२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा जनमत पार्टीका डा.सिके राउतबाट पराजित भएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जीवनका सबभन्दा ठूलो हारको महसुस गर्नुभएको थियो । जसपाका अध्यक्ष यादव आफ्नो राजनीतिक जीवनमा थुप्रै कठिनाइको सामना गर्नुभएको छ । जीवनमा उहाँले गरिबी, हार–जीतलाई नजिकबाट हेर्नु भएको छ ।
तर सप्तरी–२ बाट राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभयो भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरि पराजित हुनुभयो । अर्थात उपेन्द्र यादव १८ हजार ६३ मले पराजित हुनुभयो । यति मतान्तरले पराजित हनुपर्छ भनि उपेन्द्र यादवले कल्पना समेत गर्नुभएको थिएन । उपेन्द्र यादवको लागि ‘सकिङ्ग’ नै थियो । र, पार्टीले यसलाई धेरै ठूलो क्षतिको रुपमा लियो । नेता तथा कार्यकर्ता निराश भए ।
चुनाव हारेपछि उपेन्द्र यादवले यसको ‘ड्यामेज कन्ट्रोल’ कसरी गर्न सकिन्छ त्यसको योजनामा लाग्नुभयो । उपेन्द्र यादवले मंसिरको चुनावबाट भएको क्षतिलाई यसरी नियन्त्रणमा लिनुभएको कि आफ्नो पार्टीलाई पुरानै रुपमा फर्काउन सफल हुनुभयो ।
उहाँ आफू बाराको उपनिर्वाचनबाट निर्वाचित हुनु नै भयो उता मधेश सरकारको नेतृत्व गराउन सफल पनि हुनुभयो । केन्द्रमा उपराष्ट्रपति र सरकारमा सम्मानजनक सहभागीता गराएर फ्रन्टलाइनको राजनीतिमा आउनुभयो । यी सब कुरा उपेन्द्र यादवबाट मात्र सम्भव थियो र उहाँले ‘ड्यामेज कन्ट्रोल’ गरेर देखाई दिएको सो पार्टीका नेताहरु बताउनुहुन्छ ।
मधेश प्रदेशका जसपाका अध्यक्ष रामबाबु यादवले जसपा नेपाल मधेशका एक मात्र शक्ति हो भन्ने कुराको पुनः एकपटक प्रमाणित भएको छ र जसपासँग सबैथोक कायम भएको छ र त्यो पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट सम्भव भएको बताउनुभयो । सप्तरीबाट पार्टीका अध्यक्ष नै चुनाव हारेपछि जसपा कार्यकर्ताका लागि त सेनापतिले वीरगती प्राप्त गरेपछि सेनाको मनोबल जस्तो हुन्छ त्यस्तै हालत जसपकोको भएको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दिन त हामीलाई बिना सेनापतिको सैनिक जस्तो लागि रहेको थियो तर हामीले ब्याजसहित बदला लिन सफल भयौं ।’
जसपाले उपराष्ट्रपतिमा रामसहाय यादवले उम्मेदवार उठाउँदा जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो तर्फबाट ममता झालाई उम्मेदवार बनाउनुभएको थियो तर जनमतका उम्मेदवार झा पराजित हुनुभएको थियो । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्ध सिके राउतले उम्मेदवार उठाएर आफ्नो उपस्थिति कायम राख्ने प्रयास गर्नुभएको थियो तर दुवै ठाउँमा हराएर जसपाले मधेशमा उपस्थिति जबर्जस्त रुपमा देखाएको दावी गर्नुभयो ।
जनमतलाई केन्द्रीय सरकारबाट निकालिएको छ भने अब मधेश सरकारबाट पनि हटाउने तयारी गरिरहेको जसपाले जनाएको छ ।
सप्तरी–२ बाट प्रतिनिधि सभा चुनाव हारेपछि उपेन्द्र यादव र उहाँले नेतृत्व गर्नुभएको पार्टी समाप्त हुन्छ भनि धेरैको टिप्पणी थियो तर उहाँले सबै प्रस्थितिलाई आफ्नो नियन्त्रणमा लिएर छ महिनामै ‘ड्यामेज कन्ट्रोल’ गर्न सफल हुनुभयो र यो उपेन्द्र यादवको लागि ठूलो जित रहेको जसपाकै अर्का नेता अमरेश झाले बताउनुभयो ।
एउटै हारले मधेशमा कमजोर भइसकेका पार्टीलाई आफ्नो नियन्त्रणमा ल्याउन उपेन्द्र यादव कसरी सक्नु भयो भनि जिज्ञासामा अर्थशास्त्री डा.हरिवंश झाले यसमा सीर्फ उपेन्द्र यादवको मेहनतले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपेन्द्र यादव जे जस्तो अवस्थामा भएपनि उहाँले सबभन्दा बढी ध्यान संगठनमा दिनुभएको हो, त्यसैको नतिजा हो कमजोर हुन लागेको पार्टीलाई यो रुपमा ल्याउनुभयो ।’
२०७४ को चुनावपछि तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारबाट निकालिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक दाउपेचमा फेरबदल ल्याएर ओलीसँग पनि बदला लिनुभयो । उपेन्द्र यादवले पछिल्लो समय आफूलाई सत्ता समिकरण फेरबदलको खेलाडीको रुपमा आफूलाई प्रस्तुत गर्न थाल्नुभयो ।
पाँच दलीय गठबन्धन बनाउनमा भूमिका खेल्नुभएका उपेन्द्र यादवले काँग्रेसको नेतृत्वमा सरकार बनाउनुभयो तर त्यो सरकारमा आफू नगएर आफ्नो पार्टीबाट अन्य नेताहरुलाई पठाउनु भएको थियो । तर सो सरकारमा उपप्रधानमन्त्री नबनाउने अडान तत्कालिन प्रधानमन्त्री शेबरहादुर देउवाले लिएपछि उपेन्द्र यादव आफू सरकारमा जान पाएनन् । आफू सरकारमा नगएपछि त्यहाँ आफ्नो ‘बार्गेनिङ पावर’ बढाउँदै लग्नुभयो । पाँच दलीय गठबन्धनमा आफ्नो भूमिका खोज्न थाल्नुभयो ।
जब चुनावमा सीट बाँडफाँटको कुरा आयो । तर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले चाहेको जस्तो सीट नपाएपछि उहाँ तत्काल सो गठबन्धन छाडेर केपी शर्मा ओली नेतृत्वको एमालेसँग चुनावी तालमेल गर्नुभयो । त्यसमा उपेन्द्र यादवको आलोचना भएको थियो । तर आफ्नो पार्टीको हितमा यो कदम चालेको कारण कसैको आलोचनाप्रति ध्यान दिनुभएन । मधेश प्रदेश, बागमती, कोशी प्रदेशमा प्रतिनिधि सभामा एमालेलाई जसपाले ३५ सिटमा जसपाले सघाउने तथा जसपालाई १७ सिटमा एमालेले सघाउने सहमति भएको थियो ।
त्यस्तै प्रदेश सभामा एमालेलाई ७० सिटमा जसपाले सघाउने र जसपालाई ४२ सिटमा एमालेले सघाउने गरी सिट बाँडफाँटको सहमति भएको थियो । अन्य सीटमा मित्रवत प्रतिस्पर्धाका लागि उपेन्द्र यादवले देशैभर उम्मेदवारी दिन लगाउनु भएको थियो । जसले समानुपातिकमा सजिलो भयो । उपेन्द्र यादवले एमालेसँग तालमेल नगरेको भए जसपा राष्ट्रिय दल बन्न सक्दैन्थ्यो, जसपाको हालत पनि नेकपा (एस) र लोसपा जस्तो हुन्थ्यो भनि विश्लेषण गनुभयो । केही सीट कम भएपनि राष्ट्रिय पार्टी बनाउन सफल भएको छ ।
चुनाव सकिए पछि उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर पुरानै गठबन्धनमा फर्किने योजना बनाउनुभयो । अन्तिम समयमा गठबन्धन छाडेर गएको कारण उपेन्द्र यादवलाई पुनः गठबन्धनमा स्थान नदिने अडानमा काँग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो । बरु सभापति देउवाले महन्थ ठाकुर नेतृत्वको लोसपालाई जसपाको ठाउँमा ल्याउन चाहनु भएको थियो तर त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत हुनुहुन्थेन ।
चुनावपछि सरकार बनाउने चहलपहल सुरु भयो । राष्ट्रपति र प्रधानमन्त्रीमा कुरा नमिलेपछि माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसको साथ छाडेर एमालेका अध्यक्ष अोलीसँग हात मिलाउनुभएको थियो । त्यसमा उपेन्द्र यादवले पनि प्रचण्डलाई साथ दिनुभएको थियो ।
सरकार निर्माणका लागि भएको शक्ति बाँडफाँटमा एमालेका अध्यक्ष ओलीले उपेन्द्र यादवलाई बाहिर राख्नुभयो । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपापका अध्यक्ष राजेन्द्र लिङ्देल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने मिलेर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मन्त्रालय पनि बाँडफाँट गर्नुभयो । त्यसमा उपेन्द्र यादवले धेरैपटक गुनासो गर्नुभएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष अोलीको साथ छाडेर काँग्रेसका सभापति शेरबहदाुर देउवासँग हात मिलाउनु भएको थियो र त्यसमा उपेन्द्र यादवले सबभन्दा ठूलो साथ दिनुभएको थियो । र, आज उपेन्द्र यादव नेपालको राजनीतिमा सफल हुनुभएको हो । उपेन्द्र यादवले बारा–२ बाट विजयी हुनुभएको छ । उहाँले २८ हजार ४१५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गर्नुभएको छ । यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी हुनुभएको हो । तेस्रो स्थानमा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिनुभयो ।
–सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया