Khadya Bibhag

पार्टी फुट्ने डरले ‘राइट टु कल’ बाट ‘ब्याक’ सिके राउत

जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले आफ्नो पार्टीमा ‘राइट टु कल’ नीतिलाई कार्यान्वयनमा ल्याउनु भएको प्रचार सो पार्टीले ब्यापक गर्यो । जेठ १२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले दुई जना समानुपातिक सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको थियो तर हालसम्म त्यो कार्यान्वयनमा आएको छैन । सांसद, मन्त्री, जनप्रतिनिधि वा पार्टी पदाधिकारीलाई जुनसुकै बेला पदबाट फिर्ता बोलाउने सकिने नीति जनमत पार्टीले बनाएको भन्दै सो पार्टीका नेताहरु गर्व गर्नुहुन्छ । तर फिर्ता बोलाउने निर्णय गरेको एक महिना भन्दा बढी भइसक्यो तर हालसम्म फिर्ता बोलाएको निर्णय कार्यान्वयमा आएको छैन ।
केन्द्रिय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद मोरङका सोनु मुर्मुर र सिरहाका विनिता सिंहलाई सांसदबाट पदबाट हटाउने निर्णय गरेको थियो । उहाँहरुले अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरेको हो । मुर्मुर दलित कलस्टरबाट सांसद बन्नुभएको थियो भने सिंह जनजाति कोटाबाट सांसद बन्नुभएको थियो । मुर्मुरको ठाउँमा कपिलवस्ुतका दुर्गावत्ती धोवीलाई ल्याउने निर्णय गरेको छ भने सिंहको ठाउँमा कसलाई ल्याउने अहिले निर्णय नभएको स्रोतले जनाएको छ ।
सिके राउतले बैठकपछि सार्वजनिक गर्नुभएको निर्णयमा यो कारवाहीको विषय उल्लेख गर्नुभएको छैन तर उहाँले संगठन संचालनमा आइपरेका विभिन्न समस्याहरूमा छलफल गर्दै अनुशासन कडाईका साथ पालन गराउने, पदमा भए जिम्मेबारी बहन गर्नु पर्ने अन्यथा पद छोड्नु पर्ने, जनप्रतिनिधिहरूलाई कडाईका साथ पार्टी र जनताप्रति उत्तरदायी बनाउने, पार्टीको निर्देशन पटक–पटक नमान्ने, अटेरी गर्ने, गूटबन्दी गर्ने, पार्टी फुटाउन षड्यन्त्र गर्नेहरूलाई कारबाही गर्ने स्पष्ट नीति लिएको उल्लेख गर्नुभएको छ ।
सांसद फिर्ता बोलाउने निर्णय सिके राउतका लागि घाँडो भएको छ । पाँच जना सांसद रहेको जनमत पार्टीमा दुई जना सांसद हटाउने निर्णय गरेसँग पार्टीमा अर्को पार्टी बनाउने चलखेल सुरु भएको थियो । सिके राउतको व्यवहारबाट असन्तुष्ट केही सांसद गुटबन्दी गर्न थालेपछि अध्यक्ष राउत तत्कालका लागि ब्याक हुनुभएको छ । तर उहाँले यो निर्णयलाई विस्तारै कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया