राजेन्द्र महतोले पार्टीमा कार्यकारी भूमिका खोज्नु भएको हो
१७ फाल्गुन २०७९, बुधबार ०८:२२
–सन्तोष मेहता –नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रपतिका लागि पहल गर्नुभयो तर सफल हुनुभएन । दलहरुको बीचमा सहमति बनाउन असफल रहनु भयो । लोसपा अहिले आठ दलको साथमा छ । काँग्रेसको राष्ट्रपतिलाई सघाउने निर्णय गरेको छ । प्रस्तुत छ, महन्थ ठाकुरको पक्षमा सहमति किन बन्न सकेन, नयाँ गठबन्धन बनाउन लोसपाको भूमिका के, लोसपा कस्तो पार्टी बन्दैछ, लोसपाभित्र के पाकि रहेको छ लगायतको विषयमा सो पार्टीका युवा नेता सन्तोष मेहतासँग गरिएको कुराकानीको सम्पादीत अंशः
तपाईका पार्टीका अध्यक्ष महन्थ ठाकुर राष्ट्रपति बन्ने चर्चा खुब भयो । पार्टीले विभिन्न दलसँग छलफल गर्नुको साथै आठ दलीय गठबन्धनमा प्रस्ताव पनि लगियो तर उहाँले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएन । उहाँलाई राष्ट्रपति बन्नबाट कसले रोक्यो, किन भएन सहमति ?
–माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा बाहिर ल्याउनुभयो । राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयन गर्ने कुरा प्रधानमन्त्री प्रचण्डले पटक पटक भन्नुभयो । त्यसले हामीलाई के लागेको थियो भने राष्ट्रिय सहमति गर्दा काँग्रेस–एमाले–माओवादीको बीचमा कुरा मिल्दैन त्यस अवस्थामा सबभन्दा उपयुक्त पात्र हाम्रो पार्टीका अध्यक्ष श्रद्धेय महन्थ ठाकुरजी हुनुहुन्छ । र, यसमा काँग्रेस र एमालेले पनि समर्थन गर्नुहुन्छ जस्तो हामीलाई लागेको थियो । हामीले महन्थ ठाकुरजीलाई अघि सारी सकेपछि विभिन्न दलसँग हामीले छलफल गर्यौं, प्रस्ताव गर्यौं । सबैले भन्नुभयाृे, महन्थ ठाकुरजी राष्ट्रिय सहमतिका लागि उपयुक्त पात्र हुनुहुन्छ हामी उहाँको बारेमा विचार गर्छौ । त्यसले हामीलाई विश्वस्त बनाएको थियो ।
आठ दलको बैठकमा पनि हामीले प्रस्ताव गर्यौं तर महन्थ ठाकुरजीप्रति सहमति हुन सकेन । हुन त रामचन्द्र पौडेलमाथि पनि राष्ट्रिय सहमति बन्न सकेन । एमालेले पनि सुवास नेम्वाङलाई उठाई दियो । अर्थात चुनावको अवस्था आयो । चुनाव हुने स्थिति भएपछि निश्चित रुपमा हामीसँग त्यत्रो मत भार छैन कि महन्थ ठाकुरलाई उम्मेदवारी दिन लगाएर हामी उहाँलाई जिताउन सकौं । मुख्य मतभार त काँग्रेस, माओवादी, एमालेसँग मात्र रहेका छन् । हामीले प्रस्ताव गर्यौं । उहाँहरु हाम्रो दलका अध्यक्ष महन्थ ठाकुरका लागि सहमति गर्न सक्नु भएन । प्रधानमन्त्री प्रचण्डले गर्नुभएको राष्ट्रिय सहमति त सत्ता लम्ब्याउनका लागि मात्र भएको हो भनि पुष्टि भएको छ । राष्ट्रिय सहमति त प्रधानमन्त्री प्रचण्डका लागि भ्रम मात्र रहेछ । उहाँले आफ्नो पदलाई कसरी सुरक्षित राख्ने त्यसमा मात्र सहमति गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नाममा महन्थ ठाकुरको नाम अघि सारेको भए उहाँ नै राष्ट्रपति हुन्थ्यो । तर प्रधानमन्त्री प्रचण्डले त्यस्तो गर्नुभएन ।
ठूला दलका विगतहरु पनि तपाईहरुलाई थाह छ, मधेश र मधेशी दलका नेताहरु प्रति ती दलका नेताहरुको मनोविज्ञान पनि थाह छ ती सबै कुरा थाह हुँदा हुँदै पनि किन वायोवृद्ध नेतालाई राष्ट्रपतिमा सार्नुभयो त्यसको आधार र तथ्य के हो ?
–मुख्य आधार भनेको प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको कुरा बाहिर ल्याएपछि सहमतिका लागि हामी प्रस्ताव अघि सारेका हौं । महन्थ ठाकुरजीमा राष्ट्रिय सहमति गरौं भनेका हौं । विगतमा वामपन्थी धारका राष्ट्रपति थिए अब लोकतान्त्रिक धारका व्यक्ति हुनुपर्छ भनि जनअवाज पनि थियो । अर्को कुरा, एउटै दलबाट प्रधानमन्त्री र राष्ट्रपति हुँदा थुप्रै राष्ट्रिय निर्णयहरु प्रभावित भएको विगतमा देखियो । सदनबाट प्रधानमन्त्री फेर्ने सम्भावना छदैछ । प्रधानमन्त्री यिनै तीनवटा दलमध्ये कोही बन्नुहुन्छ । त्यसैले राष्ट्रपतिका लागि उपयुक्त पात्र भनेको महन्थ ठाकुर नै हुनुहुन्छ भन्यौं । संविधानको संरक्षकको रुपमा राष्ट्रपतिको भूमिका रहेको छ ।
पछिल्लो घटनाक्रम हेर्दा संघीयता र गणतन्त्र दुवैमाथि धावा बोलिएको छ । संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा अगुवाई गर्नुभएका महन्थ ठाकुर नै राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्छ भन्ने जस्तो लागेर हामी प्रस्ताव गरेका थियौं । सर्वस्विकार व्यक्ति भनेको व्यक्ति महन्थ ठाकुर मात्र हुनुहुन्छ । नेपालमा भएको हरेक आन्दोलनमा उहाँको योगदान छ । काँग्रेस बनाउनेमा उहाँको योगदान रहेको छ । काँग्रेसले गरेको हरेक आन्दोलनको अग्रमोर्चामा महन्थ ठाकुरको उपस्थिति रहन्थ्यो । अहिलेको चुनावमा पनि महन्थ ठाकुरले काँग्रेसलाई सहयोग गर्नुभएको छ ।
लक्ष्मणलाल कर्ण जितेको ठाउँमा काँग्रेसलाई दिएको छ । अनिल झा जितेको ठाउँमा गठबन्धनकै माधवकुमार नेपाललाई दिएको छ । त्यस्तै विमल श्रीवास्तवको ठाउँमा पनि काँग्रेसलाई दिएको छ । यस्ता थुप्रै ठाउँहरु छन् जहाँ आफ्नो दल जितेको ठाउँमा पनि काँग्रेसको उम्मेदवारलाई सहयोग गरेको छ लोसपाले । तर ती दलहरुले सबै कुरा बिर्से ।
फेरि पनि त्यही दलहरुको सरकार टिकाउन लोसपाले सहयोग गर्न लागेको हो, अझै भ्रमबाट मुक्त हुनुभएको छैन ?
–प्रधानमन्त्री प्रचण्ड जसले राष्ट्रिय सहमतिको कुरा गर्नुभएको थियो, उहाँले नै आठ दलको बैठक बोलाएर ठूलो दलको हैसियतले काँग्रेसलाई राष्ट्रपति दिनका लागि प्रस्ताव गर्नुभयो । त्यसमा सबैले सहमति पनि जनाउनुभयो । अब सबैले सहमति जनाई सकेपछि त्यहाँ हामीसँग तीनटा विकल्प मात्र बाँकी रह्यो या आठ दलमै सहमति जनाउने या उम्मेदवारी दिने नभए बहिष्कार गर्ने । यसबाहेक अरु विकल्प थिएन । लोकतान्त्रिक शक्ति भएको कारणले राष्ट्रपतिको चुनावलाई बहिष्कार गर्न सकिदैन । काँग्रेसलाई राष्ट्रपति दिने सहमति भइसकेपछि लोसपाले छुट्टै उम्मेदवारी दिने कुरा पनि हुँदैन किनभने हामीसँग त्यति मतभार छैन । त्यसैले हामी अन्तिम विकल्पमा गयौं, सबैले सहमति गरेको आठ दलको साथमा रह्यौं । डमेक्रेटिक कित्तामा उभियौं ।
आठ दलमा जति पनि दल सहभागी छन् लोसपाबाहेक सबै दल लेनदेन गरेर राष्ट्रपतिमा सहमति जनाएका छन् तर तपाईको दलले उधारोमा सहमतिमा जनायो यस्तो किन ?
–राष्ट्रपतिको विषयमा हाम्रो कुनै बार्गेनिङ छैन । राष्ट्रपतिमा सहमति होस् भनेर नै हामीले महन्थ ठाकुरजीलाई अघि सारेका थियौं । तर जब चुनाव हुने कुरा भयो अनि हामी पछाडी हट्यौं किनभने चुनावमा हामी जित्न सक्दैनौं । त्यसैले राष्ट्रपतिमा सहमति जनाउँदा हामीले कुनै डिमाण्ड राखेनौं, सहमतिमा अगाडि बढ्यौं । अगामी दिनमा सरकार बन्दा वा अरु शक्तिबाँडफाँटको कुरा हुँदा हामी पनि आफ्नो कुरा राख्छौं तर अहिले हाम्रो केही माग छैन ।
अहिले एउटा चर्चा हुन थालेको छ, लोसपाले राष्ट्रपतिमा अडेर बस्यो, यदि उपराष्ट्रपति पनि मागेको भए सायद त्यसमा सहमति हुन्थ्यो तर राष्ट्रपतिमै अडान लिएको कारण दुवैमध्ये एउटा पनि हात लागेन, यसमा कतिको सत्यता छ ?
–यो चर्चाका लागि मात्र चर्चा भइरहेको छ । हामीले जुन टावर पर्सनालिटीलाई अघि सारियौं त्यसका लागि सीर्फ राष्ट्रपति नै थियो । हामीले राष्ट्रपतिमा मात्र प्रस्ताव गरेका थियौं । उपराष्ट्रपति हाम्रो चाहना नै थिएन । अब उपराष्ट्रपतिको नमोनेशन हुन बाँकी नै छ । त्यसमा अझै छलफल गर्न बाँकी नै छ । त्यो दिनसम्ममा कस्तो परस्थिति
बन्छ त्यो अनुसार कुरा हुन्छ तर यो राष्ट्रपतिको एपिसोडमा हामीले राष्ट्रपतिको चाहना मात्र राख्यौं । उपराष्ट्रपतिमा लोसपाको दावी रहन्छ ?
–उपराष्ट्रपतिमा हाम्रो दावी रहनेछैन । महन्थ ठाकुर राष्ट्रपतिका लागि जसरी अगाडि बढ्नुभयो त्यसरी नै उहाँ उपराष्ट्रपतिको लागि तयार हुनुभयो भने त्यसका लागि बिचार गर्न सकिन्छ तर त्यो भन्दा पहिले तीन ठूला दलले सहमतिमा उपराष्ट्रपतिका लागि महन्थ ठाकुरलाई आग्रह गर्नुभयो भने त्यसमा विचार गर्न सकिन्छ । लोसपाले उपराष्ट्रपतिको लागि कुनै दावी गरेको छैन भविष्यमा के हुन्छ थाह छैन ।
उपराष्ट्रपतिमा महन्थ ठाकुर नै किन सन्तोष मेहता वा अरु कसैको लागि पनि कुरा गर्न सकिन्छ नि ?
–होइन, उपराष्ट्रपति महन्थ ठाकुरजी मात्रै बन्नुपर्छ भन्ने होइन । पार्टीको तर्फबाट अरु पनि कोही बन्न सक्नुहुन्छ तर लोसपाले उपराष्ट्रपति पाउनुपर्छ । अरु ठूला दलहरु जोसँग पर्याप्त मतभार छन् उनीहरुले लोसपालाई सहमतिमा उपराष्ट्रपति दिनुपर्छ । त्यसपछि मात्र लोसपामा उपराष्ट्रपति उम्मेदवारको खोजी हुन्छ । हामीले उपराष्ट्रपति मागेका छैनौ । हामीले राष्ट्रपतिमा सहमति खोजेका थियौं । त्यसका लागि प्रस्ताव गरेका थियौं । तर त्यसमा सहमति बन्न सकेन ।
भन्नाले राष्ट्रपति नपाएपछि उपराष्ट्रपति पनि नमाग्ने ?
–नमाग्ने । तर दिने र लिने बीच सहमति भयो भने व्यक्तिको कुरा टाढाको विषय रहेन ।
त्यसो भए लोसपाले जसपालाई उपराष्ट्रपतिमा समर्थन गर्छ ?
–जसरी राष्ट्रपतिमा सहमति भयो, त्यसरी नै उपराष्ट्रपतिमा सबैको सहमति रहे भने त्यसमा लोसपाको कुनै आपत्ती छैन । तर जसपासहितको अरु पार्टीले पनि उपराष्ट्रपतिमा महन्थ ठाकुरलाई वा लोसपालाई सर्वसम्मती गरे भने त्यसमा पनि हामी पछाडी हट्दैनौं । तर मागेर दिइ हाल्यो भने त जे पनि माग्न सकिन्छ तर माग्नु भन्दा पहिले त्यसमा एकखालको सहमति बन्नुपर्छ । एकखालको वतावरण बन्नुपर्छ अनि मात्र प्रस्ताव तयार गर्न सजिलो हुन्छ । जसरी हामीले राष्ट्रपतिमा गरेका थियौं । हामीले प्रस्ताव गर्नुभन्दा पहिले सबै दलसँग एकखालको कुरा भएको थियो । ती दलहरुले आश्वासन दिएको कारण हामीले आठ दलमा प्रस्ताव गर्यौं तर त्यहाँ सहमति हुन सकेन । त्यसरी नै उपराष्ट्रपतिमा भयो भने हामी त्यसका लागि पनि विचार गर्न सक्छौं । तर त्यतिकै हामी माग गर्ने वा प्रस्ताव गर्ने पक्षमा छैनौं ।
राष्ट्रपति पद सेरोमोनियल हो तर पछिल्लो समय सोही पदका लागि नेपालको राजनीतिक खल्बलिएको छ यस्तो किन ?
–राष्ट्रपतिका लागि सेरोमोनियल शब्द प्रयोग गर्नुहुँदैन जस्तो लाग्छ मलाई । किनभने राष्ट्रपति भनेको एकताको प्रतिक हो । राष्ट्रपति यस्तो हुनुपर्छ कि वास्तविक रुपमा उसले राष्ट्रिय एकताको पक्षमा उसले काम गर्न सक्नुपर्छ । राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतिक हो, देशको अभिभावक हो, संविधानको संरक्षक हो । त्यो सेरोमोनियल हुँदै होइन । पछिल्लो समय राष्ट्रपति पदको दुरुपयोग भएको देखिन्छ । कुनै दल विशेषको लागि प्रयोग हुन थाल्नु भएको छ । पछिल्लो समय राष्ट्रपतिको जुन गतिविधिहरु देखिएको छ त्यसले सबैजना झस्किएका छन् । त्यही भएर राष्ट्रपति चयनमा सबैको चासो बढेको देखिन्छन् । अब आउने राष्ट्रपति सबैको साझा राष्ट्रपति बनोस् । राष्ट्रको हितमा काम गरोस् भन्ने सबैको चाहना हो ।
अहिले जसरी दलहरुले सहमति गरेर राष्ट्रपति चयन गर्ने प्रकृयामा पुगेको छ, लगभग लगभग व्यक्ति पनि चयन भइसकेका छन् । ती व्यक्तिले राष्ट्रपति पदको दुरुपयोग गर्नुहुन्न भने त्यसको के ग्यारेन्टी छ ?
–डेमोक्रेटिक छवी भएका व्यक्ति र यो परिवर्तनका लागि लडेका, संघर्ष गरेका र त्यसलाई बुझेको व्यक्ति राष्ट्रपति बन्नुभयो भने त्यो पदको दुरुपयोग हुँदैन जस्तो मलाई व्यक्तिगत रुपमा लाग्छ । संघीयता, लोकतन्त्र, गणतन्त्र जसले लडेर ल्याएका हुन्छन् त्यसलाई त्यसप्रति माया हुन्छ । त्यसलाई मास्नुभन्दा त्यसको रक्षाका लागि अघि बढेका हुन्छन् । त्यसैले हामी आशा गर्छौ कि अहिले जुन खालको व्यक्ति राष्ट्रपतिमा चयन हुन गइरहनु भएको छ, त्यो संविधानको संरक्षक र सबैको अभिभावक भएर बस्नुहुन्छ ।
अनुभवी त विद्यादेवी भण्डारी पनि हुनुुहुन्छ नि उहाँ पनि लोकतन्त्रका लागि लड्नु भएको, मदन भण्डारीको श्रीमती हुनुहुन्छ, देशमा संघीयता र गणतन्त्र ल्याउन उहाँको पनि योगदान छ नि होइन अनि उहाँमाथि किन प्रशन उठ्यो त ?
–उहाँको बारेमा अब अहिले त्यति नकारात्मक टिप्पणी नगरौं किनभने उहाँ विदाईको तरखरमा हुनुहुन्छ । उहाँ राष्ट्रपतिको गरिमामय पदमा रहेर एउटा अमुक दलको पार्टी कार्यकर्ताको रुपमा काम गर्नुभयो । त्यो अमुक दल कहिले संघीयताको पक्षमा, मधेशको पक्षमा रहेको देखिएन । त्यसलाई सहयोग गर्ने काम राष्ट्रपतिको तर्फबाट पनि भएको देखियो ।
अहिले राष्ट्रपतिका लागि सहमति भएको रामचन्द्र पौडैल पनि भोली गएर काँग्रेस वा शेरबहादुर देउवाको कार्यकर्ता भएर काम गर्नुहुन्न भने त्यसको के ग्यारेन्टी छ ?
–त्यसको केही ग्यारेन्टी छैन । र, म मात्र होइन अरु कसैले त्यसको ग्यारेन्टी लिन सक्दैनन् । लोकतन्त्रका लागि लामो समय लड्नु भएको व्यक्ति हुनुहुन्छ । स्वच्छ छवी भएको व्यक्ति हुनुुहन्छ । उहाँ टावर पर्सनालिटी भएको व्यक्ति हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री बन्नुभयो, सभामुख बन्नुभयो, पार्टीको उच्च पदमा रहनु भयो तर यतिका उमेर गइसक्यो तर आजसम्म उहाँ विवादमा कहिले पर्नुभएन । उहाँले आफ्नो छवी यस्तै दिनका लागि बचाएर राख्नु भयो । त्यही भएर सबैले उहाँको नाममा सहमति गर्नुभयो । यस्ता व्यक्ति पनि त्यो पदमा पुगेर देशको अहितमा काम गर्नुहुन्छ जस्तो मलाई व्यक्तिगत रुपमा लाग्दैन ।
पछिल्लोसमय एमालेसँग लोसपाको राम्रो सहकार्य भएको देखिन्छ । एउटा मोर्चामा रहेर काम गरेको पनि देखियो, एउटै सरकारमा रहेर काम गरेको पनि देखियो, तर अहिले त्यही एमालेलाई छाडेर काँग्रेससँग लोसपाले सहकार्य गरेको छ, त्यसको कारण राष्ट्रपति मात्र हो कि अरु पनि कारणहरु छन् ?
–काँग्रेस होस् या एमाले, यी दलहरुलाई जब सत्तामा समस्या हुन्छ तब मात्र हामी जस्ता दललाई खोजेका हुन्छन् । एमालेलाई भएको त्यही हो । जब एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता हल्लिएको थियो अनि मात्र हामीलाई खोज्नुभयो । हाम्रो मागमा सहमत भएर साथमा राख्ने काम गर्नुभयो । केही मागहरु पुरा गर्ने प्रयास पनि गर्नुभयो । त्यसका लागि हामीले उहाँको तारिफ पनि गरेका छौं । यदि एमालेको त्यो सरकार अझै केही समय टिकेको भए मधेशका धेरैजसो माग पुरा हुने थियो तर सरकार नै टिकेन । अहिले पनि हामीलाई माओवादी वा काँग्रेसले खोज्नु भनेको सत्ता बचाउनका लागि मात्र हो । अरु सबै तपशिलका कुरा हुन् ।
केपी शर्मा ओलीबाट प्रचण्डको साथ छोडाउनमा लोसपाको पनि भूमिका छ भन्छन्, प्रचण्डले ओलीका साथ किन छोड्नु भयो जस्तो लाग्छ तपाईलाई ?
–प्रधानमन्त्री प्रचण्डले ओलीको साथ किन छाड्नुभयो त्यसको ठिक र उचित जवाफ उहाँहरुले नै दिनु होला जस्तो लाग्छ तर मैले विश्लेषण गर्नु पर्दा एउटा ओली प्रवृति नै हो । प्रधानमन्त्री प्रचण्डलाई के कुराको डर रह्यो भने आफू प्रधानमन्त्री मात्र रहने र एमालेसँग सभामुख, राष्ट्रपति सबै रहे भने जुनबेला जे पनि हुनसक्छ भनि बुझेर नै उहाँले सो कदम चाल्नु भएको हो । अर्को कुरा, प्रचण्ड र ओली मिलनमा अन्तराष्ट्रिय शक्तिको पनि हात थियो । र, अहिले पनि त्यो कुरा छ । एमाले–माओवादी गठबन्धन जोगाउनका लागि चीनले जुनखालको गतिविधि गर्यो वा गरिरहेको छ त्यसबाट सबै कुरा प्रष्ट हुन्छ । र, त्यसले लोकतान्त्रिक शक्तिहरु झस्किएका थिए । खासगरि अमेरिका, युरोप र भारत त्यो चाइनिज गठबन्धनका कारण झस्केका थिए । अमेरिकाको थुप्रै प्रोजेक्टहरु नेपालमा चलिरहेका छन् । र, त्यो सफल होस् भनि उसको चाहना हो । नेपालको हरेक परिवर्तनमा जसरी भारतसँग सहकार्य भइरहेको छ त्यो हैसियतले पनि उसले चासो लिनु स्वभाविक हो । भारतको चाहना पनि आफ्नो फेवर अनुसार सरकार बनोस् जसले गर्दा नेपालमा काम गर्न सजिलो होस् र त्यो स्वभाविक पनि हो ।
अहिलेको यो राजनीतिक चलखेलमा लोसपाको के भूमिका छ ?
–लोसपाको भूमिका भनेको अहिलेको यो खेलमा लोकतान्त्रिक शक्ति अगाडि आउनुपर्छ भन्ने हो । त्यसका लागि लोसपाले जेजे भूमिका खेल्नुपर्छ त्यो खेलेको हो । देश र जनताको हितमा लोसपालाई जे जे भूमिका खेल्नुपर्छ ती सबै खेल्नका लागि तयार छ ।
तपाई लोसपा लोकतान्त्रिक शक्ति हो भन्नुहुन्छ तर लोसपाभित्रै लोकतान्त्रिक अभ्यास भइरहेको छैन भनि गुनासो छ यसमा के भन्नुहुन्छ ?
–तपाईको यो प्रश्न जायज छ । हाम्रो पार्टी बन्ने क्रममा नै छ । यो पार्टी बनेको एक डेढवर्ष मात्र भएको छ । हामी सद्भावना, तमलोपा हँदै राजपा बनायौं, त्यसपछि वास्तविक पार्टीको रुपमा जसपा बनाएका थियौं । लोसपा बनाउने हाम्रो कुनै सोच नै थिएन । जसपाका बहुमत पक्षले कारवाही गरेर पार्टीबाट निष्काशन गरिसकेपछि बाध्य भएर एउटा संगठन खडा गर्नुपरेको हो । यो बाध्यताको उपज मात्र हो । यो बीचमा दुई–दुईटा चुनाव सम्पन्न भयो । त्यसमा सहभागी भयौं । चुनावको जम्बो तयारी पनि थिएन हाम्रो । त्यही भएर अपेक्षा गरे जस्तो नतिजा आउन सकेन ।
माधवकुमार नेपालको पार्टी नेकपा (एस) र लोसपा एकैदिन निर्माण भएको पार्टी हुन् तर नेकपा (एस) पुरै संरचनामा गयो, व्यवस्थित भएर अगाडि बढ्यो उसलाई त्यो चुनावहरुले केही असर गरेन तर लोसपालाई मात्र किन असर गर्यो त ?
–माधव नेपालजी अर्को नयाँ पार्टी बनाउँछु भनि माइन्डमेकअप गरेर नै त्यहाँबाट अलग हुनुभयो तर हाम्रो त्यो सोच थिएन । निर्वाचन आयोगमा परेड भइरहँदा पनि कुन निर्णयलाई मान्ने विषयमा छलफल भइरहेको थियो । अर्को पार्टी बनाउनका लागि परेड थिएन । तर पार्टीबाट जवर्जस्ती निकालि सकेपछि बाध्यताले त्यो पार्टी बनेको हो ।
ल बाध्यताले नै सही, पार्टी बनेको डेढ वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म पार्टीको कुनै पनि संरचना बनेको छैन, त्यो बनाउन कसले कहाँ कसरी रोकेका छन् भन्न सक्नुहुन्छ ?
–यो कुराको जवाफ शीर्ष नेताहरुले दिनसक्नु हुन्छ । तर पार्टीका संरचनाहरु बनाउनका लागि हामीले निरन्तर दवावहरु दिइरह्यौं । तर विभिन्न कारणले त्यो हुन सकेन जसले गर्दा पार्टीप्रतिको आकर्षण एकप्रकारले घटन गयो । तर आशा गरौं राष्ट्रपतिको चुनावपछि पार्टीको सबै संरचनागत संगठन विस्तार हुन्छ । तर त्यही एउटा अर्को कुरा के हो भने महन्थ ठाकुर सक्षम हुनुहुन्छ, उहाँको सोच, उहाँको बुझाई क्षमतामा कुनै कमी छैन तर उमेरले उहाँलाई साथ दिइरहको छैन । अहिलेको जुन रफ्तार छ नेपाली राजनीतिको त्यसमा उहाँ सक्नु हुन्न जस्तो लाग्छ । अरु क्षमतामा कुनै कमी छैन तर उमेरले उहाँको साथ छाडेको छ । पार्टी बनाउनका लागि दौडधुप गर्नुपर्छ र त्यसका लागि नेतृत्वबाट नै अग्रसर हुनुपर्छ तर त्यसमा ठाकुरजी सक्नु हुन्न जस्तो मलाई लाग्छ । अब उहाँले विभिन्न जिम्मेवारीहरु आफूपछिका नेतालाई बाँडफाँट गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
भनिन्छ, महन्थ ठाकुर र राजेन्द्र महतोबीच अन्तरद्वन्द रहेको कारण पार्टी बन्न सकेको छैन वास्तवमा उहाँ दुईजनाको बीचमा के अन्तरद्वन्द रहेको छ त ?
–अन्तरद्वन्द नै त नभनौं तर राजेन्द्र महतोजी पनि काम गर्न निकै चाहनु हुन्छ । उहाँलाई के डर लागि रहेको छ भने बिना जिम्मेवारी दौडधुप गर्न थालियो र काम गर्न थालियो भने पार्टीका अध्यक्षजीले नै ममाथि अविश्वास गर्ने हो कि भने डर उहाँभित्र छ । मेरो विचारमा यो विषयमा उहाँ दुईजनाको बीचमा कुराकानी हुनुपर्छ ।
भन्नाले राजेन्द्र महतोले पार्टीभित्र कार्यकारी भूमिका खोज्नुभएको हो ?
–उहाँमा एउटा डर छ कि कुनै कार्यकारी जिम्मेवारी बिना काम गरियो भने अध्यक्षजीले शंकाको दृष्टिले हेर्नुहुन्छ कि ।
त्यही भएर उहाँले कुनै भूमिका खोज्नु भएको हो जस्तो मलाई लागेको छ । वरिष्ठ नेता भूमिका होइन ?
–वरिष्ठ नेतालाई पार्टीको विधानले त्यति महत्व दिएको जस्तो लागेन । त्यहाँ काम गर्ने अधिकार दिएको छैन । अध्यक्षले अह्राएको खटाएको काम गर्नुपर्ने भूमिका मात्र छ ।
तपाईको प्रतिक्रिया