Khadya Bibhag

अधिकाँश नेताहरु नै सुदखोर छन्

–मनोज पासवान
मिटरब्याजीको विरुद्धमा विगत एक वर्षदेखि लगातार आन्दोलनमा छौं । यसको समस्या बारेमा राज्यका हरेक संयन्त्रलाई थाह छ । सबैले यो गलत भइरहेको छ भनिरहेका छन् तर त्यस्ता सुदखोरलाई कारवाही गर्न कसैले आँट गरिरहेका छैनन् ।

सिडियो कार्यालय, नेपाल प्रहरी कार्यालय यहाँसम्मको मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा तत्कालिन मुख्यमन्त्री लालबाबु राउतसँग भेटेर मिटर ब्याजीको बारेमा लिखित रुपमै जानकारी गराएका छौं । उहाँले पनि यो काम गैरकानुनी हो, नजायज हो भन्नु भएको छ । तर यसलाई समाधान गर्ने, सुदखोरहरुलाई कारवाही गर्ने कसैले आँट गर्न सकेका छैनन् । सिडियो कार्यालयमा जाँदा उहाँहरुले के भन्दो रहेछ भने यो विषय हामीभन्दा बाहिरको विषय हो । यसको कानुन नै बनेको छैन भने कारवाही कसरी गर्ने ।

राजनीतिक दलका नेताहरुलाई भन्न जाँदा उहाँहरुले केही जवाफ दिइरहनु भएको छैन । यहाँका बढीभन्दा बढी राजनीतिक दलका नेताहरु नै सुदखोर हुनुहुन्छ । सिरहा जिल्लाका सुखीपुर नगरपालिकाका मेयर रामअवतार यादवबाट भोलादेवी चौधरी पिडित हुनुभएको छ । उहाँ पनि सुखीपुरकै हुनुहुन्छ । भोलादेवी रामअवतार यादवका बुवासँग ब्याजमा पैसा लिनुभएको थियो ।

त्यसवापत तमसुक बनाउनुको साथै जग्गा पनि रजिस्टेशन गराउनु भएको छ । त्यही जग्गा बेचेर रामअवतार यादवले नगरपालिकामा मेयरको चुनाव जित्नु भएको छ । मेयर जस्तो व्यक्तिले गाउँघरमा मिटर व्याजमा रुपियाँ लगाई रहनु भएको छ भने भने अरु सर्वसाधारणको कुरा के गर्नु । मिटर ब्याजमा पैसा लगाउने तथा सुदखोरको काम ठूला ठूला व्यक्ति जो पढे लेखेका छन् उहाँहरुले नै गरिरहनु भएको छ ।

समाजका प्रबुद्ध व्यक्तिहरु यस काममा लाग्नुभएको छ । त्यही भएर यो समाधान भइरहेको छैन । गाउँ घरमा यो व्यवसायी जस्तो भइसकेको छ । बैंक र सहकारीबाट किस्तामा पैसा उठाएर मिटर ब्याजमा लगाएको पाइएको छ । गाउँघरमा अध्ययन गरेर हेर्नुभयो भने अधिकाँश सुदखोरहरु आआफ्ना खेतबारी बैंकमा धितो राखेर पैसा निकालेर मिटरब्याजमा लगाउनु भएको छ । कतिपयको कामै यही हो ।

सिरहा लहानका श्याम विश्वकर्माले त्यहाँका रामबाबु महतोसँग २०७१ सालमा पाँच लाख रुपियाँ मासिक तीन प्रतिशत ब्याज (मिटर ब्याज)मा लिनुभएको थियो । श्याम विश्वकर्माले २०७४ सालसम्म २६ लाख रुपियाँ दिइसक्नु भएको छ तैपनि रामबाबुले अदालतमा कागज लगाएर विश्वकर्माको जग्गा जमिन लिलाम गराई दिनुभएको छ । अझै रकम माग गरिरहेका छन् ।

त्यति मात्र होइन, सिरहा औरही गाउँपालिका इटाटारका रामबाबु पासवानले सिरहा नगरपालिका सन्हैठाका रामअवतार यादवसँग केही वर्षअघि दुई लाख रुपियाँ मिटर ब्याजमा लिनुभएको थियो । हालसम्म १८ लाख रुपियाँ तिरिसक्नु भएको छ । तर रामअवतार यादवले तमसुक कागज फिर्ता नदिएर अदालतमा मुद्दा चलाई दिनुभयो । अदालतले घर घडेरी लिलामी गरायो ।

अहिले रामबाबु यादव घरबार विहिन हुनुभएको छ । उहाँ भाडाको घरमा बस्न बाध्य हुनुभएको छ । यस्ता सैयौं उदाहरण तराई मधेशमा पाइन्छ । जसलाई अन्त्य गर्न आवश्यक छ । स्थानीय लेवलमा आन्दोलन गर्दा सरकारले सुनेन । बाध्य भएर तराईबाट हिड्दै काठमाडौँ आइ पुगेका छौं । राज्यले न्याय नदिएसम्म हामी फर्किने छैनौं ।
(मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया