Khadya Bibhag

लिँदैछ ध्वनि प्रदूषणले भीषण रुप

–ई. सत्य नारायण शाह
जनकपुरधामलगायत तराई मधेशका विभिन्न गाउँ शहर बजार ध्वनिले आक्रान्त भएको थियो । यहीं महसुश गरेर करिब २१ वर्ष अगाडी मैले “दशैं, लाउडस्पीकर, र ध्वनी प्रदुषण” शीर्षकमा एउटा लेख प्रकाशन गरेका थिए । लेख्नुको अर्थ यहाका समाजलाई जागृत गर्ने मुख्य उद्देश्यनै हो । जनकपुरधाममा पनि एक से एक समाज सेवी, सामाजिक अगुवाहरु र नागरिक समाज क्रियाशील छन् ।

तर दुर्भाग्यपूर्ण अवस्था के हो भने यसतर्फ सुधार हुनुपर्नेमा झनै बिग्रेको अवस्था देखिन्छ । किन यस्तो किसिमको उदासिनताले यहाँको समाजलाई ग्रसित गरेको छ त्यो बुझ्न गाह्रो छ । तर एउटा कुरा त् प्रष्टै छ कि राजनैतिक प्रतिबद्धताको आभाव त् पक्कै छ । उपरोक्त लेख त्यतिखेर मैले दशैको समयमा भोगेको पीडाको कारण लेखेको थिए । आज भोलीको अवस्था त्यतिखेरको अवस्था भन्दा पनि निकै नै बिग्रेको मैले महशुश गरेको हुनाले पुनः यहाँका सामाजिक अगुवा, स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षण गराउन यो लेख लेख्दै छु ।

राजा जनक र जगत् जननी जानकीसंग सम्बन्ध जोडिएको प्रमुख कारणले जनकपुरघामको गणना एउटा पूण्य भूमीको रुपमा विश्वमै मान्यता प्राप्त गरेको कुरा सर्वविदितै छ । त्यति मात्र होइन यो एउटा तपो भूमिको रुपमा पनि लिनुपर्ने मान्यता छ । अर्थात विद्वानहरुले विचार मन्थन गर्ने, ध्यान गर्ने थलोको रुपमा पनि यो स्थान परिचित रहेको छ । अर्को शब्दमा भन्ने हो भने यो शान्त भुमिको रुपमा चिरपरिचित छ ।

यहाँ विभिन्न धार्मिक पर्व अनेकानेक भव्य कार्यक्रमहरुको आयोजन गरि मनाईने एउटा परम्परा जस्तै बसिसकेको छ । खास गरि विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, दशैं, दिपावली, छठ आदि जस्ता पर्वहरु विशेषरुपले जनकपुर शहरलाईनै सिंगारी मनाउने परम्परा बसेको छ ।

जसमा मिथिलाको विशेषताको रुपमा रहेको गीतसंगीतको प्रधानता देखिन्छ । यस अवसरमा हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु धार्मिक अथवा दर्शनीय दृष्टिकोणले उपस्थित भई आनन्दित हुने गरेका छन् । विशेष रुपले दशैं तिहार तथा छठको सजावट एवं धार्मिक रीतिहरु हेर्न हजारौंको संख्यामा पर्यटकहरु यस अवसरमा आउने गरेका छन् ।

पर्व त्यौहार मनाउदा धार्मिक तथा सांस्कृतिक उद्देश्यको पूर्ति हुनुको साथै मानव स्वास्थ्यदेखि लिएर वातावरणीय प्रभावको बारेमा सजग हुनु पर्ने त्यतिकै आवश्यक हुन जान्छ । आखिर धार्मिक उत्सवहरु पनि त मानव जातिकै कल्याणको लागि हो तर सो अवसरमा हुने गरेका सज्जाश्रृंगार तथा गीतसंगीतले प्रतिकूल असर पार्न थाल्यो भने त्यसमा अबिलम्व परिवर्तन ल्याउन जरुरी हुन जान्छ । यसप्रति स्थानीय सरकार, सम्पूर्ण समाज र प्रशासनिक निकायहरु सचेत हुनु जरुरी देखिएको छ ।

जनकपुरघाममा पर्व त्यौहारको अवसरमा हुने गरेका सज्जा तथा श्रृंगारको लागि प्रयोग गरिएका सामग्रीमध्ये विभिन्न किसिमका ठूलो—ठूलो आवाज आउने पड्का तथा लाउड स्पीकरबाट प्रसारित संगीतहरुबाट हुने गरेका वातावरणीय प्रभाव प्रति हामी बहुतै संवेदनशील हुनु पर्ने अति आवश्यक भएको छ ।

हुन त आयोजकहरुको दृष्टिमा भजन इत्यादिलाई लाउड स्पीकरको माध्यमबाट प्रसारित गर्नु वातावरणलाई अझ बढी धार्मिक तुल्याउने मनोभावना होला तर यो कति लाभदायी वा हानिकारक छ त्यस प्रति उहाँहरु सजग हुनै पर्छ । यस बाहेक पनि प्रत्येक कुना–कुनाबाट चौविसै घन्टा भजन तथा अन्य गीतका रेकर्डहरु सुन्नुपर्ने बाध्यता त छदैछ ।

आजकल धार्मिक कार्यक्रम भन्दा पनि तीब्र ध्वनि उत्पदान गर्ने श्रोत बिहेबारीको अवसरमा बजाइने डीजे, बैण्ड बाजा आदि रहेको पाइएको छ । जसले सबै ध्वनि श्रोतलाइ मात दिएको छ । झन् बिहे कार्यक्रम अबेर रातिसम्म मनाउने त एक किसिमको परम्परा नै बसिसकेको पाइन्छ ।

उपरोक्त दृश्यले बहुतै उच्चस्तरीय ध्वनि प्रदूषणको श्रोत निर्माण गरेको छ जसलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक चिन्तन र उपायतर्फ अबिलम्ब क्रियाशील हुनुपर्ने आवश्यकता छ ।

ध्वनि प्रदूषण के हो ?
ध्वनि प्रदूषणलाई अनावश्यक आवाजको रूपमा परिभाषित गरिएको छ । जसले वातावरण माथि नकारात्मक प्रभाव पार्दछ । तीब्र आवाज अवांछित हुन सक्छ किनभने यो चर्को, विचलित, वा कष्टप्रद हुन्छ । ध्वनी प्रदूषणलाई मानव, वन्यजन्तु वा वनस्पतिको जीवनचक्रलाई बाधा दिने वा हानी गर्ने, सामान्य स्थितिमा उथलपुथल ल्याउने अनावश्यक आवाजको रूपमा लिन सकिन्छ । यद्यपि आवाजले हामीलाई वरिपरि घेरेपनि ध्वनि प्रदूषणलाई सामान्यतया पानीको गुणस्तर र वायुमण्डलको गुणस्तरका समस्याहरू भन्दा कम ध्यान दिने प्रवृति देखिएको छ, किनभने यो हेर्न, स्वाद गर्न वा गन्ध महशुश गर्न सकिँदैन ।

स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबलहेल्थका डाडेभिडरो जास अनुसार ‘चर्को आवाजले केन्द्रीय स्नायुप्रणालीमा उत्तेजना उत्पादन गर्छ र यो उत्तेजनाले केही हर्मोन निस्कन्छ,’ यसबाट उच्च रक्तचापको जोखिम बढाउँछ, र उच्च रक्तचापले हृदयाघात र सेरेब्रोभास्कुलर रोगहरू जस्तै इन्फ्रक्सन (हृदयघात) र स्ट्रोकसँग सम्बन्धित कुराहरुलाइ निम्त्याउछ ।

भर्खरै एउटा समाचारमा उल्लेख भएअनुसार बिहार (भारत)को सोनाबरसा नजिकको एक बिहेमा दुलहाले डेजेको ध्वनिको तीब्रता कम गर्ने आग्रह गर्दा पनि सो नगरेकोले आखिरमा त्यस दुलहाको हृदयघातले मृत्यु भएको खबर सुनिएको छ । ध्वनिप्रदुषणको कारण घटेको यो अत्यन्तै दुखद घटना हो ।

वास्तवमा वातावरणलाई प्रदुषण गर्न ध्वनी एउटा प्रमुख अव्यवको रुपमा छ । यसले भवनमा चिरा पार्ने देखि लिएर पुल भत्काउने क्षमता समेत राख्दछ भने मानव शरीरमा मानसिक रोग, चर्म रोग तथा अन्य कतिपय रोगहरु निम्त्याउने प्रमुख कारण पनि बन्न सक्छ । यस सम्बन्धमा नोवेल पुरस्कार विजेता श्री रोवर्ट कोचले समेत A day will come when man will have to fight merciless noise as the worst  enemy of health” भन्ने अभिव्यक्ति दिएका छन् ।
ध्वनिको मापनः
डेसिवल -dB_ ध्वनी मापनको ईकाइ हो । यसले ध्वनीको चर्कोपनाको -Loudness_ परिमाणलाई दर्शाउँछ । साधारण वार्तालापको माप ३० देखि ६० डेसिवल हुन्छ भने एउटा जेट विमान उड्ने बखतको ध्वनीको माप १६० डेसिवल भन्दा बढी हुन्छ । ध्वनीलाई उसको परिमाणको हिसावले निम्न प्रकारले बाड्न सकिन्छ ।

—१०—   डेसिवल (dB)         वहुतै कम मात्रामा सुन्न सक्ने ध्वनी

११—३०      डेसिवल (dB)     वहुतै स्यानो ध्वनी

३१—५०      डेसिवल (dB)     सामन्य ध्वनी

५१—७५      डेसिवल (dB)     सामन्य भन्दा अलि चर्को ध्वनी

७५—१००     डेसिवल (dB)     वहुतै चर्को ध्वनी

१०१—१०५   डेसिवल (dB)      असामन्य रुपले चर्को ध्वनी

१२६—       डेसिवल (dB)भन्दा बढि दर्दनाक ध्वनी

यस्ता मानक बिभिन्न शहरले आफ्नो भौतिक स्थितिको आधारमा तोक्नेगरेको संसार भरिनै व्यवहारमा छ ।
प्रदूषणले के के गर्नसक्छ ?

ध्वनी प्रदुषणको कुरा गर्दा यसबाट मानव शरीरमा पर्न सक्ने प्रभावहरुको बारेमा जानकारी हुनु अति आवश्यक छ । जसबाट प्रत्येक सजग नागरिक यस प्रभावहरुबाट भिज्ञ होस् ।

यस प्रकारको प्रदुषणबाट अस्थायी अथवा स्थायी रुपले नसुन्ने, नशा सम्बन्धी तनाव्, मानसिक तनाव, उदासिनता आउने, स्वभावमा चिरचिरापन, ठूलो स्वरमा बोल्ने बानी पर्ने, अनिद्रा वा अस्वस्थकर निद्रा आउने, हृदय गति बढ्ने, पेटको अल्सर हुने ईत्यादि प्रमुख छन् । ध्वनी प्रदुषणले अन्तोगत्वा समाज र देशलाई नै प्रभावित गर्ने भएकोले यस प्रति समस्त नागरिक तथा नीति निर्माताहरुको समयमै ध्यानाकर्षण हुनु अति आवश्यक छ ।

होईन भने यसबाट आईपर्ने प्रभावहरुबाट कोही पनि बञ्चित हुन सक्दैन र फलस्वरुप मानसिक तथा शारिरीकरुपले अस्वस्थ व्यक्तिहरुको जमात मात्र हाम्रो समाजमा हुने निश्चित प्रायः छ ।

यसको रोकथामको लागि डब्लुएचओले युएनको वातावरण सम्बन्धी सम्मेलनमा ध्वनी प्रदुषण अरुभन्दा सजिलै तरिकाले नियन्त्रित गर्न सकिन्छ तर त्यसको लागि सबै सजग हुनु पर्छ भने तथ्य पनि प्रकाशित गरिसकेको छ । तसर्थ ठूलो आवाज आउने श्रोतहरु माथि समयमै नियन्त्रिण हुनु अति आवश्यक छ र त्यसको लागि सरकारले समयमै कानून÷नीति पनि बनाई त्यसको पालन र निगरानी गर्नसक्नु पर्छ । तर स्थानीय निकायले यसप्रति सजग भई प्रदुषण नियन्त्रणतिर अबिलम्ब पाईला चालि हाल्नु पर्छ ।

ध्वनिको अवस्था
खासगरी ध्वनि प्रदूषणलाइ लिएर जनकपुरधामको जुन अवस्था देखिन्छ त्यो अतिनै चिन्ताजनक छ । राति अबेरसम्म चर्को ध्वनिमा बाजा बजाउनेदेखि लिएर सवारीसाधनमा प्रयोग हुने अनावश्यक रुपले होर्न बजाउने प्रवृति उच्च रहेको पाइन्छ ्रखासगरी मोटरसाइकल चालकहरुको हर्न बजाउने प्रवृति यस्ता प्रदूषण बढाउनमा अतिनै महत्वपूर्ण भूमिका खेल्दछ जस्तो लाग्छ ।

बैण्ड बाजा र डीजे ध्वनिको म स्वयं एउटा पार्टी पैलेसको छेउमा बस्ने भएकोले बहुतै कटु अनुभव संगालेको छु । विहेवारीको समयमा रातभरी सुत्न नपाएको थुप्रै दृष्टान्तहरु छन् । यसरी म जस्ता थुप्रै भुक्तभोगीहरु पक्कै हुनु होला ।

मिथिलाको प्रत्येक परम्परामा गीत संगीतको महत्वलाई कसैले उपेक्षा गर्न मिल्दैन तर कसैको पारिवारिक वा व्यक्तिगत व्यवहारलाई लाउड स्पिकरमार्फत सार्बजनिक गर्न कसैको दृष्टिमा असल कार्य हो जस्तो लाग्दैन । यस कार्यलाई सामाजिक रुपलेनै प्रतिकार गर्नु आवश्यक छ । कहिलेकाहीँ एकै पटक बिभिन्न स्थानबाट लाउड स्पिकर बजाउदा त्यो संगीत होइन अत्यन्त कस्टकर ध्वनिलाइ हामि अनुभव गर्नसक्छौं ।

यसै सन्दर्भमा एक जना विदेशी पर्यटकको अनुभव निकै नै दुःख पूर्ण रहेको उहांले व्यक्त गरेकै कुरा उल्लेख गर्न चाहे । उहां बहुतै खुशी भएर दशैंको समयमा जनकपुरको सज्जा तथा पारम्परिक रीति रिवाजको वारेमा जानकारी पाए पछि स्वयं आफ्नै नजरले हेर्न जनकपुर आउनु भयो तर चौविसै घन्टाको लाउड स्पीकर तथा ठूलो–ठूलो आवाज आउने पड्काको ध्वनीले रातभरी सुत्न पाउन सक्नु भएन र भोलि पल्टै अस्वस्थ भएर फर्कनु भयो ।

त्यस्तै अर्का एक जना विदेशी सपरिवार जनकपुर स्थित एउटा अन्तराष्ट्रिय समाजिक संस्थामा कार्य गरिरहेको करीव ८–९ महिना बिताई सके पनि दशैं तिहारको ध्वनी प्रदुषणले गर्दा उहांहरु आफ्नो चार वर्षको कार्यक्रम छोट्याएर आफ्नो देशतिर फर्कनु भयो ।

ध्वनी प्रदुषणले विदेशीलाई मात्र प्रभावित गरेको हुन्छ भने होईन स्थायी बासिन्दाहरुलाई पनि त्यति कै मात्रामा प्रभावित गरिरहेको हुन्छ । तर त्यसको लक्षण वा प्रभाव त्यहांका व्यक्तिहरुको आम क्रियाकलापबाट एउटा सामन्य व्यक्तिले सजिलै थाहा पाउन सक्छ ।

केही उपाय
शहरी वातावरणमा ध्वनि प्रदूषणले प्रत्येक नागरिकको दैनिकीमा असुविधा, स्वास्थ्य, र मनोवैज्ञानिक समस्याहरूलाई निम्त्याउँछ । चर्को आवाजको सम्भावित प्रभावहरूमा महत्वपूर्ण वार्तालापमा हस्तक्षेप, कानको अस्वस्थता, एकाग्रता क्षमतामा ह्रास, निद्रामा गडबडी, उत्पादकत्वमा कमी, र बच्चाहरूको पढाइ सिकाइमा समस्याहरू समावेश छन् ।

भौतिक व्यवस्था
ध्वनि प्रदूषणलाई कम गर्ने एक मात्र तरिका भनेको ध्वनिको श्रोत माथि नियन्त्रण गर्नु तथा उपयुक्त साइलेन्सरहरू प्रयोग गरेर आवाजलाई नरम (कयात) पार्नु हो ।

शोर न्यूनीकरणका लागि हरियो सडकहरू उत्तम उपाय हुनसक्छ ्र शहरी ध्वनि प्रदूषणको कमीमा वनस्पतिको प्रयोग एक अवधारणा हो जसले विश्वभर धेरै ध्यानाकर्षण प्राप्त गरेको छ । रूख बेल्टहरूमा तिनीहरूको घनत्व, उचाइ, लम्बाइ, र चौडाइ सबैभन्दा प्रभावकारी कारकहरू भएकाले महत्त्वपूर्ण आवाजको तीब्रतालाई (attenuation) कमजोर पारेको देखिएको छ ।

शहरी सडकहरूमा, फराकिलो रूख बेल्टहरूको सम्भावना कम भएमा हेजहरू र घना झाडीहरूको व्यवस्थाले ध्वनि तीब्रतालाई कम गर्न धेरै उपयोगी विकल्प हुन सक्छ । विशेष गरी पक्कि र साँघुरो सडकहरूमा वनस्पतिले ट्राफिक आवाजको स्तर कम गर्न सक्छ । शहरमा भवनहरूबाट हुने इकोको कारणले आवाजको प्रवद्र्धनको सम्भावना बढाउँछ तर बिरुवाहरूद्वारा ध्वनिको अवशोषणको कार्य हुन्छ ।

नीतिगत व्यबस्था
ध्वनि प्रदूषणको प्रभावहरुलाई सबै तहका सरकारले गम्भीरतापूर्वक मनन गर्दै आवश्यक कानुन निर्माण, त्यसको पालना एवम् अनुगमन कार्य प्रभावकारी रुपले गर्नु पर्दछ । यसतर्फ स्थानीय सरकारको भूमिका ज्यादै महत्वपूर्ण हुनसक्छ ।

कति डेसिवलको ध्वनीलाई ग्राह्य मान्ने र त्यसलाई समयसँग कसरी जोड्ने भन्ने कुरा नीति मै हुन् जरुरि छ । यसमा खासगरी मन्दिर मस्जिदमा बजाइने देखि लिएर घरायसी पूजापाठमा प्रयोग गरिने लाउड स्पिकरहरु, राजनैतिक कार्यक्रममा प्रयोग हुने साउण्ड सिस्टम, सबारी साधनहरुबाट निस्किने आवाजहरुको तीब्रता नियन्त्रण आदि कानुनी आधारमै गरिनुपर्दछ ।

अन्त्यमा
ध्वनि प्रदूषणयसो हेर्दा सामान्य लाग्ने तर अत्यन्तै गम्भीर प्रकृतिका प्रभाव मानव जीवन मात्र होइन पशुपंछी तथा वनस्पतिमा समेत पार्ने हुँदा सम्वन्धीत निकाय तथा नागरिक समाजले आ—आप्नो स्थानबाट सजग भइ यसलाई नियन्त्रण गर्ने तिर लाग्नुपर्ने आवश्यकता सबैतर्फबाट यथोचित मनन हुनैपदर्छ । ध्वनि प्रदूषणले बासस्थानको गुणस्तर घटाउदै तनावको स्तर बढाएर सर्वपक्षीय नकारात्मक प्रभाव पार्दछ ।

यहासम्म कि मान्छेमा पर्ने यसको प्रभावले सामाजिक समन्वय, सौहाद्रपूर्ण वातावरण निर्माण समेत हुन् बाधा गर्छ ।

मान्छेमा नकारात्मक एबम प्रतिक्रियात्मक सोचमा अभिबृद्धि हुनथाल्छ ्र अर्को कुरा केपनी हो भने, विभिन्न व्यक्तिहरूले एउटै प्रकारको आवाजमा फरक फरक प्रतिक्रिया दिनसक्छन । ढण् मद्य सम्मको आवाजको स्तरले कुनै धेरै ठुलो प्रभाव पार्दैन तर 115 dB भन्दा बढीको एक्सपोजर बिल्कुल असुरक्षित हुन्छ र यो कुनैपनि हालतमा अनुमति योग्य हुँदैन । सौम्य समाजको निर्माणमा स्थानीय सरकारले उच्च प्राथमिकता दिदै आवश्यक कार्य गर्नेछ भनि विश्वास गरौ ।

तपाईको प्रतिक्रिया