Khadya Bibhag

हामीले मधेश सरकारलाई काम गर्ने मौका दिएका हौं

–राजकुमार लेखी
–एमालेका नेता एवं प्रदेश सभा सदस्य,
मधेश सरकारबाट निस्कि सकेको र प्रतिपक्षि दलको रुपमा रहेको एमालेले जसपा नेतृत्व सरकारको मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । कोसी प्रदेश सरकारमा सहयोग गर्ने भनि लेनदेनको आधारमा त्यो सहमति भएको हो । र त्यही कारणले मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । प्रस्तुत छ, विगतको चुनावमा तालमेल गरेका जसपा र एमालेको अगामी यात्रा कस्तो रहनेछ, सरकारप्रति एमालेको दृष्टि कस्तो हुनेछ लगायतका विषयमा सहारा टाइम्सले एमालेका नेता एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य राजकुमार लेखीसँग गरिएको कुराकानीको सम्पादीत अंशः
मधेश सरकारबाट बाहिरी सकेपछि तपाईहरुले पुनः मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनुभएको छ, यो अवस्था कसरी सृजना भयो ?
–विश्वासको मत दिनका लागि हामीले कुनै सर्त राखेका थिएनौं । सरकारको स्थायित्व होस् । सरकारले राम्रोसँग काम गर्न सकोस्, विकास निर्माण लगायत अन्य क्षेत्रको काम पनि राम्रोसँग गरोस् कुनै अवरोध नहोस् भनि उद्देश्यले हामी विश्वासको मत दिएका हौं । तर यसको मतलब यो होइन कि सरकारले गरेका नराम्रा कामलाई हामीले समर्थन गर्छौ । हामीले सरकारलाई काम गर्ने अवसर दिएका हौं । सरकारमा नरहेर पनि विश्वासको मत दिएका छौं, प्रमुख प्रतिपक्षी दलको भुमिकामा रहेर पनि सरकारलाई हामीले विश्वासको मत दिएका छौं भन्नुको अर्थ काम गर्ने मौका दिएका हौं । केही गरेर देखाउने अवसर दिएका छौं । तर हरेक कुरामा हामी आँखा चिम्लेर समर्थन गर्न सक्दैनौं । सरकारले नीति तथा कार्यक्रम र अगामी आर्थिक वर्षको वजेट ल्याएको छ । त्यसलाई पनि आँखा चिम्लेर समर्थन गरि दिने काम हामीबाट हुँदैन । त्यसको अवस्था हेरेर हामी समर्थन गर्ने नगर्ने अवस्थामा पुग्छौं ।
मधेश सरकारले ल्याएको बजेटलाई तपाईले कसरी लिनुभएको छ ?
–बजेट सुन्दा कर्णप्रिय लाग्यो तर त्यसको गुदी कुरा थाह पाएका छैनौं । गुदी कुरा थाह पाउनका लागि रेडबुक नै आउनुपर्छ । रेडबुक अध्ययन गरेर मात्र बजेटको बारेमा केही टिप्पणी गर्न सकिन्छ । अहिलेलाई यति भन्न सकिन्छ कि सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा आर्थिक बजेटको बीचमा तालमेल मिलेको छैन । नीति तथा कार्यक्रममा उल्लेख भएका योजनाहरु सफल बनाउनका लागि त्यही अनुसारको बजेट चाहिन्छ तर सशर्ती हेर्दा मलाई सरकारले प्रस्तुत गरेको बजेट त्यस्तो लागेन । नीति तथा कार्यक्रम र बजेटको बीचमा तालमेल नै मिलेको छैन । अर्थ मन्त्रीले वजेटका १८–१९ वटा उद्देश्यहरु तय गर्नुभएको छ । मलाई लाग्दैन कि एउटा आर्थिक वर्षमा ती सबै उद्देश्यहरु पुरा गर्न सक्छ । ५–६ वटा उद्देश्य पुरा गर्नका लागि सरकारलाई धौधौ परेको हुन्छ तर मधेश सरकारका अर्थ मन्त्रीले १८–१९ वटा उद्देश्य लिनुभएको छ । त्यो कहिले कसरी पुरा गर्नुहुन्छ मलाई थाह छैन । मलाई लाग्छ गाह्रो छ । अरु कुराहरु रेडबुक हेरेर मात्र भन्न सकिन्छ ।
तपाईहरुले विश्वास गर्नुभएको सरकारले बजेट ल्याएको छ, सरकारलाई विश्वास गर्ने र त्यसलाई सफल बनाउने दायित्व तपाईहरुको पनि हो नि त ?
–मैले अघि पनि भनेको थिए कि मुख्यमन्त्रीलाई विश्वासको मत दिनुको अर्थ उहाँले गर्ने हरेक कामका जिम्मा लिनुपर्छ भने होइन । हरेक कुराको समर्थन गर्नुपर्छ भने होइन । राम्रो काम गर्नुहुन्छ भने समर्थन गर्ने र नराम्रो कामको विरोध गर्ने हाम्रो नीति हो । यदि मुख्यमन्त्रीको कामले हामीलाई चित्त बुझेन भने हामी जुनसुकै बेला दिएको विश्वासको मत फिर्ता लिनसक्छौं । तर हामी भन्छौं त्यस्तो अवस्था नआओस् । हाम्रो विश्वास लिनुभएको छ भने हाम्रो त्यो विश्वास सदाका लागि कामय रहोस् ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिइसकेपछि अब सरकारमा जाने कुराकानी पनि चल्दैन होला नि कि कसो ?
–होइन, सरकार सम्बन्धी कुनै कुरा छैन । हामी सरकारमा जाने प्रयासमा पनि छैनौं, कुनै कुराकानी पनि भएको छैन र अहिले सरकारमा जाँदैनौं पनि । हामी केही समय हेर्छौ । त्यसैका लागि विश्वासको मत पनि दिएका छौं । सरकारमा अरुलाई पनि मौका दिनुपर्छ । साना साना दल मिलाएर सरकार निर्माण भएको छ । ती दलहरुलाई पनि काम गर्ने मौका दिनुपर्छ । आवश्यकता अनुसार हामी सरकारभन्दा बाहिर रहेर पनि सहयोग गर्नसक्छौं ।
मधेश प्रदेशमा ६१ लाख जनसँख्या रहेका छन् । त्यसमध्ये तीन लाख जनताले हामीलाई मत दिएका छन् । ती तीन लाख जनताका लागि हामीले केही नकेही गनुपर्छ । तीन लाख मात्र होइन ६१ लाखका लागि नै काम गर्नुपर्छ । तर तीन लाख हाम्रो लागि विशेष जसले हामीलाई पत्याएका छन् । एमालेले अगामी चुनावलाई लक्षित गरी काम गरिरहेको छ । अझै राम्रो काम गरेपछि जनताको मत जित्न सकिन्छ र यो भन्दा राम्रो परिणाम ल्याउन सकिन्छ कि हाम्रो चाहना हो । विगतमा पनि एमाले प्रतिपक्षकै भूमिकामा रहेर चुनावमा गठबन्धन दलसँग भिडेर यो नतिजा ल्याउन सफल भएको हो । फेरि हामी प्रमुख प्रतिपक्षीकै भुमिकामा छौं २०८४ को चुनावमा यो भन्दा राम्रो नतिजा ल्याउँछौं, हेर्दै जानु होला ।
भनिन्छ, एमालेले मधेश प्रदेशमा जसपालाई सहयोग गरेको छ, अब कोशी प्रदेशमा जसपाले एमालेलाई सहयोग गर्नेछ के यो सही कुरा हो ?
–यस विषयमा मलाई केही पनि थाह छैन । हामीले विश्वासको मत दिँदा केही शर्त राखेनौं । कोशी प्रदेशको कुरा त्यहाँका साथीहरुलाई थाह होला । यदि केही सहमति भएको छ भने त्यो कुरा जसपालाई पनि थाह होला । तर मधेश प्रदेशमा बिना सर्त हामीले विश्वासको मत दिएका छौं । यसमा यति कुरा भन्न सक्छौं कि बल जसपाको कोटमा छ । यस विषयमा जसपाले पनि बुझ्नु पर्ने कुरा हो के गर्दा राम्रो हुन्छ ।
छ महिना तपाईहरुले पनि सरकार चलाउनु भयो, तपाईहरुले चलाएको सरकार र अहिलेको सरकारमा केही अन्तर पाउनु भएको छ ?
–सरकार हाम्रो नेतृत्वमा थिएन । हामी पनि त्यो सरकारको पर्टनर थियौं । त्यो बेला पनि अहिलेका मुख्यमन्त्री नै हुनुहुन्थ्यो तर त्यो बेलाको सरकार र अहिलेको सरकारमा धेरै अन्तर देख्छु म । हामीले त्यतिबेला सन्तुलित रुपमा सरकार चलाएका थियौं । तर अहिलेका सरकारले सन्तुलन मिलाउन सकेको छैन । संघीयता र गणतन्त्रमाथि असर पर्ने खालका गतिविधिहरु गरिरहेका छन् । लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित गर्न सक्छ कि सक्दैन चिन्ता भइरहको छ ।
आदिवासी जनजाति, मधेशी, पिछडिएका समुदायलाई राजनीतिको मुलधारमा ल्याउन सक्छ कि सक्दैन, नीति निर्माणको तहमा लैजान सक्छ कि सक्दैन चिन्ताको विषय बनेको छ । मधेश प्रदेशमा विभिन्न आयोग समिति बनेका छन् त्यसलाई समावेशी गर्न सकेको छैन । आदिवासी जनजाति, मधेसी पिछडिएका समुदायको अधिकार सुनिश्चित भइरहेको छैन जस्तो फिल हामीलाई भइरहेको छ । अगामी दिनमा गर्छ कि गर्दैन हेर्दै जानुपर्छ । नीति तथा कार्यक्रम ल्याएपछि त्यसमा चित्त नबुझ्दा मैल संशोधन प्रस्ताव हालेको थिए । मुख्यमन्त्री सरोज यादवले प्रस्तावको बारेमा चाँडै सम्बोेधन हुन्छ भनि प्रतिवद्ध जनाउनु भएको थियो । त्यो प्रतिवद्धता पुरा गर्नुभएको छ कि छैन त्यो रेडबुक हेरेर मात्र थाह हुन्छ ।
मधेश प्रदेशमा सबभन्दा ठूलो पार्टी एमाले हो, तैपनि सरकार बाहिर बस्नु परेको छ, यसलाई कुन रुपमा लिनुभएको छ ?
–यी सब गन्दा गठबन्धन प्रवृतिले भएको हो । तर गठबन्धनको यो गन्दा राजनीति धेरै दिनसम्म टिक्दैन । जनताले सब मूल्यांकन गरिरहेको छ । अगामी चुनावमा यी सबै गठबन्धन फेल हुन्छ । गठबन्धनको राजनीतिले देशलाई बन्धक बनाएको छ । जनतालाई अलमलमा राखेको छ । गठबन्धनकै कारण विकासका गति ठप्प भएको छ । तपाईहरुलाई थाहै होला एमाले पाँच दलीय गठबन्धनको विरुद्धमा एक्लै चुनाव लडेर यो पोजिसनमा आएको हो । जनता गठबन्धनको पक्षमा नरहेको कुराको सन्देश दिइसकेको छ । अगामी २०८४ को चुनावका लागि एमाले जुटिसकेको छ । अगामी चुनाव पनि एमाले एक्लै लड्ने छ । कसैसँग कुनै गठबन्धन गर्नेछैन ।
एमाले एक्लै चुनाव लडेको दावी गर्नुभयो, जसपासँग गठबन्धन थियो त ?
–त्यो गठबन्धन थिएन । केही सीटमा चुनावी तालमेल थियो । केही सीटमा हामीले जसपालाई सघाइयौं, केही सीटमा जसपाले हामीलाई सघायो । त्यसलाई गठबन्धन भन्न मिल्दैन । गठबन्धन भएको भए हामी साथ हुन्थ्यौं । सरकारदेखि सदनसम्म हाम्रो सहकार्य हुन्थ्यो । तर चुनाव अवधिसम्मका लागि केही सीटमा तालमेल भएपछि जसपामा आफ्नो बाटो लाग्यो हामी आफ्नो बाटो लाग्यौं । हामी कहिल्यै पनि गठबन्धनको पक्षमा थिएनौं ।
लोकतन्त्रमा चुनावको धेरै महत्व हुन्छ । र, चुनाव भने चिज एक्ला एक्लै हुन्छ र हुनुपर्छ । एउटा व्यक्तिलाई हराउनका लागि ५–६ वटा दल मिलेका छन् भने त्यसलाई चुनाव भन्दैन । त्यो लुट हो । जसरी समूहमा गएर कही लुटपाट हुन्छन् त्यस्तै हो गठबन्धनको चुनाव पनि हो । गठबन्धन आन्दोलनका लागि हुन्छ, कुनै एजेण्डामा बहसका लागि हुन्छ, छलफलका लागि हुन्छ । नेपाल जस्तो सानो मुलुकमा गठबन्धन बनाएर चुनाव लड्ने अवस्था छैन । हामी चुनावका लागि कुनै पनि गठबन्धनका पक्षमा छैनौं ।
मधेश प्रदेश सरकार तथा सदनमा एमालेको अबको भूमिका कस्तो हुन्छ ?
–एमाले प्रमुख प्रतिपक्षि दलको भूमिकामा रहेको छ । त्यो भूमिकामै रहेर आफ्नो काम कर्तव्य निर्वाह गर्नेछ । सरकार तथा प्रदेश सभालाई गुण दोषका आधारमा समर्थन र विरोध गर्नेछ । यदि सरकारमा पुग्यौं भने त्यही अुनसार आफ्नो भूमिका निर्वाह गर्नेछ ।
त्यसो भए एमाले अझै पनि सरकार जाने भनि बाटो कुरेर बसेको हो ?
–भन्छन्, राजनीतिक सम्भावनाको खेल हो । त्यसमा जे पनि हुन्छ । नेपालमा त झन यो कुरा लागु हुन्छ । जुनबेला जे पनि हुनसक्छ । व्यक्तिको सम्भावना हुन्छ भने पार्टीको नहुने कुरै छैन । एमाले देशको दोस्रो ठूलो पार्टी र मधेश प्रदेशमा त सबभन्दा ठूलो पार्टी हो । एमालेसँग सँख्या छ, एजेण्डा छ, विचार, सोच, कार्ययोजना छ । त्यसैले सबै कुराको सम्भावना लिएर बसेको छ जे पनि हुनसक्छ । तपाईसँग कुराकानी गरिरहेको छु हुनसक्छ एकछिनमा अर्कै केही भइदिन्छ ।
सरकारमा जानु र बाहिर निस्किनु नेपाल जस्तो देशमा कुनै ठूलो कुरा होइन । यहाँ हरेक कुराको सम्भावना छ । तर तपाईले भनेको जस्तो हामी बाटो कुरेर बसेका छैनौं । हाम्रो लागि सरकार प्राथमिकताको विषय होइन । हामी इसु वेस, एजेण्डा वेस राजनीति गरिरहेका छौं । तर तत्काल हामीले जनतालाई केही गर्दैनौं । जे गर्छ जनताले गर्छ । यसअघि पाँच वर्ष चलेको सरकारले ५० प्रतिशत बजेट पनि खर्च गर्न सकेको थिएन । यो असक्षमता नै हो । र अहिले पनि त्यही दलले सरकारको नेतृत्व गरिरहेको छ । मलाई लाग्दैन कि विगत भन्दा केही १९–२० हुन्छ । विगतकै निरन्तरा हुन्छ जस्तो लागि रहेको छ । यसको मूल्यांकन जनताले गरिरहेको छ । जनतालाई हामीलाई जे निर्देशन दिन्छ हामी त्यस्तै गर्छौ ।

तपाईको प्रतिक्रिया