट अनावश्यक उच्च स्तरीय भ्रमण नेपालमा हुन थालेपछि त्यसको आलोचना पनि सुरु भएको छ । अनावश्यक अन्तराष्ट्रिय गतिविधिहरु बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्ड स्वयंले त्यो भ्रमण रोक्न लगाउनुभयो । प्रधानमन्त्री प्रचण्डको यो कदमले चौतर्फी प्रशंसा भइरहेको छ । प्रधानमन्त्री प्रचण्डको यो कदमले अमेरिका खुश देखिएको छैन तर नेपाली जनता खुशी छ । प्रधानमन्त्रीले आफ्नो देशको हितका लागि यस्तो कदम भारत, चीनलगायत अन्य देशका लागि पनि चाल्नुपर्छ ।
त्यसले देशको सार्वभौमिकतालाई झन बलियो बनाउँछ । विश्वमा देशको गौरव र पहिचान बनाउँछ । नेपाल सानो देश भएपनि कसैको गुलाम बनेन । नेपाल स्वतन्त्र राज्य हो । यसलाई कायम राख्नका लागि सरकारीस्तरबाट नै कदम चाल्नुपर्छ । नेपालको राजनीतिक संक्रमण अवस्थामा छ ।
कतिबेला के हुन्छ थाह छैन । जे जति राजनीतिक घटना भइरहेका छन् ती सबै आफ्नै घरमा सिमित रहनुपर्छ । घरेलु झगडाकै रुपमा रहनुपर्छ । झगडा घरमै मिलाउनुपर्छ । त्यसमा अरु कुनै बहरियालाई मध्यस्थता गर्न दिनुहुँदैन । विदेशीले अनावश्यक चासो लिन थाले र नेपालले स्पेश पनि दिन थाल्यो भने त्यसले अर्को रुपमा पनि लिनसक्छ । त्यसैले विदेशी चलखेलप्रति सरकार सचेत रहनुपर्छ ।
तपाईको प्रतिक्रिया