ओलीको चालमा प्रचण्डको चतुराइ

–धर्मेन्द्र कर्ण
नेपालको समग्र राजनीतिमा खेलाडी पार्टीहरु पुरानै छन् । सानो ठूलो पार्टीको कुरो राजनीतिमा हुने रहेन छ, यदि त्यसो भएको भए नेपाली कांग्रेसको दुई तिहाईको बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकार राजाबाट अपदस्थ हुने थिएन् । संवैधानिक राजतन्त्रको पुनर्बहालीपछि पहिलो जननिर्वाचित नेपाली कांग्रेसका नेता गिरिजा प्रसादकोइरालाको एकमना सरकार आफै ढल्ने थिएन् ।

पहिलो संविधान सभामा सबै भन्दा ठूलो राजनीतिक दलको रूपमा उदाएको नेकपा माओवादी टुक्रिँदै अहिले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको रूपमा खुम्चिनु पर्ने थिएन । यी सबै हाम्रै नेपालमा भएको हो । त्यसैले कुन दल ठूलो, कुन दल सानो, यो दलसँग यति सांसद, त्यो दलसँग त्यति सांसद भने कुरा ठूलो होइन ।

यहाँ कसले कति चतुराइ, कसले कति बार्गेनिङ र झालझेल गर्न सक्छन् त्यो नै शक्तिशाली दलको रुपमा आउन सक्छन् भन्ने सन्देश नेपालको राजनीतिले दिइसकेको छ । नत्र यसअघि एमाले सबभन्दा ठूलो दल हुँदाहुँदै काँग्रेसको नेतृत्वमा सरकार बन्ने थिएन । अहिले काँग्रेस सबभन्दा ठूलो दल हुँदाहुँदै माओवादी तेस्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने थिएन । त्यसैले नेपालको राजनीतिमा सँख्या ठूलो कुरा होइन, चतुराइ र होसियारी मुख्य कुरा हो ।

हतियारबन्द क्रान्तिको अभ्यास पनि नेपाली कांग्रेस र माओवादी जस्ता शक्तिले गरेको इतिहास पनि हाम्रै नेपालमा छ । राजनीतिक दलहरूको संसदमा कुनै पनि दलले एकमना सरकार बनाउन सक्ने गरी बहुमत नपाएको अवस्था संसदीय राजतन्त्रको पुनर्बहाली यता गणतन्त्रसम्मको अवस्था हेर्दा स्पष्ट हुन्छ ।

नेपाली राजनीतिमा अहिलेको समानुपातिक व्यवस्थालाई दोष दिएर उम्किने दृष्टान्त सार्वजनिक खपतका लागि मात्र हुन सक्छन् । व्यवहारमा नेपाली राजनीतिले सदैव यस्तै खाले परिदृश्य देखाएको छ । बीपी कोइरालाको दुई तिहाइको सरकर र गिरिजा प्रसादकोइरालाको एकमना सरकारबाहेक कुनै पनि बेला मिलजुली सरकार बनाएर राजनीति गर्नुपर्ने अवस्थाबाहेक अन्य अवस्था आएन् ।

अहिले नेपाली राजनीतिको घेरामा सर्वाधिक गतिशील नेताको रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको आलोचना गर्नेहरूको निशानामा प्रचण्ड नै हुनुहुन्छ भने सो संविधानको प्रशंसकहरू माझ पनि प्रचण्ड नै हुनुहुन्छ ।

प्रचण्डले एक जना गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा सघाउनबाहेक प्रायः अहिलेसम्म ज–जसलाई जेजे बनाउन सहयोग गर्छु भने ढिलोचाँडो त्यो बन्न सहयोग गरेको देखिन्छ । प्रचण्डले सार्वजनिक रूपमै दिनुभएका अभिव्यक्तिले यसलाई पुष्टि गरेका छन् ।

प्रचण्डको गतिशीलतालाई उहाँका विरोधीहरूले चरम अवसरवादी भएको आरोप लगाउन पछि पर्दैनन् । तर प्रचण्डले राजनीतिमा कहिले दायाँ कहिले बायाँ हिँड्नु पर्ने आवश्यकता हुने गरेको र त्यस अनुसार आफू हिँडदै आएको दाबी गर्छन् । मृत्युले घाँटी थिचिरहेका बेला जीवनका लागि गरिएका पर्यत्नमा खुट्टा कहाँ टेकिन पुगेको हो त्यसको अर्थ हुँदैन् ।

घोषित संविधानअनुरूप दोस्रो पाँचवर्षे अवधिकालागि सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रको मौजुदा अवस्थाभन्दा धेरै फरक खालको परिणाम पार्टीका लागि आउने विषयमा प्रचण्ड धेरै विश्वस्त थिएनन् । आफू र आफ्नो पार्टी विरुद्धको आक्रमणका बावजुद निर्णायक तेस्रो शक्ति बन्ने गरी दिएको अभिव्यक्तिले त्यसलाई पुष्टि गर्छ । राजनीतिक कुनै जोडलाई पनि राम्ररी बुझेका थिए । आफ्नो हिस्सामा परेका सिटहरूमा अन्य उम्मेदवारहरूलाई सहयोग गरी जिताउने निर्णय गरेबाट पनि उनको राजनीतिक बुझाइ बलियो रहेको पुष्टि गर्छ ।

आफूले यो पटक प्रधानमन्त्री बन्नु पर्ने र गिर्दै गएको माओवादी साखलाई उकास्नु पर्ने जिम्मेवारी पनि आफ्नै काँधमा रहेको बोध प्रचण्डमा मात्रै थिएन त्यसका लागि मिलाउनु पर्ने राजनीतिक कूटनीतिक जोडतोड गरेका थिए । परिणाम संसदमा तेस्रो ठूलो दलको नेताले प्रधानमन्त्री ताक्न नहुने सार्वजनिक अभिव्यक्तिलाई गलत साबित गरी प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हो ।

प्रचण्डले यो विश्वास आफ्ना निकटका नेता तथा संगठनहरूको कार्यक्रममा भन्दै आएका थिए । पार्टीका नेताहरूलाई माओवादीले सुरु गरेको जनयुद्धका बेलाको सहास र जीवन शैली अपनाएर पार्टीलाई उठाउन पहल गरे यो पटक आफूले सरकारको नेतृत्व गरेर वा प्रतिपक्षको नेतृत्व गरेर माओवादी आन्दोलनको गुमेको साख फर्काउने प्रयास गर्ने बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले ओलीको अन्तर्य बुझ्नुभयो । माओवादी केन्द्रको साख त्यसै पनि यति सजिलै गुम्ने छैन् । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान रहेसम्म माओवादी जीवित रहि रहन्छ ।

तर माओवादीको बचेखुचेको साख मास्ने योजना ओलीले बनाउनु भएको रहेछ भन्ने कुरा जनयुद्ध दिवसमा विदा दिएको निर्णयलाई हिंसा दिवस भनि गरेको टिप्पणीबाट पुष्टि हुन्छ । राजवादी कित्तामा गएका रविन्द्र मिश्रले गरेको टिप्पणीसँग ओलीको टिप्पणी मिल्न गएबाट प्रचण्डले गरेको पूर्व आँकलन पुष्टि हुन गएको हो । यो आँकलन उहाँले विश्वासको मतलिने बेला गर्नुभएको थियो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई मत दिन गरेको आग्रह त्यसैले उहाँले गर्नुभएको थियो ।

प्रचण्डले माओवादी केन्द्रको साख जोगाउन कथित वाम एकताले नहुने भन्ने कुरो बुझेकाले मौजुदा संविधानको मर्म र भावनाअनुसार राष्ट्रिय सहमतिको विकास गर्नुपर्ने बाटो प्रधानमन्त्री प्रचण्डले रोज्नुभयो । वाम लोकतान्त्रिक गठबन्धनले देशमा संसदीय संवैधानिक राजतन्त्रको बाटो भएर संघीय लोकतान्त्रिक नेपालको बाटोमा देशलाई पु¥याएको छ ।

उहाँले यो बाटो रोज्नुभयो । माओवादी केन्द्रको साख र जनतामा राजनीतिक पार्टीहरू प्रतिको गिर्दो विश्वास उकास्न प्रचण्डले केही योजना बुन्नुभएको छ । देश भित्रबाट उहाँले राजनीतिक कुटनीतिक प्रयास मात्र बनाउनु भएको छैन । अन्तर्राष्ट्रिय रूपमा उहाँले कूटनीतिक पहल गर्नुभएको छ । राष्ट्रपतिको चुनावबाट नयाँ राजनीतिक परिस्थिति प्रचण्डले निर्माण गर्नुभएको हो ।

सरकार यति छिट्टै बदलियो भनेर आलोचना गर्नेले देशभित्र र बाहिरको परिदृश्यलाई बिर्सिएर जान्छन् । भारतमा तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयी नतृत्वको सरकार दुई साता कटेको थिएन । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पनि प्रधानमन्त्री पदमा बस्न बनाएको पछिल्लो पटक जनता समाजवादी पार्टी फुटाएर बनाएको सरकारको नेतृत्व पनि दुई साता बढी टिक्न सकेको थिएन ।

कसको समर्थन ?
यसैगरी यो सरकारलाई चीनको समर्थन छ । कि भारतको समर्थन छ । अमेरिकाको समर्थन छ कि युरोपियन युनियनको समर्थन छ । जस्ता कुरोको जवाफ प्रचण्डले दिइसक्नु भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यमा खाडी मुलुकमा कतारको महत्व अहिले विशिष्ट खालको छ । त्यहाँ अमेरिका पनि छ, रुस पनि छ, चीन पनि छ, भारत पनि छ ।

कतारले भारत र पाकिस्तान बीचको शत्रुता कम गराउने कूटनीतिक प्रयासमा संलग्न रहेको बुझिन्छ । भारत र पाकिस्तान बीचको शत्रुता समाप्त पार्ने र मित्रतामा बदलिने अवस्थाको आस नगर्ने कम्तीमा दक्षिण एसियामा सायदै कोही होला । यो त्यति सजिलो काम होइन् । तर शत्रुताको स्तरलाई न्युनस्तरमा ल्याउन सकिए पनि दक्षिण एसियाको अड्किएको विकास द्रुतगतिमा हुनेमा शंका छैन् ।

विश्वमा महामारीको रुप लिएको कोभिड र रुसले युक्रेनमाथि गरेको आक्रमण तथा ताइवान विवादले निर्माण गरेको अन्तर्राष्ट्रिय परिस्थिति नयाँ विश्व प्रणालीको माग गरिरहेको छ । अमेरिकी वर्चस्वको यथास्थितिमै भएपनि अथवा बहु ध्रुवीय विश्व प्रणालीको आधारमाबन्ने विश्व प्रणालीको माग यो अन्तर्राष्ट्रिय परिस्थिति बनेको छ ।

नेपालले पनि यो परिस्थितिमा केही जोखिम मोलेको छ । साना देशको सार्वभौमसत्तालाई सम्मानगर्नुपर्ने पक्षमा उभिएर रुसको आक्रमणको विपक्षमा उभिएर यो सन्देश दिएको छ भने यसको संवादबाट शान्तिपूर्ण निकासको माग गरेबाट र अमेरिकाको एमसीसी परियोजनालाई सैनिक रणनीतिक गठबन्धनको हिस्सा भए नेपाल सो परियोजनामा नरहने गरी संसदमा संकल्प गरी गरेको अनुमोदनले नेपालको मौजुदा कूटनीतिक स्थितिमा परिवर्तन भएको छ ।

उहाँले नेपालमा विकासका लागि मौजुदा अवस्थामा चाहिने लगानीको बाटो खोल्नु पर्ने आवश्यकता महशुस गर्नुभएको छ । र, त्यही भएर उहाँ कतारमा हुन गइरहेको लगानीकर्ताको सम्मेलनमा भाग लिन जाने तय गर्नुभएको थियो ।

फागुन १९ गते भ्रमणमा निस्किनु हुन्थ्यो तर अन्तिममा आएर त्यो भ्रमण स्थगित गर्नुभएको छ । देशको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उहाँले बद्धिमतापूर्वक सो निर्णय गर्नुभएको हो । फागुन २५ गते राष्ट्रपतिको चुनाव छ । उहाँकै अगुवाईमा काँग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाइएको छ । सो चुनावका लागि एमालेले विभिन्न चलखेल सुरु गरेको छ । त्यसलाई रोक्नका लागि प्रधानमन्त्री प्रचण्ड नै चाहिन्छ । अरुबाट त्यो सम्भव नै छैन । त्यही भएर आफ्नो भ्रमणलाई स्थगित गर्नुभएको छ ।

कतार एक धनी देश हो । लगानीकर्ता देश हो । कतारबाट लगानी सुनिश्चित गर्न सकिए नेपालको आर्थिक विकासमा टेवा पुग्ने विश्वास गर्न सकिने ठाउँ छ । कतार पनि भूराजनीतिक स्थितिले अन्तर्राष्ट्रिय रूपमा एक महत्वपूर्ण स्थान ओगटेको देश हो ।

भारत पाकिस्तान बीचको शत्रुता कम गराएर लगानी गर्ने वातावरण बनाउन लागेको देश हो । प्रचण्डले आफ्नो सम्बन्ध सबैसँग छ भनेर कतारको भ्रमण सुनिश्चित गर्नुभएको थियो तर नेपालको राजनीतिक अवस्थाले गर्दा त्यसलाई स्थगित गर्नुभयो । यसबाट संसदमा सबै भन्दा ठूलो दलको एक तिहाइ सिट जति सिट मात्र जितेर बनेको तेस्रो ठूलो दलको नेताको रूपमा प्रधानमन्त्री बनेर आफ्नो सान्दर्भिकता स्थापित गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनसम्म र आफूले प्रधानमन्त्री बनेर गर्न खोजेका केही महत्वपूर्ण कामका लागि चाहिने समयसम्मको संसदको विश्वास प्राप्त गर्न सके प्रचण्डले माओवादी केन्द्रलाई कम्तीमा आउने केही दशकसम्मकालागि सान्दर्भिक बनाइ राख्ने गरी साखमा वृद्धि गर्नेमा शंका भने छैन् ।

नेपालको आगामी राजनीति पनि वामलोकतान्त्रिक गठबन्धनकै देखिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रकै देखिन्छ । अन्यथा यो द्वन्द्वको सुसुप्त ज्वालामुखीमाथि रहेकै छ । प्रचण्डले सपारेको यो चालले दिने प्रभावका लागि प्रतिक्षा गर्नुपर्ने छ ।
(लेखक धर्मेन्द्र झा वरिष्ठ पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया