–जगत यादव
केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र
सात वटा प्रदेशमध्ये माओवादी केन्द्रका लागि सबभन्दा विवादस्पद र कमजोर प्रदेश नै मधेश प्रदेश हो । हालसम्म न प्रदेश कमिटी बन्न सकेको छ न जिल्ला न स्थानीय । जहाँ जहाँ कमिटी बनेका छन् ती सबै विवादित छन् । फागुन अन्तिम साता पेरिसडाँडामा मधेश प्रदेशका नेताहरुसँग भएको छलफलले प्रदेशमा एक महिने अभियान चलाउने निर्णय गरेको थियो तर तीन महिना भइसक्यो, अहिलेसम्म अभियान सञ्चालन भएन । चुनावमा सबभन्दा नराम्रो परिणाम माओवादीका लागि मधेश प्रदेशबाट नै आए । नेताहरुको बीचमा चरम गुटबन्दी छ, एकले अर्कालाई स्विकार गर्न सकिरहेका छैनन् । यस्तो किन भइरहेका छन् त ? प्रस्तुत छ यिनै विषयवस्तुमा केन्द्रीत रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
फागुनको अन्तिम साता पेरिसडाँडामा बसेको केन्द्रीय मधेश प्रदेश समन्वय समितिको बैठकले मधेश प्रदेशको जनस्तरमा अभियान चलाउने निर्णय गरेको थियो तर त्यो अभियान सञ्चालन नहुँदै सक्यो त्यस्तो कसरी भयो ?
–मधेश प्रदेशमा सक्षम नेतृत्वकर्ता नभएको कारणले यस्तो भएको हो, कुरा स्पष्ट छ । माओवादी राजनीति, नेतृत्व, संगठनको बारेमा ज्ञान नभएको व्यक्ति अहिले मधेश प्रदेशको इन्चार्ज हुनुभएको छ तर मधेशमा के भइरहेको छ उहाँलाई केही थाह छैन । न मधेशमा कुनै कमिटी छन्, न सक्षम नेतृत्व । कसले कसको नेतृत्व गरिरहेका छन्, कसैलाई थाह छैन । कसले कहाँ कमाण्ड गरिरहेका छन् कसैलाई थाह छैन । अभियान चलाउनका लागि एक जना अगुवा त चाहिन्छ नि तर न यहाँ कुनै कमिटी छन् न चेन अफ कमाण्ड छ न त अनुशासन । अनि केन्द्रले निर्णय गर्दैमा कुनै अभियान कसरी सञ्चालन होओस् त ? कुनै पनि अभियान सञ्चालनका लागि माथिदेखि तलसम्म ‘चेन अफ कमाण्ड’ हुन्छ । अनुशासित कार्यकर्ता र नेता हुन्छन् । जो एउटा विधि र प्रकृयामा चलेका हुन्छन् । तर मधेशमा माओवादीको केही पनि छैन । न समिति छ, न विधि छ, न कुनै प्रकृया छ । सबै लथालिङ भताभुङ छ । एक जना इन्चार्ज हुनुहुन्छ उहाँलाई मधेशमा के भइरहेको छ केही थाह छैन ।
अहिले त्यस्तो भन्नु हुन्छ तर यही कुरा पेरिस डाँडाको बैठकमा किन उठाउनु भएन कि पहिला संगठन बनाउनुस्, समिति बनाउनुस्, कार्य विभाजन गर्नुस्, जिम्मेवारी हेरफेर गर्नुस् अनि मात्र अभियान चलाउनुस् भनि किन भन्नु भएन ?
–तपाईलाई विश्वास लाग्छ कि हामीले यो नभनेको होला । पेरिसडाँडा बसेको जुन बैठकको बारेमा तपाईले कुरा गर्नुहुन्छ । त्यो बैठकमा सबभन्दा बढी कुरा हामीले नै उठाएका थियौं । हामीले बैठकमाथि नै प्रश्न उठाएका थियौं । केन्द्रीय मधेश प्रदेश समन्वय समितिको नाममा बैठक बोलाएको थियो त्यो नै वैधानिक थिएन । विधानमा हुँदै नभएको समितिको नाममा बैठक बोलाएको थियो । त्यसलाई हामीले विरोध गरेका थियौं । अभियान सुरु गर्नुहुन्छ पहिले मधेशमा कमिटीहरु बन्नुपर्छ । कार्यविभाजन हुनुपर्छ भनि हामीले कुरा उठाएका थियौं तर हाम्रो कुराको कुनै सुनुवाई भएन । कमरेड प्रचण्डले सिधै निर्देशन दिनुभयो कि आआफ्नो क्षेत्रमा, गाउँमा, जिल्लामा गएर काम गर्नुस् । जनताको जनजिविकासँग जोडिनुस् । संगठन विस्तारको काम गर्नुुस् । त्यसपछि अर्को चरणमा त्यहाँको संगठनात्मक कार्य गरौला ।’ तर कमरेड प्रचण्डले दिनु भएको निर्देशनको सिधै अवज्ञा भयो । यो गम्भिरतालाई कमरेड प्रचण्डले बुझ्नुपर्ने हो ।
यस्तो हुनुको कारण के हो त ?
–मुख्य कारण नेतृत्वको असक्षमता र पार्टीभित्रका गुटबन्दी हो । मधेशमा पार्टी छैन, पार्टीका नाममा विभिन्न गुटहरु चलिरहेका छन् । कसैको कसैमाथि उत्तरदायी छैनन् । जसलाई जे मन लाग्यो त्यही गर्छन् । कोही कसैको कमाण्डमा छैनन् । पार्टीको निर्णय एकातिर नेता कार्यकर्ताहरु अर्कोतिर । कोही नेता छन् भने आफ्ना गुटका नेतालाई संरक्षण गर्छन् त्यसबाहेक अरु कसैलाई गिन्दा पनि गिन्दैनन् । टिकट वितरणदेखि लिएर पार्टीमा दिने जिम्मेवारीसम्म आआफ्नो पकेटका मान्छेलाई अवसर दिएका हुन्छन् । पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको कुनै मतलब राखेका हुँदैनन् । पार्टीमा एकता प्रकृयाबाट आएका नेताहरु हाबी भए, क्रान्तकारी विचार बोकेका नेताहरुलाई किनारा लगाए । पार्टीको सिद्धान्त र विचारलाई तिलाञ्जली दिए ।
मधेशमा माओवादी केन्द्र राम्रै थियो तर यो तरिकाले कसरी बिग्रियो त ?
–पार्टीले क्रान्तकारी र पार्टी एवं विचारप्रति प्रतिवद्ध नेतालाई चिन्न नसकेको कारणले यस्तो भएको हो । हिजो एकता प्रकृयाबाट पार्टीमा आए र सिधै नेतृत्वमा पुगेर हामीमाथि शासन गर्न थाले । शासन पनि विधि प्रकृया र पद्धति अनुसार गरेको भए हुन्थ्यो तर पार्टीमा यसरी हावी भए कि अन्य क्रान्तकारी नेताहरुलाई छायाँमा परे । क्रान्तकारी नेतालाई नेतृत्व दिएन, काम गर्ने ठाउँ दिएन । नव आगुन्तकलाई पार्टी जिम्मा लगाउँदै गएपछि माओवादीको यो हालत भएको हो । जनतालाई सेवा गर्ने नेता नै भएन, पार्टीमा नेतृत्वको चाकरी गर्ने र पार्टीमा कब्जा जमाई रहनेको हातमा पार्टी गयो जसले गर्दा यो हालत भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तपाईहरुको बैठकमा भन्ने गर्नुहुन्छ, ‘तपाईहरु सुध्रिनुस्, संगठन ठिक पार्नुस् नत्र म आफै हस्तक्षेप गर्छु’ तर हालसम्म किन हस्तक्षेप गर्न सक्नु भएन ?
–प्रचण्डको यो कुरा नै विरोधाभास हो । गणेश साहलाई मधेश प्रदेशको इन्चार्ज उहाँले बनाउनु भएको होइन ? आफैले इन्चार्ज बनाएको व्यक्तिले जिम्मेवारी पुरा गर्न सकेन भने दोषी को हुन्छ ? हस्तक्षेप मधेशमा होइन पहिला इन्चार्जमाथि गर्नुपर्छ । उहाँले जिम्मेवारी पाए पनि मधेशको समस्या किन समाधान गर्न सक्नु भएन । बरु उहाँ इन्चार्ज भएपछि मधेशमा रहेको पार्टी संगठनको अवस्था झन खराब भयो । कमरेड प्रचण्डले मधेश प्रदेशका इन्चार्जलाई प्रश्न गर्नुपर्छ । मधेशको रिपोर्टिङ उहाँबाट लिनुपर्छ । मधेशमा गुटबन्दी कसले गराए, किन गराए त्यो कुराको पहिचान पार्टी पंक्तिले गर्नुपर्छ । एकचोटी अध्यक्ष प्रचण्डले निर्मम ढंगबाट मधेशमा हस्तक्षेप गर्नुपर्छ तर बोलेर मात्र होइन गरेर देखाउनु पर्छ ।
मधेश प्रदेशमा नारायणकाजी श्रेष्ठ र मातृका यादवको गुटबन्दीका कारण यी सबै कुरा बिग्रिएको कुरा पार्टीमा बेलाबखत उठ्ने गरेको छ के यो साँच्चै हो ?
–मधेश प्रदेशमा नारायणकाजी र मातृका यादवको गुट मात्र होइन, त्यहाँ थुप्रै गुटहरु छन् । त्यहाँ जति जना नेता छन् त्यतिवटा गुट छन् । गुटैगुटले माओवादीको मधेश प्रदेश भरेको छ । मधेशका क्रान्तकारी योद्धालाई अपमान गर्ने नेता पनि मधेश प्रदेशमै छन् । पार्टीलाई नहेरी आफ्नोलाई मात्र हेर्ने नेता त्यही छन् । पार्टी संगठनलाई नहेर्ने र जेमा पनि भागबण्डा खोज्ने नेता छन् । क्रान्तकारी योद्धालाई सिध्याउनका लागि योजनाबद्ध तरिकाले लागेका नेताहरु पनि त्यही छन् । मातृका यादव जस्ता नेतालाई सिध्याउन थुप्रै खेलहरु भए र भइरहेका पनि छन् । त्यसखालको नेतालाई भूमिका विहिन अवस्थामा राखिएको छ । मातृका यादवले नेतृत्व गरेको मधेश र अहिलेको मधेशमा के अन्तर छ, तपाईहरु पनि बुझ्न सक्नु हुन्छ । मातृका विना मधेश अधुरो छ । मातृका भन्ने बित्तिकै सबभन्दा पहिले मधेश सम्झिन्छन् । तर त्यही मधेशमा उहाँलाई भूमिकाविहिन अवस्थामा राखिएको छ । यो काम कसले किन गरिरहेका छन् घाम जस्तो छर्लङ छ ।
मधेशमा क्रान्तकारी योद्धालाई अपमान गर्ने नेता छन् भन्नुभएको छ, त्यो भनेको के ?
–यो कुरा सबैले थाह पाएकै छन् । गिरीराजमणी पोखरेल शिक्षा मन्त्री भएको बेला २०७७ मा महोत्तरीको खयरमारामा रहेको माओवादीका क्रान्तकारी योद्ध सहिद रामवृक्ष यादवको सालिक हटाएर त्यहाँ अर्का वामपन्थी नेता निर्मल लामाको सालिक राख्ने तयारी गर्नुभएको छ । माओवादीका एउटा योद्धाका लागि यो जतिको सर्मनाक विषय अरु के हुनसक्छ । गिरीराजमणी पोखरेलले रामवृक्ष यादवको सालिक हटाएर त्यहाँ निर्मल लामाको सालिक राख्ने सोच्नु पनि कसरी भयो त्यो अच्चम लाग्छ । म निर्मल लामाको अपमान गर्न सक्दिन् । उहाँप्रति मेरा सम्मान छ । तर, यो देशमा परिवर्तन ल्याउनका लागि निर्मल लामाको भन्दा रामवृक्ष यादवको योगदान अलिकति पनि कम छैन । निर्मल लामाभन्दा अलिकति बढी नै होला । तर, गिरीराजमणी पोखरेलले गरेको काम एउटा योद्धाका लागि अपमान हो कि होइन ? के यहीं दिन हेर्नका लागि माओवादीले जनयुद्ध गरेको थियो । जनयुद्ध लडेर ल्याएको परिवर्तनमा अरुहरु आएर क्रान्तकारी योद्धालाई अपमान गरेको कुरा कुनै पनि क्रान्तकारी पक्षले स्विकार गर्न सक्दैन । चाहे जोसुकै होस् ।
मधेशमा देखिएको समस्याको मुख्य जडो यही हो होइन ?
–समस्या यो मात्र होइन, अरु पनि छन् । त्यसमध्येको यो मुख्य हो । जसले परिवर्तनका लागि आफ्नो र आफ्नो परिवारको आहुती दिए आज त्यसैको सालिक भत्काउन थालिएको छ त्यो जतिको लज्जाबोध अरु केही हुनसक्दैन । अर्को कुरा, मधेशमा संगठन बन्न दिइरहेको छैन । बनाउने प्रयास नभएको पनि होइन । तर बैठकमै होहल्ला गरेर त्यसलाई भाँड्ने काम भइरहेका हुन्छन् । तपाईहरुलाई पनि थाह होला । मधेश प्रदेशमा कमिटीहरु बनाउन पटक पटक प्रयास भएको हो तर त्यसलाई सफल हुन दिएन यसको दोष कसले लिने ? पार्टी पंक्तिले यसको बारेमा निर्ममतापूर्वक समिक्षा गरेर अगाडि बढ्नुपर्छ ।
माओवादी शान्ति प्रकृयामा आएदेखि सरकार भन्दा बाहिर कहिले रहेन । पटक पटक सरकारको नेतृत्व पनि गर्यो तर पार्टी अगाडि बढ्नुको सट्टा पछाडि हटिरहेको छ, दिनदिनै कमजोर भइरहेको छ किन ?
–यो समिक्षाको विषय हो । जबसम्म जनयुद्धकालिन नेताहरुले पार्टी चलाई रहेका थिए, त्यतिबेला पार्टी राइज नै गरिरहेको थियो तर जब एकताको नाममा विभिन्न पार्टीबाट नेताहरु आए । उनीहरुले कहिले पनि पार्टीलाई ठिक ढंगले चल्न दिनुभएन । जहिले पनि सत्ता बाँडफाँट, पार्टीमा हिस्सेदारी, सरकारमा हिस्सेदारी लिएर पार्टीमा हालिमुहाली गर्नुभयो तर संगठन निर्माणमा कहिले ध्यान दिनुभएन । पार्टीमा गुट चलाउनुबाहेक अरु कामै भएन । जनताको सेवाभन्दा आफ्नो र आफन्तको सेवामा मात्र समय खेर फाले । जोसँग हिजोसम्म कोठा भाडा तिर्ने हैसियत थिएन आज काठमाडौँमा ठूला ठूला महल बनाएर बसेका छन् । कमरेड प्रचण्डकै भाषामा भन्ने हो भने सबैजना सुकिला मुकिला भए । काठमाडौँभन्दा बाहिर निस्कन नै चाहेन । सिंहदरवारको वरिपरी मात्र रमाउनु भयो अनि कसरी बन्छ संगठन, त्यो सम्भव नै छैन ।
अहिलेको गठबन्धन सरकारलाई तपाईले कसरी मूल्यांकन गर्नुभएको छ ?
–आमा जनताको आशा छ कि प्रचण्डले केही गर्नुहुन्छ । हाम्रो भविष्य प्रचण्डको कदमबाट निर्धारण हुन्छ । माओवादी पार्टीका लागि ठूलो मौका आएको छ । जनताका लागि केही गरेर देखाउने बेला यहीं हो । यसपटक जनताको हितमा केही गर्न सकिएन भने माओवादीको भविष्य छैन भने बुझ्दा हुन्छ । तर जनताले प्रचण्डमाथि यसपटक निकै विश्वास गरेको छ । र, प्रधानमन्त्री प्रचण्ड पनि केही गर्छु भनेर लाग्नु भएको छ । हामी सबै मिलेर प्रचण्डलाई सफल बनाउनु पर्छ । प्रचण्ड सफल हुनु भनेकै माओवादी सफल हुनु हो । प्रचण्ड असफल भएपछि माओवादी त्यतिकै असफल हुन्छ ।
–सहारा टाइम्स पत्रिकाबाट


तपाईको प्रतिक्रिया