Khadya Bibhag

५० हजार रुपियाँको ब्याज कसरी भयो पाँच लाख ?

–पुनितादेवी महतो
गोलबजारका पत्रकार गणेश साह नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्ष हुनुहुन्छ । उहाँको श्रीमति शारदादेवी शाहबाट ५५ हजार रुपियाँ मैले लिएको थिए । पाँच हजार रुपियाँ मैले तुरुन्तै फिर्ता गर्दिए । बाँकी रह्यो ५० हजार रुपियाँ त्यसमध्ये ११ हजार रुपियाँ एक हप्तामा नै फिर्ता दिए । बिच बिचमा उहाँलाई मैले पैसा बुझाई नै रहेको थिए । ५५ हजार रुपियाँको एक लाख रुपियाँ ब्याज नै देखाउनु भयो उहाँले । शारदाले हरेक हप्ता ११ हजारको दरले ब्याज जोड्नु हुँदो रहेछ । ब्याज बढ्दै गएपछि मैले गोलबजारकै एक सहकारीबाट एकलाख रुपियाँ ऋण लिएर उहाँको सबै चुक्ता गर्दिए ।

तैपनि उहाँले तमसुक च्यात्नु भएन । उल्टै अझै चार लाख रुपियाँ बाँकी रहेको भन्दै माग्न थाल्नुभयो । घरमा आएर विभिन्न किसिमका टर्चर दिने गर्नुभयो । जे गरेर जसरी पनि मेरो पैसा दे भनि दवाव दिन थाल्नुभयो । कसरी त्यति रकम भयो । ५५ हजार रुपियाँमध्ये पाँच हजार लिएकै दिन फिर्ता गर्दिएकै छु । त्यसको एक हप्तापछि एघार हजार रुपियाँ पनि दिएको छु । एकलाख रुपियाँ ब्याज नै पुग्यो भनेपछि मैले गोलबजारकै एउटा सहकारीबाट ऋण लिएर तपाईको सबै चुक्ता गरेको छु भने फेरि कसरी चार लाख पुग्यो भन्दा उहाँले कसरी कसरी जोडेर त्यत्रो रकम देखाउनु भयो ।

मैले तिर्न सक्दिन भने । त्यसपछि उहाँले मसँग गराएको झुठो तमसुकको आधारमा जिल्ला अदालतमा मुद्दा हाल्नुभयो । मैले प्रतिउत्तर पनि लगाइनन् । तैपनि त्यहाँको न्यायधिशले शारदाकै पक्षमा निर्णय गर्नुभयो । मलाई जेल हाल्ने पुर्जी काटेको छ । आठ महिनादेखि म घरमा बस्न पाएको छैन, लुकी लुकी हिडि रहेको छु । शारदाले पाँच लाख रुपियाँ मागरिहनु भएको छ । अदालतबाट तीन लाख तिर्नुपर्छ भनि पुर्जी आएको छ । साना साना बाल बच्चा छन् ।

श्रीमान पनि विदेशमै बित्नु भएको छ । घरमा कमाउने कोही भएन । लिएको ऋण तिरी सकेपछि पनि अझै पाँचलाख रुपियाँ मागि रहनु भएको छ । अब म कहाँ जाउँ के गरौं जस्तो भएको छ । जवर्जस्ती कुन हिसाबले ब्याजको ब्याज जोडेर पचास हजार रुपियाँको पाँच लाख बनाउनु भयो मलाई थाह छैन । म यो हालतमा कहाँबाट त्यत्रो पैसा तिर्ने । न्यायका लागि काठमाडौसम्म आएको छु ।
(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया