Khadya Bibhag

मास्टरदेखि उपराष्ट्रपतिसम्म रामसहायको यात्रा

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा चयन हुनुभएको छ । उहाँ यो देशको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति बन्नुभएको हो । यद्यपी उहाँलाई उपराष्ट्रपति हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भए ।

संविधानमा फरक फरक लिङ वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति चयन हुन सक्ने व्यवस्था हुँदा हुँदै राष्ट्रपतिमा पुरुष आएपछि उपराष्ट्रपति महिला हुनुपर्ने तर्कसहित त्यसलाई विवादमा ल्याउने काम भयो । यद्यपी निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयले संविधानमा राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने स्पष्ट व्यवस्था कतै छैन भन्दै रामसहाय यादवको उम्मेदवारीलाई कायम राखेको थियो ।

रामसहाय प्रसाद यादव ले ३०,३२८ मत प्राप्त गरी उपराष्ट्रपतिमा विजय हुनुभएको छ । अष्टलक्ष्मी शाक्यले १६,३२८ प्रमिला कुमारीले ४८ ममता झाले २,५३७ ल्याएउनु भएको छ।

राजनीतिक यात्रा
शिक्षक पेसाबाट राजिनामा दिएर औपचारिक रुपमा २०६५ देखि मधेशको राजनीतिमा होमिनु भएका रामसहाय यादव त्यसअघि पनि मधेशको मुक्तिका लागि ठूला ठूला आन्दोलनमा भाग लिनुभएको छ । शिक्षक भएर पनि उहाँले गोप्य नामबाट आन्दोलन सञ्चालन गर्दै आइरहनु भएको थियो । लामो संघर्ष र बलिदानीपछि २०७८ असोज २२ गते वनमन्त्री बन्न सफल हुनुभएको थियो । उहाँ वनमन्त्री भएपछि चौतर्फी चर्चा भएको थियो । जनता समाजवादी पार्टीले सही निर्णय गरेको भनि सबैले प्रसंशा गरेको थियो । ठिक अहिले त्यस्तै प्रसंशा भइरहेको छ ।

२०७८ मा वनमन्त्रीमा सपथ खाएपछि बारास्थित आफ्नो निवासमा पुग्नुभएको थियो । निवासमा पुगेपछि श्रीमती चम्पादेवी यादव बाहिर निस्केर आफ्ना श्रीमान (वन मन्त्री यादव) लाई दोसल्ला र माला लगाएर स्वागत गर्नुभएको तस्विर भाइरल भएको थियो । लो प्रोफाइलमा रहन रुचाउने रामसहाय यादव एकाएक चर्चामा आउनुभयो । उहाँको सादगी, सादा जीवन र अनुशासित राजनीतिकको चौतर्फी चर्चा हुन थाल्यो ।

उहाँका लागि उहाँका श्रीमती चम्पादेवीले गर्नुभएको संघर्षको बारेमा चर्चा हुन थाल्यो । चम्पादेवीले आफ्ना श्रीमानलाई गरेको स्वागतले धेरैलाई भावुक पनि बनायो । त्यसको एउटै कारण हो, इमान्दारिता । धेरै मन्त्री आउनु भयो धेरै जानुभयो ।

२०६४÷०६५ को मधेश आन्दोलनपछि सानादेखि ठूला लगभग धेरै जना मन्त्री बन्नुभयो । मन्त्री हुनुअघि र पछि हरेकको पछाडी प्रश्नवाचक चिन्ह लाग्थ्यो । कोही मन्त्री बन्दा कसैमा सर्वसम्मती हुँदैन्थ्यो अर्थात कोही मन्त्री बन्दा त्यसको नाममा वाह ! भन्ने अवस्था थिएन ।

तर जनता समाजवादी पार्टी नेपालबाट वन तथा वतावरण मन्त्री बनेका रामसहाय यादव जो यस्ता पात्र हुनुभयो जसको नाममा एकजनाले पनि प्रश्न उठाउन सकेको थिएन न पार्टीभित्र र न पार्टी बाहिर । अहिले पनि उहाँ उपराष्ट्रपतिमा पार्टीले सिफारिस गरेपछि कसैले कुनै प्रश्न उठाएनन् । न पार्टीभित्र कसैले अवाज उठाए न पार्टी बाहिर । जहाँ पनि उहााको प्रसंशा नै भइरहेको छ । त्यसको कारण हो, रामसहाय यादवको इमान्दारिता, लगनशिलता र जवाफदेहिता ।

२०४६ देखि राजनीतिमा निरन्तर सक्रिय रामसहाय यादव २०६५ को पहिलो संविधानसभा चुनावपछि खुल्ला राजनीतिमा आउनु भएको हो । उहाँ राजनीतिमा सक्रिय भएपनि अरु जस्तो खुलेर बाहिर आउनु भएको थियो । छदम् नामबाट उहाँले राजनीतिक गरिरहनु भएको थियो । आन्दोलन होस् वा आमसभा उहाँको उपस्थिति हुन्थ्यो नै । तर कहि पनि उहाँले औपचारिकता दिनुभएन । आन्दोलनको मोर्चामा उहाँ सधै अगाडि हुनुहुन्थ्यो तर आफ्नो नामबाट होइन, उहाँको त्यतिबेलाको राजनीतिक नाम चन्द्रकान्त थियो ।

उहाँभन्दा पछि राजनीतिक सुरु गर्नुभएका राजनीतिक दलका नेताहरुको शान सौकत र आर्थिक अवस्था कहाँबाट कहाँ पुग्यो तर उहाँको अवस्था जहाँको त्यही छ जब कि उहाँ राजनीतिमा निरन्तर हुनुहुन्छ । एकपटक संविधानसभा सदस्य र पछिल्लो समय प्रतिनिधिसभाको सदस्य बन्नुभयो ।


तर उहाँ कहिले पनि नचाहिने आर्थिक लाभ लिने काम गर्नुभएन । उहाँसँगै सांसद भएकाहरु काठमाडौमा घरजग्गा जोडि सक्नुभयो तर रामसहायका परिवारको बास अझै गोठमा नै छ । संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा पार्टीको उच्च पदमा सधै रहनु भएका रामसहाय यादवले एउटा घरसम्म बनाउन सक्नु भएन ।

पुर्ख्यौली घर भएको बारा कचोर्वाको जमिन जत्था बेचेर बारा कलैयाको गोरुवजारमा १२ धुर जमिन खरिद गर्नुभएको थियो । त्यसमा उहाँका श्रीमती चम्पादेवीले भैंसी पाल्नका लागि गोठ बनाउनु भएको थियो । सोही गोठमा आफ्नो परिवारको बास बनाउनु भएको थियो । त्यसैमा छोराछोरी सहित रामसहाय आफ्नो परिवारका साथ बस्नु हुन्थ्यो ।

रामसहाय फुलटाइम राजनीतिकमा लाग्नु भएको कारण प्रायः काठमाडौँ बस्नु हुन्थ्यो । घरमा उहाँका श्रीमती र छाराछोरी बस्नु हुन्थ्यो । पछि छोराछोरीहरु पनि पढ्नका लागि काठमाडौँ बस्न थालेपछि चम्पादेवी त्यो गोठमा एक्लै बस्नु हुन्थ्यो । कहिले काही आउने रामसहाय यादव र उहाँका छोराछोरी त्यही गोठमा बस्नु हुन्थ्यो । तर आजसम्म त्यो गोठबाट रामसहाय निस्कनु भएको छैन अर्थात एउटा राम्रो घर बनाउन सक्नु भएको छैन ।

पहिलो संविधानसभामा सदस्य भएको बेला उहाँले घर बनाउने योजना बनाउनु भएको थियो । त्यही जमिनमा उहाँले जग पनि हाल्नु भएको थियो । पिलर पनि उठाउनु भएको थियो तर त्यसभन्दा अघि बढ्न सक्नु भएन । संविधानसभा सदस्यबाट हटेपछि पिलर जस्ताको त्यस्तै रह्यो त्यहाँ अहिले बोट विरुवा उम्रि सकेको छ तर उहाँले त्यसलाई पूर्णता दिन सक्नु भएको छैन । तैपनि चम्पादेवी त्यसैमा खुश हुनुहुन्छ । रामसहाय यादवप्रति उहाँको कुनै गुनासो छैन ।

चम्पादेवीको कमाई
त्यही गोठमा अहिले रामसहाय यादवका श्रीमती चम्पादेवी यादवले गाई भैसी पाल्नु भएको छ । त्यसैको आम्दानीबाट रामसहाय यादवको राजनीतिक पनि अगाडि बढेको छ र छोराछोरीको पढाई पनि भइरहेको छ । चम्पादेवीकै कारण रामसहाय यादव पूर्णकालिन राजनीतिमा लाग्नु भयो र मन्त्रीदेखि उपराष्ट्रपतिसम्म बन्न सफल हुनुभयो । रामसहाय मन्त्री भएपछि पनि उहाँ श्रीमती चम्पादेवी गाउँ छाडेर काठमाडौँ आउनु भएन ।

श्रीमान मन्त्री भएपनि उहाँ गाउँमा गाई, भैसीलाई स्यहार, सुसार गरिरहनु भएको थियो । रामसहाय उपराष्ट्रपतिसम्म आउनुमा चम्पादेवीको ठूलो योगदान छ । रामसहाय यादवको आम्दानीको स्रोत चम्पादेवीको गाई र भैसीं हुन् । संविधानसभा सदस्य हुँदा र अहिले प्रतिनिधिसभा हुँदा अलिअलि आम्दानी हुन्थ्यो । त्यसबाहेकका अन्य बाँकी समय रामसहाय यादव पनि श्रीमती चम्पादेवीमाथि नै निर्भर हुन्थ्यो ।

रामसहाय राजनीतिमा लागेपछि चम्पादेवीले भैंसी पाल्न सुरु गर्नुभएको थियो । त्यसअघि रामसहाय शिक्षक हुँदा घर परिवार चलाउन त्यति गाह्रो थिएन । जब रामसहाय यादव राजनीतिमा सक्रिय हुनुभयो अनि चम्पादेवीलाई घर चलाउन गाह्रो भयो । उहाँले भैसी पाल्न सुरु गर्नुभएको थियो । त्यसले श्रीमानको राजनीतिलाई अगाडि बढ्न सहयोग पुर्याउनुभयो । रामसहायका दुई छोरा र एक छोरी छन्, उनीहरु सबै अध्ययन गरिरहेका छन् ।

दाजु रामधारी यादव, दिदी राधिकार देवी यादव र राजकली देवी यादव हुन भने वहिनी रुकमिला देवी हुन् । रामसहाय यादव आफ्नो पद र प्रतिष्ठामा कहिले घमण्ड गर्नुभएन । जहिले पनि उहाँ सदा जीवन बिताउनुभयो । २०७८ मा बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव जितेर उहाँ मन्त्री बन्नुभएको थियो । पुनः बारा २ बाट चुनाव जितेपछि उपराष्ट्रपति बन्न लाग्नुभएको छ । यसले बारा जिल्लाको उहाँको क्षेत्रमा खुशीयाली छाएको छ ।


१४ वर्षसम्म मास्टरी गरेका रामसहाय यादव आफ्नो पेसालाई जसरी इमान्दारीपूर्वक अगाडि बढाउनुभयो त्यसरी नै राजनीतिलाई पनि डोर्याउनुभयो । त्यसैले आज उहाँको चारैतिर प्रसंशा भइरहेको छ ।

साइन्स पृष्ठभूमिका रामसहाय यादवलाई ०४६ सालको आन्दोलनपछि जिल्लाका काँग्रेसी नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराउन चाहनु भएको थियो । तर तत्कालिन नेपाल सद्भावना पार्टीले मधेशको अधिकारका लागि संघर्षरत भएको बारेमा विद्यार्थीकालदेखि नै थाह पाएको हुनाले सद्भावना पार्टीलाई नै उहाँले रोज्नु भएको थियो ।

सो पार्टीभित्रको गुटबन्दी र नेताहरुमा आएको विचलनले गर्दा मधेश आन्दोलनअघि फोरम नेपालमा अवद्ध हुनु भएको थियो । मधेश आन्दोलनपछि मस्टरीबाट राजिनामा दिएर राजनीतमा लाग्नु भएको थियो । आज उहाँको इमान्दारीता र लगनशिलताका कारण उपराष्ट्रपति बन्न सफल हुनुभयो ।

घरखर्चका लागि शिक्षक
२०४३ सालमा दोस्रो श्रेणीमा एसएलसी उतीर्ण गर्नुभएका रामसहाय यादव सन् १९९३ मा भारत विहारको सीतामढी कलेजबाट बीएसी गरेर वीरगंजबाट एकवर्षे बीएड गर्नुभएको थियो । बीएससीमा अध्ययन गर्न लाग्दा उहाँका दाजु रामधारी यादव विरामी पर्नुभएको थियो । त्यसकारणले रामसहाय यादवलाई घर बस्नुपरेको थियो । सीतामढी छाडेर घरमै बस्न थाल्नुभएको थियो । रामसहाय घरमै दाजुको हेरचाहमा बस्न थाल्नु भएको थियो । दुखसुख गरेर उहाँ बीएससी एकैपटकमा पास गर्नुभयो ।

दाजु रामधारीको हेरचाहका लागि पढाई छाडेर घर बसेका रामसहायलाई उहाँका गुरु रामेश्वर राय यादवले यसरी घरमा बसि राख्नुभन्दा कुनै स्कूलहरु ट्राई गर भन्नुभएको थियो । शिक्षकमा भइहाल्यो भने सजिलो हुन्छ घर खर्च पनि निस्किन्छ र तिम्रो टाइम पनि पास पनि हुन्छ । २०४८ सालमा कलैयाको पन्नादेवी कन्या माविमा सम्पर्क गर्न उहाँ जानुभयो ।

त्यहाँ उहाँले मौका पाउनुभयो । उहाँ त्यहाँ साइन्स र म्याथ पढाउनुहुन्थ्यो । १२ वर्षसम्म अस्थायी रुपमा काम गरेका उहाँ २०६० सालमा मात्र स्थायी हुनुभयो । उहाँ कलैयामा नै घरभाडा लिएर बस्नु भएको थियो । र विहान बेलुका ट्यूशन पनि पढाउनु हुन्थ्यो । त्यहीबाट बेला बेलामा घरको कामकाज पनि हेर्नुहुन्थ्यो । २०६५ सालमा फोरम नेपालबाट समानुपातिकमा उम्मेदवार बनेपछि शिक्षक पदबाट राजिनामा दिनु भएको थियो ।

सविधानसभा
बाँके क्षेत्र नम्बर २ बाट सविधानसभाको चुनावमा लड्ने भनेर २०६४ फागुन १७ गते शिक्षक पदबाट राजिनामा दिनुभयो । थोरै समय भएपनि क्षेत्र बनाउनु भएको थियो रामसहाय यादवले तर केन्द्रले रामसहायको नाम समानुपातिकमा दिएर प्रत्यक्षमा बच्चाराउत अहिरलाई टिकट दियो । तर बच्चाराउत पनि जित्नुभयो । माओवादीको शिवचन्द्र कुशवाहा जित्नभयो । रामसहाय यादवलाई त्यसपछि पश्चातामा पनि लागेको थियो सायद आफू प्रत्यक्षमा लडेको भए जित्थे होला ।

सविधानसभा गठन भएपछि संसदीय दलको नेता बनाउने कुरा भयो । केन्द्रीय समितिमा सर्वसम्मतीले उपेन्द्र यादवलाई बनाउने कुरा भयो । तर जेपी गुप्ता र विजयकुमार गच्छदारले संसदीय दलको विधान बनाएर मात्र दलको नेता चयन गर्ने कुरा उठायो र त्यहीबाट पार्टीमा गटबन्दी गर्ने विजारोपन भयो । विधान बनाउने कुराको रामसहायले विरोध गर्नुभएको थियो । तर गुप्ता र गच्छदारको चतुराईको अगाडि कसैको केही लागेन र विधान बनाउने जिम्मा पनि उहाँहरुले नै लिनुभयो । काँग्रेस पार्टीको संसदीय दलको हुबहु विधान सच्याएर ल्यायो । विधान अनुसार संसदीय दलको नेताका लागि चुनाव हुने व्यवस्था राखेको थियो ।

गच्छदारले संसदीय दलको बैठकमा आफू संसदीय दलको नेता बन्ने प्रस्ताव राखेका थिए । यदि आफूलाई दिएन भने चुनाव गराउने चेतावनी पनि उहाँले दिनुभएको थियो । उपेन्द्र असमञ्जसमा पर्नुभयो । केन्द्रीय समितिले सर्वसम्मतिले नेताको रुपमा चयन गरेको थियो तर आज चुनाव गराउने अवस्था आयो के गरौं भनि उपेन्द्र यादव चिन्तित हुनुभएको थियो ।

पछि गुप्ताले उपेन्द्रलाई अलग बसाएर कन्भिन्स गर्नुभयो कि गच्छदारलाई नै नेता बनाउन भनेर । उपेन्द्र यादवले बैठकमा आएर आफू कन्भिन्स भए तर तपाईहरुको लागि छलफल गर्ने ठाउँ छ । एक पटक शंकरले वीष पिएका थिए आज आफूले पनि त्यस्तै गरी भनि बैठकमा कुरा राख्नु भएको थियो । रामसहाय यादवले गुप्ता र गच्छदारको कुटिल चाल पाईसक्नु भएको थियो । र उपेन्द्रलाई बारम्बार सम्झाउनु भएको थियो । अनन्तः त्यहीबाट शुरु भएको उहाँहरुको यो कुटिल चालले निरन्तरता पायो र दुई जना पालो पालो अलग हुनुभयो ।

रामसहाय यादवले भन्नुभयो–‘सत्ताका खेलाडी उहाँहरु उपेन्द्र यादवलाई राजनीतिक दाउपेचम फँसाउँदै गए । यहाँसम्म कि गुप्ताको कुटिल चालमा म पनि फँसे र मलाई पनि रातो पासपोर्ट काण्डमा फँसाउने काम भयो तर म सही भएको कारणले फँस्न सकिन । अख्तियार र संसदीय सचिवालयको प्रमाणहरु हेर्दा कतै नकतै मलाई फँसाउनमा उहाँहरुको हात हो जस्तो लाग्यो ।

२०६५ साल जेठ ९ गते पार्टी केन्द्रीय समितिको बैठकले रामसहाय यादवलाई महासचिव बनायो । भने २०६५ माघ ४–७ गतेसम्म वीरगंजमा भएको महाधिवेशनबाट पनि महासचिवमा नै चयन गर्यो । त्यो बेलादेखि पार्टीमा लगातार महासचिव नै रहनुभयो । अहिले कार्यविभाजन नभएको कारण उहाँ पार्टीको कार्यकारिणी सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया