Khadya Bibhag

संसदको मर्यादा (सम्पादकीय)

‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस् ।’ सभामुख देवराज घिमिरेले एक पटक होइन पटक पटक यो कुरा दोहोराइ रहनु भयो तर त्यो कुराले असर नगरेपछि कारवाहीको चेतावनी दिएपछि मात्र अशिष्ट व्यवहारबाट फर्किनुभयो । यो दृश्य २०८० बैशाख २५ गते बसेको संसदको हो ।

आफूलाई भ्रष्टाचारको विरुद्धमा बोल्न नदिएको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले संसदमा अर्धनग्न हुनुभएको थियो । ढाडभन्दा माथीको सबै लुगा फुकालेर संसद बैठकमै विरोध जनाउनु भएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर बेचबिखन गर्नेहरुलाई बचाउ गर्ने काममा दलका शीर्ष नेता तथा सरकारले लागेको बारेमा बोल्न आफूले सभामुख घिमिरेसँग आकस्मिक समय माग गरे तर समय नदिएपछि आफू बाध्य भएर लुगा फुकाल्न बाध्य भएको प्रतिकृया सञ्चारकर्मीलाई दिनुभएको थियो ।

उहाँले जे गर्नुभयो त्यो संसद र मिडियालाई ध्यानाकर्षण गर्नका लागि गर्नुभएको थियो, त्यसमा कुने दुईमत छैन । तर त्यो संसदको मर्यादा विपरित थियो । संसदलाई मर्यादित रुपमा पनि ध्यानाकर्षण गराउन विभिन्न उपाय छन् । संसदमा सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने नियमावलीमा भनिएको छ । तर सांसद सिंहले जे उपाय अपनाउनुभयो त्यो अमर्यादित र संसदको गरिमालाई डुबाउने उपाय अपनाउनु भयो ।

हुन त यस अघिका बैठकहरुमा पनि सांसदहरुले सभामुखलाई ध्यानाकर्षण गराउन माइक भाँच्नु, सीट भाँच्ने, जुत्ता हान्ने, झापड हान्ने जस्ता हर्कतहरु नगर्नु भएको होइन । त्यो पनि संसदको मर्यादा विपरित थियो । तर सांसद सिंहले गर्नुभएको क्रियाकलाप संसदको मर्यादा विपरित मात्र होइन अश्लिल पनि थियो ।
सांसद सिंहले यसरी संसदलाई ध्यानाकर्षण गराउन यस्ता कार्यहरु विदेशहरुमा पनि हुने गरेको उदाहरण दिनुभएको छ । तर त्यो अश्लिल हर्कत विदेशका लागि मामुली कुरा हुनसक्छ र हो पनि । त्यहाँको समाजले त्यसलाई समान्य रुपमा लिएका हुन्छन् । त्यसलाई त्यहाँको समाजले पचाई सकेको छ । तर नेपाली समाजले त्यसलाई पचाउन सकेको छैन । नेपाली समाजका लागि त्यो घोर अश्लिल नै हो । नेपाली समाजले त्यसको खालको हर्कत कही देख्दा अहिले पनि मुख छोपेर वा आँखा छोपेर हिड्ने गरेका छन् । अर्थात हाम्रो समाजले त्यसलाई पचाउन सकेको छैन । त्यसैले सांसद सिंह आलोचनाका पात्र बन्नुभएको छ ।

संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । यो व्यवस्था उलङ्घन गरेको भन्दै सभामुखले कारबाही हुने चेतावनी दिन सक्ने प्रतिनिधिसभा नियमावलीको नियम ३० मा उल्लेख छ ।

बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्ने नियमावलीमा उल्लेख छ । सो नियमावली अनुसार सभामुख घिमिरे कारवाहीको चेतावनी दिएपछि सांसद अमरेश सिंहले आफ्नो लुगा लगाउनुभएको थियो । तर उहाँले संसदमा जे हर्कत गर्नुभयो त्यो नेपाली समाजका लागि अपाच्य थियो ।

सांसद अमरेश सिंहहरुले संसदलाई कसरी मर्यादित बनाउन सकिन्छ, त्यसको नियम, नियमावलीहरु बनाउने काम गर्नुभएको छ तर त्यसको उल्लंघन गर्ने काम पनि आफै गर्नुभएको छ । देशमा सुशासन, मर्यादित तथा विधिको शासन कायम गर्न सांसदकै भूमिका हुन्छन् । तर आफैले त्यसको उल्लंघन गरेपछि त्यसको नकारात्मक असर समाजमा पर्छ । त्यो कुराको ख्याल सांसद सिंहले गर्नुभएको छैन । आवेगमा आएर संसद जस्तो गरिमामय ठाउँमा अश्लिल हर्कत गर्नुभएको छ, त्यसले पुरै समाज लज्जित भएको छ । त्यसैले समाजलाई सम्मान हुने, शीर ठाडो हुने खालको मर्यादा संसदमा कामय गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया