सिरहा औरही गाउँपालिका जमुवाका राजकुमार सिंह (लटल) ६ वर्षदेखि मओवादी नेताहरुको घरको चक्कर लगाई रहनु भएको छ । तर उहाँलाई कसैले सहयोग गरिरहनु भएको छैन । लटल पनि माओवादीका पुराना नेता हुनुहुन्छ तर माओवादीकै एक जना अर्को केन्द्रीय नेताले ६ वर्षअघि लिएको १६ लाख रुपियाँ बेइमानी गरेपछि उहाँ पिडामा पर्नु भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेशचन्द्र दास यादवले जमुवाका लटलसँग २०७४ चुनावका लागि भन्दै १६ लाख रुपियाँ लिनु भएको थियो तर अहिलेसम्म त्यो फिर्ता दिनुभएको छैन । अब त नेता यादवले आफूले लटलसँग कुनै रकम नलिएको दावी गरिरहनु भएको छ । कुरा २०७४ तिरको हो, लटलका ज्वाइ सतन सिंह (गोलबजार)ले जमिन खरिद गर्ने भनि एक एक गरि पैसा जम्मा गर्नुभएको थियो । जमुवामा भएपछि केही कृषियोग्य जमिन खरिद गर्ने भनि आफ्नो ससुरा लटललाई भन्नु भएको थियो ।
जमुवामा माओवादीका नेता सुरेशचन्द्र यादवका थुप्रै जमिन छन् । उहाँले पनि चुनाव लड्नका लागि केही जमिन बेच्छु भनि तयारी गरिरहनु भएको थियो । लटलले जमिन खोजिरहेको कुरा सुरेशचन्द्रले पनि थाह पाउनुभयो । त्यसपछि लटललाई बोलाएर भन्नुभएको थियो, ‘म चुनाव लड्दैछु मलाई पैसाको एकदमै आवश्यकता भयो, अहिले तपाईसँग भएको रुपियाँ मलाई दिनुस्, त्यसको बदलामा जग्गा दिन्छु, र त्यो जग्गा चुनाव सकिएपछि नामसारी गर्दिन्छु ।’
शुरुमा लटल सिंहले त्यो कुरा मान्न तयार हुनुभएन । नामसारी गरेपछि मात्र रुपियाँ दिन्छु भनि अडानमा बस्नुभयो । तर सुरेशचन्द्र दासले अहिले चुनावको समय छ, जग्गा नामसारी गराउन गाह्रो हुन्छ, चुनाव सकिने बित्तिकै जग्गा पास गराई दिने आश्वासन दिनुभयो । लटल पनि पार्टीकै मान्छे, जमुवामा सुरेशचन्द्र दासको खेत पनि अधियामा गर्दै आएको कारणले चुनावसम्मका लागि लिनुस् न भनि १६ लाख रकम दिनुभयो । त्यो रकमवापत जमुवामा उहाँका ज्वाई सतन सिंह सुरेशचन्द्र दासले दिनुभएको जमिनमा खेतीपाती गर्न थाल्नुभयो । तर चुनाव सकेपछि सुरेशचन्द्र दासले त्यो जमिनमा भाइहरुको बीचमा लफडा छ भनि फिर्ता लिएर लिनुभयो र जमिनवापत लिएको रुपियाँ नै फिर्ता दिने आश्वासन दिनुभएको थियो ।
तर समय बित्दै गए तर सुरेशचन्द्रले न त्यो रुपियाँ फिर्ता दिनुभयो न जमिन नै नामसारी गर्दिनुभयो । सुरेशचन्दै दास यादवसँग रुपियाँ फिर्ताका लागि निकै प्रयास गर्नुभयो लटल र सतन सिंहले । उहाँहरु निकै दौडधुप गर्नुभयो । निकै दुख गरि जम्मा गरेको रकम सुरेशचन्द्रले बेइमानी गरेपछि त्यही शोकमा एक महिनाअघि सनता सिंहको निधन भयो ।
लटलले सहारा टाइम्ससँग भन्नुभयो, ‘मैले त्यो रकम फिर्ता लिनका लागि धेरै ठाउँमा गुहारे, सैयौं पटक सुरेशचन्द्रलाई भेटे, पार्टीका हरेक नेतालाई भने तर कसैले पैसा दिलाई दिनुभएन । त्यही पिडामा मेरो ज्वाइको निधन पनि भयो तर अहिले आएर सुरेशचन्द्रले आफू कुनै पनि रकम नलिएको भनि दावी गरिरहनु भएको छ ।’
जब सुरेशचन्द्रले आफू तपाईहरुको रकम नलिएको भनेपछि ज्वाई सतन सिंह शोकमा पर्नुभयो र उहाँको निधन भएको लटलले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले सुरेशचन्द्रमाथि विश्वास गरे, उहाँ पार्टीको नेता हुनुको साथै हाम्रो मालिक पनि हुनुहुन्छ, यत्रो जायजथा छ के बेइमानी गर्नु होला भनि विश्वासले पैसा दिए चुनावको समय थियो मैले पनि कुनै कागजसागजको लफडामा नगइकन उहाँको जिरतिया रामअषिश यादवको रोहबरमा पैसा बुझाएको थिए तर आज उहाँ बेइमान हुनुभयो ।’
यस विषयमा सुरेशचन्द्र दास यादवसँग सम्पर्क गर्ने प्रयास सहारा टाइम्सले गर्यो । सम्पर्क गर्दा उहाँका छोरासँग कुराकानी भयो । उहाँका छोरा गौरव दास यादवले आश्चर्य मान्दै भन्नुभयो, ‘यो कुरा प्रथमपटक तपाईको मुखबाट सुन्दैछु, यो पुरै निराधार कुरा हो, बुवाले त्यस्तो कुनै रकम लटलसँग नलिएको दावी गर्नुभयो । यो राजनीतिक रुपमा कसैले अफवाह फैलाइएका होला यस्तो खालको रकमको लेनदेन कसैसँग नभएको दावी गौरवले गर्नुभयो ।
तपाईको प्रतिक्रिया