अविस्मरणीय मृत्यु

जन्मपछि मृत्यु निश्चित छ । धर्तीमा यो मात्र एउटा सत्य हो । अरु बाँकी सबै भ्रम हुन् । जन्म मृत्य समान्य प्रकृया भए पनि कतिपय मृत्यु हरेकका लागि अविस्मरणीय हुन्छन् । मृत्य निश्चित छ, तैपनि मान्छेलाई धैर्य हुँदैन, विश्वास हुँदैन । मर्नबाट डराउँछन्, मृत्युलाई स्विकार गर्न चाहदैनन् ।
जन्म र मृत्यु नै यस्तो प्रकृया हो, जसमा धनी, गरिब, ठूला, साना, उच्च, नीच, धर्म, जातजाती हेर्दैनन् । सबैको जन्म र मृत्यु एकै खालका हुन्छन् । जन्मदा पनि खाली हात जन्मेका हुन्छन् र मर्दा पनि खाली हात मरेका हुन्छन् । तपाई पाठकलाई लाग्न सक्छन् । यसपटक सहारा टाइम्सले किन दर्शनका कुरा गरेको होला । अन्तिम सत्य जन्म र मृत्युको बारेमा कुरा किन गरेको होला ।
हो, यो महिनामा मधेशका दुई व्यक्तित्वको निधनले गर्दा सहारा टाइम्सले यो कुरा उठाएको हो । भदौं ८ गते शिक्षक एवं समाजसेवी सिरहाका रामबालक यादव र भदौं ११ गते वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी राजेश्वर यादवको निधनले हरेक जागरुक व्यक्तिमा एउटा अविस्मरणीय छाप छाडेका छन् । हुन त हरेक व्यक्तिको जन्म र मृत्यु आआफ्नो ठाउँमा महत्व नै हुन्छ । सबैको जन्म र मृत्यु स्मरणीय लायक हुन्छ तर कसैको खास हुन्छ । खास त्यसको हुन्छ जसको मृत्युले एक खालको कमी महसुस गर्छ र केही गुमाएको जस्तो महसुस हुन्छ ।
रामबालक यादव साइन्सका शिक्षक हुनुहुन्थ्यो । पढ्न र पढाउनमा त्यतिकै तागडा हुनुहुन्थ्यो । शिक्षकको पेसामा उहाँसँग प्रतिस्पर्धा गर्न हतपत कमै थिए । साइन्स र म्याथमा निकै अब्बल शिक्षक मानिन्थ्यो उहाँलाई । र, त्यसबाहेक उहाँ एउटा क्रान्तकारी व्यक्ति हुनुहुन्थ्यो । समाजका लागि केही गर्ने सोच हर हमेशा उहाँको मनमा हुन्थ्यो । समाजमा हुने अन्याय अत्याचारको विरुद्ध उहाँ एक्लै भए अवाज उठाउनु हुन्थ्यो । भ्रष्टाचार विरुद्धमा लड्न समाजका युवालाई जागरुक बनाउने काम उहाँले गर्नुहुन्थ्यो । भनिन्छ, पछिल्लो समय देशमा भएको मिटरब्याजी पिडितको आन्दोलन उहाँकै देन हो ।
उहाँ यस्तो शिक्षक हुनुहुन्थ्यो जो चाहेको भए जुनसुकै राम्रो विद्यालयमा राम्रो शिक्षकको रुपमा काम गर्न सक्नु हुन्थ्यो र आफ्नो जीवन यापन गर्न सक्नुहुन्थ्यो तर उहाँले आफ्नो समाजका लागि केही गर्नुपर्छ भनि आफ्नो समाजलाई छाडेर कही कतै जानुभएन र यही समाजमा घुलमिल भएर बस्नुभयो र समाजकै लागि लड्नु भयो । र, अन्त्यमा समाजका लागि संघर्ष गर्दा गर्दैै सदाको लागि जानुभयो ।
त्यस्तै महान व्यक्ति हुनुहुन्छ राजेश्वर नेपाली । नेपाली पत्रकारिताको शिखर पुरुष भन्दा पनि फरक पर्दैन । मोसफलमा रहेर पनि अन्तिम सांससम्म पत्रकारिता नै गर्नुभयो । पत्रकारिताबाट कसरी क्रान्ति गर्न सकिन्छ त्यसको एक मात्र उदाहरण राजेश्वर नेपाली हुनुहुन्छ । उहाँले पत्रिकामार्फत क्रान्ति गर्दा कतियौं पटक जेल पनि जानुभएको छ भने पटक पटक उहाँको पत्रिका बन्द पनि भएको छ । तैपनि उहाँ पछाडि फर्केर हेर्नुभएन । नेपाली काँग्रेसमा रहेर उहाँले राजनीति पनि गर्नुभयो । काँग्रेसका बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईका साथमा राजनीति गर्नुभएका राजेश्वर नेपाली महत्मा गाँधीलाई समेत भेट्नु भएको छ । महत्मा गाँधीबाट भेटेर उहाँ समाज र राजनीति परिवर्तनका लागि झन सक्रिय भएर लाग्नुभएको थियो ।
मधेश राजनीति, पहिचान र अधिकारका लागि हरहमेशा चिन्तित देखिनु भएका राजेश्वर नेपालीका केही सपना अधुरा रहेका छन् जसलाई अहिलेको पुस्ताले पुरा गर्ने आवश्यकता देखिएको छ । यी दुई व्यक्तित्वको निधनलाई मधेशी समाजलाई ठूलो क्षति भएको छ । समाजका लागि बोल्ने, लेख्ने र जागृत गराउने यी र यस्ता पात्रको आवश्यकता समाजमा हरहमेशा खड्की रहने छ । दुवै जनाप्रति हार्दिक श्रद्धाञ्जली ।

तपाईको प्रतिक्रिया