जनमत पार्टी दुस्प्रचारको फैक्ट्री

–अमरेन्द्र यादव
सीके राउत र उनको जनमत पार्टी अरु केही होइन, दुस्प्रचारको फैक्ट्री हो । सीके राउतको प्रोपगेन्डा मेसिनले मधेश सरकारको नेतृत्वबारे बारा–२ को उपचुनावअगाडि अनेक अफवाह फैलायो । धेरैले विश्वास पनि गरे । तर सत्य के हो भने मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको वर्तमान सरकार कम्तीमा साढे दुई वर्षसम्म दायाँ बायाँ हुँदैन । सरोज सरकारबाट पार्टीहरु बाहिरिने भित्रिने क्रमलाई भने अस्वाभाविक मानिने छैन ।
बारा–२ उपनिर्वाचनको दौरान झुठको खेतीमा पिएचडी गरेका सीके राउतले चुनावपछि बाराबाट चुनाव जितेका मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्री पद गुमाउने भन्ने झुटा प्रचार गरेर मतपरिणामलाई आफ्नो पक्षमा पार्ने भरमग्दुर प्रयास गरे । दुस्प्रचारका महागुरु सीके राउतले यतिसम्म भन्न भ्याए कि आफ्नो पार्टी र कांग्रेसबीच सहमति भइसक्यो । कथित सहमतिको हवाला दिँदै उनले भनेका थिए–‘उपचुनावपछि या त आफ्नो पार्टीले मुख्यमन्त्री पाउने या कांग्रेसले मधेश सरकारको नेतृत्व गर्ने ।’
तर यथार्थ के हो भने एमाले बाहिरिएर कांग्रेसको नेतृत्वमा वर्तमान सत्तारुढ गठबन्धन बनेपछि नै जनमत पार्टीले मुख्यमन्त्री पद पाउने सपना चकनाचुर भइसकेको छ । बारा २ मा उपनिर्वाचन सम्पन्न भएदेखि नै मधेश सरकारबाट जनमत पार्टीको बहिर्गमनको ‘काउन्ट डाउन’ पनि सुरु भएको छ । जसपालाई मधेश सरकारमा जनमत पार्टीको खासै महत्व र आवश्यकता छैन ।
संघीय सरकारलाई अंकगणीतीय हिसाबले अझ बलियो बनाउन प्रधानमन्त्री प्रचण्डलाई जनमत पार्टीका ६ जना सांसदको आवश्यकता हुन सक्छ । त्यसैले गत बैशाख २९ गते जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवजीले सीके राउतलाई सत्ता गठबन्धन र मधेश सरकारमा निरन्तरता दिने कि नराख्ने भन्ने कुराको छिनोफानो गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताउनुभयो ।
सीके राउतसँग न विचार छ, न त सिद्धान्त छ । उनको राजनीतिक उद्देश्य पनि स्पष्ट छैन । राजनीतिक प्रशिक्षण र विरासत नभएकोले राजनीतिक संस्कार र आचरण पनि उनीसँग छैन । त्यसैले गठबन्धन धर्मको विरुद्धमा उभिएर राउतले उपराष्ट्रपति निर्वाचन र बारा २ उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट जसपाका उम्मेदवारहरुविरुद्ध उम्मेदवार खडा गरे । कथित मालदार मन्त्रालय नपाएको झोंकमा संघीय सरकारबाट आफ्ना एक मात्र मन्त्री बिचारा अब्दुल खानलाई फिर्ता पनि बोलाए ।
अब सीके राउतले कुन मुखले संघीय सरकारमा आफ्नो पार्टीलाई फेरि सामेल गराउने ? उपराष्ट्रपति निर्वाचन र बारा उपनिर्वाचनमा जुन पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाए त्यही पार्टीको नेतृत्वको सरकारमा लाज पचाएर राउतले कति दिनसम्म आफ्ना मन्त्रीहरुलाई बस्न लगाउने ? कम गाह्रो छैन राउतलाई । सुन्दैछु, बडो पीडा र धर्मसंकट छन् सीके राउत ।
मधेश सरकारको नेतृत्व अथवा मुख्यमन्त्री पदमा जसपापछि कांग्रेसको मात्रै हक लाग्छ । किनभने प्रदेशमा सत्तारुढ गठबन्धनभित्र कांग्रेस पहिलो दल हो भने जसपा दोस्रो ठूलो दल हो । जसपाका कुल १८ सांसद छन् भने लोसपाका जम्मा ९ सांसद मात्रै छन् । संघमा जसपाका १२ सांसद छन् भने राष्ट्रिय पार्टीको मान्यतासम्म पाउन नसकेको लोसपाको जम्मा ४ सांसद मात्रै छन् । मधेश प्रदेशमा १८ सांसद र संघमा १२ सांसद रहेकाले सत्ता गठबन्धनभित्र जसपाको महत्व निर्णायक छ । लोसपाले भने आफ्नो सामथ्र्यअनुसार मधेश प्रदेशमा दुई वटासम्म मन्त्रालय पाउने हैसियत राख्दछ ।
एमाले प्रतिपक्षी कित्तामा धकेलिएपछि संघ र सात प्रदेशका सरकारहरु हाँक्ने जिम्मेवारी मुख्यतः पाँच दलीय सत्तारुढ गठबन्धनले पाएको छ । यो गठबन्धनमा अहिले औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत छैन । यस गठबन्धनका तीन ठूला दल क्रमशः कांग्रेस, माओवादी र जसपा हुन् । सात वटा प्रदेशमध्ये अहिले तीन वटा प्रदेशमा कांग्रेस, दुई वटा प्रदेशमा माओवादी र एउटा प्रदेशमा जसपाले सरकारको नेतृत्व गरिरहेका छन् ।
प्रदेश नम्बर १ को सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने वातावरण बन्दैछ ।
यसरी निकट भविष्यमै कांग्रेसले नेतृत्व गर्ने प्रदेश सरकारहरुको संख्या ४ पुग्ने छ । त्यसैले कांग्रेसले तत्काल मधेश सरकारको पनि नेतृत्व गर्ने प्रश्नै आउँदैन । कांग्रेस सत्तारुढ घटकको पहिलो दल हो भने जसपा पनि तेस्रो ठूलो दल हो । जसपा मधेश प्रदेशमा सत्ता गठबन्धनको दोस्रो ठूलो दल हो । संघका साथै तीन वटा प्रदेशमा जसपाका प्रदेश सांसदहरुको उपस्थिति निर्णायक छ जसको सहयोगबिना ती प्रदेशका सरकारहरु बन्न र चल्न सक्दैनन् ।
त्यसैले गठबन्धनको धर्म र मर्मअनुसार चार प्रदेशमा कांगे्रस, दुई प्रदेशमा माओवादी र एक प्रदेशमा जसपाको सरकार बन्नु एकदमै उचित छ । सातै प्रदेशमा कांग्रेस, माओवादी र जसपा नेतृत्वका सरकारहरुले पाँच वर्षे कार्यकाल पूरा गर्ने सम्भावना पनि धेरै छ ।
(लेखक अमरेन्द्र यादव द राइजिङ नेपालका पत्रकार हुनुहुन्छ, यो लेख उहाँको फेसबुकबाट साभार गरिएको हो)

तपाईको प्रतिक्रिया