कृषि वीमाप्रति किसानको छैन आकर्षण

सरकारले कृषि वीमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण देखिएको छैन । किसानले कृषि विमाको मर्म नै बुझेको छैन । कृषिका केही टाठाबाठाले र विमा कम्पनीले यसको लाभ लिएपनि साना किसानसम्म यसको पहुँच नै पुगेको छैन । २०७१ देखि सुरु भएको कृषि वीमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
त्यसमध्ये पाँच हजार किसानले मात्र बाली विमा गराएका छन् । अरु सबै पशुपन्छीतर्फ गएका छन् । बालीतर्फ किसानको त्यति आकर्षण छैन, कृषि विभागका महानिर्देशक डा.हरीबहादुर केसीले भन्नुभयो, ‘कृषि बालीमा त्यति जोखिम पनि छैन, लगानीको हिसाबले पनि त्यति ठूलो ‘स्केल’मा हुँदैन त्यही भएर किसानहरु बाली विमातिर त्यति आकर्षित भएको पाइदैन ।’
पशुपन्छीमा लगानी पनि धेरै हुन्छन् र त्यहाँ जोखिम पनि धेरै भएका हुनाले त्यतातिरको किसान विमाप्रति आकर्षित भएको बताइएको छ । तर यसबाट किसानले कति फाइदा लिए, त्यसमा पनि प्रश्न उठेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७०÷०७१ देखि २०७७÷०७८ सम्म वीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट ५ अर्ब ६० करोड ४ लाख २७ हजार रुपियाँ उठाएका छन् ।
यसका लागि सरकारले अनुदानमा ४ अर्ब १९ करोड १६ लाख १९ हजार ९० रुपैयाँ दिएको छ । तर किसानले त्यसबाट १० करोड ४० लाख ४७ हजार १७४ रुपियाँ मात्र पाएका छन् । अर्थात सरकारले दिएको अनुदानबाट किसान लाभान्वित हुनुभन्दा वीमा कम्पनीहरु बढी लाभान्वित भएको गुनासो किसानसँग सम्बन्धित संघ संस्थाले गुनासो गरेका छन् ।
सरकारले कृषि वीमा सञ्चालन गरेपनि त्यसप्रति आकर्षण बढाउने काम नगरेको गुनासो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गर्नुभएको छ । सरकारले कृषि वीमा सुरु गर्यो, त्यसमा ८० प्रतिशत अनुदान पनि दियो तर किसानले त्यसबाट फाइदा लिएको नदेखिएको उहाँले दावी गर्नुभयो ।
विमाको बारेमा धेरै किसानलाई जानकारी पनि छैन । साना किसान समक्षा यो कार्यक्रम पुगेकै छैन । अर्थात जहाँ जोखिम छ, त्यहाँ कृषि विमाको पहुँच नपुगेको उहाँले दावी गर्नुभयो । तर कृषि विभागका महानिर्देशक केसीले आफूहरु कृषि वीमाको प्रचार प्रसार तथा तालिममा विशेष जोड दिएको बताउनु हुन्छ ।
विभिन्न कारणले सबै किसान समक्षा विमा नपुगेको होला त्यो हुनसक्छ तर आफूहरुसँग भएको साधन, स्रोतका आधारमा किसानसम्म पुग्ने प्रयासमा लागेको उहाँले बताउनुभयो । कृषि वीमाले किसानको क्षतिको रक्षावरणमा उलेख्य सहयोग पु¥याएको दावी गर्दै उहाँले किसानहरूले सुरक्षाको महसुस गरेको र कृषिको व्यवसायीकरणमा टेवा पुगेको दावी गर्नुभयो ।
कृषि विभागले वीमा कम्पनीहरूसँग छलफल सम्पन्न गरेको छ । कृषि वीमा १६ वटा वीमा कम्पनी संलग्न छन् । कृषि विभागका महानिर्देशकका के.सी.को अध्यक्षता भएको सो छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले वीमा कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
कृषि वीमालाई समयानुकूल परिमार्जन कृषकमैत्री तुल्याउन सबै सरोकारहरूको सक्रिय सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
कृषि विभागका उपमहानिर्देशक डा. शान्ता कार्कीले कृषि, पशुपन्छी तथा जडिबुटी वीमाको परिचय, वीमा लेखका किसिम, उद्देश्य र वीमा अनुदान व्यवस्थापन गर्न प्रचलनमा ल्याइएका ऐन नियमबारे कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो । कार्यक्रममा नेपाल वीमा प्राधिकरणका तर्फबाट पुनम ज्ञवाली श्रेष्ठले वीमा कार्यान्वयनको संस्थागत व्यवस्था, वीमा सम्बन्धी विविध तथ्याङ्क, कृषि वीमाका अवसर तथा चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया