–ई. सत्य नारायण शाह
जनकपुरधामलगायत तराई मधेशका विभिन्न गाउँ शहर बजार ध्वनिले आक्रान्त भएको थियो । यहीं महसुश गरेर करिब २१ वर्ष अगाडी मैले “दशैं, लाउडस्पीकर, र ध्वनी प्रदुषण” शीर्षकमा एउटा लेख प्रकाशन गरेका थिए । लेख्नुको अर्थ यहाका समाजलाई जागृत गर्ने मुख्य उद्देश्यनै हो । जनकपुरधाममा पनि एक से एक समाज सेवी, सामाजिक अगुवाहरु र नागरिक समाज क्रियाशील छन् ।
तर दुर्भाग्यपूर्ण अवस्था के हो भने यसतर्फ सुधार हुनुपर्नेमा झनै बिग्रेको अवस्था देखिन्छ । किन यस्तो किसिमको उदासिनताले यहाँको समाजलाई ग्रसित गरेको छ त्यो बुझ्न गाह्रो छ । तर एउटा कुरा त् प्रष्टै छ कि राजनैतिक प्रतिबद्धताको आभाव त् पक्कै छ । उपरोक्त लेख त्यतिखेर मैले दशैको समयमा भोगेको पीडाको कारण लेखेको थिए । आज भोलीको अवस्था त्यतिखेरको अवस्था भन्दा पनि निकै नै बिग्रेको मैले महशुश गरेको हुनाले पुनः यहाँका सामाजिक अगुवा, स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण गराउन यो लेख लेख्दै छु ।
राजा जनक र जगत् जननी जानकीसंग सम्बन्ध जोडिएको प्रमुख कारणले जनकपुरघामको गणना एउटा पूण्य भूमीको रुपमा विश्वमै मान्यता प्राप्त गरेको कुरा सर्वविदितै छ । त्यति मात्र होइन यो एउटा तपो भूमिको रुपमा पनि लिनुपर्ने मान्यता छ । अर्थात विद्वानहरुले विचार मन्थन गर्ने, ध्यान गर्ने थलोको रुपमा पनि यो स्थान परिचित रहेको छ । अर्को शब्दमा भन्ने हो भने यो शान्त भुमिको रुपमा चिरपरिचित छ ।
यहाँ विभिन्न धार्मिक पर्व अनेकानेक भव्य कार्यक्रमहरुको आयोजन गरि मनाईने एउटा परम्परा जस्तै बसिसकेको छ । खास गरि विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, दशैं, दिपावली, छठ आदि जस्ता पर्वहरु विशेषरुपले जनकपुर शहरलाईनै सिंगारी मनाउने परम्परा बसेको छ ।
जसमा मिथिलाको विशेषताको रुपमा रहेको गीतसंगीतको प्रधानता देखिन्छ । यस अवसरमा हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु धार्मिक अथवा दर्शनीय दृष्टिकोणले उपस्थित भई आनन्दित हुने गरेका छन् । विशेष रुपले दशैं तिहार तथा छठको सजावट एवं धार्मिक रीतिहरु हेर्न हजारौंको संख्यामा पर्यटकहरु यस अवसरमा आउने गरेका छन् ।
पर्व त्यौहार मनाउदा धार्मिक तथा सांस्कृतिक उद्देश्यको पूर्ति हुनुको साथै मानव स्वास्थ्यदेखि लिएर वातावरणीय प्रभावको बारेमा सजग हुनु पर्ने त्यतिकै आवश्यक हुन जान्छ । आखिर धार्मिक उत्सवहरु पनि त मानव जातिकै कल्याणको लागि हो तर सो अवसरमा हुने गरेका सज्जाश्रृंगार तथा गीतसंगीतले प्रतिकूल असर पार्न थाल्यो भने त्यसमा अबिलम्व परिवर्तन ल्याउन जरुरी हुन जान्छ । यसप्रति स्थानीय सरकार, सम्पूर्ण समाज र प्रशासनिक निकायहरु सचेत हुनु जरुरी देखिएको छ ।
जनकपुरघाममा पर्व त्यौहारको अवसरमा हुने गरेका सज्जा तथा श्रृंगारको लागि प्रयोग गरिएका सामग्रीमध्ये विभिन्न किसिमका ठूलो—ठूलो आवाज आउने पड्का तथा लाउड स्पीकरबाट प्रसारित संगीतहरुबाट हुने गरेका वातावरणीय प्रभाव प्रति हामी बहुतै संवेदनशील हुनु पर्ने अति आवश्यक भएको छ ।
हुन त आयोजकहरुको दृष्टिमा भजन इत्यादिलाई लाउड स्पीकरको माध्यमबाट प्रसारित गर्नु वातावरणलाई अझ बढी धार्मिक तुल्याउने मनोभावना होला तर यो कति लाभदायी वा हानिकारक छ त्यस प्रति उहाँहरु सजग हुनै पर्छ । यस बाहेक पनि प्रत्येक कुना–कुनाबाट चौविसै घन्टा भजन तथा अन्य गीतका रेकर्डहरु सुन्नुपर्ने बाध्यता त छदैछ ।
आजकल धार्मिक कार्यक्रम भन्दा पनि तीब्र ध्वनि उत्पदान गर्ने श्रोत बिहेबारीको अवसरमा बजाइने डीजे, बैण्ड बाजा आदि रहेको पाइएको छ । जसले सबै ध्वनि श्रोतलाइ मात दिएको छ । झन् बिहे कार्यक्रम अबेर रातिसम्म मनाउने त एक किसिमको परम्परा नै बसिसकेको पाइन्छ ।
उपरोक्त दृश्यले बहुतै उच्चस्तरीय ध्वनि प्रदूषणको श्रोत निर्माण गरेको छ जसलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक चिन्तन र उपायतर्फ अबिलम्ब क्रियाशील हुनुपर्ने आवश्यकता छ ।
ध्वनि प्रदूषण के हो ?
ध्वनि प्रदूषणलाई अनावश्यक आवाजको रूपमा परिभाषित गरिएको छ । जसले वातावरण माथि नकारात्मक प्रभाव पार्दछ । तीब्र आवाज अवांछित हुन सक्छ किनभने यो चर्को, विचलित, वा कष्टप्रद हुन्छ । ध्वनी प्रदूषणलाई मानव, वन्यजन्तु वा वनस्पतिको जीवनचक्रलाई बाधा दिने वा हानी गर्ने, सामान्य स्थितिमा उथलपुथल ल्याउने अनावश्यक आवाजको रूपमा लिन सकिन्छ । यद्यपि आवाजले हामीलाई वरिपरि घेरेपनि ध्वनि प्रदूषणलाई सामान्यतया पानीको गुणस्तर र वायुमण्डलको गुणस्तरका समस्याहरू भन्दा कम ध्यान दिने प्रवृति देखिएको छ, किनभने यो हेर्न, स्वाद गर्न वा गन्ध महशुश गर्न सकिँदैन ।
स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबलहेल्थका डाडेभिडरो जास अनुसार ‘चर्को आवाजले केन्द्रीय स्नायुप्रणालीमा उत्तेजना उत्पादन गर्छ र यो उत्तेजनाले केही हर्मोन निस्कन्छ,’ यसबाट उच्च रक्तचापको जोखिम बढाउँछ, र उच्च रक्तचापले हृदयाघात र सेरेब्रोभास्कुलर रोगहरू जस्तै इन्फ्रक्सन (हृदयघात) र स्ट्रोकसँग सम्बन्धित कुराहरुलाइ निम्त्याउछ ।
भर्खरै एउटा समाचारमा उल्लेख भएअनुसार बिहार (भारत)को सोनाबरसा नजिकको एक बिहेमा दुलहाले डेजेको ध्वनिको तीब्रता कम गर्ने आग्रह गर्दा पनि सो नगरेकोले आखिरमा त्यस दुलहाको हृदयघातले मृत्यु भएको खबर सुनिएको छ । ध्वनिप्रदुषणको कारण घटेको यो अत्यन्तै दुखद घटना हो ।
वास्तवमा वातावरणलाई प्रदुषण गर्न ध्वनी एउटा प्रमुख अव्यवको रुपमा छ । यसले भवनमा चिरा पार्ने देखि लिएर पुल भत्काउने क्षमता समेत राख्दछ भने मानव शरीरमा मानसिक रोग, चर्म रोग तथा अन्य कतिपय रोगहरु निम्त्याउने प्रमुख कारण पनि बन्न सक्छ । यस सम्बन्धमा नोवेल पुरस्कार विजेता श्री रोवर्ट कोचले समेत A day will come when man will have to fight merciless noise as the worst enemy of health” भन्ने अभिव्यक्ति दिएका छन् ।
ध्वनिको मापनः
डेसिवल -dB_ ध्वनी मापनको ईकाइ हो । यसले ध्वनीको चर्कोपनाको -Loudness_ परिमाणलाई दर्शाउँछ । साधारण वार्तालापको माप ३० देखि ६० डेसिवल हुन्छ भने एउटा जेट विमान उड्ने बखतको ध्वनीको माप १६० डेसिवल भन्दा बढी हुन्छ । ध्वनीलाई उसको परिमाणको हिसावले निम्न प्रकारले बाड्न सकिन्छ ।
—१०— डेसिवल (dB) वहुतै कम मात्रामा सुन्न सक्ने ध्वनी
११—३० डेसिवल (dB) वहुतै स्यानो ध्वनी
३१—५० डेसिवल (dB) सामन्य ध्वनी
५१—७५ डेसिवल (dB) सामन्य भन्दा अलि चर्को ध्वनी
७५—१०० डेसिवल (dB) वहुतै चर्को ध्वनी
१०१—१०५ डेसिवल (dB) असामन्य रुपले चर्को ध्वनी
१२६— डेसिवल (dB)भन्दा बढि दर्दनाक ध्वनी


तपाईको प्रतिक्रिया