राजेश्वर नेपाली कलमजीवी मात्र होइन, क्रान्तिजीवी पनि

‘‘हातमा घडी थिएन, कति बज्यो भनेर घण्टी बज्दैनथ्यो, सूर्यको रोशनी देखिँदैन्थ्यो । त्यहाँ एउटा पत्रकार र वकिलका एक–एक वटा हात एकै ठाउँमा बाँधेर राखिएको थियो । बिहान सौच (शौचालय) गर्दा दुवैका हातले सँगै गर्नु पर्दथ्यो, खाँदा सँगै खानुपर्दथ्र्यो, श्रीमतीको साथ मानिस नाङ्गो भएर एकसाथ बस्छन् तर उनीहरू एक साथ दिसा–पिसाब गर्दैनन् तर हामीले नाङ्गो भएर दिसाब–पिसाब सँगै गर्नुपर्ने अवस्था थियो, यो भन्दा बढी यातना के पाउनुपर्र्छ ?’’
यी भनाइ हुन् कलमवीर वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीका । अब उहाँ हाम्रो बीच हुनुहुन्न । करिब १४ महिनादेखि विरामी रहनु भएका नेपाली बाबासिर र प्रोस्टेट क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । भदौं ११ गते ७८ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
‘नेपाली’ उहाँको वास्तविक थर होइन । भारतमा स्वतन्त्रता आन्दोलन चलिरहँदा भारतका कतिपय मानिसले आफ्नो थर बदलेर भारती राखे । नेपालमा राणा शासनको विरुद्ध आन्दोलन चर्किरहँदा कतिपय नेपालीले पनि आफ्नो थरको पछाडि ‘नेपाली’ लेख्न थाले । ती मध्येका एक हुनुहुन्छ राजेश्वर नेपाली । बाबु रामदुलार साह र आमा इन्द्रमणिदेवी साहको कोखबाट वि.सं. २००२ भदौ १९ गते धनुषाको बेलग्राम बिन्धी गाविस वडा नं. १ मा जन्मनु भएका नेपाली कलमवीर मात्र होइन प्रजातन्त्र सेनानी पनि हुनुहुन्छ ।
उहाँका पितालगायतका २२ जना युवकले १९९२ साल वैशाख २२ गते रगतले हस्ताक्षर गरेर राणा शाही ढाल्ने कसम खाएका थिए । उहाँका पितामा गान्धीको प्रभाव पनि थियो, त्यसको असर नेपालीमा पनि प¥यो । लोकतन्त्रलाई सबैभन्दा प्यारो ठान्नु हुने नेपाली सानै उमेरदेखि सूचना आदान–प्रदान गर्ने कार्यमा सक्रिय रहनुभयो । २००७ सात सालको जनक्रान्तिमा उहाँ सानै हुनुहुन्थ्यो तर पनि मुक्ति सेनाका लागि रसदपानी के कस्तो छ भनेर लेखिएको चिठी मन्दिरबाट घरसम्म लैजाने कार्य गर्नुहुन्थ्यो ।
उहाँका पिताजी रामदुलार साहले मुक्ति सेनालाई आवश्यक पर्ने खाद्यान्न आपूर्ति गर्ने काम गर्नुहुन्थ्यो । सीमापारि कमाण्डर सुवर्ण शमशेर बस्नुभएको थियो, त्यहाँबाट नेपालीको घर झण्डै एक किलो मिटर टाढा थियो । ठूला मान्छे ओहोर दोहोर गर्दा शंका हुने भएकाले मन्दिरसम्म मुक्ति सेनाका मान्छेले पत्र ल्याउने र त्यहाँबाट घरसम्म लैजाने काम नेपालीलगायत अन्य बालकले गर्थे ।
उहाँ विगत ६०–६१ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो भने प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदा प्रहरीको हिरासत उहाँका लागि पानी पँधेरोजस्तै बन्न पुग्यो भने जेल पनि उहाँका लागि बिरानो छैन । उहाँ ३९ पटक प्रहरी हिरासत र तीन पटक जेल पनि पर्नुभएको छ, त्यो पनि समाचार लेखेकै कारण । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते शासनसत्ता आफ्नो हातमा लिएपछि निकै दुखित हुनुभएका नेपालीले २०१८ सालदेखि सुरु गर्नुभएको पत्रकारिताको यात्रा विरामीले थलिदासम्म कायम थियो ।
नेपाली कांग्रेसका नेता सरोज कोइरालाले बोलाएर उहाँलाई सत्याग्रहमा लाग्न अनुरोध गर्नुभयो । गान्धीको अहिंसावादी विचारबाट प्रभावित नेपालीले आफूले बन्दुक र बम नबोक्ने बरु कलमबाट सहयोग गर्ने बचन दिनु भएको थियो । २०२६ साल कात्तिक गते कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनको समाचार पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ मा उहाँले पहिलो पटक समाचार लेख्नुभएको थियो । त्यतिबेला जनकपुरमा कुनै पत्रिका थिएनन् र काठमाडौं समाचार पठाउन पनि त्यति सजिलो थिएन । बरु पटनाबाट छापिने अखबार देशका मुख्य सबै सहरमा त्यही दिन पुग्थ्यो । पटनाबाट काठमाडौं दैनिक हवाइसेवा थियो, त्यसैले नेपाल सन्देश पत्रिका हरेक दिन बिहान साढे १० बजेतिर काठमाडौंका बजारमा आइपुग्थ्यो ।
प्रजातन्त्रका लागि मिसन पत्रकारिता गर्नुभएका नेपाली समाचार लखेकै कारण २०२१ सालमा पक्राउ पर्नुभयो । जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी दुर्गानन्द झाले बम हान्दा त्यसको चश्मादीद गवाह हुनुहुन्थ्यो उहाँ । २०४२ सालमै ‘हु इज हु’ मा उहाँको वायो डाटा समावेश भयो भने २०४६ सालमा भारतबाट प्रकाशित ‘रिफ्ररेन्स एसिया’ नामको किताबमा ११ सय व्यक्तिको बायोडाटामा उहाँको नाम समावेश थियो । नेपालबाट २० जनाको नाम थियो ।
२०४२ सालमा तत्कालीन एस.पी. नारायण सिंह गुरुङले डाक्टर अमीयकुमार मुखर्जीलाई कुटेको घटना । रेडक्रसका अध्यक्ष हेलेन शाहको सम्मानमा जनकपुरमा भोजको आयोजना गरिएको थियो । त्यहाँ डा. मुखर्जी पनि थिए । हेलेनले त्यहाँको अवस्थाबारे सोधे र डाक्टर मुखर्जीले यहाँ दिउँसै डकैती हुन्छ, प्रहरी रमिते बन्छ भनेर वास्तविक घटना सुनाए । यो पोल लगाएको एसपी गुरुङले भोजबाट बाहिरिँदै गर्दा डाक्टर मुखर्जीमाथि कुटपिट भयो । उहाँ सिलगडी गएर उपचार गर्नुभयो । त्यो समाचार उहाँले काठमाडौंबाट प्रकाशित हुने नयाँ करेन्ट पत्रिकामा ७२ प्वान्टको हेडिङमा मुख्य समाचार बन्यो । यो समाचारले पनि नेपाली प्रहरीको निसानामा हुनुन्थ्यो उहाँ ।
त्यसै कारण पनि २०४२ सालमा भएको बम काण्डपछि उहाँलगायत १४ जनालाई पक्राउ गरी काठमाडौं ल्यायो । नेपाली कांग्रेसले सुरु गरेको भद्रअवज्ञा आन्दोलन चलिरहेका बेला रामराजाप्रसाद सिंहले गराएको बमकाण्डका कारण देशभर धरपक्कड मच्चिएको थियो । रामराजाप्रसाद सिंहसँग नजिक रहेर काम गरेका कारण पत्रकार नेपाली पनि पनि पक्राउ पर्नुभएका थियो ।
सो घटनाको स्मरण गर्दै नेपालीले केही पहिले सहारा टाइम्ससँगको कुराकानीमा भन्नुभएको थियो, ‘‘हामी १४ जनालाई हत्कडी लगाएर काठमाडौं ल्याइयो । हातमा घडी थिएन, कति बज्यो भनेर घण्टी बज्दैनथ्यो, सूर्यको रोशनी देखिँदैनथ्यो ।’ त्यहाँ पत्रकार राजेश्वर नेपाली र वकिल महेन्द्रप्रसाद सिंहका एक–एकवटा हात एकै ठाउँमा बाँधेर राखिएको थियो । बिहान सौच गर्दा सँगै गर्नुपर्ने त्यो पनि दुवैका हातले, खाँदा सँगै खानुपर्ने, श्रीमतीको साथ मानिस नाङ्गो भएर एकसाथ बस्छन् तर उनीहरू एक साथ दिसा–पिसाब गर्दैनन् तर हामीले नाङ्गो भएर दिसाब–पिसाब सँगै गर्नुपर्ने अवस्था थियो, यो भन्दा बढी यातना के पाउनुपर्र्छ ? यो नै उहाँको जीवनको सबैभन्दा दुखद क्षण थियो ।
सो घटनामा पक्राउ परेका लक्ष्मीनारायण झा, सत्यनारायण साह, पद्म लामा, ईश्वर लामा, सूर्यनाथ राम यादव, सप्तरीका साकेत चन्द्र मिश्र, दिलीप चौधरीलाई हिरासतबाट बाहिर लगियो र बेपत्ता पारियो, उहाँहरूको अहिलेसम्म कुनै खोजी नीति छैन । संयोगवंश नेपाली भने हाम्रामाझ अहिले पनि कलम चलाइरहनु भएको छ । गणतन्त्रका लागि लडेका तिनीहरूको न त खोजबिन छ न त सरकारले सहिद नै घोषणा गरेका छ ।
२०४३ सालतिरको एउटा सन्दर्भ कोट्याउँदै नेपालीले भन्नुभएको थियो,–‘‘त्यतिबेला हेमबहादुर मल्लको जगजगी थियो । धनुषा जिल्ला पञ्चायतका सभापति बद्रीबहादुर कार्की थिए, कार्कीले पिकनिकमा जाँदा केटीसँग उठबस गरेको समाचार मैले ‘लोकमत’ साप्ताहिकमा लेखें । त्यसपछि ममाथि हातपात भयो, गाली गलौज भयो । हेमबहादुर मल्लले आफ्ना विरोधी झण्डै तीन सय जनाको पञ्चायतकालमा हत्या गर्न लगाएका थिए, त्यतिबेला उनी र उनका मान्छेका विरुद्धमा समाचार लेख्नु चान चुने कुरा थिएन । ममाथि हातपात भएको सुनेपछि काँग्रेस र कम्युनिस्ट पार्टीका नेताहरूले वक्तव्य जारी गर्दै त्यसको विरोध गरे ।’ २५ वर्ष भयो पत्रकारिता गरेको अब छोड्नु प¥यो भनेर सोचाइ बनाउनु भएको थियो उहाँ । तर लोकमत साप्ताहिक जनकपुर अञ्चलबाट प्रकाशित हुने पत्रिकामध्ये उत्कृष्ट भई एक हजार राशिको ‘पद्मानन्द ट्रस्ट’ पुरस्कार प्राप्त पनि उहाँले गर्नुभएको थियो ।
पत्रकारिता गर्दा नै अहिले करोडौं पर्ने जग्गा उहाँले २०३६ सालमा बेच्नुभयो । त्यो क्रम अहिले पनि जारी छ । उहाँ भन्नुहुन्छ–‘पैसा नै कमाउन चाहेको भए मैले कमाउन सक्थेँ तर निष्ठाको पत्रकारिता गर्ने हुँदा बर्सेनि जग्गा बेचेर गुजरा चलाएको छु । नेपालीका समकालीन पत्रकारहरूमा नेपाल टाइम्स दैनिकका प्रधानसम्पादक चन्द्रलाल झा, इन्द्रकान्त झा, उमाकान्त दास, गोविन्द वियोगी, गोपालदास श्रेष्ठ, फत्तेबहादुर सिंह, मदनमणि दीक्षित, मणिराज उपाध्याय, होमनाथ दाहाललगायत हुनुहन्छ । त्यसमध्ये कतिपय जनाको निधन पनि भइसकेको छ । नेपालीले चन्द्रलाल झाको नेपाल टाइम्स दैनिक र होमनाथ दाहालको राष्ट्रपुकारमा लामो समयसम्म कलम चलाउनु भएको हो ।
दर्जनौं पत्रिकामार्फत कलम चलाउनु भएका नेपालीले सामाजिक सेवाका साथै राजनीतिमा पनि लामो संलग्नता राख्दै आउनुभएको थियो । उहाँका झण्डै डेढ दर्जन कृति प्रकाशित छन् भने ४४ वटाभन्दा बढी संस्थाले गरेका सम्मानको चाङ उहाँसँग छन् । ती सम्मानले आनन्द प्रदान गर्छ तर खान त दिँदैन, त्यसैले खेती किसानबाटै परिवारको गुजारा चलेको जानकारी पनि उहाँले दिनुभएको थियो ।
उहाँले २०२९ सालमा वैदेही साप्ताहिकबाट पत्रकार संघमा प्रवेश गरी विभिन्न पदमा बसेर काम गरिसक्नु भएको छ । पत्रकारिताको क्षेत्रमा नेपालीले पु¥याएको विशेष योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले २०६४ साल वैशाख २१ गते उहाँलाई ‘स्वतन्त्रता सेनानी सम्मान’ बाट सम्मानित ग¥यो । राष्ट्राध्यक्षको समेत जिम्मेवारी सम्हालेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट उहाँ सम्मानित हुनुभएको थियो ।
पत्रकार भएकै कारण उहाँले वी.पी. कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोेहन अधिकारी, गजेन्द्रनारायण सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईले आत्मीयपूर्वक गरेका सम्मान र व्यवहार उहाँका लागि सधैं अविस्मरणीय रहनेछ । २०३९ सालमा भारतका राष्ट्रपति सन्जीव रेठी जनकपुर भ्रमणमा आउँदा उहाँसँग हात मिलाउन पाउँदाको क्षण नेपालीको जीवनको सबैभन्दा सुखीको क्षण थियो । पञ्चायती निरंकुश शासनमा राष्ट्रपतिसँग हात मिलाउन पाउनु पनि चानचुने कुरा थिएन ।
अचेत दिनहुँ हुने साक्षात्कार र त्यसका पात्र देखेर उहाँलाई वाक्क लागेको रहेछ । अहिले पत्रकारको संख्या बढ्यो, प्रशिक्षण छैन, पत्रकारहरू बढी पैसा–पैसामा मात्रै लागे, पत्रकारिता चम्क्यो तर पत्रकारितामा जिम्मेवारीपनको निकै अभाव छ, सहारा टाइम्ससँगको कुराकानीमा उहाँको तिखो टिप्पणी थियो । अहिलेको पत्रकारिताप्रति टिप्पणी गर्दै उहाँले भन्नु भएको थियो–‘‘हामी पत्रकारहरू असल भए देशको राजनीति धेरै राम्रो हुन सक्छ । देश यस्तो गन्जागोल हुनका पछाडि गैर जिम्मेवार पत्रकारिता फस्टाउनु पनि मुख्य कारण हो । राम्रो बाटो बनाउनभन्दा पनि भताभुङ्ग बनाउन सहयोग गर्ने कार्य भएको छ, पत्रकारले व्यक्तिगत लाभ वा घाटा के हुन्छ भनेर सोच्नु हुन्न, देशका लागि राम्रो कसरी हुन्छ भनेर दूरदृष्टिको सोचाइ हुनुपर्छ । यस्तो दूरदृष्टि भएमा देश धेरै अगाडि बढ्न सक्छ ।’’
राजनीतिक यात्रा पनि लामै गर्नुभएका नेपालीलाई नेताहरूप्रति भने त्यति विश्वास गर्नुभएको थिएन । नेताभन्दा पत्रकारको जिम्मेवारी देशप्रति बढी हुन्छ भन्दै नेपालीले भन्नुभएको थियो, ‘‘राजनीतिक दलका नेता पार्टीको स्वार्थमा लागेका हुन्छन्, त्यसवेला देशको स्वार्थ पनि बिर्सन सक्छन्, त्यतिवेला पत्रकारहरूले इंगित गर्न सक्नुपर्छ तर अचेल त सवासी (चाकडी) गर्ने काम बढी भयो, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री कसरी खुसी हुन्छन्, त्यतापट्टि अहिलेका पत्रकार बढी लाग्ने गरेका छन्, साक्षत्कारका नाममा जसलाई पनि बोलाउने कार्य भएको छ, त्यो झन ठीक भएन ।’’

तपाईको प्रतिक्रिया