जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट उपचुनाव लड्ने लगभग निश्चित भएको छ । बारा–२ बाट चुनाव जित्नु भएका रामसहाय यादवले उपराष्ट्रपतिमा विजय भएपछि सो निश्चितता भएको हो ।
चुनावको मिति तय नभएपनि त्यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने निश्चित भए जस्तै जित पनि निश्चित रहेको सो पार्टीका नेताहरुले दावी गर्नुभएको छ । उपेन्द्र यादव बारा २ बाट उपचुनावबाट निर्वाचित भएर संसदमा मात्र आउने होइन । उहाँ प्रधानमन्त्री बन्ने लक्ष्य पनि लिनुभएको छ । उपचुनावबाट निर्वाचित भएर आएपछि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीका लागि दावी गर्ने सो पार्टीका नेताहरु बताउनुहुन्छ । उहाँले यसअघि पनि प्रधानमन्त्रीमा दावी गरिसक्नु भएको छ ।
चार दल (काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा)बीच प्रधानमन्त्री निवास बालुवाटारमा शाक्ति बाँडफाँट हुँदा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा दावी गर्नुभएको छ । माओवादी केन्द्र, काँग्रेस, नेकपा (एस) बीच प्रधानमन्त्री आलोपालो बन्ने सहमति भएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा दावी गर्नुभएको छ ।
‘१० सीट भएको पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्रीमा दावी गर्छ भने १२ सीट भएको हाम्रो पार्टी जसपाले प्रधानमन्त्रीमा दावी किन नगर्ने’ अध्यक्ष उपेन्द्र यादवले बालुवाटारमा बैठकमा राख्नु भएको छ, बैठकमा सहभागी काँग्रेसका एक नेताले भन्नुभयो, ‘माधवजीको पार्टीले १० सीट प्राप्त गरेको छ, राष्ट्रिय पार्टी पनि बनेको छैन, उसले प्रधानमन्त्रीमा दावी गरिरहेको छ भने हाम्रो पार्टीले १२ सीट हासिल गरेर राष्ट्रिय पार्टी बनेको छ भने हामीले किन न दावी गर्ने भनि उपेन्द्रजीले बैठकमा भन्नुभएको छ उहाँले यो दावी एकपटक मात्र होइन पटक पटक गर्नुभएको छ ।’
उपेन्द्र यादव आफै चुनाव जितेर आएपछि प्रधानमन्त्रीमा जवर्जस्त रुपमा आफ्नो दावी राख्नुहुन्छ, ती नेताले भन्नुभयो, ‘बरु मन्त्रीमा उपेन्द्रजीको त्यति दावी हुने छैन, तर आलोपालो प्रधानमन्त्री बन्ने कुरा भयो भने उहाँको पनि दावी जवर्जस्त रुपमा आउँछ ।’
छ महिनाका लागि भएपनि जसपाका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री बन्ने दावीमा हुनुहुन्छ । यो प्रस्ताव उहाँले बैठकमा ल्याउने सम्भावना रहेको काँग्रेसका ती नेताले बताउनुभयो । नेपालको संसदीय राजनीतिमा ठूलो दल मात्र भएर हुँदैन संसदीय अंक गणितमा जसले जति खेल्न सक्छ उ त्यति शक्तिशाली हुन्छ । माओवादी केन्द्र कहिले ठूलो दल बन्न सकेन तर सो दलका अध्यक्ष प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसक्नुभयो ।
माधवकुमार नेपाल पनि प्रधानमन्त्री हुँदा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्नु भएको होइन, त्यस्तै, झलनाथ खनाल, डा.बाबुराम भट्टराई ठूलो दलको हैसियताले प्रधानमन्त्री बन्नुभएको होइन ।
२०६५ पछि कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाबाहेक कुनै पनि प्रधानमन्त्री बिना मधेशी दलको सहयोगले बन्नुभएको छैन । हरेक प्रधानमन्त्री मधेशी दलको सहयोगबाट मात्र बन्नुभएको छ । तर मधेशी दलले कहिले पनि प्रधानमन्त्रीका लागि दावी गरेनन् । जहिले एउटा दुईटा मन्त्री तथा उपप्रधानमन्त्रीमा अल्झि रहे । प्रधानमन्त्री बनाउनमा मधेशी दलले भूमिका खेलेपनि प्रधानमन्त्रीमा कहिले दावी गरेनन् तर यसपटक उपेन्द्र यादवले १० दलीय गठबन्धनको बैठकमा जसपाले प्रधानमन्त्रीका लागि प्रस्ताव नै लाग्ने तयारी गरिरहनु भएको छ ।
यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्छ भनि प्रस्ताव लग्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि उत्पन्न प्रस्थितिले बनेको नयाँ गठबन्धनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लग्नु भएको थियो ।
तर महन्थ ठाकुर नै तयार नभएपछि प्रस्ताव फेल भएको जसपाका कार्यकारिणी सदस्य इस्तियाक राइले बताउनुभयो । तत्कालिन प्रधानमन्त्री ओलीले गरेका संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाई दिएपछि काँग्रेस, माओवादी, जसपा, नेकपा एस(माधवकुमार नेपाल समूह)सहितको गठबन्धनले नयाँ सरकार बनाउनका लागि भइरहेको प्रयासमा उपेन्द्र यादवले सो प्रस्ताव लग्नु भएको थियो ।
२०७८ बैशाखको दोस्रो हप्ता कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठको निवासमा बसेको गठबन्धनको बैठकमा सो प्रस्ताव लग्नुभएको थियो । त्यो बैठकमा नेता इस्तियाक राइ पनि सहभागी हुनुहुन्थ्यो ।
तर, महन्थ ठाकुरले केपी शर्मा अोलीको साथ नछाडेको कारण सो प्रस्ताव रद भएको थियो । जसपामै रहेर छुट्टै गुट चलाउनु भएका महन्थ ठाकुर, राजेन्द्र महतोहरुले ओलीलाई नै प्रधानमन्त्रीमा टिकाउने प्रयासमा लाग्नुभएको थियो । महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव आएपनि ओलीलाई छाड्न तयार हुनुभएन । ओलीको सरकार ढाल्नका लागि राष्ट्रपति तथा सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने सँख्या कम भइरहेको थियो ।
माधवकुमार नेपालले सहयोग गरिरहनु भएको थियो तर त्यसबाट पनि सँख्या पुगिरहेको थिएन । जसपाबाट महन्थ ठाकुर समूहले साथ दिँदा मात्र सँख्या पुग्ने अवस्था थियो तर उहाँहरुले राष्ट्रपति कार्यालयमा ओलीलाई प्रधानमन्त्री कायम राख्न हस्ताक्षर बुझाई सक्नुभएको थियो । त्यसपछि मात्र माधवकुमार नेपालले ओली पक्षका नेताहरुलाई तानतुन गरेर सँख्या पुर्याउनु भएको थियो ।
त्यतिबेला माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने इच्छा देखाएको भए बन्नुहुन्थ्यो तर उहाँले पार्टी विभाजन गरेर आफू प्रधानमन्त्री नबन्ने जवाफ दिनुभएको थियो । त्यसपछि सो गठबन्धनमा ठूलो दलको हैसियतले सभापति देउवा प्रधानमन्त्री बन्नुभयो । तर महन्थ ठाकुर प्रधानमन्त्रीका लागि तयार हुनुभएन ।
उपचुनाव जितेर आएपछि जसपा अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीका लागि प्रस्ताव लिएर जाने तयारी गरिरहनु भएको छ । र, यसमा काँग्रेस, माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । जसपाका नेताहरु भन्नुहुन्छ, ‘यसपटको चुनावमा उपेन्द्र यादवलाई प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गर्नेछौं ।’
तपाईको प्रतिक्रिया