नोटबुकमार्फत रुसमा मधेशलाई चिनाउँदै सरिता

सरिता साहलाई सानैदेखि टिभी हेर्न निकै मन पथ्र्यो । टिभीमा आउने फिल्म र नाटकहरु हेरेर उहाँ एक्लैमा त्यस्तै त्यस्तै अभिनय गर्नुहुन्थ्यो । कहिले काहीं टोलका केटाकेटीलाई भेला पारेर नाटक गराउनु हुन्थ्यो र त्यसको निर्देशन गर्नुहुन्थ्यो । एकदिन उहाँको घरको टिभी बिग्रेको थियो । फिल्म वा कुनै सिरियल आएको बेला अरुको घरमा हेर्नका लागि जानु हुन्थ्यो ।
अरुको घरमा टीभी हेर्न जानका लागि सरिताले भए भरका बहाना बनाउनु हुन्थ्यो । एकदिन ट्युशन पढ्ने बाहानामा घरबाट निस्केर अर्काको घरमा टिभी हेर्न गएको कुरा घरका मान्छेले थाह पाएछन् ।

घरका मान्छेले त्यहाँबाट ल्याएर घरमा उहाँलाई सजाय दिएको थियो । त्यसपछि अरुको घरमा टिभी हेर्न जानका लागि उहाँले सोच्नै पथ्र्यो । उहाँको दिमागमा के छोरीहरु साइकल चलाउनु हुँदैन, के छोरीहरु टिभी हेर्नु हुँदैन, के छोरीहरु छोराहरु जस्तै बाहिर चौरमा खेल्नु हुँदेन जस्ता कुराले चक्कर लगाउँथ्यो । यस्ता कार्य छोरी मान्छेले किन गर्न हुँदैन भनि उहाँले आफैलाई पटक पटक प्रश्न गर्नुहुन्थ्यो । यस्ता कुरा गरेर बेलाबेला घर तथा समाजबाट विद्रोह गर्नुहुन्थ्यो ।
तर समाजलाई उहाँलाई दवाउथ्यो । यद्यपी समाजले उहाँलाई धेरै दिनसम्म दवाएर राख्न सकेन र विद्रोह गरेर निस्किनुभयो । जो सरिता टीभी हेर्न ललायित हुनुहुन्थ्यो आज त्यही टीभीमा धुम मचाई रहनु भएको छ । त्यति मात्र होइन, त्यही समाजलाई देश विदेशमा पहिचान गराई रहनु भएको छ ।
रुसमा मधेश चिनाउँदै
त्यही सरिता साह यतिखेर रुसमा मधेशलाई चिनाउनमा व्यस्त हुनुहुन्छ । मैथिली, भोजपुरी, हिन्दी, नेपालीलगायतका भाषामा गीत, संगित, फिल्म, टेलिफिल्म, सर्ट फिल्ममा काम गरिसक्नु भएका सरिता साह विशेष गरी तराई मधेशको कला सँस्कृतिमा आफ्नो पहिचान बनाउनु भएको छ ।
देश विदेशमा तराई मधेशको कला, सँस्कृति, त्यहाँको बेथिती तथा पहिचानलगायतको कुरा आफ्नो कालाकारितामार्फत देशमा मात्र होइन, विदेशमा पनि परिचित गराई रहनु भएको छ । सोही क्रममा रुसमा जारी ‘१०औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्वस २०२३’ सहभागी हुनुभएको छ र त्यहाँ मधेशलाई चिन्हाइ रहनु भएको छ ।
विश्वका ४० वटा देशबाट १६९ वटा सर्ट मुभी छनोट भएको ‘१० औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्वस २०२३’ मा नेपालबाट सरिता साहद्वारा निर्देशित र अनिल कुर्मीद्वारा लिखित लघु चलचित्र ‘द नोटबुक’ पनि ‘शर्ट लाइभ एक्सन फिल्म्स श्रेणीमा प्रतिस्पर्धामा छनौट भएको छ ।
अन्तराष्ट्रिय सम्मान
यो महोत्सव रूसको ट्यूमेन सहरमा अक्टोबर १ देखि ९ सम्म सञ्चालन हुनेछ । यस फिल्मका निर्देशक सरिता साहले यसअघि बनाएको चलचित्र ‘फगुनिया’ले पनि स्पेनी ब्याबलर इन्टरनेशनल फिल्म फेस्टिवलमा बेस्ट डाइरेक्टर अवार्डबाट सम्मानित भइसक्नु भएको छ । र तेस्रो आइएडब्लुआरटी नेपाल सर्ट फिल्म कम्पिटिसनमा पहिलो स्थान तथा नाइजेरियामा सम्पन्न भएको वोमन इन्टरनेशनल फिल्म फेस्टिवलमा अनरेवल मेन्सनबाट पनि सम्मानित हुनुभएको छ ।

साथै अन्य दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नोमिनेशन तथा आधिकारिक छनोटमा पर्न सफल भइसकेका सरिता साहको हरेक फिल्म, गीतहरु समाजलाई एउटा सन्देश दिएका हुन्छन् । तराई मधेशमा देखिएको बिकृति विसंगतिलाई उहाँले आफ्नो कलकारितामार्फत उजागर गर्नुहुन्छ । त्यसै मध्येको एक हो ‘ द नोटबुक’ ।
यो ‘द नोटबुक’ सर्ट मुभीको निर्देशन गर्नुको साथै सरिता साहले आफै अभिनय पनि गर्नुभएको छ । एउटा परिवारमा छोरी पढेपछि त्यसले कति प्रभाव पार्न सक्छ भने कुरा नौ मिनेटमै मार्मिक ढङले ‘द नोटबुक’मा प्रस्तुत गर्नुभएको छ । मधेशमा अशिक्षा र गरिबी पनि छ, त्यसलाई हटाउनका लागि पनि छोरलिाई पढाउनुपर्छ भनि सन्देश ‘ द नोटबुक’ मार्फत उहाँले दिनु भएको छ ।
अभिनयमा सरिता
यो चलचित्रले सरिता साहलाई एक कुशल कलाकार हुनुका साथै एक अब्बल दर्जाको निर्देशकको रूपमा पनि उभ्याइ दिएको छ । केही हप्ता अगाडि उहाँले आफ्नो युट्यूब चैनलमार्फत ‘फगुनिया’लाई पनि सार्वजनिक गर्नुभएको छ । फगुनिया पनि तराई मधेशको बिकृति, विसंगतिको बारेमा उजागर गर्नुभएको छ ।
सरिता साह चलचित्र र रङ्गमञ्च दुवैमा पनि उत्तिकै पोख्त हुनुहुन्छ । उहाँ नेपाली रङ्गमञ्चमा एक कुशल अभिनेता÷लेखक÷निर्देशक हुनुहुन्छ जसले कथानक चलचित्र, लघु चलचित्र, व्यवसायिक, जनचेतनामूलक÷सन्देशमूलक चलचित्रहरूमा काम गरिससक्नु भएको छ ।
समाजमा विद्यामान समस्या, मुद्दामा थुप्रै सन्देशमुलक भिडियो निर्माण गर्नुभएको सरिताले ‘लू’ ‘काशीदेवी’, ‘ढकियामे नागरिकता’ जस्ता रङ्गमञ्चीय नाटकहरूको निर्देशन पनि गरिसक्नु भएको छ । दर्जनौँ नाटकमा आफ्नो कौशल प्रदर्शन गरिससक्नु भएको छ ।
अनिलको साथ
लघु–चलचित्र ‘द नोटबुक’का अर्को महत्वपूर्ण सर्जक हुनुहुन्छ अनिल कुर्मी । जसले यस चलचित्रको कथा र स्क्रिप्ट लेख्नु भएको छ । उहाँ पनि रङ्गकर्मी हुनुहुन्छ । जसले विगत केही वर्षदेखि लघु–चलचित्रहरूमा लेखक÷निर्देशक÷अभिनेताको रूपमा काम गरिरहनु भएको छ । उहाँले पछिल्लो समय निर्माण गर्नुभएको लघु–चलचित्र ‘पछुवा’ ले निकै प्रसंशा पाएको छ ।
यो चलचित्र देश र विदेशका विभिन्न चलचित्र महोत्सवहरूमा आधिकारिक छनोटमा परी प्रदर्शन भयो । यो फिल्म द कन्टेन्ट नेपालको यूट्युब चैनलमा उपलब्ध छ ।
रङ्गमञ्चबाट आफ्नो अभिनयको यात्रा सुरूका अनिलले लू, घोडचड़ी, काशीदेवी, जीजीविषा, ढकियामे नागरिकता, युद्धका घाउहरू २.० जस्ता नाटकहरूमा काम गरिसक्नु भएको छ । केही हप्ता अगाडि उहाँ युद्धका घाउहरू २.० नाटकलाई एउटा महोत्सवमा प्रस्तुत गर्न श्रीलंका पनि जानु भएको थियो ।

यसरी आफ्नो रङ्गमञ्चीय यात्रालाई कायम राख्दै चलचित्र क्षेत्रमा भिज्न खोज्नु भएका अनिल कुर्मीले केही दिन अगाडि मात्रै ‘मनकी’ नामको शीर्षकमा एउटा अर्को लघु चलचित्रको घोषणा आफ्नो सामाजिक सञ्जालमार्फत गर्नुभएको छ ।
‘द नोटबुक’ चलचित्रमा पनि सरिता साहको निर्देशन र अनिल कुर्मीको लेखन रहने छ ।
२०७९ सालको बैशाख महिनामा निर्माण सम्पन्न भएको लघु चलचित्र ‘द नोटकबुक’ लाई रोयल नर्वेजियन एम्बेसीको आर्थिक सहयोगमा आसमान नेपालले निर्माण गरेको हो भने प्रस्तुती सरिता फाउण्डेशनको रहेको छ । यस चलचित्रको छायाँङ्न धनुषा जिल्लाको बटेश्वरमा गरिएको हो ।
यस चलचित्रमा प्रमुख भुमिकामा साधना आलोक रहनुभएको छ भने सुजिता साह, प्रदीप महतो, राम नरायण ठाकुर, राजेश सक्सेना, मञ्जु महतो, विनोद सिंह, नबिन महतो, राजु सिंह, नन्दिनी कुमारी पंडित, कविता महतो, अस्मिता कुमारी महतो, आदित्य मिश्रालगायतकाले अभियन गरेका छन् ।
“यस चलचित्रलाई ‘१०औँ जिरो प्लस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा फिल्मफ्रिवे डड कम मार्फत २५ डिसेम्बर २०२२ मा पेश गरिएको थियो र करिब सात महिनापछि; जुलाई २० २०२३ मा महोत्सवमा छनोट भएको आधिकारिक सूचना आएको थियो । आफ्नो आगामी योजनाको बारेमा जानकारी दिँदै चलचित्रका लेखक अनिल कुर्मीले भन्नुभयो, “अब युट्यूब चैनलमा काम गर्न मन छ । केही कन्टेन्टरहरूको आइडिया छ, त्यही आइडियाहरूमा काम गर्ने योजना बन्दै छ ।
सर्ट फिल्महरू त गर्दै जाने हो । ५–६ वटा सर्ट फिल्मका स्क्रिप्टहरू तयार छन् । विस्तारै फिल्म पनि बन्दै जान्छन् । हामी इन्डेपेन्डेन्ट तरिकाले काम गर्नेहरू सबैको अवस्था यस्तै हो । कथा छ, कौशल छ, गर्ने मान्छेहरू छन् तर पैसा कुरो अड्किन्छ ।”
अब आउने समयमा अनिल कुर्मी र सरिता साहको संयुक्त सिर्जनामा केही लघु–चलचित्र हेर्न पाइने कुरा पनि उहाँले बताउनुभयो । फूल–लेन्थको सोच राखेका अनिल कुर्मी र सरिता साहले पैनी पिक्चर्स नामक युट्यूब चैनल पनि सुरू गर्नुभएको छ ।
को हुन् सरिता साह ?
महोत्तरीको भोइल टिमकियाका बुवा रामचन्द्र साह र आमा रामप्यारी साहका छोरी सरिता साहलाई गाउँबाट निस्किन कम्ती गाह्रो थिएन । सरिता साहको विद्रोहले आमा–बुवालाई पनि हैरान पारेको थियो । सरिता साहको कलाकार बन्ने कुराले उहाँहरुलाई सुरुमा निकै हैरान बनाएको थियो । छोरी बिग्रिने हो कि चिन्ता थियो । सरिता साहको बारेमा गाउँका मान्छेहरु पनि अनेक कुराहरु उहाँहरुलाई सुनाउँथ्यो त्यसले झन चिन्तित हुन्थे र सरिता कडा निगरानीमा पर्नु हुन्थ्यो ।
सरितालाई एसएलसी दिएपछि जनकपुर गएर पढ्नसम्म दिने सोच उहाँको आमा–बुवाको थिएन । छोरी जात धेरै पढ्नु हुँदैन । समान्य शिक्षा प्राप्त भयो अब विहे गरेर उसको घर पठाइ दिने सोचमा हुर्केका समाजले पनि सरितालाई जनकपुर गएर पढ्ने इजाजत दिइरहेको थिएन तर सरिता पनि कम्ती जिद्धी होइन, समाजवाट विद्रोह गरेर आमा–बुवालाई मनाउनु भयो र जनकपुर पुग्नुभयो ।
उच्च शिक्षाका लागि जनकपुर जानु भएको सरिता साह त्यहाँको स्थानीय रेडियो टुडे एफएममा काम गर्न थाल्नुभयो । उहाँले सानैदेखि एफएम तथा रेडियोहरु सुन्ने गर्नुहुन्थ्यो र एकदिन आफै पनि यसरी नै बोल्ने भनि कल्पना गर्नुहुन्थ्यो । र, त्यो कल्पना सकार हुँदैछ देखेर सरिता साह निकै रोमञ्चित हुनुहुन्थ्यो । रेडियोमा उहाँले स्थानीय समस्याहरूको विषयमा नाटकको माध्यमले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थाल्नु भएको थियो । जुन उहाँले सपना देखेकै विषय थियो ।
रेडिया नाटकमा प्रशंसा
रेडिया नाटकबाट उहाँले निकै प्रसंशा पाउनु भयो । र, त्यो प्रशंसाले उहाँलाई अझै अगाडि बढ्ने प्रेरणा दियो । सोही क्रममा उहाँले अर्को अवसर पनि पाउनु भयो । त्यतिबेला जनकपुरकै एकजना कलाकार रवीन्द्र झासँग उहाँको सम्पर्क भयो । रवीन्द झाले संगोर रेडियो नाटक बनाउने योजनामा हुनुहुन्थ्यो । त्यसका लागि उहाँ कलाकारको खोजीमा हुनुहुन्थ्यो । त्यसका लागि सरिता साह परफेक्ट लागेको थियो रवीन्द्र झालाई ।
रवीन्द्र झाले सरिता साहको नाटक रेडियामा सुन्नु भएको थियो । त्यसैका आधारमा सरितालाई फोन गरेर सम्पर्क गर्नुभएको थियो । सरिता साह संगोर नाटकका लागि छनौट हुनुभएको थियो । त्यो नाटकमा सरिता साहले दुई वर्षसम्म काम गर्नुभएको थियो ।
सरिताको पिडा
सरिता साहमाथि उहाँको आफ्नै घरबाट विभेद सुरु भएको थियो । उहाँ ६ दिदी बहिनी हुनुहुन्छ । उहाँको दाजु भाइ छैनन् । पितृसतात्मक समाजले छोरीहरुमाथि गर्ने व्यवहार सरिता साहले आफै भोग्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘घरमा सबैले खाई सकेपछि मात्र हामीलाई खान दिनुहुन्थ्यो, केटा मान्छेले खाइसकेपछि थालमा बँचेखुचेका हामीलाई खान दिनुहुन्थ्यो, जसको घरमा छोरा मान्छे हुन्थ्यो उसको घरमा चहल पहल बढी हुन्थ्यो हाम्रो घरमा त्यति चहल पहल हुँदैन्थ्यो ।’
बाल्यकालमा एकदिन सरिता साह जोडले हाँस्नुभयो । त्यसरी हाँसेको सुनेपछि घरका मान्छेले उहाँलाई निकै गाली गरेका थिए । ‘छोरीहरु घरमा यसरी हाँस्नु हुँदैन, बाहिरका मान्छेहरु राम्रो मान्दैन’ भनि सरिता साहलाई गाली गर्दै त्यतिबेला सम्झाइएको थियो । त्यसपछि उहाँ हाँस्नका लागि पनि सोच्नु पथ्र्यो उहाँ घरमा मात्र होइन, कतै बाहिर जाँदा पनि हाँस्नका लागि सोच्नै पथ्र्यो । त्यति मात्र होइन, पहिलो पटक उहाँले साइकल चलाउन खोज्दा उहाँको घरका मान्छेलाई थाह भयो । त्यसपछि उहाँलाई डोरीले बाँधेर घरमा उल्टो झुण्ड्याएर दण्ड दिएको थियो ।
अब आइन्दा साइकल नचलाउने कसम खाएपछि सरिता साहको डोरी खोलिएको थियो । सरिता साह भन्नुहुन्छ, ‘यो दोष मेरो परिवारको मात्र थिए, पुस्तौंपुस्तादेखि पुर्खाहरुले निर्माण गरेको समाजको थियो । र, त्यो समाजको विरुद्ध जाँदा यस्तै यस्तै दण्ड भोग्नुपथ्र्यों ।’ उहाँले अगाडि भन्नुभयो, ‘यतिसम्म कि हाम्रो आमा–बुवामाथि समाजले विभेदपूर्ण नजरले हेथ्र्यो, मानौ समाजका लागि छोरी अभिसाप नै थियो । कोही आफन्त हाम्रो घरमा आउँदा खाने कुरा कोसेली ल्याउँदा छोरा मान्छे हुने घरमा अलि बढी दिन्थे र हामीलाई एकदमै थोरै दिन्थे ।
यस्ता यस्ता विभेद म आफ्नै घरमा देखेको छु, अनुभव गरेको छु, त्यही भएर आज ती विषयवस्तुलाई नाटक, फिल्म, गीतहरुको माध्यमले उठाउन मन लाग्छ ।’
मधेशी समाज छोरीमान्छेका लागि खासै उदार छैन । छोरीले घरभित्रै गर्न सकिने कामहरू गर्नुपर्छ सकभर घर बाहिर निस्किनु हुँदैन भन्ने मान्यता अहिलेसम्म पनि मधेशी समाजमा पाइन्छ । छोरी, बुहारीलाई स्वतन्त्र भई बाहिर उसले रोजेको काम गर्न दिने सोचमा अझै विकास भएको छैन । मधेशी समाजमा अहिले पनि छोरीहरुलाई घरबाट निस्किन कम्ती गाह्रो छैन । त्यही कुराको छनक सरिता साहको चलचित्रहरु तथा गीतहरु, नाटकहरुमा पाइन्छ ।

तपाईको प्रतिक्रिया