‘नियमित दुध सेवन बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौं विश्व स्कूल दुध दिवस कविता प्रतियोगिता गराएर मनाइको छ ।
पशु सेवा विभाग, राष्ट्रिय दूग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डीडीसी), केन्द्रीय दुग्ध सहकारी संघ, एशोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नलिस्टस् (अनाज) लगायत संस्थाको सहकार्यमा नेपाल डेरी एशोसिएशनले असोज ९ गते दुध दिवसको अवसरमा विभिन्न १८ वटा विद्यालयका विद्यार्थीबीच कविता प्रतियोगिता गराएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुसालले देश मासुमा आत्मनिर्भर रहेको र दुधमा पनि आत्मनिर्भरतर्फ अगाडि बढिरहेको हुनाले अन्य खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । नेपालको कृषिमा निकै सम्भावना रहेको छ, तर वार्षिक साढे तीन खर्बको खाद्यान्न आयात हुने गरेको भन्नु हुँदै उहाँले आयात मात्र रोक्न सकियो भने कृषिले ठूलो फड्को मार्ने बताउनुभयो ।
कृषि क्षेत्रमा दुग्ध क्षेत्रको ठूलो भुमिका रहेको बताउँदै उहाँले यो क्षेत्रको विकासका लागि हरेक क्षेत्र लाग्नुपर्ने बताउनुभयो । दुध एक पौष्टिक आहार भएकोले बालबालिकाहरुको खानामा दुधको सेवन अनिवार्य गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सरोकारबालाहरु मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । दुध जतिको पौष्टिक तत्व अन्य खाद्यान्नमा एक साथ नपाउने भएकाले विद्यार्थीदेखि अन्यले पनि दुध सेवन अनिवार्य गर्नुपर्ने बताउँदै उहाँले खासगरि विद्यार्थीको सर्वाङ्गि विकासका लागि विद्यालयहरुले दुध सेवन कार्यक्रमहरु गरिरहनु पर्ने सुझाव दिनुभयो ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले दुधजन्य पदार्थमा नेपाल लगभग आत्मनिर्भर नै रहेको दावी गर्नुहुँदै छुर्पी, घिउलगायत अन्य दुधजन्य पदार्थ नेपालले निर्यात समेत गरिरहेको बताउनुभयो । दुध क्षेत्रलाई लम्पी स्किन र खोरेत रोगले प्रभावित पारेको उल्लेख गर्दै उहाँले अगामी वर्ष लम्पी स्किनले महामारीको रुप नलियोस् भनेर अहिलेदेखि तयारीमा लागेको धारणा राख्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सुर्य प्रसाद पौडेलले दुग्ध क्षेत्र एक संवेदनशिल क्षेत्र हो, यसको हितका लागि मन्त्रालय सँधै सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले नेपालमा प्रतिव्यक्ति दुग्ध खपत एकदमै कम रहेको बताउँदै प्रतिव्यक्ति दुध खपत बढाउनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले दुधको खपत बढाउनका लागि समाजिक संरचनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८७ लिटर मात्र सेवन हुने गरेको र अब यसलाई बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । डीडीसीका महाप्रबन्धक सञ्जिव झाले दुग्ध क्षेत्रको विकासमा डीडीसी सदैव तयार रहेको धारणा राख्नुभयो । दुध तथा दुग्धजन्य पदार्थको बारेमा विद्यार्थीले वाचन गरेको कविताको उहाँले प्र्रशंसा गर्नुभयो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विश्व स्कुल दुध दिवस सुरु गरेदेखि हालसम्म सबैको साथ र सहयोग पाएकोमा खुशी व्यक्त गर्नुभयो । अगामी दिनमा अझै व्यवस्थित तरिका र फरक ढंगले यो दिवस मनाउने उहाँले बताउनुभयो ।
सन् २००० देखि विश्वभर एकै पटक प्रत्येक सेप्टेम्बरको अन्तिम बुधवार यो दिवस मनाउँदै आएको हो । विश्वमा यो २३ औ दिवस हो भने नेपालमा नौ वर्षदेखिव यो दिवस मनाउँदै आएको हो ।
बुधवार सेप्टेम्बर २७ तारेखका दिन एशोसिएसनको सिन्धुली जिल्लाले विद्यालय स्थरीय वकृत्वकला प्रतियोगिता आयोजना गर्ने कार्यक्रम राखेको छ । कविता प्रतियोगितामा दिव्यज्ञान स्कुलका विद्यार्थी एलिसा बि.क प्रथम, सुर्योदय माविका विद्यार्थी प्रिन्सा कपाडी र सेन्ट जर्ज इन्टरनेशनल विद्यालयका विद्यार्थी सलिना कार्कीले तृतिय स्थान प्राप्त गरेका छन् । उहाँहरु सम्मानपत्र र नगदसहित पुरस्कृत गरेको छ ।
विश्व स्कूल दिवसको अवसरमा गोरखापत्रमा कृषि विषयमा लेख्दै आउनु भएका पत्रकार सुरेश कुमार यादवलाई सम्मान गरिएको छ ।
तपाईको प्रतिक्रिया