‘माइका लाल’देखि बुथ कब्जासम्म

–सुरेशकुमार यादव
बैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन सम्पन्न भएको छ । तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले ३४ हजार ९१९, चितवनमा सोही पार्टीका सभापति रवि लामेछाने ५४ हजार १७६ र बाराबाट जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत ल्याएर विजय हुनुभयो । तनहुँ–१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो क्षेत्रमा भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा चुनाव जित्नु भएको हो ।
रवि लामिछाने नागरिकताको विषयलाई लिएर सांसदबाट निलम्बनमा पर्नुभएको थियो । उपविर्नाचन हुँदा पुनः सोही क्षेत्रबाट चुनाव जित्नु भएको हो । उपेन्द्र यादव यसअघि मंसिर ४ गते सप्तरी–२ बाट पराजित हुनु भएको थियो । बारा–२ मा जसपाबाट सांसदमा जित्नु भएका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर त्यहाँ भएको उपनिर्वाचनबाट विजय हुनु भएको हो । चितवनबाट रवि लामिछाने जित्ने लगभग निश्चित नै थियो । रवि लामिछानेको लहर र स्वच्छ छवीका कारण तनहुँ–१ मा पनि वाग्ले जित लगभग पहिलादेखि नै निश्चित थियो । तर काँग्रेसका गोविन्द भट्टराई गठबन्धनको साझा उम्मेदवार भएको कारण अलि अलि उहाँको सम्भावना बारे पनि चर्चा भइरहेको थियो । तर सुरुदेखि मतदाताको लहर वाग्लेको पक्षमा नै थियो ।
लामिछाने र बाग्ले जीतको सुनिश्चितताको बीचमा बारा–२ पनि चर्चाको शिखरमा थियो । चर्चामा आउनुको कारण थियो जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको ‘स्टन्टयुक्त’ चुनावी अभियान । सप्तरी–२ बाट ६ महिनाअघि चुनावमा पराजित हुनुभएका जसपाका उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएदेखि नै बारा–२ चर्चामा रह्यो । सप्तरी–२ मा सिके राउतले उपेन्द्र यादवलाई पराजित गर्नुभएको थियो ।
सिके राउतबाट पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादव बडो रणनीतिक ढंगबाट बारामा उपनिर्वाचन गराएर पुनः संसदमा जान लागेको कुरालाई सिके राउतले सहजै पचाउन सक्नु भएन । सारा शक्ति लगाएर सप्तरीबाट हराइसकेको व्यक्ति पुनः उपनिर्वाचनमार्फत संसदमा जान लाग्नु भएको कुराले सिके राउत बेचैन हुनुभयो । उपेन्द्र यादवलाई पराजित गरेर गएपछि संसदमा उहाँको बेग्लै शान थियो । मधेशबाट संसदमा एकछत्र उपस्थिति थियो उहाँको । संसदमा उपस्थित सबै मधेशी नेतालाई उहाँले छायाँमा पार्नुभएको थियो । त्यो अवस्थामा उपेन्द्र यादव सदनमा आउन लागेको अवस्था देखेर सिके राउत बेचैन हुनुभएको थियो ।
सप्तरीबाट चुनावमा पराजित हुनुभएका उपेन्द्र यादव तत्कालै उपनिर्वाचनमा भाग लिनु हुन्थ्यो वा हुन्थेन त्यो बेग्लै विश्लेषणको विषय हो । तर संसदमा आउनबाट उपेन्द्र यादवलाई जसरी उहाँले रोक्ने प्रयास गर्नुभयो, त्यो गैरराजनीतिक कदम थियो भन्ने धेरैको विश्लेषण हो । चुनावको क्रममा उहाँले प्रयोग गरेको शब्द, उपेन्द्र यादवमाथि लगाएको आरोपहरु हेर्दा मानौ सिके राउत उहाँसँग सात जनमको बदला लिइरहनु भएको छ ।
संसदीय राजनीतिमा आइसक्नु भएका सिके राउतले गठबन्धनको राजनीतिलाई स्विकार गरिसक्नु भएको छ । गठबन्धन राजनीतिको एउटा हिस्सा बनिसक्नु भएको छ तर त्यसले तयार पारेको मापदण्ड, त्यसले गरेको निर्णयलाई उहाँले उपेन्द्र यादवको हकमा स्विकार गर्ने पक्षमा जानु भएन । यसैबाट पुष्टि हुन्छ कि उहाँ उपेन्द्र यादवप्रति कति पूर्वाग्रही हुनुहुन्छ ।
एउटै गठबन्धन, एउटै सरकारमा सहकार्य गरेका दलसँग समेत छलफल नगरी उहाँले उपेन्द्र यादवको विरुद्धमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिलाउने घोषणा गर्नुभयो । गठबन्धनबाट त्यसलाई रोक्ने प्रयास पनि भयो तर उहाँ मान्न तयार हुनुभएन ।
उपेन्द्र यादव संसदमा आउने भएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई यस्तो असहय भयो कि उहाँले माइको लालबाट सुरु गर्नुभएको चुनावी अभियानलाई बुथ कब्जामा गएर बिसर्जन गर्नुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादव औपचारिक रुपमा उम्मेदवारी पनि घोषणा गर्नुभएको थिएन ।
त्यतिबेला नै सिके राउतले चैत ८ गते बारामा गएर भन्नुभयो, ‘‘बारा जिला में कोई आदमी नहीं हैं, बारा जिला मे कोइ माइ का लाल पैदा नहीं हुवा हैं कि बाहर का उमेदवार यहां पर आएगें, बारा जिला मे कोइ नेता नहीं कि बाहर का नेता यहां आएगें, बारा जिला बासिंयो के चुनौती हैं कि यहां पे कोइ माइका लाल है कि नहीं, चुनौति दिया हैं’ ।
अर्थात सिके राउतले बहरिया र स्थानीयको नारा लगाउनुभयो । औपचारिक रुपमा उम्मेदवार नै नबन्नु भएका उपेन्द्र यादवमाथि घृणा फैलाउन काम सुरु गर्नुभयो । बारामा उम्मेदवारी दिनबाट रोक्ने असफल प्रयास उहाँले गर्नुभएको कुरा कसैबाट लुकेको छैन ।
बारामा उपेन्द्र यादवमाथि सिके राउतको त्यो पहिलो प्रहार थियो । त्यो भाषणले बाराका जनतालाई सुरुमै उत्तेजित बनाउने काम अध्यक्ष राउतले गर्नुभएको थियो । तर बारामा आफ्नो पार्टीबाट कसलाई उठाउने उहाँसँग उम्मेदवार पनि थिएन । उहाँ बारा–२ को गलीहरुमा माइका लाल (आमाको छोरा) खोज्न थाल्नुभयो । अन्त्यमा फेला पार्नुभयो शिवचन्द्र कुशवाहालाई । जसलाई बाराका जनताले यसअघि नै अस्विकार गरिसकेका थिए । उहाँमाथि विभिन्न आरोप लगाउँदै जनताले ‘रिजेक्ट’ गरिसकेका थिए ।
विभिन्न पार्टी चहार्दै माओवादी केन्द्रमा आएका शिवचन्द्र कुशवाहा सिके राउतका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो । बारामा शिवचन्द्र कुशवाहाले आफ्नो परिचय जस्तो बनाउनु भएको थियो त्यो सिके राउतका लागि उपयुक्त थियो । एउटै बसाईमा शिवचन्द्र कुशवाहा सिके राउतको पार्टीमा प्रवेश गर्न राजि हुनुभयो ।
चैत १५ गते शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेपछि सिके राउतले उहाँलाई धर्तीपुत्र नामाकरण गर्नुभयो । उपेन्द्र यादवलाई बहरिया, फिरङ्गी भन्दै शिवचन्द्र कुशवाहालाई धर्तीपुत्र, माइका लालको नामाकरण गरेर उपेन्द्र यादवको विरुद्ध उहाँलाई फिल्डमा उतार्नुभयो ।
२०७९ मंसिर ४ गते भएको चुनावमा रामसहाय यादवबाट शिवचन्द्र कुशवाहा चुनाव हार्नुभएको थियो । तर दोस्रो स्थान ल्याएको कारण जनमत पार्टीका अध्यक्ष सिके राउत निकै हौसिनु भएको थियो । शिवचन्द्र कुशवाहले ल्याउनु भएको मत उहाँको आफ्नै मत हो भनि सिके राउतले सायद हेक्क राख्न सक्नु भएन । तर, त्यस्तो होइन । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो शिवचन्द्र कुशवाहा । उहाँले काँग्रेस, माओवादी, नेकपा (एस), लोसपाको मत लिएर दोस्रो स्थानमा पुग्नु भएको थियो ।
तर असली धर्तीपुत्रको रुपमा शिवचन्द्र कुशवाहालाई क्षेत्रमा यसरी उतारियो कि बारावासीलाई पनि ‘इरिटेड’ बनाइ सकेको थियो । धर्तीपुत्र भनेर पनि मिसन सफल नहुने देखेपछि सिके राउतले जातीयताको नारा लगाउनुभयो । यादव जातीहरुको मत उपेन्द्र यादवलाई जान्छन्, उपेन्द्र यादव यादव समुदायका नेता मात्र हुन्, उसले जातीयताको राजनीति गरेको भ्रम छर्ने काम सिके राउतले गर्नुभयो ।
जातीयताको नाममा उहाँले गैर यादवहरुलाई आफूतिर आकर्षित गर्ने असफल प्रयास गर्नुभयो । जाती जातीको बीचमा चिरा ल्याउने काममा सफल हुनुभयो तर त्यसको फाइदा उहाँले लिन सक्नुभएन । त्यसका लागि उहाँले विभिन्न जातीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई समेत क्षेत्रमा बोलाउनु भएको थियो ।
तर, उहाँको कुरा कसैले पत्याई दिएन । जातीयताको नारा लगाएर पनि फेल हुने अवस्था देखेपछि सिके राउतले जसपाले क्षेत्रमा पैसा बाँडेको नारा लगाउनुभयो । विभिन्न भिडियोहरु बनाएर फेसबुकमा पोस्टिन थाल्नुभयो । पैसा बाँड्ने क्रममा जसपा कार्यकर्ता फलानो ठाउँमा समातिनु भयो भनि उहाँले विभिन्न अनलाइनहरुमा समाचार पनि बनाउन लगाउनुभयो तर त्यसको पुष्टि कही कतै भएको थिएन । सञ्चारमाध्यमले पनि त्यसलाई पुष्टि गर्ने प्रयास गरे तर कहीबाट त्यो पुष्टि भइरहेको थिएन ।
सिके राउतले पछि बारालाई गुण्डाराज, जंगलराज भन्दै पोस्टर बनाई फेसबुकमा सार्वजनिक गर्नथाल्नुभयो । । गौर घटनाको कुरा पनि त्यही बेला उहाँले उठाउनुभयो । कालानागदेखि लिएर भएर भरका सबै नारा सिके राउतले त्यही बेला लगाउनुभयो ।
अर्थात बारालाई कसरी उत्तेजित बनाएर आफ्नो पक्षमा पार्न सकिन्छ भनि उहाँले सबै प्रयास गर्नुभयो । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बारामा चुनाव सभा सम्बोधन गर्न आएपछि सिके राउतले ‘एक गाई पर पाँच कसाई’ भनेर पोस्टर बनाएर नै फेसबुकमा राख्नुभयो । जतिजति चुनाव नजिकिदै गइरहेको थियो, त्यति त्यति सिके राउतले बारा क्षेत्र नम्बर २ का जनतालाई भ्रमित र उत्तेजित बनाउँदै उपेन्द्र यादवको विरुद्धमा खडा गरिरहनु भएको थियो । यो उहाँको पुरानै रणनीति हो ।
उहाँ स्वतन्त्र मधेश गठबन्धन चलाइ रहेको बेला पनि ठूला ठूला भाषण गरेर मधेशका युवाहरुलाई ‘इमोशनल ब्ल्याकमेलिङ’ गरेर संगठनमा जोड्ने काम गर्नुहुन्थ्यो । किसान अन्दोलनलाई उत्तेजित बनाएर शान्तिपूर्ण आन्दोलनलाई भड्काउको आन्दोलन बनाउनुभयो । एकजना कर्मचारीलाई कालामोसो दलेर नाङ्गो घुमाउने काम सिके राउतका कार्यकर्ताले नै गर्नुभएको थियो । अर्थात माहोललाई आफ्नो पक्षमा कसरी पार्ने त्यो कुराको राम्रो जानकार सिके राउत बाराको उपनिर्वाचनमा राम्रोसँग त्यसको उपयोग गर्नुभयो ।
मतदान हुनुभन्दा एक दिन पहिले उहाँले आफ्नो फेसबुकमार्फत विभिन्न बुथ कब्जा हुनसक्ने लिस्ट नै सार्वजनिक गर्नुभएको थियो । त्यसको भोलीपल्ट अर्थात चुनाव भइरहेको दिन त उहाँले हद नै पार गर्नुभयो । मतदान सुरु नहुँदै उहाँले मिडिया बोलाएर फलानो फलानो बुथ कब्जा भएको भन्न थाल्नुभयो ।
यो उहाँको पूर्वयोजना मुताविक नै भइरहेको थियो । ‘देवताल, बेल्डारी, पचरौत, करैयामाईका विभिन्न बुथ जसपाले कब्जा गर्यो भनि अभिव्यक्ति दिएर सनसनी मचाउन सफल हुनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियालाई आफूतर्फ आकर्षित गर्न सफल हुनुभयो । यहाँसम्म उहाँले भन्नुभयो कि ‘प्रहरीले मलाई बुथ अनुगमनमा जान दिइरहेको छैन, मलाई घेराबन्दीमा राखेको छ । यहाँ जंगलराज चलिरहेको छ, अहिले नै उपेन्द्र यादवले यस्तो गरिरहनु भएको छ भने पछि आएर के गर्नुहुन्छ ।’
जसपाले बुथ कब्जा गर्यो भनि हल्ला भएपछि मिडियाकर्मीहरु त्यहाँ गएर लाइभ नै दिन थाले । त्यहाँका मतदाता तथा विभिन्न पार्टीका नेता यहाँसम्म कि जनमत पार्टीका नेताहरुको पनि प्रतिकृयाहरु बाहिर आउन थाले । कसैले पनि बुथ कब्जा भएको स्विकार गरेनन् । बुथ कब्जाको हल्ला फैलाएर उपेन्द्र यादव धान्धली गरेर चुनाव जितेको कुरा भोली भन्नका लागि उहाँले योजनाबद्ध तरिकाले उठाउनु भएको थियो । बुथ कब्जा भएको कुरा कहीबाट पुष्टि भएन । मानवअधिकारकर्मी, चुनाव अनुगमनकर्ताहरु पनि ती बुथहरुमा पुगेका थिए तर त्यस्तो कुरा उनीहरु कही कतै फेला पार्न सकेनन् ।
पछि त उहाँले बुथ कब्जा गर्ने क्रममा झडप हुँदा आफ्नो कार्यकर्ता घाइते भएको फोटो फेसबुकमा सार्वजनिक गर्नुभयो । पत्रकारहरुले त्यसको पनि खोजी गरे तर त्यो पुरानो फोटो राखेर भ्रम फैलाउने काम गरेको पुष्टि भएको थियो । छाता छाप मोहर लगाइएको ब्यालेट पेपर बाहिर छ्याप छ्याप्ती पाइरहेको कुरा पनि सिके राउतले पटक पटक भन्नुभएको थियो । प्रहरी तथा सञ्चारकर्मीले त्यसको पनि खोजी गरेका थिए तर त्यस्तो मतपत्र कही फेला परेको थिएन । बुथमा मतदान गर्ने ठाउँमा जसपाकै नेता रामसागर यादवसँग दुईटा ब्यालेट पेपर फेला परेको थियो ।
जनमत पार्टीका नेताहरुले हल्ला उठाए । चुनाव नै स्थगित गर्न लगाए । रामसागर यादवलाई प्रहरीले पक्राउ गरी थानामा लग्यो त्यसको छानविन पनि भयो । छानविनकै क्रममा बुथमा बुथ एजेण्टमा खटिएका कर्मचारीले मतपत्र दिने क्रममा धोखाले दुईटा मतपत्र उहाँको हातमा गएको थियो । रामसागर यादवले त्यति यादै गर्नुभएन । सरासर मत खसाउनतिर जान लाग्दा दुईटा मतपत्र हातमा देखेपछि हल्ला भएको थियो । जब कि त्यसमा छाप पनि हालिएको थिएन तर सिके राउतले छाप हालिएको मतपत्र फेला पर्यो भनि मिडियालाई बोलाएर प्रतिकृया मात्र दिनु भएन फेसबुकमा त्यसलाई भाइरल नै बनाउनुभयो ।
त्यसका बाबजुद पनि जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव जित्नुभयो । जसपा पनि के कम । बारामा सिके राउतले जनतामा भ्रम फैलाउने काम सुरु गरेपछि जसपाका नेता तथा कार्यकर्ताले पनि त्यस्तै गर्न थाले । सिके राउतका कार्यकर्ताको सिको गर्दै सिके राउतमाथि विभिन्न आरोपहरु लगाउँदै गलत प्रचार गरेका थिए । पुराना भिडियो तथा कागजातहरु राखेर विभिन्न भ्रमपूर्ण प्रचारहरु गर्न थालेका थिए ।
उपेन्द्र यादवको विरुद्धमा सिके राउतले आफै बोल्नु हुन्थ्यो । तर उपेन्द्र यादवले सिके राउतको बारेमा आफै कहिले केही बोल्नु भएन । उपेन्द्र यादव चुनाव जिति सकेपछि सिके राउतले संसदमा पनि बुथ कब्जा भएको, सुरक्षा थ्रेट रहेको कुरा उठाउनु भएको थियो । तर सरकारले त्यसलाई केही रेसपोन्स नदिएको हो कारण थियो, सिके राउतले जति पनि कुराहरु चुनावी क्षेत्रमा उठाउनु भएको थियो ती सबै झुठ थिए, चुनावी ‘स्टन्ट’का लागि प्रयोग गर्नुभएको थियो ती सबै कुरा । त्यसैले सरकारले त्यसको जवाफ दिन उचित ठानेको थिएन ।
हो, यो कुरा अस्विकार गर्न सकिदैन कि सिके राउतको क्रेज छैन । उहाँको क्रेजकै कारण पार्टी संगठनको रुप धारण गरेको हो । राष्ट्रिय पार्टी बनाएर संसदमा पाँच सीट बनाउन सफल हुनुभयो । संघ तथा प्रदेश सरकारमा सहभागी हुन सफल हुनुभयो । युवाको आकर्षण उहाँप्रति छ । जनताले सिके राउतमाथि भरोसा गरेका छन् । उहाँले बोल्ने कुरामाथि जनताले विश्वास गर्न थालेका छन् । विगतका दल तथा नेताहरुले ठगेर समय बिताए, नयाँ पार्टीका साथ जोस र उमङ्ग लिएर आउनु भएका सिके राउत हाम्रो लागि केही गर्नुहुन्छ कि भनि आश जनतामा जागेको कुरा गलत होइन तर सिके राउतले त्यसलाई प्रयोग गर्न जान्नु भएको छैन ।
जनताको मनोभावनालाई उहाँले मिस युज गरिरहनु भएको छ । क्रेज रवि लामिछानेको पनि छ तर उहाँले त्यसलाई ठिक समयमा सही काममा प्रयोग गर्नुभएको छ, आफ्नो पक्षमा प्रयोग गर्न सक्नुभएको छ । तर सिके राउत त्यसमा चुक्नु भएको छ । रवि लामिछानेले एउटा प्रणालीलाई प्रधान शत्रु मान्नु भएको छ भने सिके राउतले एउटा व्यक्तिलाई प्रधान शत्रु मान्नुभएको छ ।
उहाँ एउटा व्यक्तिको पछाडि आफ्नो सम्पूर्ण शक्ति लगाउनु भएको छ । उहाँले जे कुरा जहाँ बोल्नु हुन्छ त्यहीं छोड्नु हुन्छ । जनतासँग गरेको प्रतिवद्धतामा अडिग रहनु भएको छैन । जनतालाई ठूला ठूला सपना देखाउनु हुन्छ, ठूला ठूला प्रतिवद्धता गर्नुहुन्छ तर त्यो पुरा गर्नमा पछाडि हट्नु हुन्छ । अर्थात जनतालाई गुमराहमा राखेर आफूतिर आकर्षित गर्नुभएको छ जुन स्थायी होइन ।
(लेखक सुरेशकुमार यादव गोरखापत्रका पत्रकार हुनुहुन्छ)

–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया