Khadya Bibhag

डाक्टर साहबको उल्टो बाटो (फरकमत)

–भोला यादव
कात्तिक १३ गते बाराको कलैयामा भएको गोली प्रहारबाट एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक एवं सञ्चालक रुपेश सर्राफको मृत्यु भयो । त्यसको विरोधमा जनमत पार्टीका नेता तथा कार्यकर्ताले बारामा जुलुस निकालेर प्रदर्शन गरे । दोषीलाई कारवाही हुनुपर्छ भनि माग राखे । जनमत पार्टीको यो आजको बानी होइन, सुरुदेखि यस्तै गर्दै आएको हो । कुनै कुरामा आफूलाई फ्रन्टमा देखाउनु जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको मात्र होइन, उहाँका पार्टीका कार्यकर्ता तथा नेतामा पनि त्यो आदत देखिन्छन् । राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ विकास निर्माण र समृद्धिका लागि न कि आन्दोलनका लागि ।
यो हत्या प्रकरणमा मात्र होइन, तराई मधेशमा हुने हरेक इसुमा जनमत पार्टीका कार्यकर्ताले नारा, जुलुस तथा प्रदर्शन गरेकै हुन्छन्, चाहे त्यो भ्रष्टाचारको विषय होस् या चाहे त्यो किसानले मल नपाएको विषय होस् वा किसानले भुक्तानी नपाएको विषय होस् वा नागरिकताको विषय किन नहोस् । हरेक कुरामा अगाडि नै हाम फाल्छन् जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु । तर आजसम्मको रेकर्ड छैनन् कि जनमत पार्टीले कुनै आन्दोलन वा संघर्षमा सफलता प्राप्त गरेको होस् । जनमत पार्टीको जन्म नै आन्दोलनबाट भएको हो तर आजसम्म कुनै आन्दोलन सफल भएको छैन ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत मधेश राजनीतिमा प्रवेश नै आन्दोलनबाट गर्नुभएको हो । नेपालबाट मधेशलाई अलग गरि छुट्टै देश बनाउने पृथकतावादी आन्दोलनबाट राजनीतिमा उहाँको प्रवेश भएको हो । मधेशलाई छुट्टै देश बनाउनका लागि सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमा थरीथरीका गतिविधि गरिरहनु भयो । ती सबै कुरा यहाँ यो छोटो लेखमा समावेश गर्ने सम्भव छैन । डाक्टर साहब उल्टो बाटो हिड्नुभयो । तपाई सबैबाट कुनै कुरा लुकेका छैनन् । नेपालमा जति पनि आन्दोलन भएका छन् ती सबै सफल भएका छन् ।
आफ्नो आन्दोलनबाट कुनै पनि दल पछाडि हटेका छैनन् । संघर्ष गरेर त्यसलाई कुनै कुनै रुपमा सफल पारेकै छन् । २००७ सालदेखि हालसम्म राजनीतिक दलले जुनसुकै आन्दोलन गर्दा त्यसलाई एउटा बिन्दुमा पुर्याएर छाडेका छन् । चाहे झापा आन्दोलन होस्, माओवादी आन्दोलन होस् या मधेश आन्दोलन होस्, थरुहट, आदिवासी जनजातिलगायतको आन्दोलन किन नहोस् एउटा बिन्दुमा गएर टुग्यांएका छन् । अरु दलहरु तलबाट माथि चढेका छन् तर जनमत पार्टी माथिबाट तल गरेको छ ।
नभए जनमत पार्टीबालाहरुले भन्दियोस् उनीहरुले कुन आन्दोलन सफल पारेका छन् वा कुनै बिन्दुमा गएर छाडेका छन् । छैन, त्यस्तो कुनै पनि आन्दोलन छैन । जनमत पार्टीका नेताहरुले कुनै इसु आउँदा त्यसको लागि अरु कुनै दल वा समूहले आन्दोलन नगरोस् भनेर आन्दोलनलाई आँधीको जस्तो उठाउँछन् तर केही समयपछि आफै विस्तारै सेलाउँदै जान्छन् । जनकपुरमा एउटा कर्मचारीलाई नाङ्गो बनाई, कालोमोसो दलेर भ्रष्टाचार विरुद्धको आन्दोलनको सुरुवात गरेको थियो । केही दिनसम्म त्यो आन्दोलनले निकै उचाई लियो तर के भ्रष्टाचार नियमन्त्रणमा १९ बाट २० भयो त ? भएन त्यो आन्दोलनले केही परिवर्तन भएन । सोही क्रममा जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको थियो । सिरहाको औरही गाउँपालिमा गहुँको बिउ किसानले आफ्नो नियन्त्रणमा लिएका थिए ।
त्यसमा जनमतका केही कार्यकर्तालाई धडपकड गरेपछि सुरु भएको आन्दोलन मधेश भर भएको थियो । तर के किसानले मल पाए त, के किसानले बिउ पाए त, के किसानले सिँचाइको सुविधा पाए त ? जनमत पार्टीले उठाएको कुनै पनि माग पुरा भएन । त्यो आन्दोलन पनि त्यतिकै सेलाएको थियो । यसरी विभिन्न बहानामा जनमत पार्टीले आन्दोलनको निरन्तरता दियो तर कुनै सफल भएन । हो, तर एउटा कुरा सत्य छ कि त्यो आन्दोलनको फाइदा जनमत पार्टीले चुनावमा लियो । सानो पार्टी भए पनि चुनावमा राम्रै परिणाम ल्याउन सफल भयो ।
त्यो आन्दोलनकै देन थियो । तर जनताले के पाए त ? जसको लागि आन्दोलन गर्यो, जेका लागि आन्दोलन गर्यो तीमध्ये जनमत पार्टीले केही प्राप्त गर्न सकेन ।
बारामा एक जना शिक्षकको हत्या हुँदा जनमतले बारामा प्रदर्शन गर्यो । त्यसले कसलाई फाइदा भयो ? के मधेशमा अपराध कम भयो त ? जनमत पार्टी केन्द्रदेखि प्रदेशसम्मको सरकारमा सहभागी छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत पनि प्रतिनिधि सभाका सदस्य हुनुहुन्छ । उहाँका दाजु जयकान्त राउत योजना आयोगका सदस्य हुनुहुन्छ । अर्थात जनमत पार्टी राज्यको नीति निर्माण तहमा पुगि सकेको छ । देशमा देखिएको बेथितीलाई नीतिगत रुपमा सुधार गर्नुपर्छ ।
देशलाई नियम कानुनमा बाँध्नुपर्छ । तर डाक्टर साहब सक्नु भएको छैन । सरकारमा पनि रहने र सरकार विरुद्धको आन्दोलन पनि गर्ने ? यो दोहोरो भूमिकालाई अहिले जनताले रुचाउँदैन । जनताले अब कुनै पनि आन्दोलनलाई रुचाउँदैनन् । उसले खोजेको विकास र समृद्धि हो, उसले खोजेको गाँस, बास र कपास हो । जो दिनका लागि जनमत पार्टी चुकि रहेको छ ।

तपाईको प्रतिक्रिया