Khadya Bibhag

चुरे विनाशले पानी अभाव (सम्पादकीय)

वर्षायाम सुरु भएको छ तैपनि तराई मधेश तथा चुरेक्षेत्रका बसिन्दाले खानेपानीको अभाव झेलिरहेका छन् । तराई मधेशमा पानीको सतह घटेपछि खानेपानीका अभाव सुरु भएको हो । महोत्तरी, सिरहा, सर्लाही, उदयपुर, धनुषालगायतका जिल्लाका कतिपय गाउँमा त्यहाँका जनताले पानी किनेर वा टाढा टाढाबाट पानी ल्याएर खान्न बाध्य भएका छन् भने कतिपय ठाउँमा ट्याङ्करको पानी वितरण गरिरहेका छन् ।
महेन्द्र राजमार्ग वरपर समस्या निकै बल्झेको छ । हातेपाइप सुक्न थालेका छन्, इनारमा पानीको सतह घटेको छ । यस्तो हुनुको एउटै कारण चुरे विनाश ।
चुरे क्षेत्रका बस्तीमा बाह्रमास पानीको अभाव हुन्छ तर फागुनदेखि अत्याधिक अत्याधिक समस्या सुरु हुन्छ । बढ्दो वन विनाश र उत्खन्नका कारण पछिल्ला समय खानेपानीको स्रोत सुक्न थालेपछि यसरी पानीको हाहाकार हुने गरेको छ ।
सर्लाही जिल्लाका चुरे क्षेत्रमा रहेका भालुखोप, केराबारी, बेलडाँडा, बिलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायत क्षेत्रमा हरेक वर्षको गर्मी मौसममा खानेपानीको समस्या हुने गरेको छ ।
त्यस्तै धनुषाको नक्टाझिल, ढल्केवर, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, नवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या विकराल बन्दै गएको छ ।
सिरहाको चोहर्वा, असनपुर, गोलबजार, मुसहरिनियाँ, कसहा, निपनियाँलगायतका क्षेत्रमा पनि पानीको अभाव देखिएको छ । चुरे विनाशका कारण त्यस क्षेत्रका पानीका मुहान नै सुक्न थालेका छन् । पानीको सतह भाँसिएका कारण इनार, बोरिङ, हातेपाइप, पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीयवासी बताउँछन् ।
बढ्दो वन विनाश र खोला उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थाले चुरे क्षेत्रमा रहेका बस्तीमा पानीको हाहाकार बताइन्छ । चुरे क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ उकालीओराली गर्न बाध्य छन् । केही वर्ष अघिसम्म हातेपाइपमा २५ देखि ४० फिटमा पानी आउँथ्यो । इनारहरुमा पनि हुन्थ्यो । पोखरीहरु भरिभराउ हुन्थ्यो तर अहिले एक सय फिटमा पनि पानी आउन गाह्रो मान्छ ।
डेढ सय, दुई सय फिटसम्म हातेपाइप जडान गर्नुपर्छ, त्यसमा पनि मुस्किलले पानी आउँछ । महेन्द्रराज मार्गभन्दा तलका गाउँका इनारहरु नै हराई सकेका छन् । कहि कतै छन् भने त्यो प्रयोगमा छैन । महेन्द्रराजमार्ग भन्दा माथि हातेपाइप जडान हुँदैन त्यसैले त्यहाँ इनारमाथि निर्भर हुनुपरेको छ । तर त्यो इनारमा पानी सुकिएको छ ।
नेपालको भौगोलिक विश्लेषण गर्ने हो भने यहाँ चुरे, महाभारत र हिमालय गरी तीनथरि पर्वत श्रृंखलाको उपस्थिति पाउन सकिन्छ । तराई र मध्य पहाड छुट्याउने चुरे तराई–मधेसको जीवन रेखा (लाइफ लाइन) हो । यसले यस क्षेत्रका जनताबीच जीवन सञ्चार गरिरहेको छ ।
तर यसको महत्व जीवनदायिनी हुँदाहुँदै पनि केन्द्रीय र क्षेत्रीय राजनीतिको बहस तथा आर्थिक लोभको प्रवृत्तिले चुरे संरक्षणको विषयलाई गौण बनाइएको छ । चुरे विनाशमा कतिपय राजनेता नै संलग्न रहेको तथ्यहरु बाहिर आएका छन् । सरकारले नै चुरे विनाशका लागि नीति ल्याएका छन् । आर्थिक स्रोतका लागि गिटी, बालुवा निर्यात गर्ने भनि सरकारले नीति नै ल्याएको छ तर त्यो कहाँबाट ल्याउने उल्लेख छैन । जति पनि गिट्टी बालुवा उत्खन्न गर्ने काम हुन्छ ती सबै चुरेमा नै हुन्छ ।
एकातिर सरकारले चुरे संरक्षणका लागि बजेट छुट्याउँछन् भने अर्कोतिर बालुवाट, गिटी उत्खनन्न गरी बेचबिखन गरिरहेको छ । र, त्यसको मार अहिले चुरे क्षेत्रका बासिन्दाले भोगि रहेका छन् । जताततै उत्खनन् गरेको कारण भुक्षय हुने गरेको, अनियन्त्रित बाढी आउने गरेको, पहिरो जाने गरेको छ ।
जसले निकै ठूलो क्षति भएको छ । चुरेको प्राकृतिक सम्पदा र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्दै दीगो विकास र वातावरणबीच सन्तुलन कायम राख्नु जरुरी छ । तर पछिल्लो दिनमा चुरेलाई पहाड र मधेसको सीमाका रूपमा मात्रै परिभाषित गर्ने जुन प्रयत्न भइरहेको छ, त्यो घातक छ । मधेस र पहाडका राजनीतिकर्मीबीचको गोलचक्करमा फस्न बाध्य चुरेलाई कसैले पनि आफ्नो प्राथमिकतामा राखेको पाइँदैन ।

तपाईको प्रतिक्रिया