Khadya Bibhag

नयाँ जातको फूल विकास

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पहिलो पटक १२ वर्ष लामो अनुसन्धानपछि नयाँ जातको फूल विकास गरेको छ । नार्कअन्तर्गतको कृषि अनुसन्धान निर्देशनालयको प्रस्तावमा ग्लाडियोलस (तरबारे) फूलका तीनवटा जातको विकास गरेको हो । लुम्ले ग्लाडियोलस–१, लुम्ले ग्लाडियोलस–२ र लुम्ले ग्लाडियोलस–३ नामले उन्मोचित भएका छन् ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख कालिकाप्रसाद उपाध्यायले १२ वर्ष लामो अनुसन्धानपछि गत वैशाख १८ गते राजपत्रमा प्रकाशित भएको जानकारी दिनुभयो । राजपत्रमा प्रकाशितपछि व्यावसायिक उत्पादनका लागि पठाएको उहाँले बताउनुभयो । उपाध्यायले उक्त जातहरू विकास गर्नमा निर्देशनालयका निवर्तमान निर्देशक एवं मुख्य वैज्ञानिक तुलबहादर पुुनले करिब १० वर्ष लगाएर अनुसन्धान गरेको र दुई वर्ष केही थप अनुसन्धान गरी त्यसलाई पूर्णता दिएको जानकारी दिनुभयो ।
उपाध्यायले सन् २०१० तिर विभिन्न स्रोतबाट तरबारे फूलका जातहरू सङ्कलन गरी तिनको क्रस गराई विभिन्न समयमा लुम्ले, दैलेख, पारिपात्ले, खुमलटार र मालेपाटनका फार्महरूमा कार्यरत अनुसन्धानकर्ताहरूको सहयोगमा तिनको परीक्षण गरी प्रमाणित गरेको बताउनुभयो । उपाध्यायले भन्नुभयो, ‘उक्त फूल प्रमाणित गर्न धेरै मेहनत गर्नुगरेको थियो । समय अभावका कारण उन्मोचन हुनुअघि नै सेवा निवृत्त भएपछि ती जातमा मलखादको मात्रा, रोग र कीराका तथ्यांक, आर्थिक लेखाजोखा, किसानका प्रतिक्रिया संकलन गरी बीउ वृद्धि गरी अनुसन्धान स्थलमा थप प्रमाणीकरणका काम पूरा गरी उन्मोचन गराउन सफल भएको हो ।’
अनुसन्धान कर्ता चन्द्रकान्त तिमिल्सनाका अनुसार यी जातका फूलको रंग आकर्षक, गाँज र गाना धेरै आउने, फूल टिपेपछि एक हप्ताभन्दा बढी राख्न सकिने, फूलका कोपिला क्रमिक रूपमा फर्किने, कम मलिलो जमिनमा पनि खेती गर्न सकिने र थोरै जमिनबाट धेरै आम्दानी लिन सकिने विशेषता छन् । ती जातहरूलाई आफ्नै जग्गामा परीक्षण गर्दाको अनुभव सुनाउँदै कास्की, लाहाचोकका किसान गणेश अधिकारीले भन्नुभयो, ‘उक्त जातहरूमा प्रतिडाँठ धेरै फूल लाग्ने हुनाले फूलका लामा र आकर्षक गुच्छा बनाउन यी फूल उपयोगी छन्, यिनको माग बजारमा बढ्ने सम्भावना पनि छ, तर यिनको प्रचारप्रसार, बीउ उत्पादन, फूल उत्पादक र बजारलाई जोड्न भने मेहनत गर्नुपर्नेछ ।’

तपाईको प्रतिक्रिया