बाराको उपनिर्वाचनपछि जनमत झन बलियो भएको छ

बारा–२ मा भएको चुनावलाई सारा मिडिया जगतदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिहरुको आँखाले नियाली रहेका थिए । तपाईहरुलाई पनि सबै कुरा थाह छ कि त्यहाँ चुनाव कसरी भयो । देशका ठूला ठूला ५–६ वटा दल एकातिर थिए भने हाम्रो जनमत पार्टी एक्लै थियो ।

–सुरेन्द्रनारायण यादव,
–कोषाध्यक्ष, जनमत पार्टी
सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि मधेशमा सो पार्टीको ‘ग्राफ हाइ’ भएको थियो । बारा–२ मा भएको उपनिर्वाचन जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि जनमत पार्टीका अध्यक्षक्ष राउतले त्यहाँ पनि आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाउनुभयो । तर त्यहाँ सिके राउतको उम्मेदवार पराजित हुनुभयो । सप्तरीको हिसाब बारामा गएर जसपाले बराबर गर्यो तर जनमतको बुझाई फरक छ । प्रस्तुत छ, यिनै विषयवस्तुमा केन्द्रित रहेर सहरा टाइम्सका लागि स्वतन्त्र मधेश गठबन्धनका संस्थापक रहनु भएका जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
बारा–२ को चुनावपछि जनमत पार्टी कसरी अगाडि बढेको छ ?
–त्यहाँ प्राविधिक रुपमा जनमत पार्टीले चुनाव हारेपनि हामी जनताको नजरमा जितेका छौं । जनताले हामीलाई झन हौसला बढाएको छ । बाराको चुनावपछि जनमत पार्टीको ग्राफमाथि गएको छ, तल झरेको छैन । हामी कति पनि निराश भएका छैनौं । त्यहाँका जनताले हामीलाई जिताएर पठाएको हामीले महसुस गरेका छौं । हाम्रा पार्टीका नेता तथा कार्यकर्ताको हौसला झनै ‘बुस्टप’ भएको छ । हामीले भर्खरै राष्ट्रिय परिषद् गठन गर्यौं, प्रदेश समिति, जिल्ला समिति पनि गठन गर्यौं त्यसमा प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सबै उम्मेदवार जो जितेका छन् वा हारेका छन् सबैलाई त्यसमा समावेश गरेका छौं । निकट भविष्यमै राष्ट्रिय परिषद्, प्रदेश समितिहरुको भेला गरेर त्यसलाई पूर्णता दिने काम हुन्छ । जिल्ला समितिहरुको पुनसंरचना गर्ने योजना पनि रहेको छ । माथिदेखि तल्लो कमिटीसम्म रिनोभेसन गर्ने काममा हामी लागेका छौं । यी कामहरु जनताको उत्साहका कारण भइरहेका छन् । जनताहरु हामीसँग दिनदिनै जुडिरहेका छन् । जो जो जोडिएका छन् ती सबैलाई संगठनमा व्यवस्थापन गर्ने काम पनि हामीले सुरु गरेका छौं । पार्टीका सम्पूण संगठनलाई पुनः एकपटक रि–संगठित गर्ने योजना छ हाम्रो ।
चुनावमा पराजित भएपछि पनि कसरी हौसला बढ्यो, कसरी पार्टीको ग्राफ बढ्यो ?
–बारा–२ मा भएको चुनावलाई सारा मिडिया जगतदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय शक्तिहरुको आँखाले नियाली रहेका थिए । तपाईहरुलाई पनि सबै कुरा थाह छ कि त्यहाँ चुनाव कसरी भयो । देशका ठूला ठूला ५–६ वटा दल एकातिर थिए भने हाम्रो जनमत पार्टी एक्लै थियो । कसैसँग कुनै तालमेल वा सम्झौता थिएन । वितगमा हाम्रो संगठन पनि त्यहाँ थिएन । तर जनताले हामीलाई पत्यायो । जसपा आफूलाई मधेशका ठूलो शक्ति भन्छ । त्यसका पार्टीका अध्यक्ष उपेन्द्र यादव आफूलाई राष्ट्रिय नेता भन्नुहुन्छ । कसै कसैले त मधेशको मसिहा पनि भन्ने गरेका छन् । त्यस्ता व्यक्तिलाई टक्कर दिएर त्यो अवस्थामा पुर्याई दियौं । त्यो हाम्रो हार होइन, जित नै हो । हामी चुनावबाट झन उत्साहित भएका छौं ।
तपाई उत्साहित भएको भन्नुहुन्छ, तर एउटै गठबन्धनमा रहेर गठबन्धनकै साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिन लगाउनु भयो त्यसले तपाईहरुको आलोचना पनि भइरहेको छ त्यस्तो किन गर्नुभयो ?
–हो, हामी सत्ता गठबन्धनमा छौं तर गठबन्धनमा रहेर गठबन्धन दलको उम्मेदवार विरुद्ध उम्मेदवारी दिँदैनौं भनि कही सम्झौता भएको छैन । न कहीं लिखित डकुमेन्टस् छ । न कुनै समझदारी छ न कुनै मापदण्ड छ । गठबन्धन सरकार बनाउनका लागि गरिएको हो । सरकारलाई सँख्या पुर्याउन हामीले सहयोग गरेका हौं न कि गठबन्धनले जेजे भन्छ त्यसैमा होमा हो मलिाउने हो । हामी गठबन्धनको हरेक कुरामा समर्थन गर्न सक्दैनौ । हामीले सरकार बनाउनमा सहयोग गरेका थियौं । अहिले पनि हाम्रो समर्थन कायम छ तर चुनावमा हामीले कसैलाई समर्थन गर्न सक्दैनौं । गलत चिजलाई गलत भन्छौं हामी । चाहे त्यो सत्ताधारी दल होस् वा विपक्षी दल होस् हामी गलतलाई गलत र सहीलाई सही भन्छौं । त्यसले कसैको चित्त दुखे दुखोस् हामीलाई फरक पर्दैन ।
तराई मधेशमा तपाईहरुले सबभन्दा बढी आक्रमण जसपामाथि गर्नुहुन्छ, जसपाप्रति अलि बढी नै आक्रमक देखिनु हुन्छ त्यस्तो किन ?
–यो स्वभाविक कुरा हो । जो शक्तिमा हुन्छ उसको विरोध हुन्छ । हाम्रो पनि विस्तारै विस्तारै विरोध हुन थालेको छ । जसपाले यसअघि पाँच वर्ष सरकारको नेतृत्व गर्यो । अहिले पनि नेतृत्वमै छ । संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारसम्म जसपाको नेतृत्व छ । मधेश आन्दोलन गर्दा मधेशी जनतालाई विभिन्न आश्वासन दिएर आएको छ तर हालसम्म केही गरेको छैन । मधेशमा विभिन्न घोटलाहरु भएका छन् त्यसको हकदार जसपा मात्र हो । किनभने मधेशको नेतृत्व जसपाले गरेको थियो भने हामीले त्यसको विरोध नगर्ने हो भने कसलाई विरोध गर्ने हो, के काँग्रेसको विरोध गर्ने हो त ? होइन, न जो पावरमा हुन्छन् । जो कार्यकारी भूमिकामा हुन्छन् त्यसले यदि गलत गरेको छ भने त्यसको विरोध हुनुपर्छ त्यसको आलोचना गर्नुपर्छ । हामीलाई व्यक्तिगत उपेन्द्र यादवसँग कुनै दुश्मनी छैन । जसपाले मधेशको नेतृत्व गरेको कारण त्यसको आलोचना र विरोध गरिरहेका छौं । ठिक ठाक काम गर्न थाल्यो भने हामी समर्थन पनि गर्छौ ।

मधेश प्रदेश सरकारको नेतृत्वमा हाम्रो दावी छ । गठबन्धन दलमा भएको सहमति अनुसार आधा कार्यकालको नेतृत्व जनमतले गर्छ । त्यो दावी हाम्रो अझै कायम छ तर अहिले नयाँ समिकरण बनेको छ ।

जसपा–लोसपासँग तपाईहरुको विचार, एजेण्डा मिल्छ तर ती दलसँग कुनै संवाद हुँदैन, सहकार्य हुँदैन तर स्वतन्त्र पार्टीसँग केही मिल्दैन तर तपाईहरुको कार्यगत एकताको कुरा भइरहेको छ यस्तो किन ?
–सबभन्दा पहिले त जसपा–लोसपासँग हाम्रो विचार, सिद्धान्त र एजेण्डा नै मिल्दैन । जसपा र लोसपाको के एजेण्डा हो, के सिद्धान्त हो, के विचार हो हामीलाई केही पनि थाह छैन । तर जनमतको मुद्दा स्पष्ट छ  । रोजगार, शिक्षा, विकासलगायत सात वटा आधार स्तम्भव बनाएका छौं । त्यसको आधारमा हामी अगाडि बढी रहेका छौं । जनताको दैनिक जीवनसँग हामी जोडिएका छौं । भ्रष्टाचारमुक्त समाज बनाउने, रोजगारी सृजना गर्ने जस्ता हाम्रो प्रमुख एजेण्डा हो । पब्लिकलाई जे चाहिन्छ, हामीले त्यो मुद्दा बनाएका छौं । तर जसपा–लोसपाको के के एजेण्डा छन् मधेशका जनताले अझै थाह पाएको छैन । जसपा–लोसपासँग हाम्रो दुईटा कुरा सिमिलर छ, राजनीतिक गर्ने थलो र जनता । त्यो बाहेक अरु केही सिमिलर छैन ।
स्वतन्त्र पार्टीसँग हालसम्म हाम्रो कुनै कार्यगत एकता भएको छैन । तर दुई दलबीचमा केही सिमिलेरिटी छन् । हाम्रो दुई पार्टीको सोच मिल्छ । सोच मिल्ने भएका कारणले हामी धेरै कुरा सेयर गर्छौ । हाम्रो पार्टीका अध्यक्ष सिके राउतजी र स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीच पनि यही विषयमा कुरा भइरहेका हुन्छन् । तर जेजति कुरा भएका छन् ती कुनै कुरामा एग्रीमेन्ट भएको छैन । पछि पनि हुन्छ कि हुँदैन त्यो पनि भन्न सकिदैन । तर हामीबीच धेरै कुरामा सोच मिल्छ, त्यसले गर्दा हामी नजिक नजिक छौं ।
मधेश प्रदेशको सरकार पुनर्गठन गर्ने कुरा भइरहेको छ, त्यहाँको सरकारलाई नेतृत्व गर्ने दावी कायम छ छाड्नु भयो ?
–मधेश प्रदेश सरकारको नेतृत्वमा हाम्रो दावी छ । गठबन्धन दलमा भएको सहमति अनुसार आधा कार्यकालको नेतृत्व जनमतले गर्छ । त्यो दावी हाम्रो अझै कायम छ तर अहिले नयाँ समिकरण बनेको छ । नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन अनुसार जसपा र काँग्रेस कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ तर नेतृत्वमा हाम्रो जबर्जस्त दावी छ । यदि हामीलाई नेतृत्व गर्न दियो भने मधेशमा कसरी काम हुन्छ, जनताका लागि कसरी काम गरिन्छ त्यो हामीले देखाइ दिन्छौं । यदि हामी यो कार्यकालमा नेतृत्व गर्न पाएनौं भने अर्को कार्यकालमा बहुमत लिएर आउँछौं र हामी आफ्नो सरकार आफै बनाउँछौं, त्यसको तयारी हाम्रो अगाडि बढी सकेको छ ।
एमाले–माओवादीको गठबन्धनको बेलामा जसपा–जनमतबीच आलोपालो गर्ने सहमति भएको थियो अहिले नयाँ गठबन्धन आएको छ त्यो गठबन्धनले पुरानो सहमतिलाई मान्यता दिन्छ र ?
–यो एउटा भद्र सहमति हो । त्यसलाई मान्न पनि सकिन्छ नमान्न पनि सकिन्छ । त्यो दलहरुको इमान्दारितामा भर पर्छ । त्यो गठबन्धनबाट एमाले हटेको हो, काँग्रेस आएको हो गठबन्धनमा त खासै परिवर्तन भएको छैन । त्यो गठबन्धनको सहमति कायम राख्ने नराख्ने नेताहरुको इमान्दारितामा भर पर्छ । मधेशमा शक्तिको कुरा गर्ने हो पहिलो जसपा र दोस्रो जनमत नै हो त्यो अनुसार पनि जनमतले नै नेतृत्व पाउनुपर्छ । र, जनताले पनि जनमतबाट नै आश गरेका छन् ।
संघीय सरकारबाट मन्त्री फिर्ता बोलाई सक्नु भएको छ तर अहिले पनि पुनः सरकारमा सहभागी हुनका लागि तयारी अवस्थामा हुनुहुन्छ के यो सही हो ?
–हामी अहिले पनि सरकारमै छौं । हामीले टेक्निकली मन्त्री मात्र फिर्ता बोलाएका छौं तर सरकारलाई दिएको समर्थन अझै कायमै छ त्यसैले हामी सरकारमा छौं भनि मिल्दैन । हामीले रोजेको, खोजेको मन्त्रालय पायौ भने अहिले पनि जनमतले मन्त्रीको नाम पठाउन सक्छ । कृषि या उद्योग या शहरी विकास मन्त्रालय दियो भने हामी सरकारमा मन्त्री पठाउन सक्छौं । जनतासँग कुनै सम्बन्धै नभएका मन्त्रालय दियो भने हामी मन्त्री पठाउँदैनौं । गठबन्धनकै आधारमा हामी मधेश प्रदेश सरकारमा पनि छौं । केन्द्र सरकारमा कसरी सहभागी गराउने हो, त्यो जिम्मेवारी गठबन्धनको हो ।
संघीय सरकार र प्रदेश सरकारमा जनमतको जे हालत त्यही हालतले जनतासँग गरेको प्रतिवद्धता पुरा गराउन सकिन्छ त ?
–जनताले हामीलाई कतिसम्मको म्याण्डेट दिएको छ त्यो पनि हेर्नुपर्छ । जनताले हामीलाई एउटा सीटमा जिताएको छ र समानुपातिक गरी छ वटा सांसद छन् । त्यसले हामी कति गर्न सक्छौं त्यो पनि बुझिएकै कुरा हो । तैपनि हामी मेक्सिमम प्रयास गरिरहेका छौं । हामीले हाम्रो क्षमताभन्दा बढी प्रयास गरिरहेका छौं । जनताले चाहेको डेलिभरी दिने प्रयास गरिरहेका छौं । जनताले हामीलाई केन्द्रमा छ र प्रदेशमा १३ जना सांसद दिएको छ तर आश हन्ड्रेड प्रतिशतको गरिरहेको छ । हाम्रो अध्यक्षज्युले पनि भन्दै आउनु भएको छ कि ‘हामीसँग तपाईहरुले आशा गर्नुभएको छ तर डेलिभरी गर्ने पोजिसनमा तपाईहरुले पुर्याउनु नै भएको छैन ।’
मधेश सरकारको ताला चावी जसपाको हातमा छ तर त्यहाँको जनताले आश हामीसँग गरेको छ । हाम्रो पार्टीका कुनै मन्त्रीले एउटा कुनै प्रस्ताव लग्नुभयो भने त्यो मुख्यमन्त्रीले पास गर्नुहुन्न । हामी जनता जनार्दनसँग आग्रंह गर्न चाहन्छौं कि प्लिज हामीलाई पूर्ण बहुमत दिएर जिताएर पठाउनुस् अनि हाम्रो काम हेर्नुस् यदि तपाईले भनेको जस्तो काम हामी गर्न सकेनौं भने जुनसुकै बेला कान समातेर बाहिर फ्याल दिनुस् । नीतिगत काम गर्नका लागि जनताको शक्ति चाहिन्छ नै । अहिले हामीले जति शक्ति पाएका छौं त्यो अनुसार काम गरेर देखाउँछौं ।
भन्नाले जनमत पार्टीले जनतासँग गरेको प्रतिवद्धता यो पाँच वर्षमा पुरा हुने अवस्था छैन ?
–किन छैन, हामीसँग जति शक्ति छ त्यो अनुसार गर्छौ नै त्यो भन्दा बढी गर्ने प्रयास गर्छौ तर जनताले चाहेको शतप्रतिशत यही अवस्थामा नहुन पनि सक्छ । तर हामीलाई जति पावर दिएर पठाएको छ त्यो अनुसार काम गर्न पछाडी हट्दैनौं । कृषिमा हामीले थुप्रै काम गरेका छौं । अगामी आर्थिक वर्षका लागि कृषिमा ठूलो तयारी गरेका छौं । अगामी आर्थिक वर्षदेखि कृषिमा जनमत पार्टीले केही परिवर्तन गरेर देखाउँछ ।

तपाईको प्रतिक्रिया