नेपालको मधेश राजनीति समर्पणवादमा आधारित छ

लोकप्रियताका लागि बेलाबेलामा स्टण्ट गर्नुहुन्छ त्यो बेग्लै कुरा हो तर मधेश र मधेशीका लागि उहाँले केही काम गर्नुभएको छैन । बरु तराई मधेशमा जातीय नारा लगाउनु भएको छ, मधेशलाई जातीको नाममा, धर्मको नाममा विभाजन गर्नुभएको छ ।

–डा.रविन्द्र यादव
–संस्थापक अध्यक्ष, मधेशी एकता समाज
सप्तरी डिमनका डा.रविन्द्रकुमार यादव विगत १० वर्षदेखि युनाइटेड अरब इमरेटस्मा कार्यरत हुनुहुन्छ । उहाँ छाला रोग विशेषज्ञको रुपमा त्यहाँको एउटा अस्पतालमा कार्यरत हुनुहुन्छ । आफ्नो पेसामा त्यहाँ व्यस्त भएपनि मधेश र मधेशीको हकहितका लागि पनि क्रियाशिल हुनुहुन्छ । त्यसका लागि उहाँले मधेशी एकता समाज संस्था खोलेर समाजिक काममा पनि क्रियशिल हुनुहुन्छ । त्यो समाजको शाखा विभिन्न देशमा पनि विस्तार गरिएको छ । विदेशमा रहेका मधेशीको हकहितका लागि उहाँले काम गर्नुहुन्छ । आइपरेको समस्यालाई समाधान गर्न अग्रसर भइरहनु हुन्छ । प्रस्तुत छ, विदेशमा रहेर पनि मधेशका लागि काम गरिरहनु भएका मधेशी एकता समाजका संस्थापक संयोजक डा.रविन्द्रकुमार यादवसँग वैदेशिक रोजगार, मधेशीको समस्या, मधेशको राजनीतिक लगायतको विषयमा सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
तपाई रोजगारीका लागि अरबमा हुनुहुन्छ तर त्यहाँ समाजिक काममा पनि सक्रिय हुनुहुन्छ यो कसरी सम्भव भइरहेको छ ?
–जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि त्यही हो । मान्छेलाई इच्छा भएपछि जसरी पनि टाइम म्यानेज भइहाल्छ । चाहे विदेशमा होस् वा देशमा । विश्वको जुनसुकै कुनामा जानुस् यदि मानव कल्याणका लागि इच्छा भयो भने समय अवश्य म्यानेज हुन्छ । म अरब इमरेटस्मा जागिरे छु । एक दिनमा आठ घण्टा मात्र ड्युटी गर्नुपर्छ र मसँग १६ घण्टा समय बाँकी रहन्छ । त्यसमा पनि हप्तामा एक दिन साप्ताहिक विदा पनि हुन्छ । काम गर्नेका लागि यो पर्याप्त समय हो । त्यो समयमा मैले भ्याएसम्म मधेशी एकता समाजमार्फत मधेश र मधेशी समाजको हकहितका लागि काम गरिरहेको हुन्छु ।
विदेशमा रहेर पनि मधेशी समुदायका लागि काम गरिरहनु भएको छ, कस्ता कस्ता समस्या झेलिरहनु भएको छ ?
–विदेशमा मधेशी समुदायका हक हितका लागि काम गर्ने संघ संस्था थिएन । नेपाली भाषा अर्थात पहाडी समुदायका लागि त्यहाँ थुप्रै संघ संस्था छन् । उनीहरुको हकहितमा काम गरिरहेका हुन्छन् तर त्यहाँ मधेशीका लागि बोल्ने, मधेशीको हितमा काम गर्ने कुनै संस्था थिएन । जब कि त्यहाँ सबभन्दा बढी मधेशी समुदायका कामदारहरु छन् । विभिन्न ठाउँमा छरिएर रहेका छन् । विभिन्न फरक फरक ठाउँमा छन् । उनीहरुका थुप्रै समस्याहरु छन् । त्यसको बारेमा बोल्ने, त्यसको सहजीकरण गर्ने कुनै संस्था थिएन । पहाडी समुदायका लागि झपाली संघ, गुरुङग संघ, मगर समाज आदी नामका थुप्रै संघ संस्थाहरु छन् तर मधेशीका लागि काम गर्ने कुनै थिएन । मधेशीको कुनै समस्या हुँदा त्यसको समाधानका लागि सामूहिक प्रयास भइरहेको थिएन । विभिन्न माध्यमार्फत, समाजिक सञ्जालमार्फत मधेशका साथीहरुसँग सम्पर्क गरे सबैको प्रयासबाट हामीले सन् २०१३ मा मधेशी एकता समाज गठन गर्यौं । सन् २०१६ मा समाजमार्फत पहिलो पटक एउटा साँस्कृतिक कार्यक्रम गरेको थिए । जसपमा डोली सरकारलगायतका कालाकारहरु आउनु भएको थियो । सो कार्यक्रमबाट बचेका रकम सिरहका अग्नी पिडितहरुलाई दिएका थियौं ।
कम्पनीले समयमा तलब नदिने, करार अनुसार सुविधा नदिने, नेपालबाट आएर काम नपाएर अलपत्र परेका हुन्छन्, भिसाको म्याद सकिएको हुन्छ, झैझगडा गरेर कानुनी लफडामा फँसेका हुन्छन्, विभिन्न अपराधी काममा फँसेका हुन्छन् । यस्ता थुप्रै समस्या यहाँका कामदारसँग हुन्छन् । यी कुराहरुमा उनीहरुलाई सहयोग चाहिएका हुन्छन् । त्यसमा हामी सक्दो सहयोग गरेका हुन्छौं । सबभन्दा मुख्य कुरा घरबाट टाढा हुन्छन् । बिरानो ठाउँमा भएको कारण आफ्नो गाउँठाउँको वतावरण बनाएर मन बहलाउनु पनि ठूलो कुरा हो । होली, दशैं तिहार जस्ता चाडपर्वमा कार्यक्रम गरेर साथी भाइसँग रमाइलो गर्दा त्यो जतिको आनन्द अरु केही हुँदैन । कार्यक्रममा आउँदा सबै दुख पिडा बिर्सेको हुन्छ र रमाइलो गरेका हुन्छन् । आफ्नो गाउँ देहात तथा घरको फिलिङ दिएको हुन्छ ।
साँस्कृतिक कार्यक्रम पनि त्यस्तै हुन्छ । यी सबका लागि पनि संस्था चाहिएको हुन्छ । तपाईहरुले त्यहाँका मधेशी समुदायलाई सहयोग तथा उनीहरुको पक्षमा बोल्दा त्यहाँका कानुनले अप्ठ्यारो पारेका हुन्छ कि हुँदैन ?
–पहिलो कुरा त्यहाँ कुनै पनि संघ संस्था खोल्न पाइदैन । त्यहाँको कानुनले त्यो इजाजत दिँदैन । विदेशमा एक आधबाहेक अहिले जति पनि संघ संस्थाहरु छन् ती कुनै पनि आधिकरिक रुपमा दर्ता छैनन् । सबै अनौपचारिक रुपमा सञ्चालित छन् । त्यहाँका सुरक्षा तथा कानुनलाई असर पर्ने खालको कुनै पनि गतिविधि गर्न पाइदैन । त्यो कुरामा हामी एकदमै सचेत छौं । त्यहाँका कानुनलाई पालन गरी समाज सेवामा लागेका हुन्छौं । हामी अनौपचारिक रुपमा संस्था गठन गरेका छौं त्यो संस्थाले त्यहाँका सरकार, कानुनलाई कुनै प्रभाव पारेको हुँदैन । त्यो संस्थाले कुनै क्षति गरेको हुँदैन त्यही भएर हामीलाई काम गर्न दिएको छ । हामी जति पनि सहयोग गर्छौ, काम गर्छौ त्यहाँको कानुनको अधिनमा रहेर गर्छौ । यहाँका कानुन निकै कडा छ । नेपाल जस्तो होइन कि कानुन एकातिर काम अर्कोतिर । यहाँ कानुनलाई कडा रुपमा पालन गर्नुपर्ने हुन्छ ।
नेपाली दूतावासहरुबाट कतिको सहयोग पाइरहनु भएको छ ?
–सानो देश, गरिब देशका दूतावास भएको कारण त्यतिकै पनि यहाँका सरकारसँग त्यति पहुँच हुँदैन । नेपालले कुनै कामका लागि प्रोसेस गर्दा यहाँका सरकारले क्विक रेसपोन्स गरेको हुँदैन । अर्को कुरा नेपाली दूतावासमा पर्याप्त जनशक्ति हुँदैन । यहाँ नेपाली कामदारहरु धेरै छन् तर दूतावासमा जनशक्ति अभाव भएका कारण चाहेर पनि काम गर्न पाइरहेका हुँदैनन् । बेलाबेलामा हामीले पनि समन्वय गरिरहेका हुन्छौं । उहाँहरुले पनि सक्दो सहयोग गर्नुहुन्छ । तर उहाँहरुको पनि बाध्यता हुन्छ । काममा उहाँहरु यति व्यस्त हुन्छ कि कुरा गर्नसम्म पनि फुर्सद हुँदैन । मलाई लाग्छ अन्य देशभन्दा नेपालका दुतावासहरु बढी बिजी हुन्छ । कम जनशक्तिमा पनि उहाँहरुले भ्याएसम्म काम गरिरहेका हुन्छन् । आवश्यकता पर्दा हामी पनि सम्पर्क गरिरहेका हुन्छौ ।
अर्काको देशमा बसेर आफ्ना देशका लागि समाजिक काम गर्दा कस्ता कस्ता चुनौतीको सामना गरिरहनु भएको छ ?
–पक्कै पनि कुनै पनि काम गर्न आफ्नो देशमा जति सजिलो हुन्छ त्यति सजिलो अर्काको देशमा हुँदैन । यहाँको नियम कानुन, भाषा, संस्कृतिका आधारमा हिड्नु परेको हुन्छ । यहाँका कानुन, नियमभन्दा अलिकति पनि दायाँ बायाँ गर्न पाइदैन । त्यस अवस्थामा पनि आफ्नो देशका लागि आफ्नो समुदायका लागि काम गर्नु पक्कै पनि चुनौतीपूर्ण नै हो । फेरि अर्को कुरा, यहाँ सबै जना काम गर्न आएका हुन्छन् । पैसा कमाउनकै लागि आएका हुन्छन् मुख्य उद्देश्य त्यो हुन्छ । त्यसबाट बचेको समय समाजिक सेवामा लगाएका हुन्छन् । कतिपय अवस्थामा समय व्यवस्थापन गर्न पनि गाह्रो भइरहेका हुन्छन् ।
यहाँ नेपालमा राजनीतिक रुपले मधेशीलाई कमजोर, हेप्ने, विभेदको नजरले हेरका छन् त्यो कुराको फिल त्यहाँ कतिको गर्नुभएको छ ?
–यहाँका मान्छेलाई मधेशी भन्ने थाहै छैन । प्रायः नेपाली भनेर चिन्छन् । यहाँ कुनै पनि जातीगत भेदभाव, भाषागत भेदभाव, रंगमा भेदभाव छैन । कहिले काहीं नेपाली नेपालीको बीचमा त्यो भेदभाव हुने गरेको देखिन्छ । नेपालमा पहाडी समुदायले जसरी मधेशीलाई हेरेका छन्, त्यसको रिफ्लेक्सन यहाँ पनि छ । नेपाली भाषी अर्थात पहाडी समुदायलले मधेशीसँग विभेद गरेको अनुभव यहाँ पनि गर्न सकिन्छ । तर सबै पहाडी समुदाय त्यस्तो छैन । कुनै कुनैले त विभेद गरेकै हुन्छन् । मधेशीलाई भैया भनेर बोलाउने, होच्याएर बोलि दिने जस्ता कुरा यहाँ पनि सुन्न पाइन्छ, हेर्न पाइन्छ तर यहाँका स्थानीय व्यक्तिबाट कुनै प्रकारको भेदभाव भएको छैन । र, त्यो कुरा कसैले अनुभव पनि गरेको छैन जस्तो लाग्छ मलाई । हामी गरिब देशबाट आएका छौं भन्ने कुराको पनि फिल हुन दिएको छैन ।
यी चुनौतीहरुको सामना कसरी गरिरहनु भएको छ ?
–मैले अघि पनि भनेका थिए कि संस्था गठन गरेपनि त्यसको आधिकारिता छैन । तैपनि यहाँको कानुनको अधिनमा रहेर जनसेवामा लागेका छौं । विदेशमा रहेर आफ्नो सामुदायका लागि काम गर्नु पनि आफैमा चुनौतीपूर्ण नै हो । वैदेशिक रोजगारमा गएकाहरु अलपत्र परेका छन्, ती हजारौंको सँख्यामा छन् । कतिपय मेनपावरका दलालहरु ठगेर पठाएका हुन्छन् । उनीहरु पनि अलपत्र परेका हुन्छन् । कतिपयको इलिगल डकुमेन्ट्स् हुन्छन् । लुकेर बस्न बाध्य भएका हुन्छन् । उनीहरुका लागि काम गर्न आवश्यक छ तर स्रोत साधनको अभावका कारण चाहेर पनि धेरै काम गर्न सकिरहेका हुँदैनन् । अर्काका देशमा हिड्दा पाइला पाइलामा विचार पुर्याएर हिड्नुपर्ने हुन्छ ।
तपाई विगत १० वर्षदेखि अरबमा हुनुहुन्छ, त्यहाँबाट नेपाललाई कसरी हेर्नुभएको छ ?
–म बेलाबेलामा नेपाल गइरहेको हुन्छु । महिना–दुई महिनामा एकपटक नेपाल गएकै हुन्छु । त्यसले मलाई खासै ती कुराहरुको मतलब हुँदैन । म नेपालका हरेक कुरासँग अवगत छु । नेपालका विभिन्न ठाउँ घुमेको छु । तराई मधेशदेखि हिमाल, पहाडका विभिन्न ठाउँहरुमा घुमफिर गरेको छु । त्यहाँका अवस्थाको बारेमा थाह छ । त्यहाँका हरेक संस्कृति, परम्परा, रितीरिबाजको बारेमा थाह छ । म विदेशमा बसेपनि नेपालका हरेक कुरासँग अपडेट छु । यहाँबाट नेपाललाई हेर्दा नेपाल अविकसित देश हो । त्यहाँका मान्छे मेहनत गर्दैन । यहाँ (अरब)का मान्छे जति मेहनती छन् त्यति मेहनती नेपालीहरु छैन । नेपालबाट यहाँ आएर बरु मेहनत गर्छन् तर आफ्नै देशमा मेहनत गर्दैनन् ।
अर्को कुरा, नेपालीमा सीपको अभाव छ । सम्बन्धित क्षेत्रको विज्ञता वा सीप हुँदैन तर काममा हात हालेका हुन्छन् । नेपालका मान्छे वैदेशिक रोजगारमा जान्छन् तर अधिकांशसँग सीप हुँदैन । नेपाल सरकार वैदेशिक रोजगारमा निर्भर छ । आफ्नो देशका जनशक्ति अरु देशलाई बेच्छ तर त्यही जनशक्ति आफ्नै देशमा लगाएको भए त्यसको फाइदा सबैलाई हुने देखिएको छ । १० कक्षा पास गर्ने बित्तिकै पहिलो काम पासपोर्ट बनाउनु हो । अहिलेको युवा नेपालमा बस्नै चाहदैन । अलिकति पढाई लेखाई गर्छन् बाहिर विदेश भाग्न चाहन्छन् । त्यो त्यसको बाध्यता हो । नेपाल सरकारले त्यो युवालाई विश्वास दिलाउन सकेको छैन कि तिमी पढाई लेखाई गर, तिम्रो रोजगार नेपालमै सुरक्षित छ । नेपालले नै रोजगारी सृजना गरेको भए, यो अवस्था हुने थिएन ।
तर नेपाल आफै वैदेशिक रोजगारमा निर्भर भएको छ भने अरु त्यहाँका जनताले के गरोस् बाध्य भएर वैदेशिक रोजगारीमा जान्छन् । नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर युवाहरु आफ्नो खेतीपाती छाडेर कमाउनका लागि विदेश जान्छन् । नेपालका खेतीयोग्य १० प्रतिशत जमिन बाँझो छ । र, त्यो वैदेशिक रोजगारका कारणले भएको हो । यदि सरकारले समयमा मल, बीउ, सिँचाई उपलब्ध गराएको भए आफ्नो खेतीबारी छाडेर युवा विदेश जान बाध्य हुने थिएन । त्यो बाध्य पार्ने काम नेपाल सरकारले गरेको हो ।
त्यहाँबाट मधेशको राजनीतिलाई कसरी हेर्नुभएको छ ?
–मधेशमा पहिला एकताको राजनीति हुन्थ्यो । अहिले फुटको, विभाजनको राजनीति सुरु भएको छ । २२ जिल्लामा रहेको मधेश आठ जिल्लामा सिमित भएको छ । त्यसमा पनि दलहरु आफैमा लडाई गरिरहेका छन् । आफैमा विभाजित छन् । शासकसँग एकजुटसँग लड्नुपर्ने ठाउँमा अहिले ती दलहरु आपसमै लडि रहेका छन् । पहिला मधेशी दलहरुको बीचमा मोर्चा तथा गठबन्धनहरु बन्थ्यो । आफ्नो अधिकार तथा पहिचानका लागि एकजुट भएर संघर्षमा जान्थे तर अहिले आफैमा विभाजित छन् । सिंहदरवारको सबभन्दा बढी चाकरी कसले गर्ने त्यसको प्रतिस्पर्धा छन्, दलहरुको बीचमा अर्थात समर्पणवादमा दलहरु गइसकेका छन् । दलहरुले जाती, धर्मको राजनीति सुरु गरेका छन् । तराई मधेशमा घृणाको राजनीति सुरु गरेको छ । पछिल्लोसमय मुस्लिममाथि घृणा फैलाउने काम गरिरहेको छ । त्यसको अन्त्य हुनु एकदमै जरुरी छ । सबै भाषा भाषी, जाती, धर्मको अधिकार सुनिश्चित हुनुपर्छ । सबैको पहिचान र अधिकार सुरक्षित हुनुपर्छ । त्यसमा कमी देखिएको छ ।

म नेपालका हरेक कुरासँग अवगत छु । नेपालका विभिन्न ठाउँ घुमेको छु । तराई मधेशदेखि हिमाल, पहाडका विभिन्न ठाउँहरुमा घुमफिर गरेको छु । त्यहाँका अवस्थाको बारेमा थाह छ ।

तपाई पनि पहिला स्वतन्त्र मधेश गठबन्धनमा आवद्ध भएर सिके राउतको साथमा काम गर्नुभयो तर अहिले त्यसबाट अलग हुनुभएको छ किन ?
–नेपालमा मधेशीहरु औपनिवेशमा बाँचि रहेका छन् । त्यसलाई अन्त्य गरी नेपालमा स्वराज स्थापना गर्ने उद्देश्यका साथमा स्वतन्त्र मधेश गठबन्धनले काम गरिरहेको थियो । त्यही भएर म पनि मधेशको अधिकार, पहिचान, मुक्तिका लागि सिके राउतका साथमा गठबन्धनमा आवद्ध थिए । उहाँ त्यतिबेला मधेशमा स्वराज ल्याउने, आफ्नै शासन, आफ्नै प्रशासन हुने जस्ता कुरा गरेर अभियान सुरु गर्नुभएको थियो तर पछि सिके राउतजी आत्मसमर्पण गर्नुभयो । त्यही परम्पराको राजनीतिमा जानुभयो । संसदीय तथा सत्ताको राजनीतिमा जानुभयो । मधेशका चिन्ता छाडेर सिंहदरवारको वरिपरी घुम्न थाल्नुभयो । मधेशीको हकहितको कुरा छाडेर आफ्नो व्यक्तिगत स्वार्थका कुराहरु गर्न थाल्नुभयो अनि मैले उहाँको साथ छाडेको हुँ ।
शुभकामना छ उहाँलाई मन्त्री बन्नुहोस्, प्रधानमन्त्री बन्नुहोस् । तर उहाँ अवसरवादी हुनुहुन्छ भन्ने कुरा पटक पटक प्रमाणित भएको छ । उहाँको साथमा रहेर संगठन निर्माण गर्नेदेखि लिएर मधेशको मुद्दालाई अन्तराष्ट्रियकरण गर्ने, पिछडिएका, दबिएका व्यक्तिहरुलाई संगठनसँग जोड्ने काम गरियौं । वैदेशिक रोजगारमा रहेकालाई गठबन्धनमा आवद्ध गराउने काम गरियौं तर पछि त्यसलाई उहाँले अर्कै अर्कै चिजमा प्रयोग गर्न थाल्नुभयो । आफ्नो व्यक्तिगत स्वार्थपूर्तीका लागि त्यसलाई प्रयोगमा ल्याउन थाल्नुभयो । त्यसैले त्यहाँ बस्न उचित लागेन र त्यहाँबाट निस्के । म मात्र होइन धेरै यस्ता स्वराजी त्यहाँबाट निस्के जसले सिके राउतलाई सिके राउत बनाउनु भएको हो । आज ती स्वराजीहरु उहाँको साथमा छैनन् । म फेरि उहाँलाई शुभकामना दिन्छु जहाँ हुनुहुन्छ त्यहाँ राम्रो गर्नुस् ।
सिके राउत नेतृत्वको जनमत पार्टीले अहिले के गरिरहेको छ जस्तो लाग्छ ?
–अहिले राजनीतिलाई व्यवसाय बनाई दिएको छ । सत्ता प्राप्ति, पद प्राप्तिबाहेक अरु कुनै कामै गरेको छैन । लोकप्रियताका लागि बेलाबेलामा स्टण्ट गर्नुहुन्छ त्यो बेग्लै कुरा हो तर मधेश र मधेशीका लागि उहाँले केही काम गर्नुभएको छैन । बरु तराई मधेशमा जातीय नारा लगाउनु भएको छ, मधेशलाई जातीको नाममा, धर्मको नाममा विभाजन गर्नुभएको छ । युवामा घृणा फैलाउने काम गरिरहनु भएको छ । मधेशमा एकता भंग गर्ने काम गर्नुभएको छ । जुन मधेशका लागि निकै नै खतरनाक काम हो । त्यसलाई रोक्न जरुरी छ ।
मधेशका अरु दल र जनमतमा के अन्तर पाउनु भएको छ ?
–मधेशमा जति पनि शक्तिहरु छन् ती सबै समर्पणवादीको राजनीति गरिरहेका छन् । सबै दलहरु शक्तिको पछाडि कुदिरहेका छन् । सत्ता र कुर्सी कसरी प्राप्त गर्न सकिन्छ, त्यो मात्रै सोच लिएर राजनीति गरिरहेका छन् । सत्तामा गइएन, मन्त्री हुन पाइएन भने बाँच्न सकिदैन कि जस्तो अवस्था राजनीतिक दलका नेताहरुको भएको छ । तराई मधेशका जनताका बारेमा सोच्ने फुर्सद उहाँहरुलाई छैन । तराई मधेशका सबै युवालाई वैदेशिक रोजगारमा पठाउँछन् र त्यहाँका बुढापाकामाथि शासन गर्नुहुन्छ । उहाँहरुमाथि शोषण र दमन गर्नुहुन्छ । अब मधेशको बारेमा फरक ढंगले सोच्न सकिएन आउने दिनमा त्यहाँको अवस्था झन भयावह हुन्छ । मधेशमा अर्को नयाँ शक्तिको अवश्यकता छ ।
तपाई जुन उद्देश्य र लक्ष्यका साथ स्वतन्त्र मधेश गठबन्धनमा आवद्ध हुनुहुन्थ्यो त्यही उद्देश्य र लक्ष्य लिएर मधेशी एकता समाज खोल्नु भएको छ कि अरु कुनै उद्देश्य छ ?
–यो विल्कुल एक समाजिक संस्था हो । मधेशीको हकहितमा काम गरिरहेको छ । यसको कुनै पनि राजनीतिक उद्देश्य छैन । यो संस्था कुनै पनि राजनीतिक दलसँग आवद्ध छैन । हाम्रो उद्देश्य नै यो संस्थालाई राजनीतिकभन्दा टाढा राख्ने हो । विदेशमा रहेका मधेशीको हकहितमा काम गर्ने विशुद्ध समाजिक संस्थाको रुपमा यसलाई अगाडि बढाउने मेरो उद्देश्य हो अरु राजनीतिकसँग यसको कुनै सरोकार छैन ।

तपाईको प्रतिक्रिया