Khadya Bibhag

जीवनको संघर्षमा कहिल्यै हार न मान्नु भएका मञ्जु

मञ्जु यादव कक्षा ८ कक्षामा पढ्दा नै राजनीतिमा प्रवेश गरिसक्नु भएको थियो । तर उहाँले विद्यार्थीको राजनीति कहिले गर्नुभएन । महोत्तरी भङ्गहाका ४२ वर्षीय मञ्जु यादवले राजनीतिका साथसाथै हालसम्म पढाईलाई निरन्तरता दिनुभएको छ तर विद्यार्थी राजनीति कहिले गर्नुभएन । त्यसको कारण बारे बुझ्दा उहाँ भन्नुहुन्छ, ‘खोइ किन हो मलाई विद्यार्थीको राजनीति मन नै पर्दैन, त्यहाँ हुने अराजकता, विद्यार्थी नेताहरुको सोचले गर्दा मलाई विद्यार्थी राजनीतिले कहिले आकर्षित गरेनन् ।’

क्याम्पसमा अध्ययन गरिरहँदा एकजना विद्यार्थी नेताले उहाँलाई काँधमा थपथपाउँदै ‘ब्याड टच’ गरेका थिए । त्यो दिनदेखि त झन उहाँलाई विद्यार्थी राजनीतिक सुनेर नै दिक्क लाग्छ तर उहाँ भन्नुहुन्छ, ‘विद्यार्थी राजनीतिमा सबै खराबै हुन्छ भनि भन्दिन तर त्यो राजनीतिप्रति मेरो बुझाई राम्रो छैन ।’ हुन त विद्यार्थी राजनीतिबाट नै व्यक्तिहरु ठूला ठूला नेता भएका छन् । देशका प्रधानमन्त्री, उपप्रधानमन्त्रीसम्म भएका छन् । नेपाल राजनीतिमा विद्यार्थी राजनीतिको निकै ठूलो महत्व छ तर मञ्जुको लागि होइन । उहाँलाई अनेरास्ववियु राराब क्याम्पस इकाई कमिटीमा राख्न पनि विद्यार्थी नेताले चाहेका थिए तर उहाँले इन्कार गर्नुभएको थियो ।
रोजगारी, अध्ययन र राजनीतिलाई एक साथै लगि रहनु भएका भएका मञ्जु यादवले कक्षा ८ मा पढ्दा नै उहाँले एमालेमा युवा विङ्ग्सबाट राजनीतिको पाइला चाल्नुभएको थियो । त्यतिबेला उहाँ कुनै पदमा जानु भएको थिएन । सामाजिक स्तरमा कार्यक्रमहरुमा सहभागी हुने कार्य उहाँले गर्नुहुन्थ्यो तर उहाँको प्राथमिकता अध्ययन नै थियो । बुवालाई समाजिक काममा सहयोग गर्नुहुन्थ्यो ।
मञ्जु यादवको राजनीतिक गुरु उहाँको बुवा रमेश यादव हुनुहुन्छ । उहाँका बुवा रमेश यादव पेशाले शिक्षक हुनुहुन्थ्यो तर पंचायती व्यवस्थाविरुद्धको आन्दोलनमा उहाँले राजिनामा दिनुभएको थियो । बहुदल आएपछि शिक्षकमा आउन भनिएको थियो तर राजिनामा दिइसकेपछि पुनः जागिरमै नफर्किने भन्दै राजनीतिमा सक्रिय हुनुभयो । एमालेबाट राजनीति सुरु गर्नुभएका रमेश यादव २०५४ मा गाउँ विकास समितिको अध्यक्ष पनि बन्नुभएको थियो । सक्रिय राजनीतिमा लागेको देखेर मञ्जु पनि सानैदेखि त्यही बाटोमा लाग्नुभएको थियो ।
मञ्जु यादव भन्नुहुन्छ, ‘मेरो बुवा राजनीतिकर्मीका साथ समाजिक कार्यकर्ता पनि हुनुहुन्छ, समाजमा देखिएको बेथितीको विरुद्धमा उहाँले राजनीतिक तथा समाजिक रुपमा पनि उठाउनु हुन्थ्यो । त्यसबाट म निकै प्रभावित भएका थिए ।’ मधेशी समाजमा भइरहेको शोषण र दमनलाई मञ्जु यादवले नजिकबाट हेर्नुभएको थियो । यसको विरुद्धमा आवाज कसरी उठाउनु पर्छ भनि सोच उहाँमा सानैदेखि उब्जेको थियो ।
मञ्जु यादव भन्नुहुन्छ, ‘मेरो बुवालाई दिएको पिडा, परिवारलाई गरेको विभेद, मेरो वरिपरी छोरी, गरिव, महिलाप्रति गरिएको विभेदले मलाई नजानिदो तरिकाले पिडा हुन्थ्यो । यसैको प्रभावमा म राजनिति र समाजिक परिवर्तन तिर लागेको हुँ ।’ घर वा बाहिर हुँदा मञ्जुले आफूलाई कहिले छोरी हुँ भनि फिल गर्नुभएन ।
विहे गरेर श्रीमानको घर जानेबेला मात्र छोरी भएको महसुस भयो नत्र जहिले पनि आमा–बुवाले छोरा जस्तो व्यवहार गरेको मञ्जु बताउनु हुन्छ । उहाँलाई उहाँको हजुर आमाले निकै माया गर्नुहुन्थ्यो त्यसले गर्दा घरका सबै काम हुन गर्न सिक्नुभएको छ । घरदेखि खेतीबारीका सबै काम गर्न मञ्जुलाई आउँछ । घरमा हुँदा उहाँले सबै काम आफै गर्नुहुन्छ ।
राजनीतिक यात्रा
जनकपुरको राराबमा इन्टर पढि रहँदा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय सम्मेलनमा उनलाई केन्द्रीय महिला प्रतिनिधि बनाइएको थियो । उहाँ अध्ययनमा नै आफूलाई व्यस्त राख्नुभएको थियो । एमाले निकट भएपनि उहाँ त्यति सक्रिय हुनुभएको थिएन । सिधै उहाँलाई केन्द्रीय प्रतिनिधि बनाएर काठमाडौँ लग्ने कुरा भएपछि मञ्जुले तत्काल अस्विकार गर्नुभएको थियो ।
त्यसपछि गिरीराज तिम्लिसिन, लेखराज पोखरेल, श्याम सिंह, विरेन्द्र यादवलगायतले मञ्जुका बुवा रमेश यादवसँग कुराकानी गरेपछि मात्र प्रतिनिधि बन्न तयार हुनुभएको थियो । उहाँ युवा संघको पाँचौ राष्ट्रिय सम्मेलन काठमाडौँमा भएको थियो । सो सम्मेलनमा उहाँले आफ्नो धारणा राख्नुभएको थियो । यसरी यति जनाको बीचमा आफ्नो कुरा राख्नु मञ्जुको लागि पहिले अवसर थियो । पहिलो भाषण भएपनि उहाँले निर्धक्क भएर आफ्नो धारणा राख्नु भएको थियो । उहाँको त्यो भाषणबाट धेरैजना प्रभावित भएका थिए ।
त्यो सम्मेलनमा मञ्जुले पनि महिलाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभयो । त्यही पदमा ममता गिरी र गरिमा साहले पनि दिनुभएको थियो । मञ्जुलाई उम्मेदवारी फिर्ता लिन निकै दवाब पर्यो तैपनि उहाँले लिनुभएन । १० मतले उहाँ पराजित हुनुभयो । संघले पछि उहाँलाई महिला विभागमा मनोनित गर्यो ।
केन्द्रीय सदस्य, के हो महिला विभाग त्यतिबेला उहाँलाई केही थाह थिएन । किनभने उहाँले सांगठनिक राजनीति कहिले गर्नुभएको थिएन । अचानक उहाँलाई राष्ट्रिय प्रतिनिधि बनाएर काठमाडौँ ल्याइएको थियो । त्यसमा भाषण पनि गर्नुभयो । चुनावमा भाग पनि लिनुभयो । चुनावमा हारेपनि युवा संघको महिला विभागमा सदस्य पनि बनायो । तर यी सब विषयमा उहाँलाई केही पनि थाह थिएन ।

तर उहाँको सक्रियता, बोल्ने शैली देखेर धेरैजना प्रभावित हुनुभएको थियो । मञ्जु यादवले भन्नुभयो, ‘एमालेका आदरणीय नेता पशुपति चौलाईगाँईले मलाई भन्नुभयो, चेली तपाईको राजनीतिक यात्रा यसै गरी अगाडि बढाउनुस् राजनीतिमा एक दिन तपाईले राम्रै स्थान बनाउनु हुन्छ’ त्यसले मलाई राजनीतिमा सक्रिय हुने ठूलो प्रेणा थियो ।’ तर उहाँ राजनीतिमा सक्रिय भएपछि खुट्टा तान्ने पनि धेरै भए । असहयोग गर्ने पनि धेरै भए । तैपनि उहाँले कहिले हिम्मत हार्नुभएन ।
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको छैठो राष्ट्रिय सम्मेलनबाट मञ्जु यादव केन्द्रीय सदस्य बन्नुभयो । सातौं सम्मेलनबाट सचिवालय सदस्यमा पपुलर मतले विजय हुनुभयो । बुटवलमा भएको राष्ट्रिय सम्मेलनमा उहाँ केन्दीय सचिवमा विजय हुनुभयो । उहाँले सिरहाका अशोक यादवलाई हराउनु भएको थियो । माधवकुमार नेपाल निकट भएको कारणले उहाँलाई टिकट नै दिइरहेको थिएन ।
उहाँ किर्तिपुरमा एमफिलको तयारी पनि गरिरहनु भएको थियो । त्यतिबेलासम्म एमालेको युवा संघमा उहाँ निकै सक्रिय र चर्चित नेतृृ भइसक्नु भएको थियो । त्यति हुँदा पनि उहाँलाई चुनाव लड्न टिकट दिइरहनु भएको थियो । त्यसपछि उहाँको पक्षबाट योगनारायण यादव, किशोर मल्ल र किसान श्रेष्ठले महेश वस्नेतसँग कुरा गरेपछि बल्ल मञ्जुले टिकट पाउनु भएको थियो । टिकट पाएपछि उहाँ अत्याधिक मतले सचिवमा जित्नुभएको थियो । त्यसपछि मञ्जु यादव एमालेको युवामा लोकप्रिय नेतृमा गिनिन थाल्नुभयो ।
त्यसपछि युवा संघको मध्यमाञ्चलको इन्चार्ज र संघीय मामिला तथा स्थानीय विभाग प्रमुख पनि हुनुभयो । पछि एमाले पार्टीको स्कूल विभागको सदस्य पनि हुनुभयो । एमालेका महासचिव शंकर पोखरेलले नै उहाँलाई बोलाएर स्कूल विभागमा बस्न भन्नुभएको थियो । पार्टीको युवा संघमा यतिका सक्रिय भएपनि पार्टीको संगठित सदस्यता पनि दिइरहेको थिएन । जिल्लाकै केही व्यक्तिहरु मञ्जु यादवको विरोधमा थिए । तर ती सबै कुरालाई चिर्दै उहाँ अगाडि बढ्नुभयो ।
समानुपातिकबाट नाम काटियो
२०६४ मा संविधान सभा चुनाव हुँदा मञ्जुको नाम समानुपातिकमा राखिएको थियो । उहाँ निर्वाचित पनि हुनुभयो । गोरखापत्रमा उहाँको नाम पनि प्रकाशित भयो । पार्टीका शीर्ष नेताहरु गोकर्ण विष्टलगायतका नेताहरुले उहाँलाई फोनै गरेर बधाई दिएका थिए । त्रिभुवन युनिभर्सिटी जहाँ मञ्जु अध्ययन गरिरहनु भएको थियो त्यहाँबाट पनि शुभकामना र बधाई आयो । तर यो परिणाम आएको २४ घण्टा नबित्दै मञ्जुको नाम काटेर जुली महतोको नाम आयो ।
मञ्जुलाई त छाङ्गाबाट खसै झै भयो । सारा ठाउँबाट बधाई आइसक्यो । समानुपातिक नामावलीमा मञ्जुको नाम रहेको छ तर निर्वाचन आयोग गएर उहाँको नाम हटाएर जुली महतोको नाम राखिएको थियो । मञ्जु यादव भन्नुहुन्छ, ‘धेरै ठाउँबाट मलाई सुचना आयो कि त्यहाँ पाँच करोड रुपियाँ भन्दा बढीको चलेखल भएको रहेछ ।’ वामदेव गौतमले भेटेपछि ‘मञ्जु डन्ट वरी नेक्स्ट टाइम’ भन्नुएको थियो । त्यो कुरा मञ्जुले अहिले पनि सम्झिनु हुन्छ ।
तर माधवकुमार नेपालले कुनै चासो नै लिनुभएको थिएन । उहाँ आफै चुनाव हारेको कारणले हो कि अरु केही कारण थियो थाह छैन तर उहाँले त्यतिबेला केही बोल्नुभएन । सायद उहाँले केही बोलेको भए, चासो लिएको भए केही हुन्थ्यो भनि बुझाई मञ्जु यादवको छ । समानुपातिक सांसद भइसकेको थियो तर रातारात त्यो नाम काटिएपछि मञ्जुको बुवा रमेश यादवलाई निकै चित्त दुखेको थियो । उहाँको आँखामा आँसु नै आएको थियो । समानुपातिबाट नाम काटिएको कारण राजनीतिप्रति नै घृणा जागि सकेको थियो, राजनीतिक नै त्यागौं जस्तो मन पनि उहाँको भएको थियो तर बुवाको आँखामा आँसु देखेपछि मञ्जुले त्यही दिन प्रण लिनुभएको थियो कि ‘एक दिन सांसद बनेर बुवाको सपना पुरा गर्छु ।’
त्यसपछि उहाँ राजनीतिमा झन सक्रिय हुनुभयो । २०७० को दोस्रो संविधान सभा चुनावमा उहाँले महोत्तरी २ बाट चुनाव नै लड्नुभयो । मञ्जु यादव भन्नुहुन्छ, ‘चुनावमा माहोल मेरो पक्षमा थियो तर तत्कालिन राष्ट्रपति रामवरण यादवले आफ्नो भतिजी किरण यादवलाई जिताउन सेना नै परिचालन गर्नुभएको थियो र म चुनाव हारे ।’
आफू चुनाव हारेपनि हारेको जस्तो महसुस नभएको भन्दै मञ्जुले भन्नुभयो, ‘मतगणनास्थलमै एकजना नेपाली सेना (विष्णु कार्की)ले महोत्तरी जिल्लामा एक दिन बौद्धिक व्यक्तिको पनि दिन आउँछ ‘डन्ट वरी’ भन्नुभयो, त्यसले मेरा झन हौसला बढ्यो हारेर पनि जितेको फिल भयो ।’ किरण चुनाव जितेपनि क्षेत्रमा मञ्जुकै चर्चा थियो । चुनाव हारेपनि उहाँ आफ्नो क्षेत्रमा सक्रिय रहनुभयो । जहाँबाट जसरी भयो संविधान निर्माणमा उहाँले पनि योगदान दिनुभयो ।
प्रदेश सभा सदस्य
२०७४ मा युवा संघबाट प्रतिनिधि सभाको लागि समानुपातिकमा उहाँको नाम सिफारिस भएको थियो । तर फर्म भर्नका लागि पार्टी कार्यालयमा जाँदा मञ्जुका नाम प्रदेश सभाको समानुपातिकमा थियो । त्यो देखेर मञ्जु यादव त्यहाँ रुन थाल्नुभयो । आँखाबाट आँसु झर्न थाल्यो । त्यतिबेला त्यहाँ पार्टीका नेता रामकुमार झाँक्रि र ज्ञानबहादुर भुजेल हुनुहुन्थ्यो । उहाँहरुले मञ्जुलाई सम्झाई बुझाई गर्नुभयो । त्यसपछि उहाँले प्रदेश सभाका लागि समानुपातिकमा फर्म भर्नुभयो ।
क्रम सँख्याको हिसाबले मधेशी महिलामा एक नम्बरमा मञ्जु यादवको नाम हुनुपथ्र्यो तर त्यहाँ एक नम्बरमा अनिता यादवको नाम थियो र दुई नम्बरमा मञ्जुको । अनिता यादव भर्खर भर्खर राजपाबाट एमालेमा आउनुभएको थियो । नयाँलाई एक नम्बरमा र पुरानालाई दुई नम्बरमा यो कस्तो न्याय हो भनि उहाँले पार्टीमा कुरा पनि राख्नुभयो तर उहाँको कुरालाई कसैले सुनेनन् । तर पछि परिणाम आउँदा दुवैजनाको नाम समानुपातिमा आएको थिए ।
एमाले र माअ‍ोवादी पार्टीबीच एकीकरण भएपनि उहाँको पद सबै यथावत नै रह्यो । युवा संघको सचिव र स्कूल विभागनको सदस्य । गणतन्त्र नेपालको पहिलो प्रदेश सभा भएको कारण त्यहाँ नीति निर्माणको कुरा बढी हुन्थ्यो । उहाँले त्यसमा सक्रियतापूर्वक भाग लिनुहुन्थ्यो । विभिन्न समितिमा रहेर नीति निर्माणमा उहाँको सहयोग थियो । एक पटकको एउटा घटनाले उहाँ चर्चाको केन्द्रमा रहनुभयो ।
सांसदलाई झापड
२०७४ मा मधेश प्रदेश सरकारको नीति तथा कार्यकक्रम बन्दै थियो । प्रदेश सभामा रहेका दलहरुले सरकारलाई सुझाव दिनुपर्ने थियो । तत्कालिन नेकपा (एमाले र माओवादी केन्द्र मिलेर बनेको)ले पनि आफ्नो संसदीय दलको कार्यालयमा नीति तथा कार्यक्रममा सुझाव दिने कार्यक्रम तयारी गरिरहेको थियो ।
नेकपाका तत्कालिन प्रदेश सांसद मञ्जुकुमारी यादवले पनि आफ्नो तर्फबाट केही सुझाव कार्यक्रममा राख्न खोज्नुभएको थियो । काठमाडौँमा मधेश सरकारको तर्फबाट गल्र्स होस्टल र महिला पत्रकारका लागि भत्ताको व्यवस्था हुनुपर्ने कुरा उहाँले नीति तथा कार्यक्रममा राख्न खोज्नुभएको थियो । तर तत्कालिन नेकपाका प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले त्यसलाई रोक्नुभयो ।
लेखेर दिनुस् हामी पठाई दिन्छौं भन्नुभएको थियो । तर मञ्जु यादवले ससदीय दलले तयार पारेको सुझावमा नै राख्न चाहनु भएको थियो । आफ्नो सामुनेमा नै त्यसमा राखि दिनुस् या आफैलाई राख्न दिनुस्, मञ्जु यादवले भन्नुभएको थियो तर नेता मण्डलले मानिरहनु भएको थिएन । त्यहाँ रहेको कम्प्युटरमा जवर्जस्ती बसेर त्यसमा आफ्नो सुझाव राख्न थाल्नुभयो । त्यसपछि नेता मण्डलले जथाभावी बोल्न थाल्नुभयो ।
मञ्जु यादव भन्नुहुन्छ, ‘आदरणीय सत्यनारायण मण्डलले मलाई माधवकुमार नेपालसँग जोडेर तथानाम बोल्न थाल्नुभयो, अनावश्यक बोल्न थालेपछि मैले पनि केही जवाफ दिए त्यतिकैमा प्रदेश सांसद किशोरी साह भित्र आएर भन्नुभयो धेरै बकबक नगर नत्र दुई झापड लगाई दिन्छु । यति भनेपछि मेरो पारो तात्यो ।’
आफूले महिलाको अधिकारको कुरा नीति तथा कार्यक्रममा लेखाउन खोज्दा बकबक नगर, झापड लगाई दिन्छु भन्ने यो संविधानको कुन धारामा लेखिएको भन्दै मञ्जुले प्रतिकार गर्नुभयो । त्यसपछि पनि किशोरी साह र सत्यनारायण मण्डलले बोल्न छाड्नु भएन । मञ्जुको बारेमा तथानाम बोल्दै रहनुभयो । त्यसपछि मञ्जुले झापड कस्तो हुन्छ म देखाउँछु भन्दै किशोरी साहको गालामा दुई झापड लगाई दिनुभयो ।
यो मञ्जु यादलको आक्रोश थियो, पुरुष प्रधान सोचप्रतिको विद्रोह थियो । एउटा नारीलाई अपमान गर्न थालेपछि दायाँ बायाँ केही नहेरीकन आक्रोशमा आएर त्यो कदम उहाँले उठाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘उहाँहरुले एकाएक ममाथि आक्रमणशैलीमा बोल्न थालेपछि मेरो चेतना शुन्य भयो र किशोरी साहमाथि त्यो रिस पोखियो ।’

त्यो विषयलाई लिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि मञ्जुलाई फोन गर्नुभयो । प्रधानमन्त्री अ‍ोलीले घटनाको बारेमा बुझ्न खोजे । मञ्जुले सारा घटनाक्रम तत्कालिन प्रधानमन्त्री ओलीलाई सुनाउनुभयो । ‘के गरिबको छोरीले राजनीति गर्न पाउँदैनन्, मेरो राजनीतिक पृष्ठभूमी हजुरलाई थाहै छ, मेरो के दोष थियो, मैल जनताको कार्यक्रम नीति तथा कार्यक्रममा राख्न मात्र खोजेको थिए त्यतिकैमा उहाँहरु मामाथि किन आक्रमक हुनुपथ्र्यो’, मञ्जुले ओलीलाई भन्नुभएको थियो ।
तत्कालिन प्रधानमन्त्री अ‍ोलीले अलि नराम्रो भयो ‘बट डन्ट वरी’ मैले सबै कुरा मिलाउँछु भन्नुभएको थियो । मञ्जु यादवले भन्नुभयो, ‘केपी अ‍ोलीले मलाई सहयोग नै गर्नुभयो तर रघुवीर महासेठलगायतका केही नेताहरु मलाई कारवाही गराउनका लागि काठमाडौमा दौडधुप गर्नुभयो । तैपनि केपी ओलीले मेरो पक्षमा नै उभिनुभयो ।’
महिलाले आफ्नो रक्षा कसरी गर्नुपर्छ, चित्त नबुझेको कुरामा कसरी प्रतिकार गर्नुपर्छ भनि मञ्जु यादवले महिलाका लागि ठूलो सन्देश दिनुभएको छ । यदि त्यो दिन किशोरी साह र सत्यनारायण मण्डललाई प्रतिकार नगरेको भए मञ्जु यादवसँग दुरव्यवहार हुन सक्थ्यो । ‘किशोरी साहले बकबक नगर नत्र दिन्छु झापड’ भन्नु नै महिलामाथिको हिंसा हो तर मञ्जुले त्यसको प्रतिकार गर्नुभयो ।
मञ्जु यादव सानैदेखि क्रान्तकारी हुनुहुन्थ्यो । गलत भइरहेको छ भने त्यसलाई तत्काल जवाफ दिइ हाल्ने स्वभाव उहाँमा पहिलादेखिको नै हो । त्यो कुराको परिचय उहाँले प्रदेश सभामा पटक पटक देखाउनु भएको छ । प्रदेश सभामा उहाँले आफ्नो धारणा राख्दा जहिले पनि चर्चामा आउनु हुन्थ्यो । उहाँ बोल्न थालेपछि पार्टीको लाइन र विचारलाई कहिले ध्यानमा राख्नुभएन । जे फ्याक्ट छ त्यो बोल्नु हुन्थ्यो त्यसले उहाँ बेलाबेलामा विवादमा पनि आउनु हुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘म जहिले पनि मधेश, संघीयता, गणतन्त्र र जनताको मुद्दामा केन्द्रीत रहेर प्रदेश सभामा आफ्नो कुरा राखे, त्यसमा त्यतिबेला पार्टीलाई कहाँ चित्त बुझ्यो, बुझेन थाह हुँदैन्थ्यो ।’
टिकटमा गठबन्धनको गोलमाल
नकेपाबाट एमाले र माओवादी अलग अलग भएपछि मञ्जु यादवले एमालेमै रहनुभयो । एमालेमा रहँदा उहाँकै पुरानो पद नै यथावत रह्यो । तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गर्दा उहाँलाई चित्त बुझेको थिएन । मञ्जु यादव भन्नुहुन्छ, ‘कमरेड केपी ओलीले मलाई माया नै गर्नुहुन्थ्यो, सधै सहयोग नै गर्नुहुन्थ्यो तर जब उहाँले संसद विघटन गर्नुभयो अनि मेरो चित्त बुझेन, यतिका संघर्ष गरेर ल्याएको गणतन्त्रको सौन्दर्य संसदलाई नै विघटन गर्नु भनेको लोकतन्त्रप्रतिको अपमान हो जस्तो लाग्यो । माधव नेपाल कमरेड त्यहाँबाट निस्केपछि म पनि त्यही मौकामा ओली कमरेडको साथ छाडे ।’
माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएपछि मञ्जुलाई केन्द्रीय सदस्यको जिम्मवारी दियो । पछि उहाँ विदेश विभागको सदस्य पनि हुनुभयो । मञ्जुका अनुसार झलनाथ खनालले मञ्जुलाई बोलाएर विदेश विभागमा बस्न आग्रह गर्नुभएको थियो ।
२०७४ को निर्वाचनमा उहाँ प्रदेश सभा सदस्यका लागि चुनाव लड्नुभयो । उहाँ पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो । जब त्यो गठबन्धनमा लोसपाको इन्ट्री भयो अनि सब भताभुङ भयो । लोसपाले महोत्तरी–२ (क) आफ्नो भागमा परेको दावी गर्दै जैनुल राइनलाई उम्मेदवार बनायो । सबै मिलाएर त्यहाँ १९ जना उम्मेदवार थिए ।
लोसपाले विज्ञप्ति जारी गरेर नै त्यसको दावी गर्यो तर नेकपा (एस)ले केही बोलेनन् । मञ्जु र राइनको बीचमा प्रतिस्पर्धा भयो । चुनावकै समयमा मञ्जु विमार पनि पर्नुभयो । गठबन्धनको अन्योलताका कारण मत विभाजन भएपछि मञ्जु चुनाव हार्नुभयो । तैपनि दोस्रो पोजिसनमा रहनुभयो । चुनाव हारेपनि राजनीतिमा उहाँको सक्रियता घटेको छैन ।
शिक्षा
महोत्तरी भङ्गहाको श्री किशोरी जनता माविमा सात कक्षासम्म पढ्नु भएका मञ्जु यादव आठदेखि एसएलसीसम्म धनुषाको श्रीबिलट शाह सर्वोदय मावि पढ्नुभयो । सर्वोदय स्कूल घरबाट तीन किलोमिटर टाढा थियो । तैपनि सधै हिडेर स्कुल आउ जाउ गर्नुहुन्थ्यो ।
मञ्जुको संयुतm परिवारमा भएको हुनाले घरमा पढाईको वातावरण थिएन । उहाँको बुवा तीन दाजुभाइ हुनुहुन्थ्यो । उहाँको बुवाले नै दुख गरेर पढ्नु भएको कारणले पढाईको महत्व बुझेर छोरी मञ्जुलाई पढ्न लगाउनुभयो । मञ्जु भन्नुहुन्छ, ‘मेरो बुवा शिक्षक भएको कारण र सामाजिक परिवर्तनको रुपले असाध्यै समानताको पक्षमा सचेत भएको हुनाले मेरो बाल्यकालमा शिक्षाले महत्व पाएको हो । मेरो आमा (शान्तिदेवी यादव) मलाई भन्नुहुन्छ तिमी स्कूल ढिलो हुँदा वा जान नमान्दा गाँउको स्कुलमा मैले घुम्टो ओढेर तिमीलाई स्कुल पठाउँथे ।
आमाबुवाको कारण मेरो शिक्षाले निरन्तरता पाएको हो । एसएलसी पछि जनकपुर पढन पठाउँदा छोरीलाई एक्लै पढ्न पठाएको भनेर गाउँका मानिसले मेरो बुवालाई पागल भनेको कुरा अहिले पनि याद छ । अरुले कुरा काटेको देख्दा इख जागेर आयो र म पढेर देखाए दिए ।’
मञ्जुलाई कुनै राम्रो बोर्डिङ स्कूलमा पढ्ने इच्छा थियो त्यो कुरा उहाँले आफ्नो बुवालाई पनि भन्नुभएको थियो । तर उहाँको बुवाले भन्नुभएको थियो, ‘तिमी मात्र मेरो छोरी होइनौं यो गाउँमा तीन हजार बच्चाहरु मेरो छोराछोरी जस्तै हुन् सबैलाई राम्रो स्कूलमा पढाउन सक्दिन त्यसैले तिमी पनि बोर्डिङ स्कूलमा पढ्नु हुँदैन बरु साइकल किनदिन्छु सरकारी स्कूलमै पढ्नु जाउ ।’ त्यतिबेला उहाँका बुवा गाउँका समाजिक कार्यकर्ता हुनुहुन्थ्यो । २०३५ मै मास्टरीको जागिर छाडेर राजनीतिमा लागि सक्नु भएको थियो । समाजसेवामा लागि सक्नु भएको थियो ।

२०५४ मा एसएलसी पास गरेपछि मञ्जुले जनकपुरको राराबमा इन्टरमा पढ्न नाम लेखाउनुभयो । क्याम्पस पढ्न लाग्दा उहाँको बुवाले साइकल किन्दिनु भएको थियो । त्यही साइकल चढेर सधै कलेज आउनु हुन्थ्यो । घरबाट कलेजसम्म पुग्न डेढ घण्टा लाग्थ्यो । यसरी सधै साइकलमा आउ जाउँ गर्दा गाह्रो हुनेभयो । तीन महिनापछि बुवालाई भनेर जनकपुर बस्न थाल्नुभयो । अंकल रामजी गुप्तासँग बस्न थाल्नुभयो । रामजी गुप्ता त्यहीको एउटा किराना पसलमा काम गर्नुहुन्थ्यो । उहाँकै अभिभावकत्वमा बस्न थाल्नुभयो ।
इन्टरमा ब्याक लाग्यो । त्यसले मञ्जुलाई निकै चिन्ता लाग्यो । बुवालाई झन चिन्ता लाग्ने स्वभाविकै थियो । यत्रो आश गरेर छोरीलाई जनकपुरमा राखेर पढाए तैपनि फेल भइन्, भनि उहाँको बुवाले चित्त दुखाउनुभएको थियो । त्यसपछि बुवालाई आर्थिक भार नपरोस् भनेर मञ्जुले त्यहीको ग्रीन ल्याण्ड इन्टरनेशनल बोर्डिङ स्कूलमा पढाउन थाल्नुभयो । त्यहाँबाट महिनाको आठ सय रुपियाँ मात्र तलब पाउनु हुन्थ्यो । त्यहाँ स्कुल पढाउँदै गर्दा उहाँ इन्टर पास गर्नुभयो । त्यसपछि उहाँले एक नीजि स्कूल श्रीराम हाइस्कुलमा पढाउन थाल्नुभयो । कक्षा ८ देखि १० सम्म उहाँले पपुलेशन र म्याथ पढाउनु हुन्थ्यो ।
त्यहाँबाट उहाँले महिनाको दुईहजार रुपियाँ पाउनु हुन्थ्यो । मञ्जुको लागि त्यो पर्याप्त थियो । कलेजको पढाइका साथै आफ्नो सबै खर्च त्यसैबाट पुग्थ्यो कहिले काही घरमा पनि उहाँले सहयोग गर्नुहुन्थ्यो ।
पहिलो तलबले आफ्नो आमा बुवाको लागि सिरक किनेर दिनुभएको थियो । गाउँको हनुमान मन्दिरमा एउटा ऐना किनेर हाल्नु भएको थियो । स्कूलमा पढाउनुको साथै उहाँले राराबमा ब्याचलर पढ्न थाल्नुभयो । कलेजमा नाम लेखाए पनि उहाँले स्कूल पढाउन छाड्नु भएन । उहाँले स्कुल पढाउनुको साथै ट्युशन पनि पढाउन थाल्नुभयो । फूर्सदमा कहिले काही कलेज जानु हुन्थ्यो नत्र बाँकी समय घरमा ‘सेल्फ स्टडी’ गर्नुहुन्थ्यो ।
गाह्रो विषयमा उहाँ आफै ट्युशन पनि पढ्नुहुुन्थ्यो । उहाँ विहान विहान मनोहर यादव र गोहिवार यादवसँग ट्युशन पढ्नु हुन्थ्यो भनेर पढेर आएपछि पढाउनका लागि स्कूल जानु हुन्थ्यो । स्कूलबाट आएपछि होम ट्युशन पढाउन जानु हुन्थ्यो । केही समय बाँकी रह्यो भने राजनीति पनि गर्नुहुन्थ्यो । त्यतिबेलासम्म उहाँले राजनीतिमा प्रवेश गरिसक्नु भएको थियो । एमालेको युवा संघमा आवद्ध भइसक्नु भएको थियो ।
उहाँको दिनचर्या यसरी बित्न थालेपछि पढाई कमजोर भयो । र, ब्याचलरको फस्र्ट इयरमा उहाँलाई ब्याक लाग्यो । त्यसपछि उहाँले स्कूल छाड्नु भयो । ट्युशन पढाउँदै गर्नुभयो । सेकेण्ड इयर र फस्र्ट इयरको ब्याक एउटै इयरमा पास गर्नुभयो । स्टाटिक्स विषय लिएर पढ्नु हुन्थ्यो । थर्ड इयर बिग्रिन्छ कि भन्ने डरले उहाँ काठमाडौँ आउनुभयो । काठमाडौ आएर प्रकाश सिंह बुढाथोकीको अभिभावकत्वमा उहाँकै डेरामा बस्न थाल्नुभयो । मञ्जुले प्रकाशलाई दाई भन्नुहुन्छ । उहाँको बुवा मास्टरी गर्दादेखि नै प्रकाशसँग चिनजान थियो । त्यही बेलादेखि मञ्जुले उहाँलाई दाइ भन्न थाल्नुभएको थियो । घरायसी सम्बन्ध थियो उहाँहरुको बीचमा ।
उहाँ पाथागोरस इन्स्टिच्युटमा स्टाटिक्सको ट्युशन पढ्न थाल्नुभयो । प्रकाश सिंहले मिलाई दिएको कारण उहाँले त्रिचन्द्र कलेजमा क्लाशमा पनि पढ्न जानुहुन्थ्यो । काठमाडौँ आएपछि पढाईसँगै उहाँको राजनीतिक सक्रियता झन बढेको थियो । राजनीतिले गर्दा काठमाडौँसँग उहाँ परिचित हुन थाल्नुभयो । ब्याचलर थर्ड इयरको परीक्षा जनकपुर गएर दिनुभयो । २०६१ मा उहाँले ब्याचलर पास पनि हुनुभयो ।
त्यसपछि उहाँले टीयुमा पपुलेशन विषय लिएर मास्टर्स (एमए) पढ्न थाल्नुभयो । मास्टर्स पढ्नका लागि उहाँ टीयुको गल्र्स होस्टलमा बस्न थाल्नुभयो । उहाँले राजनीतिमा सक्रिय भएपनि प्राथमिकतामा पढाईलाई नै राख्नुभएको थियो । मस्टर्सको फस्र्ट इयरको परीक्षा दिँदा मधेश आन्दोलन चलिरहेको थियो ।
सरस्वती क्याम्पसमा परीक्षा केन्द्र थियो मञ्जुको । परीक्षमा हलमा आफ्नो प्रश्नपत्रको जवाफ लेखि रहनु भएको थियो । परीक्षाको समय सकिन ४० मिनेट बाँकी रहँदा उहाँ ट्वाइलेट जानुभयो । फर्केर आउँदा त उहाँको कपी र प्रश्नपत्र थिएन । होमगार्डले लगि सकेको थियो । गार्डसँग कपी र प्रश्नपत्र माग्दा दिइरहेको थिएन । अनि प्रिन्सिपललाई भन्न जान्छु भन्दा मात्र कापी र प्रश्नपत्र दिएका थिए त्यो गार्डले ।
पछि सबै पेपरको परीक्षा दिनुभयो । पछि रिजल्ट आउँदा मञ्जु एक्सपेल्ड हुनुभएको छ । मञ्जुलाई तनाव सुरु भयो । यति राम्रो परीक्षा गएको थियो तैपनि कि यस्तो गरे भनि मञ्जु त्यसको सोधखोजमा लाग्नुभयो । मञ्जु त्यतिकै चुप लागेर बस्नेबालामा हुनुहुन्थेन । उहाँ भन्नुभयो, ‘त्यतिबेला मधेश आन्दोलन चलिरहेको थियो, मधेशी देखेर सायद मलाई एक्सपेल्ड गरेको थियो ।’
उहाँ सबैतिर त्यसको उपचार खोज्नुभयो । अन्त्यमा महादेव यादवलाई वकिल राखेर सर्वोच्चमा मुद्दा नै दिनुभयो । उहाँले मुद्दा जित्नुभयो । उहाँले पुनः परीक्षा दिन पाउनुभयो । उहाँले २०६४ मा मास्टर्स पास गर्नुभयो । त्यसपछि उहाँ राजनीतिमा सक्रिय हुनुभयो । त्यसको केही समयपछि उहाँले एमफिल ज्वाइन गर्नुभयो । २०७४ मा उहाँ एमफिल पनि पास गर्नुभयो । पिएचडी गर्ने तयारीमा हुनुहुन्छ ।
जागिर
मञ्जु यादव कलेज पढ्न सुरु गरेदेखि नै कहिले बेरोजगार रहनु भएन । जनकपुरमा रहँदासम्म स्कूल र ट्युशन पढाउनुभयो । जब काठमाडौँ आउनुभयो । एक वर्ष मात्र उहाँ वेरोजगार रहनुभयो । उहाँ भन्नुभयो, ‘म पहिलो पटक पढ्नका लागि काठमाडौँ आउँदा एक वर्ष मात्र वेरोजगार बसे । त्यतिबेला मेरो भाइ सञ्जय यादव कतारमा हुनुहुन्थ्यो । काठमाडौको पढाईमा उनले निकै सहयोग गरे त्यसले अलिअलि सजिलो भएको थियो ।’ मञ्जुका भाइ सञ्जय यादव हाल कुस्ती खेलाडी हुनुहुन्छ । उहाँ कुस्ती खेलको कोच पनि हुनुहुन्छ । मञ्जुका हजुरबुवा पनि कुस्तीका खेलाडी हुनुहुन्थ्यो ।

पढाइ सकाएपछि मञ्जुले विभिन्न संस्थामा रिसर्चको काम गर्न थाल्नुभयो । मार्टिन चौतारीका लागि रिसर्च आर्टिकल लेख्नुभएको थियो । टीयुबाट पनि सिन्धुलीमा सोसियो डेमोग्राफी इम्प्याक्ट स्टडी गर्नुभएको थियो । सोलखुम्बु र वखलढुङ्गामा रोड कनेक्टिभिटी प्रोजेक्टमा पनि उहाँले काम गर्नुभयो ।
नार्कको एउटा प्रोजेक्टकमा कृषि अनुसन्धान अधिकृतको रुपमा १६ जिल्लामा काम गर्नुभयो । त्यस्तै, एनडीआइमा इन्टर्नसीपमा काम गर्नुको साथै महिला बालबालिका सेल अनुगमनको काम पनि गर्नुभयो । यसरी विभिन्न संघ संस्थामा विभिन्न काम गर्नुभयो । त्यसले आफूलाई कहिले उहाँले आफूलाई बेरोजगार ठान्नु भएन ।
प्रेम विवाह
मञ्जु यादव इन्टरमै पढी रहँदा विवाहका लागि घरमा प्रस्ताव आउँथ्यो । तर मञ्जु त्यसका लागि तयार हुनुभएन । मञ्जुले भन्नुहुन्थ्यो, म त्यतिकै बिहे गर्दिन् म आफै केही गर्ने लायक भएपछि मात्र विहे गर्छु ।’ त्यसपछि घरमा बिहेका लागि कसैले कहिले केही भनेनन् । खासगरि उहाँको बुवाले बिहेका लागि घरबाट कुनै दवाब हुँदैन तिमीलाई जे जे गर्न मन लाग्छ गर, देश र समाजका लागि केही गर्ने लायक बन अनि बिहे गर भन्नुभएको थियो । आफ्नो अनुकुल भएपछि मात्र बिहे गर्नुस् भनि उहाँको बुवाले भन्नुभएको थियो ।
मधेश प्रदेशको प्रदेश सभा सदस्य भएको बेला उहाँले २०७८ मा सूर्यनारायण ठाकुरसँग मागी विवाह गर्नुभयो । उहाँ दुवैजनाको बीचमा मागी विवाह भएपनि दुवैजनको बीचमा लामो समयदेखिको प्रेम थियो । त्यसलाई प्रेम विवाह भन्दा फरक नपर्ने भन्नुहुन्छ मञ्जु यादव । दुवैजनाको बीचमा स्कूलदेखि नै चिनजान भएपनि इन्टरमा पढ्न थालेपछि दुवैजानको बीचमा प्रेम भयो । गाउँको स्कूलमा दुवैजना सँगै पढ्नु हुन्थ्यो । त्यहाँ खासै चिनजान थिएन । जनकपुरमा पनि दुवैजना सँगै पढ्न थाल्नुभयो । त्यो संयोग मात्र थियो ।
इन्टरमा ब्याक लागेपछि मञ्जु निकै दुखी हुनुभयो । त्यो देखेर सूर्यनारायण पनि चिन्तित हुनुभयो । एक दिन मञ्जुसँग भेटेर ‘चिन्ता नलिनु राम्रोसँग पढेपछि पास भइहाल्नु हुन्छ । यो चिन्ता लिने विषय नै होइन, पढाईमा म सहयोग गर्छु’ भनि मञ्जुलाई सम्झाई बुझाई गर्नुभएको थियो । सूर्यनारायणको म्याथ र अँग्रेजी राम्रो थियो । सूर्यनारायणले मञ्जुलाई अँग्रेजीमा सहयोग गर्न थाल्नुभयो । पढाईको क्रममा दुवैजना नजिक भएपछि एक अर्काप्रति आकर्षित हुनुभएको थियो ।
मञ्जु ब्याचलरमा पढ्दा नै सूर्यनारायणले चिठीले लेखेर प्रेम प्रस्ताव राख्नुभएको थियो । मञ्जुसमक्ष मुखले प्रस्ताव राख्ने हिम्मत थिएन । त्यो चिठी कोठामा राखेको बेला मञ्जुको अंकल रामजी गुप्ताले फेला पार्नुभएको थियो । त्यसको जानकारी मञ्जुको बुवासम्म पुग्यो । त्यसले उहाँको बुवालाई चित्त दुख्यो । छोरीलाई पढ्नका लागि जनकपुरमा राखेको यो के गर्न लागेका भन्दै चिन्तित हुनुभएको थियो । मञ्जुले त्यो चिठीको जवाफ पनि दिनुभएन । मञ्जु चुपचाप भएपनि सूर्यनारायणले मञ्जुको प्रेमलाई अनुभूती गरिसक्नु भएको थियो । अर्थात मञ्जुले पनि भित्रभित्रै सूर्यनारायणलाई मन पराइसक्नुभएको थियो ।

त्यसपछि सूर्यनारायणले मञ्जुलाई चिठी लेखेर बिहेको प्रस्ताव गर्नुभयो । त्यसपछि मञ्जुले चिठीले लखेर बुवाले ओके नगरेसम्म हाम्रो विहे हुँदैन भनि जवाफ पठाउनु भएको थियो । त्यसपछि सूर्यनारायणले मञ्जुको पापालाई नै सिधै चिठी पठाउनुभएको थियो । मञ्जुको बुवाले सूर्यनारायणलाई बोलाएर कुरा गर्नुभयो ।
अहिले पढ्ने लेख्ने उमेर हो, पढाई लेखाई सकाउनुस्, क्यारियर बनाउनुस् अनि यसका विषयमा सोचौला भनि सम्झाई बुझाई पठाउनुभएको थियो । सूर्यनारायणले मञ्जुको पापाको कुरा मान्नुभयो । मञ्जु काठमाडौ आउनु भन्दा पहिलादेखि नै सूर्यनारायण काठमाडौँ बस्नु हुन्थ्यो । मञ्जु काठमाडौँ आएपछि दुवैजना झन नजिक हुनुभयो । काठमाडौँमा पनि बिहेका लागि प्रस्ताव गर्नुभएको थियो तर मञ्जुले मानेको दाइ प्रकाश सिंहले इन्कार गर्नुभयो । उहाँले पनि मञ्जुको पापा जस्तै क्यारियरमा ध्यान दिन सुझाव उहाँहरुलाई दिनुभएको थियो ।
घरको आर्थिक स्थिति राम्रो नभएको कारण सूर्यनारायणले मास्टर्स सकाएर बैदेशिक रोजगारीमा कतार जानुभयो । सात वर्षसम्म उतै बस्नुभयो । उता हुँदा पनि मञ्जुसँग नियमित कुराकानी हुन्थ्यो ।
इन्टरकास्ट भएको कारण बिहे हुन्छ कि हुँदैन भनि दुवैजनालाई चिन्ता थियो । कतारमा सूर्यनारायणको राम्रो कमाई थियो । त्यहाँ उहाँले आफ्नै विजनेश चलाउनु भएको थियो ।
सात वर्षपछि नेपाल फर्केपछि मञ्जुको बुवासँग बिहेको लागि प्रस्ताव गर्नुभयो । त्यतिबेला पनि मञ्जुको बुवाले ओके भन्नुभएको थिएन । तर उहाँहरु पनि अभिभावकबाट ओके नभएसम्म बिहे नगर्ने सोच बनाइ सक्नुभएको थियो । सूर्यनारायणले मञ्जुको बुवासँग कुरा गरेको तीन वर्षपछि अर्थात २०५८ मा दुवैजनाको बीचमा धुमधामका साथ बिहे भयो । बाजा, गाजा, बराती (जन्ती) का साथ परम्परागत रुपमा हुँदै आएको बिहे जस्तो उहाँहरुको बीचमा बिहे भयो ।
विदेश भ्रमण
उहाँ पार्टीमार्फत तथा विभिन्न संघ संस्थामार्फत फिलल्याण्ड, डेनमार्क, साउथ अफ्रिका, चाइनालगायतका देशको भ्रमण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया