Khadya Bibhag

सप्तरी र सोलुलाई जोड्ने रामनारायण: राजनीतिमा अशोक झा यसरी जमे सोलुमा

सप्तरी छिन्नमस्ता–३ का ७२ वर्षीय रामनारायण झाका लागि अहिले आफ्नो जन्मभूमी भन्दा कर्मभूमी प्यारो भएको छ । ४२ वर्ष पहिले सप्तरीबाट अँग्रेजी शिक्षकको रुपमा सोलुको सल्यान पुग्नु भएका रामनारायण झा अहिले त्यहीका निवासी हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मनमा सप्तरी भएपनि कर्ममा सोलु बसेको छ, अब चाहेर पनि सधैका लागि सप्तरी फर्किन सकिदैन ।’
रामनारायण झा हाल सल्यानको दुधकोशी बहुमुखी क्याम्पसका प्रिन्सिपल भएर काम गरिरहनु भएको छ । क्याम्पसका संस्थापक समेत रहनु भएका रामनारायणले सोलुको मायाले सप्तरी फर्किन नदिएको बताउनुहुन्छ । डडेल्धुरा जिल्लामा अस्थायी शिक्षकको रुपमा कार्यरत रामनारायण झा त्यही स्थायी हुनुभएको थियो । स्थायी भएपछि आफ्नो गाउँ ठाउँमा जान कसलाई रहर हुँदैन, उहाँले पनि सप्तरीको पब्लिक विन्देश्वरी स्कुलमा आफ्नो दरबन्दी पार्नुभएको थियो ।
उहाँ त्यहाँ केही समय काम पनि गर्नुभयो । उहाँको सरुवा सोलुको सल्यान भयो । उहाँ त्यहाँ जान मान्नुभएको थिएन । तैपनि जिल्ला शिक्षा अधिकारी जगत बहादुरले केही समयका लागि भए पनि जानुस्् पछि फेरि यहीं ल्याउने भनि आश्वासन दिएपछि रामनारायण झा २०३८ फागुन २१ गते महेन्द्र उदय मावि सल्लाह जानु भयो । स्कूलको पहिलो दिनमै उहाँ प्रत्येक कक्षामा जानुभयो । विद्यार्थीको अनुहार हेर्नुभयो, कक्षाको भौतिक अवस्था हेर्नुभयो, त्यहाँको शिक्षाको गुणस्तर हेर्नुभयो, सबै लथालिङ थियो ।
उहाँले भन्नुभयो, त्यहाँको अवस्था हेर्दा लाग्यो मेरो आवश्यकता यो स्कूलका लागि छ, यदि म यहाँ मद्दत गरेपछि शिक्षामा सुधार हुन्छ, विद्यार्थीको भविष्य बन्छ भने म सबै थोक गर्न तयार छु ।’

त्यो दिनदेखि रामनारायणले आफ्नै स्कूल जस्तो त्यहाँ पढाउन थाल्नुभयो । पहिलो वर्षमा त्यो स्कूल राष्ट्रिय पुरस्कार प्राप्त गर्यो भने एसएलसीमा विगतको भन्दा दोब्बर बढी विद्यार्थी पास भयो । यी सब रामनारायण झाको मेहनताको नतिजा हो । रामनारायण झाको चर्चा जिल्लाभर फैलियो । उहाँको मान सम्मान बढ्न थाल्यो । झा सर अब सधैका लागि यही बस्नुपर्छ भनि चर्चा सुरु भयो । तर उहाँले स्कूललाई सुधार गरेपछि पुनः आफ्नै गाउँ ठाउँमा फर्किने सोच बनाउनु भएको थियो तर त्यहाँको स्थानीयको माया र विद्यार्थीको प्रेमले घेरा हालिरहेका थिए । त्यो घेरा तोड्न उहाँलाई २० वर्ष लाग्यो । उहाँ काज मिलाएर भएपनि सप्तरीको त्यही पब्लिक विन्देश्वरी स्कूलमा पुग्नुभयो ।
त्यहाँ गएर पनि केही समय स्कूलको सुधारमै समय लगाउनुभयो । स्कूलको रिजल्ट राम्रो आउन थाले । सबैले उहाँको प्रसंशा गर्न थाल्नुभयो । अब रामनारायणलाई फर्किनु दिनुहुन्न भनि अनेक उपाय निकाल्यो । रामनारायणलाई पनि यही आफ्नै ठाउँमा शिक्षाका लागि केही गरौं भनि सोचमा हुनुहुुन्थ्यो । फेरि सोलु फर्किन नपरोस् भनेर त्यसका लागि उहाँले थुप्रै ठाउँमा प्रयास पनि गर्नुभयो । अन्त्यमा, तत्कालिन शिक्षा अधिकारीले जहाँबाट तपाई यहाँ आउन चाहनुभएको छ, त्यो स्कूलले सहमति दियो भने आफूले यहाँ सप्तरीमा कतै मिलाउन सकिने भनिएको थियो ।
यो थाह पाएर रामनारायण सोलुको त्यही स्कूलमा पुग्नुभयो । जहाँ उहाँको दरबन्दी थियो । सरुवाका लागि सहमति माग्न गएका रामनारायणलाई त्यहाँका अभिभावकले फर्किनै दिएनन् । तपाईको आवश्यकता उता सप्तरीमा होइन, यहाँ सल्यानमा भनेर त्यही राख्यो त्यहाँबाट फर्किनै दिएन । त्यो दिनदेखि आजसम्म उहाँ सप्तरी फर्किनु भएको छैन । त्यही स्कूलको हेडमास्टर पनि हुनुभयो । रिटायर्ड भएपछि त्यहाँ काँग्रेसका नेता बलबहादुर केसीलगायतले कलेज स्थापना गर्नुभयो । त्यसको प्रिन्सिपल बनाई दिए रामनारायणलाई । उहाँ त्यहाँबाट फर्किनै सक्नुभएन ।
लक्ष्मीसँग बिहे
स्कुलमा पढाई रहँदा बेलाबेला सप्तरी फर्किने कुरा गर्दा त्यहाँका स्थानीयले एउटा उपाय निकाले । रामनारायण झा र त्यहाँका एकजना लक्ष्मी भने केटीसँग प्रेम रहेको कुरा त्यहाँका स्थानीयलाई भित्रभित्रै थाह थियो । तर त्यो कुरा बाहिर आएको थिएन । लक्ष्मीसँग बिहे गराई दिएपछि रामनारायण गाउँ फर्किन सक्दैन भनि युक्ति निकाल्यो । सुरुमा रामनाराणको प्रेमको हल्ला गाउँमा फैलाइयो । गाउँभर हल्ला फैलिएपछि बिहे गर्ने कुरा आयो । रामनारायण बिहे गर्न तयार हुनुभयो । जब कि रामनारायणको बिहे भइसकेको थियो । जेठी श्रीमतीको नाम पनि लक्ष्मी नै थियो । जेठी श्रीमतीको नामसँग मिल्दा नाम भएको कारण रामनारायण सोलुका लक्ष्मीप्रति आकर्षित हुनुभएको थियो ।
बिहेपछि अब यतै बस्नुपर्छ भन्दै रामनारायण आफूसँग रहेको १५ हजार रुपियाँ र अरु बाँकी ऋण लिएर ७० हजारमा ३२ रोपनी खेतीयोग्य जग्गा किन्नुभयो । त्यही खेतीपाती र मास्टरी गर्न थाल्नुभयो । उनै रामनारायण झाका जेठी पट्टीका छोरा अशोक झा सोलुमा राजनीतिक विरासत कायम गर्न सफल हुनुभएको छ । बुवा शिक्षा क्षेत्रमा सफल भए जस्तै छोरा अशोक राजनीतिको सफलतातिर लम्किदै हुनुहुन्छ ।
अशोकले यसरी मारे बाजी
अशोक झा सोलुखुम्बु जिल्लाको तरुण दलका अध्यक्ष हुँदा धेरैले भन्थे, के सोलुमा काँग्रेसमा अरु कोही नेता थिएनन्, अरु कोही कार्यकर्ता थिएनन् जो एक जना मधेशीलाई अध्यक्ष बनाइयो ।’ रामनारायण झाका त्यही अशोक झा अहिले तरुण दलको केन्द्रिय सदस्यको पहिलो नम्बरमा मनोनित हुनुभएको छ ।

मेचा सल्यान–२ दोदीमा एक घर मात्र झा छन् । त्यही घरका अशोक झा त्यहाँका चर्चित युवा नेता हुनुभएको छ । रामनारायण मास्टरीमा जसरी सबैको प्यारो हुनुभयो त्यसरी नै अशोक झा राजनीतिमा सबैको प्यारो हुनुभएको छ । सुरुमा उहाँलाई राजनीतिसँग कुनै मतलब थिएन । २०५२ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौँ आएर शंकरदेव क्याम्पसमा पढाई सुरु गर्नुभएका अशोक झा आइए पास गरेपछि प्रहरीको जागिर खान असईका लागि ट्राइ गर्नुभएको थियो । तर उहाँले पास गर्न सक्नुभएन ।
त्यसपछि पढाईलाई निरन्तरता दिँदै काठमाडौँमै केही गर्ने सोच बनाएर यतै बस्न थाल्नुभयो । माओवादीको जनयुद्ध चलिरहेको कारण उहाँलाई सोलु फर्किन मन लागिरहेको थिएन । त्यही बेला उहाँको बुवा रामनारायण झा माओवादीको अपहरणमा पर्नुभएको थियो । त्यसपछि अशोक झा सोलु फर्किनुभएको थियो । सुरुमा माओवादीसँग निकै डर लाग्थ्यो तर बुवा अपहरणमा परेपछि डर नै हरायो, उहाँले भन्नुभयो, ‘म दोदीमा माओवादीसँग जुध्न थाले, लामो संघर्षपछि बुवालाई अपहरण मुक्त गराए ।’ त्यसपछि अलिअलि राजनीतिमा रुची जाग्न थाल्यो । अशोक झाका बुवा पहिलादेखि काँग्रेस निकट हुनुहुन्थ्यो ।
अशोक झा भन्नुहुन्छ, ‘बुवा २०३८ सालतिर मास्टरी गर्न सोलु आउनु भएको थियो सारा जीवन जवानी यही दिनुभयो, त्यहाँका स्थानीयले निकै माया गर्छन् ज्वाइँ साप भनेर बोलाउँछन् तर जब राजनीतिको कुरा आउँछन् अनि मधेशी भनेर साइड लगाई दिन्छ ।’ काँग्रेसको १२ औं महाधिवेशन हुँदा अशोक बुवा महाधिवेशन प्रतिनिधिका लागि सोलुमा उम्मेदवारी दिएका थिए तर मधेशी भएकै कारण उहाँ चुनाव जित्न सकेन जब कि त्यहाँका लागि उनी चर्चित व्यक्ति हुनुहुन्छ ।
महाधिवेशन प्रतिनिधिमा बुवा हारेपछि अशोक झालाई चित्त दुखेको थियो । आफ्नो ठाम छाडेर यत्रो वर्ष यहाँका समाजलाई सेवा गरे, पार्टीलाई सेवा गरे तैपनि किन पत्याउँदैन भनि उहाँले आफैलाई आफै प्रश्न गर्नुभयो । तर उत्तर पाउनका लागि राजनीति नै गर्नुपर्छ भनि सोचका साथ उहाँ राजनीतिमा सक्रिय हुनुभयो ।
बुवाका कारण काँग्रेसका नेता तथा कार्यकर्तासँग थोरबहुत चिनजान छँदै थियो । त्यहाँका युवामा उहाँ आफै पनि चर्चित हुनुहुन्थ्यो । त्यहाँका स्थानीय युवाले पनि अशोकलाई निकै मन पराउँथे । त्यसलाई क्यास गर्दै उहाँ राजनीतिमा आफ्नो ठाउँ बनाउन थाल्नुभयो । स्थानीय नेतादेखि लिएर केन्द्रका नेताहरुसँग आफ्नो सम्बन्ध बनाउँदै जानुभयो । तर रामनारायण भन्नुहुन्छ, ‘आज अशोक झा जे छन् आफ्नै कारणले हो, म यहाँको मास्टर भएको कारणले नजानिदो तरिकाले सहयोग भएको होला त्यो छुट्टै कुरा हो तर राजनीतिमा अगाडि बढ्न मेरो कुनै योगदान छैन अशोक आफै सक्षम छन् उनलाई यहाँका सबैले मन पराउँछन्, यहाँका जनताका लागि उनले धेरै गरेका छन् । दुख सुखमा साथ दिइरहेका छन् ।
उहाँ आफ्नै लगनशिलता र मेहनताका कारण एक पटक तरुण दल जिल्ला समिति सोलुखुम्बुको उपाध्यक्ष नै हुनुभयो । काँग्रेस नेता बलबहादुर केसी गाउँका हुनुहुन्छ अशोक झा । बलबहादुर केसीसँग पनि उहाँले हिमचिम बढाउन थाल्नुभयो । बलबहादुर केसीले आफ्नो फुपुको छोरा केदारभक्त कार्कीलाई तरुण दलको जिल्ला अध्यक्ष बनाउनु भएको थियो । ५२–५३ वर्षका कार्की तरुण दलको अध्यक्ष कसरी हुन्छ भनि अशोक झाले जताततै प्रश्न गर्न थाल्नुभयो ।
तरुण दलको अध्यक्ष
यो कुरा उनले बलबहादुर केसीलाई पनि भन्नुभयो । तर बलबहादुर केसीले अशोक झालाई स्थान दिइरहनुभएको थिएन । त्यतिबेला तरुण दलका अध्यक्ष हुनुहुन्थ्यो उदय शम्शेर राणा । अशोक झा उदय शम्शेरको नजिक हुन पनि निकै प्रयास गर्नुभयो । तर असफल भइरहेका थिए । २०७० को दोस्रो संविधान सभा चुनावमा बलबहादुर केसी आफ्नो चुनावी क्षेत्रमा कार्यक्रम गरिरहेको बेला पार्टीकै केही युवा नेताहरु बलत्कारी, भ्रष्टाचारी नेता भनेर नारा लगाएका थिए ।
यो कुरा सुनेर अशोक झालाई झोक चढ्यो । यस्तो कही हुन्छ आफ्नो पार्टीका नेतालाई खुलेयाम यसरी गाली गर्न पाइन्छ भनि कराउँदै कार्यक्रममै ती युवा नेतामाथि जाई लाग्नुभयो । कार्यक्रममा भाग भाग भयो । कार्यक्रम नै बिथोल्यो । त्यही दिन साँझ बलबहादुर केसीले अशोक झालाई बोलाएर कुरा गर्दै भनेका थिए, ‘म त यो मधेशका केटाले यहाँ के नै गर्न सक्छन् र भन्ने ठोनका थिए तँ त साह्रो हिम्मतिलो जोशिलो छस् अब तिमी मलाई साथ दिनुपर्छ, मैले तपाईका लागि के के गर्नुपर्छ सबै गर्छु ।’
त्यही दिन तरुण दलका तत्कालिन अध्यक्ष उदय शम्शेर राणालाई फोन गरेर बलबहादुर केसीले भन्नुभएको थियो, ‘यो अशोक झा भन्ने भाइ त साह्रै माइ डियर मान्छे रहेछ, हामीलाई चाहिने व्यक्ति रहेछ यसलाई हामी आफ्नो साथमा राखेर देशैभर घुमाउनु पर्छ, उनलाई छिट्टो सोलुको कार्यबाहक अध्यक्ष बनाई दिनुस् ।’
बलबहादुरले आफ्नै फुपुको छोरालाई अध्यक्षबाट हटाएर अशोक झालाई कार्यबाहक अध्यक्ष बनाएका थिए । कार्यबाहक अध्यक्ष दिँदा जिल्ला भरमा पार्टी कार्यकर्ताले अशोक झाको विरोध गरेका थिए । सप्तरीका एउटा भर्खरका मधेशी केटालाई कार्यबाहक अध्यक्ष कसरी बनाउन मिल्छ, यो सम्भव नै छैन भनि विरोेध गरेका थिए । तर त्यो विरोध दुई चार दिन मात्र सुनिएको थिए । जसले विरोध गरेका थिए पछि उनै अशोक झाको फ्यान भएका थिए ।
अशोक झा भन्नुहुन्छ, ‘म मधेशी समुदायको हुँ, मधेशबाट हिमाल चढेको हुँ, तर म मधेशी हुँ भनि कहिले फिल भएन जहिले पनि म आफूलाई नेपाली ठान्थे तर बेलाबेलामा मधेशी भनेर सोलुबालाले सप्तरी याद दिलाई दिन्थ्यो ।’ २०७२ मा भएको अधिवेशनबाट कन्फर्म अध्यक्ष हुनुभयो उहाँ ।
काठमाडौँमा उहाँ काँग्रेसका पार्टीका सभापति शेरबहादुर देउवाका गुटका हुनुहुन्छ भने जिल्लामा बलबहादुर केसीलाई नेता मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘केन्द्रमा म शेरबहादुर देउवालाई मान्छु जिल्लामा बलबहादुरलाई मान्छु किनभने जहाँ जसको महत्व छ त्यहाँ त्यसलाई म सम्मान गछुर्् । यो कुरा दुवै जनालाई थाह छ ।’
तरुण दलमा उहाँ यति प्रिय भए कि केन्द्रदेखि जिल्लासम्म सबैले मन पराउन थाले । सबैको आवश्यकता जस्तै उहाँ हुनुभयो । उदय शम्शेर आफू अर्थ राज्यमन्त्री हुँदा अशोक झालाई आफ्नो सचिवालयमा नै राख्नुभएको थियो । अहिले पनि उदयशम्शेर राणाको साथमै हुनुहुन्छ । बलबहादुर केसीले पनि उहाँलाई आफैसँग राख्न चाहनु भएका थियो । मधेशको केटो सोलु गएर यसरी छलाङ मारेका कि उहाँ तरुण दलका केन्द्रिय अध्यक्ष बन्ने हैसियत बनाई सक्नुभएको छ ।

रामनारायण कहिले काहीं सप्तरी जानुहुन्छ । प्रत्येक दशैंमा छिन्नमस्ता भगवती मन्दिरमा पुजापाठ गर्न उहाँ पुग्नुहुन्छ । अशोक पनि कहिले काही सप्तरी जानुहुन्छ । तर अधिकाँश समय उहाँको सोलुमै बित्छ । रामनारायण झाका जेठी श्रीमती र एक जना कान्छो छोरा आमासँग सप्तरीमा बस्छन् । जेठी पट्टीको एउटा छोरा अशोक र अर्को छोरी सोलुमा बस्छन् । कान्छी श्रीमती पट्टी दुई जना छोरा र दुई जना छोरी छन् । त्यसमध्ये दुई जना छोरा र एक जना छोरी अष्ट्रेलियामा हुनुहुन्छ ।
रामनारायण सोलुमा एक्लै हुन्छ । छोरा अशोक राजनीति गर्ने भएकाले प्राय काठमाडौँ बस्नुहुन्छ । कान्छी श्रीमती पनि प्रायः काठमाडौं बस्नुहुन्छ । एउटा छोरी हुनुहुन्छ । सोलुमा मास्टरी गर्नुहुन्छ । अशोक झा भन्नुहुन्छ, ‘आमा कहिले काहीं सोलु आउनु हुन्छ । पहिला भाइ पनि सोलुमै बस्थे पछि उनलाई सप्तरीमै बस्न मन लाग्यो उतै आमासँग बसिरहेछ । म राजनीतिका कारण सोलुलाई नै रोजे तर सप्तरीको माया लागेर आउँछ ।’
सप्तरीकै कारण अशोक झा सोलुमा जम्नु भएको हो, उहाँ अगाडि भन्नुभयो, ‘म मधेशी भएकोमा मलाई कुनै पश्चाताप छैन कहिले त्यसले मलाई फाइदा पनि दिएको छ भने कहिले घाटा पनि पुर्याएको छ म राजनीतिमा आएर सोलु र सप्तरीबीच जुन खाडल छ त्यसलाई पुर्ने प्रयास गर्छु ।’
रामनारायणलाई पनि सप्तरीको माया नलागेको होइन, तर कर्मभूमीले यसरी आफ्नो मायाको जालमा फँसाई सकेको छ कि त्यहाँबाट उम्किन सक्नुभएको छैन । तर मौका पाउनै बित्तिकै जन्मभुमी सप्तरी पुग्नु हुन्छ र त्यहाँका माटोसँग खेल्नुहुन्छ । साथी भाइसँग रमाउनु हुन्छ । रामनारायण भन्नुहुन्छ, ‘जसरी म दुईटा श्रीमतीलाई माया गरेर राखेको छु त्यसरी नै सप्तरी र सोलुलाई माया गरेको छु दुवैसँग मेरो अगाध प्रेम छ ।’

तपाईको प्रतिक्रिया