Khadya Bibhag

विजेताको अन्तिम इच्छा, ‘पत्रकारिता गर्दा गर्दै मर्न पाउ’

जतिबेला धनुषा जनकपुरकी विजेता चौधरी (कर्ण)ले पत्रकारिताको सुरुवात गर्नुभएको थियो त्यतिबेला देशमा माओवादी जनयुद्ध ‘पिक प्वाइन्ट’ मा थियो । त्यतिबेला जनकपुरमा क्रियाशिल उहाँ एक्ली पत्रकार महिला हुनुहुन्थ्यो जसको मूल्य चुकाउनु परेको थियो उहाँले ।
२०५९\०६० तिरको घटना हो, माओवादीले महोत्तरीमा नक्कली महिला माओवादीको गिरोहलाई समातेको थियो । थोरै पैसाको लागि आफूलाई माओवादी भनेर त्रास मचाइरहेका ती नक्कली माओवादीहरुले हाम्रो अभियानलाई नै बदनाम गरिरहेका छन् भन्ने आसयको समाचार बाहिर ल्याइदिनुपर्यो भनेर त्यसको रिर्पोटिङका लागि उनीहरुले विजेतालाई अपहरणको शैलीमा उठाएर महोत्तरी लगेका थिए । संभवतः महिलाको बारेमा महिलाले बढी केलाएर लेख्न सक्छन् कि भन्ने बुझार्य माओवादीको थियो सायद ।
तीन चार जनाको समूहमा आएका माओवादीले विजेतालाई घरबाट लग्दा घरमा रुवावासी नै भएको थियो । जनकपुर सरस्वती टोलस्थित घरबाट माओवादीले उहाँलाई साथै लिएर हिड्दा पनि टोल छिमेकमा कसैले सुइकोसम्म पाएका थिएनन् । उहाँलाई लगि रहँदा विजेताले आफ्नो आमालाई हतार हतारमा यति मात्र भन्नुभयो, ‘आमा तपाई चिन्ता नलिनु यो कुराको जानकारी पत्रकार नवल जीलाई गराई दिनु होला ।’
 
पत्रकार नवलकिशोर यादव त्यतिबेला गोरखापत्रमा आवद्ध हुनुहुन्थ्यो । विजेता भन्नुहुन्छ, नवलजी मेरो अभिभावक सरह नै हुनुहुन्थ्यो, त्यहिभएर पनि उहाँप्रति मेरो विश्वास थियो । माओवादीहहरुले जनकपुरबाट प्रकाशित तात्कालीन अमरदीप पत्रिकाका सम्पादक उमेश यादवलाई पनि सोही महोत्तरी विजेताकै जस्तै लगेका थिए । विजेता भन्नुहुन्छ, ‘माओवादीले हामीलाई घरबाट जवर्जस्ती लगेपनि बाटोमा कुनै प्रकारको दुरव्यवहार भएन, कसैलाई शंका नहोस् भनेर संभवतः पत्रकार उमेश र विजेतालाई एउटै साइकल दिइएको थियो ।
समाचार संकलनपछि दुबैजनालाई संगै फिर्ता पठाएका थिए । नक्कली माओवादीसम्बन्धी समाचार विजेता आफू कार्यरत प्रतीक दैनिकमा प्रकाशन भएको थियो ।
जनयुद्ध कालमा माओवादीले जनकपुरको मुजेलियास्थित प्रहरी चौकीमा आक्रमण गरी त्यसलाई उडाई दिएको थियो । त्यसको रिर्पोटिङका लागि अन्य पुरुष पत्रकारहरु आआफ्नो मोटर साइकलमा पुगेका थिए । विजेतापनि आफ्नो घरबाट साइकल लिएर घटनास्थलमा पुगेर रिर्पोटिङ गर्नुभएको थियो । जहाँ केटाहरु मोटरसाइकल लिएर रिर्पोटिङका लागि पुग्थे त्यहाँ विजेता एक्लै साइकल लिएर भएपनि पुग्नुहुन्थ्यो ।
जनकपुरको पहिलो महिला पत्रकार विजेतासँग यस्ता संघर्षका थुप्रै कथाहरु छन् । लहैलहैमा सुरु गर्नु भएको पत्रकारिता अहिले उहाँका लागि आवश्यकता भइसकेको छ । इन्टरमेडिएटमा पढ्दादेखि नै पत्रकारिता सुरु गर्नुभएको उहाँले अरु पेसातिर ध्यान नै दिनुभएन । अहिले यस्तो अवस्था भयो कि अब पत्रकारितामा काम पाइएन भने अरु काम उहाँले गर्नै सक्नुहुन्न ।
कविता लेखनबाट पत्रकारितामा
विजेता इन्टरमा पढ्दा नै जनकपुरबाट प्रकाशन हुने तहल्का डट नेपालमा आफ्नो कविता छपाउनु हुन्थ्यो । एक पटक तहल्का डट नेपालका पत्रकार सुभाष कर्णले विजेतालाई भन्नुभएको थियो, ‘तपाई कविता यति राम्रो लेख्नुहुन्छ, समाचार पनि लेख्ने प्रयास गर्नुस्, तपाई लेख्न सक्नुहुन्छ ।’ त्यसपछि सुभाष कर्णले नै विजेतालाई एउटा कार्यक्रममा लग्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुको कुरा टिप्न लगाएर त्यहीं अनुसार विजेतालाई समाचार लेख्न उहाँले लगाउनुभएको थियो । उहाँले जसरी भयो त्यसरी नै लेखेर दिनुभयो ।
भोलीपल्ट त्यो समाचार तहल्का डट नेपालमा छापियो । त्यो समाचार कसरी लेखे, कसरी छापियो विजेतालाई केही थाह थिएन । तर त्यो समाचारको तारिफ भएको कुरा विजेतालाई अहिले पनि सम्झाना छ । उहाँ भन्नुहुन्छ, ‘त्यो मेरो पहिलो समाचार थियो, त्यो समाचारलाई सुभाष कर्णलगायत अरु साथीले तारिफ गर्नुभएको थियो र भन्नुभएको थियो कि तपाईको लेखाई राम्रो छ, लेख्दै गर्नु ।’
त्यसपछि उत्साहित भएर विजेता कार्यक्रमहरुमा जानु थाल्नुभयो । कार्यक्रममा उठेका विषयवस्तुलाई समेटेर समाचार लेखेर पत्रिकामा दिन थाल्नुभयो । नमिलेका कुराहरु मिलाएर राख्नुहुन्थ्यो । सुरुमा सुभाष कर्णहरुले सिकाउने काम पनि गर्नुभयो । पुरुष पत्रकारको बहुल्य रहेको जनकपुरको पत्रकारितामा विजेताको नाम पनि आउन थाले ।
एक दिन रिर्पोटिङकै क्रममा एउटा कार्यत्रममा सिन्धुलीका पत्रकार नवराज दाहालसँग भेट भयो । दाहाल प्रतीक दैनिकका लागि जनकपुरबाट काम गर्नुहुन्थ्यो । उहाँले विजेताको लेखाईलाई तारिफ गर्दै कहिले काहीं प्रतीकमा पनि लेख्न भन्नुएको थियो । त्यसपछि विजेताले नवराज दाहालमार्फत प्रतीक दैनिकमा पनि समाचार पठाउन थाल्नुभयो । पठाएका समाचार छापिन थाले ।
विजेताको खुशीको सीमा रहेन । उहाँ झन झन पत्रकारिताप्रति आकर्षित हुन थाल्नुभयो । प्रतीक दैनिकले उहाँलाई धनुषा जिल्ला समाचारदाताको रुपमा नियुक्त गरेको थियो । नवराज दाहाल अञ्चल समाचारदाता हुनुहुन्थ्यो । नबुझेका कुराहरु नवराजले पनि सिकाइ दिनुहुन्थ्यो ।
जनकपुर वरपर हुने कुनै पनि कार्यक्रममा जान उहाँ छुटाउनु हुन्थेन । बाह्रविघामा हुने राजनीतिक कार्यक्रमको रिर्पोटिङ गर्नु उहाँको पहिलो रोजाई हुन्थ्यो । र, त्यसमा उहाँलाई निकै आनन्दन आउथ्यो । विजेता भन्नुहुन्छ, ‘म पत्रकारिता किन गरिरहेको छु त्यो मलाई थाह थिएन तर ममा एक प्रकारले पत्रकारिताको भुत सवार भइसकेको थियो ।’
पहिलो तलब बुवालाई
प्रतिक दैनिकबाट विजेताले न्युजको आधारमा पैसा पाउनु हुन्थ्यो । अर्थात समाचार छोपेपछि मात्र पैसा पाउनु हुन्थ्यो । पहिलो तलब उहाँलाई २५ सय आएको थियो । नवराज दाहालले एउटा खाममा राखेर विजेतालाई दिनुभएको थियो । त्यसमा कति पैसा छ, त्यो पनि हेर्नुभएन । प्रतीक दैनिकमा काम गर्न सुरु गर्दा यति लिने, त्यति लिने पनि कुरा भएको थिएन ।
त्यो खाम सिधै आफ्नो बुवा उपेन्द्र चौधरीको हातमा दिनुभएको थियो । बुवाले खोलेर हेरेपछि मात्र विजेताले थाह पाउनु भएको थियो कि त्यसमा २५ सय रुपियाँ छ । काम गरेको पारिश्रमिक धेरै होस् वा थोरै होस् त्यो कुरासँग उहाँलाई मतलब थिएन । उहाँ पत्रकारितामा रमाई रहनु भएको थियो । आमा–बुवा पनि छोरीले गरिरहेको काम हेरेर खुशी हुनुहुन्थ्यो । पत्रिकामा छोरीले लेखेको समाचार पढ्दा आमा–बुवा पनि खुशी हुनुहुन्थ्यो त्यसबाट छोरीको कमाई कति छ, के छ, के छैन कहिले सोधखोज गर्नुभएन उहाँहरुले ।
विजेता भन्नुहुन्छ, ‘पैसा अथवा रोजगारको लागि पत्रकारिता गर्छु भन्ने चेत नै थिएन, पत्रिकामा लेख्ने जुनुन सवार थियो, केही न केही लेखि रहनुपर्ने, र छापिरहन्थ्यो पनि ।
विजेता सम्झिनुहुन्छ, सबभन्दा खुशी म त्यो दिन भएको थिए जुन दिन प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले फोन गरेर लेखाइको तारिफ गर्दै थप लेख्नका लागि प्रोत्साहित गर्नु भएको थियो । मेरो लागि त्यो सबभन्दा ठूलो कमाई थियो ।’ महिनाको २५ सय, तीन हजार ३५ सय तलब आउथ्यो । जस्तो आउथ्यो त्यस्तै बुवाको हातमा दिनुहुन्थ्यो । बुवाले विजेताको आमालाई दिनुहुन्थ्यो । विजेताको सबै खर्च बेहोर्ने आमा नै हुनुहुन्थ्यो । विजेता भन्नुहुन्छ, ‘आमा आज पनि मलाई खुद्रा पैसा खर्च गर्न भनेर दिनुहुन्छ र म सहर्स स्वीकारगर्छु । मैले पनि आफूले पुरस्कार वापत पाएको राशीहरु आमालाई चढाउछु ।’
प्रतीक दैनिकले पछि विजेतालाई अञ्चल समाचारदाता बनायो । अञ्चल समाचारदाता भएपनि मासिक तलब थिएन । त्यसमा पनि विजेताको कुनै गुनासो थिएन । उहाँले लेखेको कुरा पत्रिकामा छापिन्थ्यो, अरुले तारिफ गर्थे, समाजले सम्मान दिन्थ्यो, विजेता त्यसैमा खुशी हुनुहुन्थ्यो ।
समाजमा आलोचना
समाजमा एकातिर विजेताले गरेको कामको तारिफ हुन्थ्यो भने त्यही समाजको अर्को पाटोले आलोचना पनि गथ्र्यो । छोरी मान्छे केटाहरुसँग हिड्छे, केटाहरुको साथ लागेर छोरी बिग्री सके, अब छोरी हात लाग्दैन जस्ता कुरा विजेताका आमा–बुवालाई सुनाउनेको कमी थिएन । जो केटामान्छेसँग देखेपनि त्यही केटासँग नाम जोडर कुरा काट्नेहरु बढ्दो थियो ।
आज केटासँग भाग्यो कि भोलि जस्ता कुरा दिनहुँ जस्तो सुनिन्थ्यो । तर विजेताले यी कुराहरुप्रति कुनै ध्यान दिनुभएन । विजेताले मात्र होइन, उहाँका आमा–बुवाले पनि कहिल्यै कुनै कुरामा ध्यान दिनुभएन । छोरीले गरेको कामप्रति आमा–बुवाको पूर्ण विश्वास थियो । त्यहीं भएर समाजमा उड्ने त्यस्ता अफवाहको पछि कहिल्यै लाग्नुभएन ।
विजेता भन्नुहुन्छ, ‘त्यतिबेला महिला पत्रकारमा म एक्लै थिए, पुरुषहरुसँग हिड्नु पथ्र्यो, कहिले काही तालिमका लागि बाहिर जाँदा केटाहरुकै साथमा जानु पथ्र्यो दुई–तीन दिनको तालिम हुन्थ्यो । त्यतिबेला त परिवार र छिमेकका मान्छेहरु भन्थे, अब फलानोको छोरी घर फर्किदैन । तर म सकुशल घर फर्किन्थे, आमा–बुवाले ममाथि विश्वास गर्नुहुन्थ्यो त्यसपछि समाजमा कसले के भन्छ त्यसको कहिले पर्वाह गरिएन ।’ यदि समाजको कुरा सुनेर त्यसको पछि लागेको भए आज विजेता पत्रकारिता र साहित्यमा जुन स्थान बनाउन सफल हुनुभएको छ त्यो संभव हुदैन्थ्यो ।
२०६० तिर नेपाल पत्रकार महासंघले दिएको पाँच दिने पत्रकारिता तालिम विजेताले लिनुभएको थियो । जलेश्वरमा भएको त्यो तालिम नै विजेताको पहिले तालिम थियो । त्यसपछि नेपाल प्रेस इन्टिच्युटले विराटनगरमा संचालन गरेको तालिम लिन पनि त्यहाँसम्म पुग्नुभएको थियो । पत्रकारिता सम्बन्धी हुने तालिममा अवसर पाउने बित्तिकै उहाँ सहभागी हुनुहुन्थ्यो । त्यहाँ थाह पाएका नयाँ नयाँ कुराको प्रयोग उहाँले आफ्नो लेखनमा गर्नुहुन्थ्यो । ति तालिमहरुले नै विजेताको लेखनमा क्रमशः सुधार ल्याउँदै गएको र खोजपत्रकारिता तर्फ उन्मुख गरेको उहाँ बताउनुहुन्छ ।
यद्यपि उहाँले स्नातकमा एक पेपर पत्रकारिता लिएर अध्ययन गर्नुभएको छ, भने नेपाली भाषा साहित्यबाट स्नातकोत्तर गनुभएको छ ।
कमर्श छाडेर मानविकी
कक्षा १ देखि १० सम्म जनकपुरको सकल भवन कन्या माविमा पढ्नु भएको विजेता २०५३ सालमा एसएलसी पास गर्नुभयो । एसएलसी पछि त्यहीको विश्वेश्वरप्रसाद कोइराला क्याम्पसमा व्यवस्थापन विषय लिएर इन्टर पढ्न थाल्नुभएको विजेतालाई फस्र्ट इयरमा नै ब्याक लाग्यो । विजेता सुनाउनुहुन्छ, ‘ब्याकको हाउगुजीले सताएका पुस्ता हौ हामी, त्यतिबेल रेगुलरमा पास हुनेको शान नै अर्कै हुन्थ्यो ।’ बीपी कलेजमा बिहानको पढाई केटीहरुको मात्र हुन्थ्यो । समाजिक सुरक्षाका कारण विजेतालाई उहाँको बुवाले बिहानको समयमा भर्ना गर्नुभएको थियो ।
तर विजेता भन्नुहुन्छ, ‘बुवालाई त्यस्तो लागेको होला तर मलाई कहिले त्यस्तो लागेन । मलाई कुनै कुराले कहिले डर लागेन, म आफ्नो सुरक्षा आफै गर्थे, आफ्नो सुरक्षाका साथै भाइ बहिनीको पनि गर्थे ।’ विजेताका बुवाले पनि त्यही कलेजमा इकोनोमिक्स पढाउनु हुन्थ्यो । इन्टरको पहिलो वर्षमा फेल भएपछि बीचमा पाउनु भएको समयलाई उहाँले निकै सदुपयोग गर्नुभयो । आफूले त्यतिबेला खूब लेखेको र छाप्न पठाएको उहाँ सुनाउनुहुन्छ ।
जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट बीएमा भर्ना हुनुभयो । गणित गाह्रो लागेको कारण उहाँले व्यवस्थापन छोडेर बीए पढ्न सुरु गर्नुभएको थियो । बीए अध्ययन गरिरहँदा नै उहाँको बिहे प्रदीप दाससंग २०६३ सालमा भयो । बिहेपछि उहाँ काठमाडौं आउनु भयो । र काठमाडौं आएसंगै विजेताको पत्रकारितामा विराम लाग्यो । राजधानी गएर पत्रकारितामा छुटै पहिचान बनाउने ध्याउन्न घरपरिवारको दायित्वले चकनाचुर बनायो ।
मधेश आन्दोलनको सुरुवात भइसकेको बेला आफ्नो बिहे भएको र त्यसको समाचारहरु लेख्नबाट आफू बञ्चित हुनुपरेको पीडा सधैं उहाँमा रहिरहने बताउनुहुन्छ । यद्यपि उहाँको अध्ययन र लेखन निरन्तर जारि रह्यो । काठमाडौँमा ‘सेल्फ स्टडी’ गरेर उहाँले स्नातकोत्तर सकाउनु भयो । उहाँले मौका पाउने बित्तिकै पीएचडीको तयारीमा लाग्ने अबको सोच रहेको बताउनुभयो ।
पत्रकारिताबाहेक सोच्नै सकिन
एमएसम्म पढ्नु भएको विजेतालाई कुनै अरु जागिर गरौं भनि सोच कहिले आएन । इन्टर पास गरेपछि एक वर्ष एउटा निजी विद्यालयमा पढाउनु भएको थियो । आफ्नै छिमेकी दाइले गुरुकुल एकेडेमी खोल्नुभएको थियो । सुरुमा सहयोगवसमात्रै स्कूलमा पढाउनु भयो । नर्सरीदेखि पाँच कक्षासम्म पढाउनु भयो । कहिले काहीं पकेट खर्च पाइन्थ्यो ।
निजी विद्यालयमा पढाई रहँदा उहाँ समाचार लेखनमा भन्दा बढी साहित्य लेखनमा हुनुहुन्थ्यो । स्नातक पढ्दै पत्रकारिता पनि संलग्न हुन थालेपछि स्कूलका लागि समय दिन नसकेपछि उहाँले एक वर्षपछि छाड्नु भएको थियो ।
उहाँका बुवाले छोरी विजेतालाई अडिटर बनाउनका लागि कमर्स पढाउन चाहनुभएको थियो । बुवाले अडिट गर्दा विजेताले कहिले काही सघाउनु हुन्थ्यो तर गणित गाह्रो भएको कारणले त्यसमा उहाँलाई कहिले मन लागेन । पत्रकारितामा नै रमाई रहनु भएको थियो । काठमाडौँमा श्रीमान प्रदीप दासले पनि आफ्नै कम्पनीमा जागिर खोजि दिनुभएको थियो तर उहाँले त्यसमा काम गर्न मान्नुभएन । पत्रकारिता नै गर्ने उहाँको सोच थियो ।
यहाँसम्म कि विजेताका श्रीमानले औषधीको व्यपार गर्नुहुन्थ्यो । औषधी पसल पनि खोल्नुभएको थियो तर त्यो पसलमा कहिले काम गर्नुभएन । उहाँ भन्नुहुन्छ, ‘हाम्रो औषधी पसल थियो तर मैले एउटा सिटामोलसम्म पनि बेचेको थिइन् । म लेखनमा व्यस्त थिए, अरुतिर जान कहिले मनै लागेन ।’
दुई पटक छुटेको त्यो कान्तिपुरको अवसर
बिहे गरेर विजेता काठमाडौँ आउनुभयो । पत्रकारितालाई निरन्तरता दिने सोच थियो । जनकपुरमा हुँदा कहिले काहीं कान्तिपुरको नेपाल म्यागजीनमा लेख्नुहुन्थ्यो । त्यसले गर्दा तत्कालिन सम्पादक प्रशान्त आर्यालसँग विजेताको थोरबहुत चिनजान थियो । उहाँको श्रीमानसंग पनि अर्यालको राम्रो सम्बन्ध थियो । सोही चिनजानको आधारमा उहाँलाई भेट्नु भएको थियो । सम्पादक अर्यालले पनि नेपाल खबर पत्रिकामा स्टोरीको आधारमा पारिश्रमिक दिने गरि लेख्ने स्वीकृति दिनुभयो । काठमाडौं अगम कुँआजस्तो लागे पनि विजेता त्यसका लागि तयार हुनुभयो ।
तर त्यहीबेला उहाँलाई घर जानुपर्ने अवस्था आइलाग्यो । जेठानी सुत्केरी हुने बेला थियो एकजना स्यहार सुसारका लागि मान्छे घरमा चाहिन्छ भनि सासूको उर्दीलाई स्वीकार गरि उहाँले कान्तिपुर मिडिया गु्रपमा आवद्ध हुने त्यो आवसर गुमाउनु भयो । जसको प्रतीक्षा उहाँलाई लामो समयदेखि थियो ।
अर्को पटक कान्तिपुर टेलिभिजनमा मधेश राजनीतिको लागि पत्रकार साथी जितेन्द्र झाले सिफरिस गरिदिएका थिए । विजेता लिखित तथा मौखिक दुबै अन्तर्वाता पास भइन् तर त्यतिबेला कान्तिपुले फोन गछौं भनेका थिए । फोन गर्ने न गर्ने पक्का थिएन । भने यता बाह्खरीमा अन्तर्वार्ताको लागि बोलाइएको थियो र उनलाई सोही दिनदेखि ज्वाइन गर्न भनियो ।
विजेता सुनाउँछिन् काठमाडौंमा सबैतिर भौतारि रहेको बेला सम्पादक प्रतीक प्रधानले नै नागरिक दैनिकमा स्थान दिनुभएको थियो । उहाँप्रती मेरो ठूलो सम्मान छ । मैले बाह्खरी अनलाइन ज्वाइन गरे । बाह्खरीमा आवद्ध भएको एक साता नबित्दै कान्तिपुर टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पाण्डेले भोलिबाट ज्वाइन हुनको लागि फोन गरे । तर विजेताले आफू बाह्खरीज्वाइन गरिसकको बताउँदै कान्तिपुरमा जानुभएन । बाह्रखरीमा साढे दुई वर्षमात्रै आवद्ध रहेपनि त्यहाँबाट थुप्रै कुरा सिक्न सकेको विजेता बताउनुहुन्छ ।
पत्रकारितामा लामो अन्तराल
विहेभएको एक वर्षपछि नै विजेताले पहिलो सन्तानको रुपमा छोरी स्वीकृतिलाई जन्मदिनु भयो । छोरी जन्मेपछि कहिले घर त कहिले माइती गर्दै निकै समय बित्यो । काठमाडौं बस्दापनि उहाँले एक्लै छोरी हुर्काउनु पथ्र्यो । त्यहि भएर छोरी जब स्कुल जानथाली अनि बल्ल उहाँले पुनः पत्रकारिता गर्ने निर्णय लिनुभयो ।
तर त्यतिबेला पुराना सबै लिंकहरु टुटिसकेका थिए । जोसंग राम्रो थियो, जसले पहिलेपनि विजेताको कामको प्रसंशा गरेका थिए तिनीहरुले विजेतालाई पत्रकारितामा आउन निरुत्साहित नै गरे । उहाँ भन्नुहुन्छ, त्यतिबेलाको तितो अनुभव जीवनभरिको लागि पाठ बन्यो ।
उहाँले पत्रकारितालाई नै प्राथमिकतामा राख्नुभएको थियो । किनभने अलिकति जाने बुझेको काम भनेको पत्रकारिता नै थियो । पत्रपत्रिकामा निस्किने भ्याकेन्सीहरु भर्ने र अन्तर्वाता दिने काम पनि गर्नुभयो । विजेता सुनाउनु हुन्छ, अन्नपूर्ण पोष्टले संवाददाता चाहियो भनेर विज्ञापन गरेको थियो जसमा मैले लिखित परिक्षा दिए । मेरो कापि जाँच्ने काम कार्यकारी सम्पादक धर्मेन्द्र झा दाइले नै गर्नु भएको थियो । तर त्यहाँ पनि काम पाइएन । दाइसंग पछि सो विषयमा जिज्ञासा राख्दा उहाँले त्यतिबेला कसैलाई पनि नराखेको जवाफ दिनुभएको थियो ।
विजेताको छटपछी र तनाव देखेर श्रीमान प्रदीप दासले आफू काम गर्ने कम्पनीले फाइनान्स खोल्दैछ, त्यसमा काम गर्ने प्रस्ताव गर्नुभएको थियो तर विजेताले गरे पत्रकारिता गर्छु नभए गर्दिन भनेर जवाफ दिनुभएको थियो । त्यसपछि उहाँको श्रीमानले जागिरको सिलसिलामा कहिले केही भन्नुभएन ।
नागरिक दैनिकबाट दोस्रो इनिगंको सुरुवात
कुनै पत्रपत्रिकामा काम नपाएपछि उहाँ निकै निराश हुनुभएको थियो । एक दिन कान्तिपुर पत्रिकामा एनजीयोमा काम गर्नेसम्बन्धी तालिम संचालन हुन लागेको विज्ञापन देख्नु भयो । सो तालिम मिडिया हाउसले गर्न लागेको थियो । तालिम अवधि ६ महिनाको थियो । उहाँले त्यसमा फर्म भर्नुभयो र तालिम लिन थाल्नुभयो ।
तालिमको क्रममा विभिन्न रिर्पोर्टहरु बनाउनु पथ्र्यो । विजेताले रिर्पोर्ट बनाएपछि उहाँको खुब तारिफ हुन्थ्यो । तालिम सञ्चालक सहनशिला शर्माले एक दिन विजेतालाई भन्नुभयो, तिम्रो लेखाई यति राम्रो छ, तिमीले त पत्रकारिता गर्नुगर्ने हो ।’ विजेताले उहाँलाई ठट्यौली पारामा भन्नुभयो मैम! म पत्रकार मान्छेलाई काठमाडौंले नपत्याएपछि तपार्इंकोमा तालिम लिन आएको ।
यति बेलासम्म विजेताले कोर्षकै रुपमा एक महिनाको इन्टर्नशिपको लागि होमनेट नेपाल नामक एनजिओमा काम पनि गरिसक्नु भएको थियो । काठमाडौंको महिला टेम्पु चालकमाथि विजेताले त्यहाँ बनाएको अध्ययन रिपोर्टले विजेतालाई होमनेटले जागिर नै अफर गरेका थियो ।
तर यसै बिचमा मिडिया हाउसकी संचालक शर्माले त्यतिबेलाका नागरिकका सम्पादक प्रतीक प्रधानलाई विजेताकोलागि सिफारिस गर्नुभयो । अनि एनजिओमा पाइसकेको जागिर छोडेर विजेता पुनः पत्रकारिता अंगाल्नु भयो ।
विजेता सुनाउनुहुन्छ, सम्पादक प्रतीक प्रधानलाई नागरिकको कार्यालयमा पहिलो पटक भेट्नजाँदा अन्तर्वार्ताको पूरै तयारीका साथै जनकपुरमा गरेको पाँच वर्षभित्रको सबै राम्रो र खोज स्टोरीहरुको कटिगं आफूसंग लिएर गएको थिएँ ।
म यसपटक कुनै ‘रिस्क’ लिन चाहिनँ । मैले गरेको सबै समाचा।को फाइल प्रतीक सरले हेर्नुभयो तर विराटनगरको रंगेलीमा गरेको सीमापारिका डाकाहरुबाट बलात्कृत महिलाहरुको लामो स्टोरी भने धेरै समय लगाएर हेर्नु भयो, पढ्नु भयो संभवतः । प्रशंसा पनि गर्नुभयो र मैले त्यसै दिन नागरिक दैनिकमा संवाददाताको जागिर पाए । करारमा ।
विजेता भन्नुहुन्छ यो मेरो करियरको दोस्रो इनिगं थियो र राजधानी मेरो लागि नयाँ ठाउँ । तर म यतिबेला तनमनले तैयार भइसकेको थिए ।
नागरिकको शनिबारीय परिशिष्ठांकमा विजेतालाई स्थान दिइयो । प्रत्येक आइतबार शनिबार प्रकाशित हुने समाचार, स्टोरी, फिचर, साहित्यहरुमाथि टिमसंग सम्पादक प्रधान स्वयम बसेर टिप्पणी गर्थे, छलफल गर्ने । विजेताले सल्लाहसुझावका साथै धेरै पटक प्रशंसा पाउनु भयो ।
२०७२ सालमा गएको ठूलो भूकम्पको स्टोरीहरु नागरिकको लागि गरिरहँदा विजेतालाई उहाँको श्रीमानले निकै मद्दद गर्नुभयो । पत्रकारितामा पुनः प्रवेशदेखि निरन्तर लागि रहनलाई विजेतालाई उहाँको श्रीमानको सधै साथ र सहयोग प्राप्त भयो ।
त्यसको कही समयपछि प्रतिक प्रधान तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको प्रेस सल्लाहकार भएर जानुभयो । त्यो ठाउँमा अन्नपूर्ण पोष्टबाट गुणराज लुईटेल आउनुभयो । उहाँ आएपछि केही स्टाफलाई घटाउने क्रममा विजेता पनि त्यसमा पर्नुभयो ।
पत्रकारिताको लय फेरि टुटेपनि यसपटक उहाँमा आत्मबल बढिसकेको थियो र आफ्नोलागि अन्त काम खोज्न थाल्नुभएको थियो । तर यसबीच साहित्य लेखनको काम कहिले छाड्नु भएन । घरमा बसेर पनि उहाँले कथा, कविताहरु लेख्नुहुन्थ्यो ।
केही समय पश्चात नै सम्पादक प्रतिक प्रधान बाह्रखरी डट कम भन्ने आफ्नै अनलाइन सञ्चालनमा ल्याउनुभयो । र, उहाँले विजेतलाई बाह्खरीमा पुनः अवसर दिनुभयो । बाह्रखरीमा विजेताले कानुन, शिक्षा, साहित्यमा कलम चलाउन थाल्नुभयो ।
विजेता भन्नुहुन्छ, ‘मैले बाह्खरीमा साढे दुई वर्षमात्रै काम गरे तर त्यो समय मेरो लागि पत्रकारिताको विश्वविद्यालय जस्तै थियो, मैले धेरै कुरा त्यहाँ सिक्ने मौका पाए र आफूभित्रको कमीकमजोरीलाई निखारने मौका पाए ।
बाह्खरीमा आफूभन्दा जुनियलाई अग्रस्थानमा धेरै तलब दिएर राखेपछि विजेतको मन चुँडियो र उहाँले जुनियरलाई रिपोर्ट बुझाउने गरि नबस्ने दृढनिश्चय साथ काम छोड्नुभयो । विजेता भन्नुहुन्छ, मभन्दा सुपिरियर भएको भए म सम्मान गर्थेहोला तर मसंग सोधेर लेख्नेलाई दिनभरि गर्ने कामका फेहरिस्त बुझाइराख्न मेरो आत्मसम्मानले दिएन ।
बाह्खरी छोड्नुभन्दा अगाडी नै अन्नपूर्णपोष्टका कानुन हेर्ने वरिष्ठ संवाददाता यम विरहीले विजेतालाई अन्नपूर्णमा कामगर्ने प्रस्ताव गरे जसलाई विजेताले स्वीकार पनि गरिन् तर यसैबीच विरही विरामी परे र विजेतासंग कुरा हुनसकेन । यता कान्तिपुरका संवाददाता मकर श्रेष्ठले शिक्षापत्र पत्रिकामा आफूसंग काम गर्न प्रस्ताव गरे । मकरले पनि कान्तिपुरमा राजीनामा गरिसकेका थिए । शिक्षापत्रमा विजेतालाई आर्कषक तलब दिनेभयो ।
बाह्खरीको लागि विजेताले शिक्षामा गरेको स्टोरी र समाचारहरु देखेर नै श्रेष्ठले त्यस्तो अफर गरेका थिए । र विजेता शिक्षापत्रमा आवद्ध भइन् तर एक दुई महिना तलब नियमित दिएपनि विस्तारै होल्ड हुनथाल्यो । अनि पूरै टिमले शिक्षापत्र छोडे ।
यसै बीच विजेता दोस्रो पटक गर्भवती हुनुभयो र बच्चा पाउने भनि उहाँले पुनः पत्रकारिताबाट केही समय विश्राम लिनुभयो । यो पहिलो लकडाउन सुरु हुने समय थियो । विजेताले दोस्रो संतानको रुपमा छोरी वेदीकालाई जन्म दिनुभयो ।
साहित्यमा अलग छाप
कक्षा ६ देखि कविता लेख्न सुरु गर्नुभएको विजेता एसएलसी पास गरेपछि उहाँका कविताहरु विभिन्न स्थानीय पत्रपत्रिकामा छाप्न थालिएको थियो । सुरुमा उहाँको कविताहरु नेपालीमा हुन्थ्यो । पछि मात्र उहाँले मैथिलीमा लेख्न थाल्नुभयो । उहाँकी आमा निरारानी चौधरी मैथिली पत्रपत्रिका तथा किताबहरु पढ्नु हुन्थ्यो । घरमा मैथिली किताबहरु हुन्थे । त्यो देखेर उहाँको चासो मैथिलीतर्फ गएको थियो ।
उहाँकी आमा पनि आफ्नो समयको इन्टर पास हुनुहुुन्थ्यो । विजेता भन्नुहुन्छ, ‘आमाले प्रायः पढिरहनु भएको हरिमोहन झाको रचना मैले पनि पढे, मलाई मैथिली रचना र भाषाप्रति इन्ट्रेष्ट त्यही दिनदेखि जाग्यो र म त्यतीबेलैदेखि मैथिलीमा पनि कविता लेख्न थाले ।’
मैथिली भाषाको पहिलो कथा ‘हाइ रे विजली के बील’ तहल्का डट नेपालमा छापिएको थियो । त्यसपछि अन्य पत्रिकामा पनि छापिन थाल्यो । साहित्यप्रति रुची बढ्दै गयो । साहित्य र पत्रकारितालाई उहाँले सँगैसँगै लग्नुभयो ।
साहित्यकार अशोक दत्त विजेताका काका पर्नुहुन्छ । जनकपुरको देवीचोकस्थित चित्रगुप्त भवनमा कविता वाचनको कार्यक्रम थियो । अशोक दत्तले विजेतालाई लिएर त्यहाँ जानुभएको थियो । विजेताले पहिलो पटक मैथिली भाषामा आफ्नो कविता वाचन गर्नुभएको थियो । त्यसपछि उहाँ कहिल्यै रोकिनु भएन ।
विजेताका अनुसार, रमानन्द युवा क्लवले गर्ने प्रत्येक महिनाको अन्तिम शनिवारको कविता वाचन कार्यक्रमले उहाँको रचनाहरुलाईपरिस्कृत बनाउन मदत पुर्याएको हो ।
विजेताको कविता संग्रह धाराक विरुद्धको चर्चा स्वयम कविहरुले नै गर्छन् । उनको लेखनको उत्कर्ष कवितामा देखिन्छ । भने मधेश आन्दोलमाथि रहेको कथा संग्ह कफर््यूको लागि उहाँलाई भारतीय मिथिला क्षेत्रबाट प्रदान गरिने विशिष्ठ ज्योत्सना सम्मान समेत प्रदान गरिएको छ ।
गार्गी देखि ज्योत्सना साहित्य सम्मान
पत्रकार साहित्यरका विजेता चौधरीको पहिलो कृति, धाराक विरुद्ध कविता संग्रह, सन् २०१९ मा प्रकाशित छ । त्यस्तै कफ्र्यु कथा संग्रह सन् २०२० मा र चुप्पी चिकरैछ निःशब्द निःशब्द, एक पाँति कविता संग्रह २०२१, नवारम्भ प्रकाशन मधुबनी, विहारबाट प्रकाशित छ । एक पाँति कविता लेखनको श्रीगणेश गरेको श्रेय पनि विजेतालाई प्राप्त छ । यसका साथै नेपाली साहित्यका मुर्धन्य साहित्यकार मनु ब्राजाकीको तिम्रो स्वासनी र म कथा संग्रहको विजेताले मैथिलीमा अनुवादसमेत गनुभएको छ ।
उहाँलाई चित्रगुप्त सेवा समिति जनकपुरद्वारा उत्कृष्ट साहित्य सम्मान २०७४ प्रदान गरिएको छ । कथा संग्रह कर्फ्युकोलागि चेतना समिति पटनाद्वारा ज्योत्स्ना साहित्य समान प्रदान गरिएको छ । भने मैथिली साहित्यकार सभा जनकपुरद्वारा, गार्गी साहित्य सम्मान २०७८, नेपाल चित्रगुप्त समाज, काठमाडौंद्वारा उदीयमान साहित्यकार–पत्रकार पुरस्कार २०७८ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारिता तर्फको प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट समेत विजेता सम्मानित हुनुभएकोछ ।
साहित्यमा आफूले गर्न खोजेको कुरा अझै गर्न बाँकी नै रहको उहाँ बताउनुहुन्छ ।
श्रीमानको निधन
जीवनमा सबै ठीक चलिरहेको थियो । छोरी हुर्कदै थिइ । छोरी दुई वर्ष पुग्नलागेको खुशीमा गाउँमा गएर परिवारका साथ जन्मदिन मनाउने तैयारी चलिरहेको बेला अचानक विजेताको श्रीमानको छातीमा पीडा उत्पन्न भयो । केही समय औषधि खानुभयो तर निको भएन । एक साता त्यसै बित्यो । पीडा बढ्दै गएपछि नर्भिक अस्पताल थापाथलीमा उपचारको लागि श्रीमान–श्रीमति पुगे । समस्या हेरेर चिकित्सकहरुले सिटीस्क्यान गर्नुपर्ने भने, चिकित्सको हाउभावले केही समस्या छ भन्ने अनुमान दुबैलाई नभएको होइन तर बोल्न एकअर्कालाई भन्न सहिरहेका थिएनन् ।
विजेताको मनमा एकप्रकारको भय उत्पन्न हुन थालेको थियो । र त्यही भयो जसको डर थियो । नर्भिकले लिभरको क्यान्सको शंका गर्यो र बायपसीको लागि भन्यो । त्यो दिनदेखि विजेताको जीवनमा दूरदिन सुरुभएको थियो ।
श्रीमानलाई जसरी पनि बचाउनु पर्छ भन्ने सोचका साथ दिल्ली गएर उपचार गरियो तर उहाँको क्यान्सर अन्तिम स्टेजमा पुगिसेको थियो । चिकित्सकहरुले अब धेरै समय नरहेको परिवारजनलाई बताइसके पनि विजेतालाई सुरुमा जानकारी गराइएको थिएन ।
उहाँ अहोरात्र श्रीमानको स्वास्थ्य सुधारकोलागि खट्नुभयो, पूजापाठ, धर्मकर्म, जाप सबै सबै गुर्नभयो । सानी काँखे छोरी बोकेर दिल्लीेदेखि छत्तिसगढको रायपुर र हरिद्वारको पतंजलीसमेत लगेर उपचार गराउनु भयो तर श्रीमानलाई बचाउन सक्नुभएन । २०७८ को चैत्रमा उहाँलाई क्यान्सर भएको पत्तालाग्यो र २०७९ को असाढ ११ गते काठमाडौं हरिसिद्धिस्थित क्यानस अस्पतालमा विजेतका श्रीमानले अन्तिम सास लिनुभयो ।
विजेता त्यो समय सम्झन चाहनुहुन्न । उहाँ भन्नुहुन्छ, मैले जीवनमा अमूल्य सम्पत्ति गुमाए, जसमाथि मेरो पूरै दृष्टि कायम थियो । अब मसंग गुमाउनलाई केही बाँकी रहेन ।’
विजेताका श्रीमानले सुरु गरेका विजनेशहरु थिए । तर त्यसलाई चलाउने क्षमता बिजेतासँग थिएन । किनभने त्यतातिर उहाँले कहिले ध्यान नै दिनुभएको थिएन । औषधी पसल चलाउने कोशिस पनि गर्नुभयो तर नसकिने रहेछ भनि त्यसलाई बेच्ने सोचमा पुगि सक्नुभएको छ । अरु व्यवसायी पार्टनसीपमा छ त्यताको बारेमा उहाँले कुनै जानकारी नै लिनुभको छैन ।
श्रीमानको निधन, दुईटा छोरी, घर संसार, परिवार, व्यपार सबै लथालिङ हुने अवस्थामा गएपछि विजेता एकपटक निकै डिप्रेशनमा पुग्नुभएको थियो । व्यपार गर्दा श्रीमानले लिनुभएको बैंक ऋणहरु सबै विजेताको टाउकोमा आयो । साहुहरु सबै ऋण चुक्ता गर्न ताकेता गर्न थाले । अनेक तनावहरु आउन थाले तर हेर्ने, सहारा दिने कोहि पनि भएन ।
शोक बलियो कि समस्या भन्ने अन्तर नै रहेन विजेतालाई । दुबै मिश्रित भएर महाशोक हुनपुग्यो । जोसंग छुटकारा पाउन कति वर्ष लाग्ने विजेतालाई नै थाहा छैन ।
बच्चाहरु सानै छ, सबैको जिम्मेबारी उठाउनु पर्छ कि भन्ने डरले सबै आफन्तहरु हतार–हतार लाखा–पाखा लागे । र यसैबीच विजेताले आफ्नो परिवार र कुटुम्बलाई राम्रोसँग चिन्न पाउनुभयो । उहाँ भन्नुहुन्छ ‘म त अर्केै दुनियाँमा बाँचेको रहेछु, सधैं यथार्थ लेखे पनि आफू अंधकारमा हुने लेखक म मात्रै रहेछु । हुन् त विरामी हुँदा पनि श्रीमानले विजेतालाई बेलाबेला सचेत गराउँथे, यी भीड क्षणिक हुन् आफ्नो खुट्टा बलियो बनाउ ।
श्रीमानले विजेतका लागि पुग्ने सम्पत्ति छोडेर गएका छन् । उहाँलाई कसैको सहाराको आवश्यकता नै पर्दैन । विजेताले खोजको सदभाव मात्रै थियो । तर समय विपरित भएपछि मित्र पनि शत्रु हुने तथ्य उहाँले पत्यक्ष भोग्नुभयो ।
यद्यपि जीवनमा ठूलो संकटको सामना गरेर उहाँ पुनः पेशाको रुपमा पत्रकारितामा फर्कनुभएको छ । अहिले उहाँ नेपालसमय अनलाइनमा वरिष्ठ संवाददाताको रुपमा काम गरिरहनु भएको छ । उहाँले अन्त्यमा भन्नुभयो, ‘बाँकी जीवन पत्रकारिता गर्दा गर्दै बिताउँछु पत्रकारिता गर्दा गर्दै मर्न पाउ भनि अन्तिम इच्छा हो ।’

तपाईको प्रतिक्रिया