बैशाख १० गते उपनिर्वाचन सम्पन्न भइसकेपछि जनमत पार्टी मधेश सरकारबाट हट्ने चर्चा सुरु भएको छ । कुन दिन हट्छ वा हटाइन्छ त्यसको टुगों छैन । तर जनता समाजवादी पार्टीका नेताहरुको कुरा सुन्दा अगामी हप्ताभित्र नै सरकारबाट जनमत पार्टी ‘आउट’ हुन्छ । तर जनमत पार्टी न मधेश सरकारबाट मन्त्री फिर्ता बोलाउँछ, न संघीय सरकारबाट समर्थन फिर्ता लिन्छ ।
सरकार, सडक र सदन तीनटै मोर्चालाई सशक्त बनाउने रणनीतिअन्तरर्गत जनमत पार्टी सरकारलाई नछाड्ने पक्षमा रहेको बुझिएको छ । जनमत पार्टीका एक नेताले भन्नुभयो, ‘हामी सरकारमा रहेर त्यसलाई बुझ्न चाहेका छौं, कसरी सञ्चालन हुन्छ, त्यहाँ के क हुन्छन्, सबै अनुभव प्राप्त भइसकेपछि अगामी वर्ष सरकारमा राम्रोसँग हस्तक्षेप गरेर नेतृत्व लिने गरि नै अगाडि बढ्ने जनमत पार्टीको सोच रहेको छ ।’ जनमत पार्टीका उपाध्यक्ष दीपक साहका अनुसार मधेश प्रदेश सरकार जसपाको एकलौटी सरकार होइन, त्यो गठबन्धनको सरकार हो, जसपाले जा भन्दैमा जनमत निस्किदैन, बस भन्दैमा त्यहाँ बसिरहन सक्दैन ।
उहाँले भन्नुभयो, ‘हामी काम गर्न सरकारमा गएका हौं, यदि हामीलाई त्यहाँ काम गर्न दिएन भने हामी जुनसुकै बेला निस्कन सक्छौं तर अहिले त्यस्तो कुनै सोच छैन यदि निस्कनै पर्ने अवस्था आयो भने गठबन्धनमा छलफल गरेर मात्र निस्कन्छौैं ।’ यदि जसपाले आफ्ना मन्त्रीलाई मधेश सरकारबाट निकाल्ने प्रयास गरे भने जनमत पार्टीले केन्द्रीय सरकार र प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाहिर बस्ने तयारीमा रहेको स्रोतले जनाएको छ । केन्द्रीय सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन फिर्ता लिने तयारीमा छ ।
जसपाले जवर्जस्ती गर्यो भने प्रदेश र केन्द्र दुवै सरकारबाट रविकै साथमा रहेर बाहिर निस्किने जनमतको तयारी रहेको छ । र, यो रिश्क लिने पक्षमा प्रधानमन्त्री प्रचण्ड हुनुहुन्न ।
उहाँले आफूलाई जजसले विश्वासको मत दिएका छन्, त्यसमध्ये कसैलाई गुमाउन चाहनु भएको छैन । रवि र सिकेलाई समेत सरकारमा राखि रहने सोचमा प्रधानमन्त्री प्रचण्ड रहनुभएको छ । त्यसका लागि उहाँले संवाद पनि गरिरहनु भएको छ । यी दुई दलले समर्थन फिर्ता लिए भने प्रधानमन्त्री प्रचण्डले सदनमा पुनः विश्वासको मत लिनुपर्ने हुन्छ त्यो लफडा लिने पक्षमा उहाँ हुनुहुन्न । त्यसले मधेश सरकारबाट निस्कने निकै कम सम्भावना रहेको बुझाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केन्द्रलाई देखाएर प्रदेशमा बार्गेनिङ गर्ने दाउमा छन् ।
स्रोतका अनुसार सिके राउतले उपनिर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउनका लागि अब्दुल खानलाई खानेपानी मन्त्रीबाट राजिनामा दिन लगाउनु भएको छ । तर न चुनाव जित्यो, न सकारमा रह्यो दुवै कुरा हातबाट गुम्यो । खानेपानीबाहेक कुनै पनि मन्त्रालय दियो भने सिके राउत पुनः सरकारमा फर्किने सन्देश दिइसक्नु भएको छ । प्रधानमन्त्री प्रचण्डसँग वार्ताको वतावरण बनाई रहनु भएको छ । स्रोतले भन्यो खानेपानी मन्त्रालयमा फर्किन त गाह्रो छ तर त्यसबाहेक अरु कुनै मन्त्रालय दियो भने जनमत पार्टी सरकारमा जान्छ ।
–सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया