यसकारण चाहिन्छ बारालाई उपेन्द्र

–अनिल वर्मा
सप्तरीलाई बौद्धिक र राजनीतिक चेतना भएको जिल्ला मानिन्छ तर त्यहाँका धर्तीपुत्रलाई पहिचान गर्नमा पटक पटक भुल गरेको देखिन्छ । देशमै पहिलो पटक गणतन्त्रको आवाज उठाउने क्रान्तिकारी नेता स्व.रामराजाप्रसाद सिंह, स्व.गजेन्द्रनारायण सिंह, किसान आन्दोलनका नेता स्व.कृष्णराज वर्मा, तत्कालिन शान्तिपूर्ण राजनीतिमा रहँदा जयकृष्ण गोईत जस्ता धर्तीपुत्रलाई सप्तरीका मतदाताले चिन्नमा भुल गरेका हुन् । त्यसरी समयमा नचिन्दा सप्तरीले दुख पाएको थुप्रै उदाहरणहरु छन् । त्यति मात्र होइन, सप्तरी विकास निर्माणदेखि विभिन्न कुरामा पछाडी परेका छन् ।
नत्र यत्रा पढे लेखेका तथा ठूला ठूला नेता भएको सप्तरी विकासको नाममा किन पछाडि परेको छ भन्ने खोज्दै गएपछि सप्तरीबासीले आफ्ना नेतालाई चिन्न नसक्नु नै मुख्य कारण हो । पछिल्लो समय सप्तरीका मतदाताले त्यहाँका धर्तीपुत्र उपेन्द्र यादवलाई पहिचान गर्न नसकेर भुल गरेका छन् । अब सप्तरी फेरि २५ वर्ष पछाडी पर्ने भएको छ । उपेन्द्र यादवले सप्तरीको मुहार फेर्ने कसम खानु भएको थियो र त्यसको सुरुवात गरिसक्नु भएको थियो । वर्षौ वर्षसम्म नभएको काम उपेन्द्र यादवले सप्तरीमा पाँच वर्षमै गरेर देखाउनु भयो ।
सायद अब फेरि त्यसरी कसैले काम गर्न सक्दैनन् । उपेन्द्र यादव जतिको काम गरेर अहिलेका सांसद डा.सिके राउतले देखाइ दियोस् मेरो चुनौती छ । सप्तरीबासी गरेको गल्तीको मूल्य चुकाउनै पर्छ । गजेन्द्रनारायण सिंह पनि जितेपछि सप्तरीमा थुप्रै योजनाहरु लग्नु भयो । कामहरुको सुरुवात भएको थियो । तर पछि त्यही जनताले उहाँलाई हराए । त्यसपछि सबै काम ठप्प थियो ।
धेरैपछि उपेन्द्र यादव जितेर गएपछि कामको सुरुवात गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको हब नै बनाउने गरि काम अगाडी बढाउनुभयो । सबै सडक पक्की सडक भयो । गाउँगाउँमा पीच बाटो पुग्यो । सप्तरीबासीले कल्पना समेत गरेका थिएनन् त्यति काम उपेन्द्र यादवले गरेर देखाई दिनुभयो । पचास बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० बेडको अत्याधुनिक भौतिक पूर्वाधार सम्पन्न अस्पताल बनाउनु, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण लगायतका कार्यहरु उहाँले गर्नुभयो । यस्तै, राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि स्थापना गर्न सफल हुनुभयो । प्रतिष्ठानको डिपीआर सम्पन्न भएको छ ।
यसैगरी राजविराज चत्रपथ सडकसहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाएका छन् । भारतको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माण गर्नमा विशेष पहलमा अगाडि बढाउनु भएको थियो । तर अब सप्तरीबासीले त्यहीं सिके राउतबाट काम लिएर देखाई दियोस् । उपेन्द्र यादवले बनाउन सुरु गर्नुभएको अधुरा काम पनि पुरा गरेर देखाई दियोस् अनि म मान्छु । चुनाव सकेको त पाँच महिना मात्र भएको छ । कम्तीमा एक वर्ष बितोस् अनि सप्तरीवासीले उपेन्द्र यादवलाई हराएर गल्ती गरे कि सही गरे मूल्यांकन गर्नेछन् ।
उपेन्द्र यादवले विकास निर्माणका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरु सुनिश्चित गराउने काम गर्नुभयो । आज मधेशीका छोराछोरीहरु भटाभट लोकसेवाबाट नाम निकालेर सरकारी जागिर खाइरहेका छन्, त्यो उपेन्द्र यादवको देन हो । आरक्षण कोटामा छोराछोरीले डाक्टर, नर्स, इञ्जिनियरिङ पढ्न पाएक छन्, त्यो पनि उपेन्द्र यादवको देन हो ।
उपेन्द्र यादवको देन होइन भने कसैले प्रमाणित गरेर देखाओस् । त्यति मात्र होइन, छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । मधेशी जनता अर्थात कालो अनुहारलाई भैया, मर्सिया, मदिसे ईत्यादी उपनामले अपमानित हुनु परेको थियो । तर उपेन्द्र यादवले ती मधेशीलाई आज गर्व गर्न लगायक बनाउनु भएको छ । प्रदेश २ नम्बर मधेश प्रदेश नामाकरण गराउने व्यक्ति सिर्फ उपेन्द्र यादव हुनुहुन्छ । सात प्रदेशमा उपेन्द्र यादव जस्तो काम अरु कसैले गर्न सकेनन् ।
जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सिमान्तकृत समुदाय, जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालको अध्यक्षको रुपमा निरन्तर सङ्घर्षको मैदानमा हुनुहुन्छ । उहाँको जन्म, शिक्षादीक्षा समेत सप्तरीमै भएकोले मातृभूमीको साइनो त छ नै सप्तरीको माटोसँग । मधेश आन्दोलनको प्रमुख केन्द्र सप्तरी नै भएकोले बढी समय दिनु स्वाभाविक नै थियो । २०७४ सालमा प्रतिनिधिसभाको चुनाव लड्न सप्तरीबाटै लड्न आग्रह भएपछि उम्मेदवारी दिएर जब मैदानमा होमिनुभयो, तब धेरैको निद्रा हरायो ।
उपेन्द्र यादव घेराबन्दीमा
गत मङ्सीर ४ गतेको निर्वाचनमा चुनाव लड्न मधेश प्रदेशका लगभग सबै जिल्लाबाट उपेन्द्र यादवको नाम सिफारिस भएको थियो । तर सप्तरीका पार्टी, कार्यकर्ता तथा आम जनताले उपेन्द्र यादवलाई त्यहीबाट चुनाव लड्न आग्रह गरेका थिए । उपेन्द्र यादवले सप्तरीको आग्रहलाई अस्विकार गर्न सक्नुभएन । जब उहाँले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिए तब शुरु भयो षडयन्त्र । अति शालिन, भद्र एवम् वौद्धिक नेता उपेन्द्र यादवको विरुद्धमा चौतर्फी घेराबन्दी शुरु भयो । स्वाभिमानी नेतालाई हराउन देशी विदेशी शक्ति त लागेको थियो नै । जातीय तथा धार्मिक लगायतका हतकण्डाहरु अपनाउने कार्य भईरह्यो । यहाँसम्म कि कतिपय आफ्नै सहकर्मीहरुले विश्वासघात गरेको तथ्य पनि बाहिर आएको छ ।
पटक पटकको जेलनेल, बुट र लट्ठीको कुटाई तथा थरिथरिका दुःखको अनुभूति भोगिसक्नु भएका उहाँ चौतर्फी घेराबन्दी र षडयन्त्रका बीच पराजय व्योहोर्न बाध्य हुनुभयो । नेल्सन मण्डेला झैं जीवनमा हार नमानी उहाँले सङ्घर्षको यात्रालाई जारी राख्नुभयो । जीत–हारले उहाँको राजनीतिक यात्रामा खासै महत्व रहेन तर सप्तरीको चौतर्फी विकास र समृद्धिको यात्रामा विराम लागेको चिन्ताको विषय बनेको छ । हो पनि, आज सप्तरी २ बाट उहाँ पुनः निर्वाचित भएको भए विकासीय कार्यहरुले थप गति लिने थियो भने नयाँ कामहरुको श्रीगणेश हुने थियो ।
दुर्भाग्य नै भन्नुपर्दछ जुन नेताले मधेश र मधेशीको पहिचान र अधिकार स्थापित गराउनुभयो तीनै नेता पराजित हुनुभयो । उहाँको पराजयले सङ्घीयता र पहिचानवादी पक्षधर शक्तिहरुलाई कमजोर पार्ने दुष्प्रयास भएकै हो । यतिमात्र होइन, कथित वैज्ञानिक डा. सीके राउतको नाममा हौवा फैलाएर मसिहा बनाउने काम भइरहेको छ । जबकी मधेश आन्दोलन होस् वा अन्य कुनै पहिचानवादी आन्दोलन सीके राउतको कतै पनि उपस्थिति देखिएको थिएन ।
सिके राउत स्वतन्त्र मधेश अर्थात अलग देश बनाउने मुद्दा लिएर अगाडि बढ्नु भएको थियो । प्रहरी हिरासतमा बस्नुपर्ने डरले सीके राउतले रातारात नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभयो । उहाँले प्रहरी दमनका पुराना भिडियोहरु प्रोजेक्टरमा देखाएर दलित एवम् विपन्न वस्तीका सोझासाझा जनतासँग ईमोशनल ब्ल्याकमेलिङ्ग गर्नुभयो चुनावमा । अहिले पनि बाराबासीबीच भ्रामक प्रचारबाजी गरेर ठग्ने प्रयासमा रहनुभएको प्रष्ट बुझ्न सकिन्छ ।
उपेन्द्र विरोधी सीके
उपेन्द्र यादव हारे पछि त सीके राउतले उहाँसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उहाँ मूल शत्रु उपेन्द्रलाई मानेर मधेश विरोधी क्रियाकलापमा लाग्नुभएको छ । सीकेको लडाई त राज्यसत्तासँग हुनुपर्ने थियो । तर उहाँ र उहाँका नेता तथा कार्यकर्ताले उपेन्द्र यादवसँगै हो भने कुरा पुष्टि भईरहेको छ । सिके राउतले आफ्नो प्रधान सत्रु उपेन्द्र यादवलाई मान्नुभएको छ । यस्तो तुच्छ सोचले आफैमा लडेर मधेश र मधेशीलाई कमजोर पार्ने बाहेक अरु केही हुन सक्दैन ।
चुनाव जितेपछि उहाँले आफ्नो ध्यान मूल रुपमा निर्वाचित भएको जिल्ला सप्तरीको विकास र समृद्धिका लागि ध्यान केन्द्रित गरी कामहरु अगाडि बढाउनुपर्ने थियो तर त्यसतर्फ उहाँको कुनै चासो छैन । चुनावताका नै विशेष पहल गरी उपेन्द्र यादवले कृषि विश्वविद्यालयमा बीएससी एजी अध्ययनका लागि भर्ना खुल्ला गर्नुभएको थियो ।
जसरी नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा रङ्गभेदी, जातीभेदी नेतृत्व विरुद्ध अनवरत लड्नु भएको थियो । त्यसरी नै छालाको रङ्ग, बोली भाषाको आधारमा गरिँदै आएको विभेद र असमानता विरुद्ध सङ्गघर्ष गर्दै आउनु भएको नेता उपेन्द्र यादव उप–निर्वाचनमा बारा २ बाट चुनावी प्रतिष्पर्धामा उत्रिनु भएको छ । प्रतिनिधिसभामा सङ्घीयता र धर्मनिरपेक्षता विरोधीहरु सलबलाउन थालेकोले मधेशी जनताको बलिदानीबाट स्थापित सङ्घीयता तथा मधेशी जनताको स्वाभिमान रक्षाका लागि बाराका आमजनताले आग्रह गरेर ससम्मान चुनावी मैदानमा उहाँलाई ल्याइएको हो ।
मधेशको पहिचान स्थापित गराउने आफ्ना नेतालाई हर्षोल्लासका साथ चुनावी प्रतिष्पर्धामा उम्मेदवारी दिन लगाउनु भएको छ । भावी सन्ततीको भविष्य सुनिश्चितता तथा बाराको समग्र विकासका लागि उपेन्द्र यादवबाहेक अर्को विकल्प छैन । उहाँ कुरामा होइन काममा विश्वास गर्नुहुन्छ । जसरी राम वनवासबाट फर्केर आउँदा अयोध्यावासीले स्वागत गरेका थिए त्यसरी नै बारावासीले स्वागत गरेर मिशाल कायम गरेका छन् । सप्तरीको मुहार फेर्न मिशन र भिजनका साथ काम गर्दैआएको जसपा अध्यक्ष उपेन्द्र यादवको अबको गन्तब्य स्वाभाविक रुपमा बारा बन्ने छन् । बारा २ का महान जनताले सिङ्गो पहिचानवादी आन्दोलनको उचाइँ थपेका छन् ।

(अनिल वर्मा बाराका हुनुहुन्छ)

तपाईको प्रतिक्रिया