Khadya Bibhag

आफ्नो लागि लड्दा लड्दै अरुको लागि आवाज बन्नुभयो किर्तिका

एउटा केटी जो पढाईमा अब्बल हुन्छ । पढाई सकाएर आफ्नो खुट्टामा उभिन उनी जागिरको खोजीमा हुन्छ । उच्च तहको सरकारी जागिर पनि उसले सहजै पाउँछन् । सोही क्रममा एउटा विदेशी केटोसँग उसको बिहे हुन्छ । खुशीसँग जीवन बिताउन थाल्छन् र केटीले एउटी बच्चीको जन्म दिन्छन् । त्यसबाट श्रीमान नाखुश भएर श्रीमतीलाई आडेर आफ्नो देश फर्किन्छन् । अब बच्ची सम्हाल्ने कि जागिर खाने, दोधारमा पर्छिन् उनी । अन्त्यमा बच्चीलाई सम्हाल्ने निर्णयमा पुग्छिन् र जागिर छाड्छिन् । घरमा बच्चीलाई सम्हाल्न थाल्थिन् । केही समयपछि उनका श्रीमान आउँछन् । पुनः खुशीका साथ बस्न थाल्छन् ।
श्रीमानले पनि आफ्नो बच्चीलाई माया गर्न थाल्छन् । केही समयपछि श्रीमानले आफ्ना बच्चीसहित श्रीमती (केटी)लाई लिएर आफ्नो देश फर्किन्छन् । केही दिनपछि त्यो परिवारका सदस्यबाट ती बुहारी (केटी)माथि हिंसा सुरु हुन्छ यहाँसम्म कि ज्यान लिने हमला पनि हुन्छ । आफ्नो ज्यान जोगाउन बच्चीलाई लिएर उनी घरबाट भाग्छन् र न्यायका लागि परिवारसँग उनले संघर्ष सुरु गर्छन् । आफ्नो लागि परिवारसँग संघर्ष गर्दा गर्दै उनले समाजका हरेक पिडित महिलाको लागि अवाज उठाउन थाल्छन् र उनी समाजका लागि एउटा आवाज बन्छन् ।
तपाईलाई यी सबै कुरा कुनै एउटा फिल्मको कथा जस्तो लाग्न सक्छ तर यो कुनै फिल्मको कथा होइन । मधेश प्रदेश धनुषा नगराइनका किर्तिका यादवको यो वास्तविक कथा हो । उहाँ अहिले पिडित महिलाहरुको आवाज बन्नुभएको छ ।
फैसला गर्ने तरिका
अहिले मधेशमा कुनै महिलामाथि अन्याय भयो भने पिडितहरु किर्तिकालाई सम्झिन्छन् । अहिले प्रहरी प्रशासनलाई खोज्न छाडेर किर्तिकालाई खोज्न थाल्छन् । महिला मात्र होइन, कतिपय पुरुष पनि श्रीमती वा छोरीमाथि भइरहेको अन्यायको बारेमा बोलि दिन आग्रह गर्न जान्छन् । कुनै महिलामाथि अन्याय भएको छ भने किर्तिका प्रहरी प्रशासन, अड्डा अदालतमा जानु हुन्न, पहिला उहाँले आफै आफ्नो तरिकाले त्यसलाई समाधान गर्ने प्रयास गर्नुहुन्छ ।

यो काममा उहाँ एक्लै हुनुहुन्न । महिलाको एउटा टिम छ । र, त्यो टिममा सबै पिडित महिलाहरु नै छन् । त्यसमध्ये कसैले न्याय पाएका छन् भने कसैले न्यायका लागि लडि रहेका छन् । ती पिडित महिलाहरुको टिमले समाजमा हुने महिलामाथिको अन्याय बारे अवाज उठाउँछन् । त्यसको अगुवाई किर्तिका यादवले गरिरहनु भएको छ । उहाँले आफ्नो टिमलाई सार्वजनिक गर्नुभएको छैन । भूमिगत शैलीमा उहाँले काम गरिरहनु भएको छ । देखाउनका लागिथ दुई तीन जनालाई देखाउनु हुन्छ तर भित्रभित्रै ठूलो टिम उहाँले तयार गर्दै हुनुहुन्छ । आवश्यक पर्यो भने हतियार पनि उठाउन सकिने आँटका साथ किर्तिकाको टिम तयार हुँदैछ ।
किर्तिका भन्नुहुन्छ, ‘नेपालको प्रहरी प्रशासन, अड्डा अदालत यहाँको सिस्टममाथि हामीलाई विश्वास छैन, हामीसँग रहेका कतिपय महिलालाई त्यही प्रहरीले शोषण गरेका छन्, त्यही अदालतका न्यायधिश र कर्मचारी, राजनीतिक दलका नेताहरुले शोषण गरेका छन् उनीहरुले कतिपयलाई आत्महत्या गर्न बाध्य पारेका छन्, त्यसलै त्यो सिस्टममाथि हामीलाई विश्वास छैन । न्यायका लागि दबाव बढाउने र जहाँ गलत भएका छन् त्यही समाधानका लागि पहल गर्ने हाम्रो फैसला गर्ने तरिका हो ।’
पीडित महिलाको अबाज
आरती, सुधिरा, मनिषा, बिनु, काजल, नेहा, आरती गिरी, निहारिका, विरेन्द्र, अनितालगायतको अवाज बन्नुभएको छ उहाँ । उहाँहरु एक अर्काका लागि हातोमालो गरि लडि रहनु भएको छ । उहाँ आफ्नो परिवारबाट न्याय पाउनका लागि संघर्षरत छदैं हुनुहुन्छ तर मधेशमा पिडित रहेका अन्य महिलाका लागि लडाई गरिरहनु भएको छ । किर्तिका भन्नुहुन्छ, ‘अब मेरो परिवारसँगको लडाई समाजको लडाई भएको छ, म अब परिवारभन्दा पनि देशको सिस्टमसँग लडिरहेको छु, पीडित महिलाको अबाज बन्ने कोशिसमा छु, मसँग थुप्रै महिलाहरु अपेक्षा गरेका छन् ।’
किर्तिकाको मोबाइलमा दिनमा कम्तीमा चार पाँच जना पिडित महिलाहरुको फोन आइ नै रहेका हुन्छन् । अन्य फोनहरु कति आउँछन् कति । जनकपुर पुग्दा किर्तिकाको डेरामा पीडितहरुको भिड नै हुन्छन् । मधेशमा महिलाहरुमाथि कसरी हिंसा भएका छन्, मधेशका महिलाहरु आफ्नै परिवारबाट कसरी पिडित बनेका छन् त्यो अहिले भन्न साध्य छैनन्, उहाँले भन्नुभयो, ‘अधिकाँश महिलाहरु छोरीलाई जन्म दिएको कारण पीडित छन् भने अन्य महिलाहरु दहेजका कारण भने कोही बोक्सी कारण पंीडित बनेका छन् ।’
बच्चालाई जन्म नदिँदा पनि आफ्नो परिवारबाट पिडित भएका महिलाको सँख्या पनि धेरै छन् । कुनै महिलाले बच्चाको जन्म दिनसक्दैन भने परिवारबाटै हिंसाको शिकार भएका हुन्छन् । कुटपिटका साथै हत्यासम्म गरेको घटनाहरु पनि धेरै छन्, किर्तिका भन्नुहुन्छ, ‘मधेशी समाजमा यस्तो घटना घरघर भेटिन्छन्, कतिपयलाई दवाइन्छ भने कतिपय बाहिर आउँछन् बाहिर आएका कतिपय घटनालाई ढाकछोप हुने काम पनि हुन्छ ।’
बिनु यादव जसले प्रेम विवाह गर्नुभएको थियो, तर परिवारबाट नै उहाँ बलत्कृत हुनुपर्यो । न्यायका लागि अदालत जाँदा त्यहाँ पनि दुरव्यवहार भयो । यहाँसम्म कि विष सेवन गर्नेसम्मको अवस्था सृजना भएको थियो, त्यो किन भयो राज्यको सिस्टमका कारण । निहारिकाले पनि एक जना केटासँग प्रेम गर्नुभएको थियो । एउटा बच्ची पनि भएको थियो तर समाजले त्यसलाई स्विकार गर्न नचाहेपछि कत्रो संघर्ष गर्नुपरेको छ त्यो कसैसँग लुकेको छैन । आरती साह जसलाई दहेजका कारण उसको परिवारले हत्या गर्दियो, प्रहरी तथा जनकपुरका स्थानीय नेताहरुले त्यो घटनालाई ढाकछोप गर्न थालेपछि आरतीका आमा–बुवा, बहिनी र भाइ चार महिनादेखि माइतीघरमा अनसन बसेका छन् ।
धनुषा नगराइनकै एउटा जोगीले एउटा महिलालाई आफ्नो निवासमा राखेर महिनौसम्म यौन शोषण गरे । पछि ती घटनालाई त्यहाँका नेताहरुले ढाकछोप गरे । अहिले ती जोगी खुल्ला रुपमा घुमफिर गरिरहेका छन् । सुधिरा जसले एउटा केटासँग प्रेम गरे, यो कुरा घरमा उहाँका आमा–बुवाले थाह पाएपछि घरबाट निकालि दिए । सुधिरा अहिले बेघर हुनुभएको छ । यी सबैका लागि हामीले लड्नुपरेको छ, किर्तिकाले भन्नुभयो, ‘महिलाको न्यायका लागि लामो लडाई लड्ने सोच बनाएका छौं ।’
प्रहरी महिला सेल र महिला आयोग
यो देशमा प्रहरी महिला सेल र महिला आयोगको काम नै छैन । धेरै महिलाहरु यिनै निकायबाट पिडित बनेका छन्, किर्तिका भन्नुहुन्छ, ‘आरती साहका आमा–बुवा महिला आयोगमा पटक पटक जानु भएको छ, त्यहाँ न्याय दिनु कहाँ हो कहाँ आयोगका सदस्यहरुले भेट्न पनि चाहेका छैनन् ।’ किर्तिकाले आफ्नो घटनामा पनि पटक पटक महिला आयोग जानु भएको छ, र परिवारका सदस्यलाई बोलाएर वार्ता गराई दिन भन्नुभएको छ तर आयोगले त्यति पनि गर्न सकेको छैन ।
किर्तिकाले एकपटक आफ्नो श्रीमानलाई बोलाएर आफूहरुको बीचमा कुरा गराई दिनुस् केस आफै सोल्भ हुन्छ भनि पटक पटक आयोगसँग आग्रह गर्नुभयो तर आयोगले कुनै ध्यान दिएन ।
आफूसँग प्रमाणका रुपमा रहेका भ्वाइस कल रेकर्ड, भिडियो आयोगका एक जना सदस्यलाई किर्तिकाले दिनुभएको थियो । तर आयोगका ती सदस्यले न्याय दिलाउनुको सट्टा किर्तिकाको विपक्षी र जनकपुरका केही नेताहरुलाई ती प्रमाण पठाई दिएका थिए । किर्तिका भन्नुहुन्छ, ‘यसरी आयोगबाट न्यायका लागि कसरी अपेक्षा गर्न सकिन्छ, एकपटक एक जना पिडित महिलालाई आयोगमा छलफलका लागि बोलाइएको थियो तर त्यहाँ यस्तो अवस्था सृजना भयो कि ती महिलालाई आत्महत्या गर्न बाध्य पारिएको थियो, त्यो दिन हामी समयमा नपुगेको भए त्यो महिलाले आत्महत्या गर्नुहुन्थ्यो ।’
प्रहरी महिला सेलमा आफूमाथि नै कतियौंपटक दुरव्यवहार भएको सुनाउनु हुन्छ किर्तिका । महिला प्रहरीबाट समेत गाली गलौज र कुटपिट हुने गरेको उहाँ बताउनुहुन्छ । पिडित महिलाहरु न्यायका लागि प्रहरीमा जाँदा त्यहाँका प्रहरीहरुले ती महिलालाई गरेको यौन शोषणका घटनाहरु पनि आफूहरुसँग आएको उहाँ बताउनु हुन्छ ।
काँग्रेस पार्टी धनुषाका नेता एवं मधेश प्रदेशका मन्त्री रामसरोज यादवले आफ्ना गुण्डाहरु राती राती मलाई धम्काउनका लागि मेरो कोठामा पठाउनु हुन्थ्यो, कहिले १० बजे त कहिले राती १२ बजे कोठामा पठाउनु हुन्थ्यो, किर्तिकाले भन्नुभयो, ‘उहाँहरु कोठामा पसेर मलाई मानसिक टर्चर दिनुहुन्थ्यो, गाली गलौज गर्नुहुन्थ्यो दुरव्यवहार गर्ने कोशिस गर्नुहुन्थ्यो यही कुरा भन्नका लागि मैले एक दिन आफ्नो टिम लिएर मन्त्री रामसरोजलाई भेट्न जाँदा उहाँले त्यो कोठामा उहाँहरुलाई मैले नै जान भनेको हुँ जान्छन् के गर्नुहुन्छ, त्यो कोठा उहाँहरुको पनि हो भनि गैरजिम्मेवार प्रतिकृया दिनुभएको थियो ।’
यति मात्र होइन, किर्तिका घटनामा प्रहरीलाई पनि मन्त्री रामसरोजले फोन गर्नुहुन्थ्यो । यी सबै कुरा किर्तिकाले राख्दा रामसरोजले स्विकार गरेको भिडियो पनि सार्वजनिक भएको छ । त्यही दिन किर्तिकाका टिमले मन्त्री रामसरोजलाई घरबाट बाहिर निकाले कुटपिट पनि गरेको थियो ।

किर्तिका भन्नुहुन्छ, ‘राजनीतिक दलका प्रायः हरेक साना ठूला नेताहरु महिलालाई शोषण गर्छन्, आफ्ना पक्षका व्यक्तिलाई बचाउनका लागि जस्तोसुकै हद पार गर्न तयार हुन्छन् ।’
को हुन् किर्तिका ?
बुवा बद्रीनाथ सिंह यादव र आमा आरती यादवका कान्छी छोरी किर्तिका यादव भारत उत्तर प्रदेश वणारसका हुनुहुन्छ । दाइ विवेक यादव, दिदी डा.रिना यादव र सोनु यादव हुनुहुन्छ । जेठी दिदी डा.रिना यादवको विवाह पनि नेपालमै भएको छ । डा.रिना यादव हाल एमाले पार्टीमा आवद्ध हुनुहुन्छ । २०७४ मा उहाँ मधेश प्रदेशको प्रदेश सभाका सांसद पनि हुनुभएको थियो । किर्तिका यादवको जीवनमा डा.रिनाको ठूलो योगदान रहेको छ ।
वणारसको एक स्कुलबाट आठ कक्षासम्म पढ्नु भएका किर्तिका सम्वीम एकेडेमी वणारसबाट प्लस टु पास गर्नुभएको छ । आइएचएम वणारसीबाट होटेल म्यानेजमेन्टमा ब्याचलर गर्नुभएका उहाँले कानपुरको हारकोर्ट बटलर कलेजबाट एमबीए गर्नुभयो । एमबीएमा उहाँले मार्केटिङ हुमेन रिसोर्स अध्ययन गर्नुभएको छ ।
सन् २०१५ मा एमबीए सकाउने बित्तिकै उहाँले ताज होटलमा काम गर्नुभयो । त्यहाँ काम गरिरहेकै बेला भारतको पर्यटन मन्त्रालयमा मार्केटिङ अफिसरका लागि विज्ञापन निस्केको थियो । त्यसमा पनि उहाँले फर्म भर्नुभयो । जागिरका लागि दिनुभएको सबै परीक्षा उहाँले पास गर्नुभयो । सन् २०१६ देखि उहाँले ताजको जागिर छाडेर भारतको पर्यटन मन्त्रालयमा काम गर्न थाल्नुभयो ।
विवाह
त्यही बीचमा उहाँको विवाह भयो । नेपालको मधेश प्रदेशका धनुषाका राजु यादव जो दिल्लीको प्राइभेटक कम्पनीमा जागिरे हुनुहुन्थ्यो । उहाँ इन्जिनियर हुनुहुन्छ । डा.रिना यादवको देवर अजय यादव र राजु यादवको बीचमा चिनजान थियो । राजुले विवाहका लागि केटी खोजी रहनु भएको थियो । त्यही बेला अजयले भन्नु भएको थियो, ‘मेरो भाउजुको बहिनी हुनुहुन्छ, राम्री छिन् यही दिल्लीमा जब गरिरहनु भएको छ, तपाईका लागि ठिकै हुन्छ भन्नुभएको थियो ।’
राजु पनि विवाहका लागि इच्छा देखाउनु भयो । कुरा दुवै जनाको घरसम्म पुग्यो । किर्तिकाका आमा बुवाले पनि त्यस्तै केटा खोजिरहनु भएको थियो । किर्तिकाका आमा–बुवालाई राजु मन परेको थियो । राजुका आमा–बुवाले किर्तिकालाई पटक पटक हेरेर फाइनल गर्नुभएको थियो । राजु र किर्तिकाका बिहे भयो ।
बिहेपछि जीवन निकै खुशीका साथ बितिरहेको थियो । किर्तिकाले त्यही बीचमा एउटा छोरीको जन्म दिनुभयो । छोरी जन्मेपछि राजुको मन खिन्न भयो र किर्तिकालाई सत्केरी अवस्थामा नै छाडेर आफ्नो घर नेपाल फर्किनुभयो । हेरचाह र माया गर्ने श्रीमान छाडेर गएपछि किर्तिकालाई निकै अप्ठ्यारो भएको थियो । दिल्लीस्थित नोएडा घरमा कोही थिएन ।
छोरी सम्हाल्ने कि जागिर गर्ने, उहाँ अप्ठ्यारोमा पर्नुभयो । किर्तिका बसेको ठाउँदेखि गाडीबाट अफिसको दुरी अढाई घण्टाको थियो । सधै आउजाउ गर्न उहाँलाई गाह्रो थियो । घरमा छोरी हेर्ने कोही भइदिएको भए अलि सजिलो हुन्थ्यो तर चार महिनाको छोरीलाई लिएर जागिरलाई निरन्तरता दिन सक्नुभएन ।
उहाँले अन्त्यमा जागिर छाडेर छोरीको हेरचाह र स्यहार सुसार गर्न थाल्नुभयो । किर्तिकाले जागिर छाडेर घर बस्न थालेको केही दिनपछि राजु पनि दिल्ली फर्किनुभयो । किर्तिका र छोरीसँग खुशी खुशी दिन बिताउन थाल्नुभयो । राजु र किर्तिकाको जीवना ठिकठाक चलिरहेको थियो । किर्तिका पनि छोरी र श्रीमान साथ पाएर निकै खुशी हुनुहुन्थ्यो, जागिर छाडेकोमा उहाँलाई कुनै चिन्ता थिएन । छोरी अलि ठूली भएपछि जागिरमा जाने सोच बनाउनु भएको थियो र श्रीमान पनि त्यही चाहनु भएको छ ।
जनकपुर फर्के
त्यही बेला सन् २०२० मा कोरोनाको लहर सुरु भयो । उहाँहरु कसो कसो गरी दिल्लीबाट नेपालको जनकपुर फर्किनुभयो । जनकपुरमा बस्न थाले पनि किर्तिका र उहाँका बच्चामाथि कसैले ध्यान दिइरहेका थिएनन् । किर्तिकाले छोरी जन्माएको कारणले घरमा कोही पनि खुश थिएनन् ।

किर्तिकाबाट सबै जना अलग–थलग बस्ने थालेका थिए । यहाँसम्म कि श्रीमान राजु पनि किर्तिकाबाट विस्तारै विस्तरै दुरी बढाउन थाल्नुभयो । किर्तिका अनुसार राजु आफ्नो आमाको कुरा बढी सुन्नु हुन्थ्यो, उहाँले भनेको कुरा मात्र मान्नु हुन्थ्यो ।
किर्तिका भन्नुहुन्छ, ‘उहाँहरुले ममाथि जेजस्तो व्यवहार गरेपनि एउटा बुहारीले घरमा कस्तो कर्तव्य निर्वाह गर्नुपर्छ ती सबै कर्तव्य निर्वाह गरे ।’ कोरोना नियन्त्रण भएपछि किर्तिका श्रीमान जागिरका लागि दिल्ली फर्किनुभयो ।
यता, राजुका आमा बुवाले इण्डियन सर्टिफिकेटलाई इकोभ्यालेन्ट गराउन किर्तिकालाई काठमाडौँ पठाउनुभयो । सर्टिफिकेट इकोभ्यालेन्ट गरेपछि नेपालमा पनि केही गर्न सकिन्छ भन्दै किर्तिकालाई काठमाडौँ पठाउनु भएको थियो । तर काठमाडौँ जानका लागि कसैले एक रुपियाँ दिएनन् ।
उहाँले आफ्नो दिदीलाई भनेर प्लेनको टिकट काटेर काठमाडौँ जानुभएको थियो । त्यतिबेला उहाँले आफ्नो छोरीलाई सासु आमा कहाँ छाडेर काठमाडौँ जानुभएको थियो ।
काठमाडौँ आएर दिदी रिना यादवको घरमा बस्नुभयो । तर काठमाडौँमा निकै खर्च भइहरेको कारण पैसाको अभाव किर्तिकालाई भयो । फेरि इकोभ्यालेन्ट गराउन पनि पैसा लाग्ने भएकाले उहाँले आफ्नो ससुरबुवासँग पैसा माग्नुभयो । किर्तिकालाई तत्काल १५–२० हजार रुपियाँ चाहिएको थियो । त्यति रकम दिन उहाँका ससुरबुवा इन्कार गर्नुभयो ।
दिल्लीमा रहनु भएको आफ्नो श्रीमान राजुसँग पनि उहाँले पैसा माग्नुभयो । तर उहाँले पैसा दिनु कता हो कता उल्टै जथाभावी कुरा भन्दै किर्तिकाका बुवालाई फोन गरेर विभिन्न कुरा लगाउनुभयो । जसोतसो उहाँका ससुरबुवाले पाँच हजार रुपियाँ पठाई दिनुभएको थियो । तर किर्तिकालाई अझै १० हजार रुपियाँ चाहिएको थियो । फेरि ससुरबुवालाई नै फोन गर्नुभयो ।
उहाँका ससुरबुवाले फोन रेकर्डमा राखेर जथाभावी बोल्न थाल्नुभयो । गलत देखाउने गरि कुराकानी गर्न थालेपछि किर्तिकाले त्यो कुरा थाह पाउनुभयो र फोन काट्नुभएको थियो । घरका सबै मान्छेले किर्तिकाको फोन ब्लक गर्नुभएको थियो । कसैसँग सम्पर्क भइरहेको थिएन । किर्तिका काठमाडौँमा छोरीका लागि छटपटिनु भएको थियो ।
छोरीको चिन्ता लागेपछि उहाँले फेरि आफ्नो दिदी रिनासँग पैसा मागेर टिकट काटी जनकपुर फर्किनु भएको थियो । काठमाडौँ फर्केर एकै पटक छोरी पढ्ने स्कूल जानुभयो । छोरीलाई लिएर आफ्नो घर नगइ दिदी रिनाको घरमा जानुभयो । यसरी घरमा कसैलाई जानकारी नदिइकन छोरीलाई लिएर दिदी घर गएपनि सासु ससुराले छोरीको बारेमा कसैले सोधखोज गर्न नआएको कारणले पनि आफू त्यो घरमा असुरक्षित रहेको कुरा महसुस भएको उहाँले बताउनुभयो ।
त्यही भएर भोलीपल्ट किर्तिकालाई आफ्नै घरमा जान डर लाग्न थाल्यो । घरमा गएपछि सासु आमा र ससुर बुवा तथा श्रीमानले मिलेर केही गर्दिनु हुन्छ कि भनि उहाँलाई शंका थियो । एक्लै जान हिम्मत नै भएन उहाँलाई । त्यतिबेला केही राजनीतिक काम परेर डा.रिना यादव पनि व्यस्त हुनुभएको थियो ।
अन्त्यमा एक जना छिमेकीलाई लिएर घरमा जानुभयो । घरमा छिर्ने बित्तिकै उहाँका ससुरबुवाले धाका मारेर बाहिर निकाल्ने प्रयास गर्नुभयो । उहाँले किर्तिकासँग दहेजको कुरा गर्न थाल्नुभयो । त्यसपछि उहाँको सासु आमा, नन्द पनि आउनुभयो । किर्तिका भन्नुहुन्छ, ‘उहाँहरु आइसकेपछि सबैजना ममाथि जाइ लाग्नुभयो, मलाई घर छाडेर जान भन्न थाल्नुभयो ।

किर्तिकाले आफू बिहे गरेर आएको कारण कुनै पनि हालतमा यो घर छाडेर नजाने अडानमा बस्नुभयो । त्यसपछि उहाँहरुले किर्तिकामाथि हमला गर्ने प्रयास गर्नुभयो । किर्तिकाले भन्नुभयो, ‘सासु र ससुराले आफ्नो लुगा आफै च्यात्नुभयो र कराउन थाल्नुभयो र चक्कु लिएर मलाई हान्न आउन लाग्नुभयो त्यसपछि मलाई डर भयो र म त्यहाँबाट निस्के, यदि म ननिस्केको भए कुनै ठूलो दुर्घटना हुन्थ्यो ।’
उहाँ भागेर बाहिर निस्केर आफ्नो दिदी रिनालाई फोन गर्नुभयो । उहाँको दिदी तुरुन्तै आउनुभयो । अरु मान्छेहरु पनि त्यहाँ जम्मा भएका थिए । रिनाले किर्तिकालाई लिएर प्रहरीमा जानुभयो । प्रहरीमा जाने बित्तिकै काँग्रेसका नेता रामसरोज यादवको फोन आयो । प्रहरीलाई कुनै पनि एक्सन नलिन रामसरोजले दबाव दिएको किर्तिकाले बताउनुभयो । त्यसपछि प्रहरीले त्यहाँबाट किर्तिकालाई महिला सेलमा पठाई दियो । महिला सेलमा जाँदा पनि रामसरोजले त्यहाँका प्रहरीलाई फोन गरि दिएपछि त्यहाँ उल्टै किर्तिकामाथि दुरव्यवहार भयो ।
श्रीमान राजुले उल्टै किर्तिकामाथि अदालतमाथि डिभोर्सको मुद्दा दायर गर्नुभएको थियो । तर किर्तिकाले डिभोर्स चाहनु भएको थिएन । त्यही घरमा बस्न चाहनु भएको थियो । तर उहाँका श्रीमान, सासु र ससुर बुवाले अनेक आरोप उहाँलाई लगाउनु भएको थियो । चरित्रमाथि पनि प्रश्न उठाउनु भएको थियो ।
त्यसपछि बाध्य भएर आफूले अंकको माग गर्दैै जिल्ला अदालतमा मुद्दा दायर गरेको उहाँले बताउनुभयो । त्यस अवस्थामा पनि एकपटक उहाँले आफ्नो श्रीमानसँग कुरा गर्न चाहनु भएको थियो तर उहाँका सासु आमाले गर्न दिइरहनु भएको थिएन । घरमा हुँदा पनि बोल्न दिइरहनु भएको थिएन । किर्तिका भन्नुहुन्छ, ‘एकपटक पनि मेरो श्रीमानसँग कुरा गर्न दिएको भए म सबै कुरा मिलाउँथे जस्तो लाग्छ तर सासुआमाले बोल्न नै दिनुभएन । प्रहरीलाई पनि आग्रह गरे, त्यो पनि सक्नु भएन महिला आयोग, महिला सेल सबै ठाउँमा आग्रह गरे तर कसैले पनि श्रीमानसँग कुरा गराउन सकेन ।’
पछि रामसरोजले आफ्नो गुण्डा किर्तिका बस्ने कोठामा रातीराती पठाएर टर्चर दिन लगाउनु हुन्थ्यो । किर्तिकाले भन्नुभयो, ‘म आफ्नो श्रीमानकै घरमा छोरीका साथ एउटा कोठामा बस्थे तर पछि रामसरोजले आफ्ना गुण्डाहरुलाई पठाएर मलाई दुख दिन थालेपछि बाध्य भएर त्यो घर छाडेर निस्केको थिए ।’
अदालत, प्रहरी चौकी, मानव अधिकार आयोग जस्ता विभिन्न ठाउँको चक्कर उहाँले लगाई रहनु भएको थियो । त्यही बेला निहारिकाको घटना निकै चर्चामा थियो । काठमाडौँदेखि जनकपुरसम्म निहारिकाले आफ्नो अधिकारका लागि एक्लै लडि रहनु भएको थियो । त्यसबाट प्रभावित भएर उहाँले पनि हिम्मत हार्नुभएन र अन्तिमसम्म लड्ने अठोट लिनुभएको थियो ।
र, उहाँले आफ्नो लागि लड्नुको साथै निहारिकाको आन्दोलनलाई सघाउ थाल्नुभयो । आफ्नो लागि पनि लड्न थाल्नुभयो । यसरी निहारिका, बिनुलगायत थुप्रै पिडितहरुसँग उहाँको सम्पर्क भयो । ती सम्पर्क प्रहरी तथा अदालत आउजाउ गर्दा भएको थियो । त्यसपछि किर्तिका आफ्नो लागि भन्दा बढी अरुका लागि लड्न थाल्नुभयो । सर्वोच्च अदालतको अगाडि अरुकै लागि धेरै पटक प्रदर्शन गर्नुभयो । त्यो क्रममा थुप्रैपटक गिरफ्तार पनि हुनुभयो ।
काठमाडौँमा पहाडी पिडितका लागि बोल्ने धेरै हुन्थ्यो तर मधेशी पिडित महिलाको बारेमा बोल्ने कोही नभएपछि उहाँले उनीहरुको आवाज बन्नुभयो । पिडित महिलाहरुको सहयोगी बन्नुभयो । उहाँहरुको लागि कानुनी लडाई लड्नुको साथै समाजिक लडाई पनि लड्न थाल्नुभयो ।
उहाँले छुट्टै समूह बनाएर राज्यसँग लडाई लडिरहनु भएको छ । यस लडाईमा उहाँका आमा–बुवाको पनि सहयोग रहेको छ । किर्तिका भन्नुहुन्छ, ‘मेरो आमाबुवालाई ममाथि विश्वास छ, म जे गरिरहेको छु समाजका लागि गरिरहेको छु त्यसमा मेरो बुवा विश्वस्त हुनुहुन्छ र नैतिक सपोर्ट गर्नुभएको छ ।’

तपाईको प्रतिक्रिया