Khadya Bibhag

कृषि विश्वविद्यालयमा पठन पाठन सुरु

मधेश कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बीएसी एजीको पठनपाठन बैशाख ३१ गतेदेखि सुरु भएको छ । त्यसको शुभारम्भ जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले गर्नुभयो । हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् । जसपा अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य हुँदा मधेश प्रदेश सरकारसँग विशेष पहल कदमी लिएर सप्तरीमा मधेश कृषि विश्वविद्यालय स्थापना गराउनुका साथै आवश्यक बजेट विनियोजन गर्न लगाउनु भएको थियो ।
उहाँले मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षा समेत सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब कृषि सम्बन्धि अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।’ ‘मधेश कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिहरुले बोर्ड मात्रै झुण्ड्याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र ? भनि मजाक समेत उडाएको स्मरण गर्दै भन्नुभयो, ‘आज कृषि विश्वविद्यालयले बीएसी एजीको पठनपाठन सञ्चालन गर्दैछ, यो नै मजाक उडाउनेहरुका लागि जवाफ हो ।’
‘विश्वका विभिन्न मुलुकहरु कृषिकै कारण समृद्ध भएको छ तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न सकेन’ उहाँले भन्नुभयो, ‘नेपालमा वर्षेनी चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरु आयात हुँदै आएको छ, यो अन्यन्तै दुखद् हो ।’ परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दावी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । ‘किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवम् रोजगारमूलक बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।’

तपाईको प्रतिक्रिया