Khadya Bibhag

राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिन्छन् कि दिँदैनन ?

काठमाडौँ चैत ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा २ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेसँगै सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको चर्चा पनि बाहिर आएको छ ।

सर्लाहीबाट चुनाव हार्नुभएका नेता महतो त्यहाँबाट चुनाव लडोस् भनि लोसपाका नेताहरुको चाहना रहेको छ । बाराबाट डेलिगेशन नै आएर महतोलाई चुनाव लड्न आग्रह गरिसकेको छ । तर नेता महतोको चुनाव लड्ने मन भएपनि भित्रैदेखि तयार भइरहनु भएको छैन ।

उहाँ विभिन्न कोणबाट बारा २ लाई अध्ययन गरिरहनु भएको छ । सत्ता गठबन्धनले सो क्षेत्रको बारेमा के निर्णय गर्छ त्यसको पर्खाइमा पनि उहाँ रहनु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव लगभग त्यहाँबाट उम्मेदवार बन्ने निश्चित भएको छ । अधयक्ष यादव सप्तरी २ बाट चुनावमा पराजित हुनुभएको छ । सोही पार्टीका कार्यकारिणी सदस्य एवं बारा २ का सांसद रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको छ । त्यहाँ बैशाख १० गते उपनिर्वाचन हुन गइरहेको छ ।

आज बबरमहलस्थित संसदीय दलको कार्यालयमा बसेको लोसपाको कार्यकारिणी समितिको बैठकमा उपनिर्वाचनको विषयमा पनि छलफल भएको एक नेताले बताउनुभयो । छलफलले बारा २ मा हुने उपनिर्वाचनमा लोसपाबाट उम्मेदवार उठाउने तर सत्ता गठबन्धनले कस्तो निर्णय गर्छ, कुन उम्मेदवारमा सहमति बनाउँछ त्यसको आधारमा थप निर्णय गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

सत्ता गठबन्धनले निर्णय नगरेसम्म उपचुनावका तयारीका लागि बाराका पार्टीका नेता तथा कार्यकर्ताहरुसँग छलफल गर्ने त्यहाँको वस्तुस्थितिको बारेमा अध्ययन अनुसन्धान गर्ने सहमति पनि बैठकले गरेको छ । बारा २ मै गएर त्यहाँको बारेमा जानकारी लिने, त्यहाँका नेताहरुलाई काठमाडौँ बोलाएर पनि छलफल गर्ने जस्ता विषयमा छलफल भएको छ ।

तपाईको प्रतिक्रिया