सिरहा चैत २९ गते । संविधान सभा सदस्य बीपी यादवले चिनियाँ विस्तारवादका कारण नेपाल तिब्बत तथा हङ्कङ जस्तो हुन लागेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय एकता अभियान सिरहा, लहानद्वारा ‘चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचार गोष्ठीमा उहाँले चीनले विस्तारवादी नीतिको तहत नेपाललाई तिब्बत र हङ्कङ राज्य जस्तो बनाउन लागेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी रहनु भएका बीप यादवले भन्नुभयो, ‘चिनियाँ विस्तारवाद अनुदानको नाममा नेपाललाई हङकङ र तिब्बत जस्तै प्रान्त बनाउने उद्देश्य राखेको छ ।’ नेपाली राजनीतिमा चीनले विशेष चासो राखेको दावी गर्दै नेता बीपी यादवले वामपन्थी एकता गराउन पनि चिनियाँ पक्ष लागि परेको दावी गर्नुभयो ।
चीनले विद्यार्थीलाई दिने स्कलरसीप बारे खुल्ला रुपमा सूचना प्रकाशन नगरी गोप्य ढंगबाट कम्युनिष्ट नेताहरुलाई दिने गरेको दावी गर्दै उहाँले स्कलरसीप जस्ता सूचना पत्रिका वा अनलाइनमार्फत सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो ।
चीनले अनावश्यक नेपाललाई ऋण जालमा फसाइरहेको र आउने दिनमा श्रीलंकाजस्तो देशको हालत बनाउन चीनको मनसाय रहेको उहाँको दावी थियो ।
मधेशमा मुस्लिम दाजुभाइहरूलाई विदेशी मौलानाको माध्यमबाट जिहादी अतिवादीको प्रशीक्षण प्रदान गरी समाजमा साम्प्रदायिक दंगा गराउने योजनाअनुरूप कार्य भइरहेको र यस्ता असामाजिक तत्वबाट सचेत रहनु पर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पनि चीनले नेपाललाई तिब्बत बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । भूमि कब्जा, एयरपोर्टलाई बीआरआईको चर्को ब्याजदरद्वारा चीनले नेपाललाई तिब्बत बनाउने षडयन्त्र गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो । नेपालसँग सम्बन्धमा चीनले मनपरी गरेको र चीनले आठ महिना बितिसक्दा पनि नेपाली राजदूतको आहोदाको प्रमाण पत्र नबुझेकामा उहाँले आपत्ति जनाउनुभयो । ‘चीनको नेपालप्रति हेपाहा प्रवृत्तिको संगठित भएर विरोध गर्नुपर्छ,’ उहाँले भन्नुभयो । कार्यक्रम अविनाश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया