Khadya Bibhag

मुस्लिमहरु नागरिकताधारी नागरिक मात्र हुन्

–विनय यादव
देशमा यतिखेर हिन्दु–मुस्लिम समुदायबीच द्वन्द छ । केही दिनदेखि शान्त छ तर चुप छैन । कुनैबेला त्यो ज्वाला जस्तो विस्फोट हुनसक्छ । तराई मधेशका कुनै पनि जिल्ला बाँकी छैन जहाँ हिन्दु, मुस्लिमबीच झडप नभएको होस् । हिन्दु राष्ट्र निर्माण तथा हिन्दु धर्मको संरक्षणका लागि यतिखेर तराई मधेशमा विभिन्न संघ संगठनहरु सक्रिय छन् । त्यसमध्येको एक हो राष्ट्रिय एकता अभियान । राष्ट्रिय एकता अभियानले संघीय गणतान्त्रिक हिन्दु राष्ट्र निर्माणका लािग अभियान चलाइ रहेको छ । मुस्लिम तथा चीनको विरुद्धमा अलि कडा रुपमा प्रस्तुत हुँदै आएको अभियानले मेची–महाकाली यात्राको तयारी थालेको छ । निकट भविष्यमै अभियानलाई राजनीतिक पार्टीमा रुपान्तरण गर्ने तयारीमा लागेका अभियानका संयोजक विनय यादवसँग हिन्दु–मुस्लिमसँग झगडा, चीनको गतिविधि, मेची–महाकाली यात्रालगायतका विषयमा सहारा टाइम्सका लािग गरिएको कुराकानीको सम्पादीत अंशः
तपाई हिन्दु राष्ट्र निर्माण तथा संरक्षणका लागि अभियान चलाई रहनु भएको छ तर पछिल्लो समय हिन्दु र मुस्लिमबीच द्वन्द बढेका छन् किन त्यस्तो ?
–यो नेपाल देव भूमी हो । यो जानकी माताको देश हो । बुद्धको देश हो । बराहको देश हो । मुक्तिनाथ, पशुपतीनाथ, सगरमाथाको देश हो । नेपाल दुनियाँको एक मात्र हिन्दु देश हो । २०६२–६३ को जनआन्दोलनको एजेण्डा धर्मनिरपेक्ष थिएन । तर त्यो बेलाको तत्कालिन शाही सरकारले आफ्नो पकेटको हिन्दु संगठनलाई प्रयोग गरेर आफूलाई विष्णु अवतार भनेर महिमामन्डन गर्न लगाए । आफ्नो खुट्टा धुन लगाएर त्यसलाई चरणाअमृत भनेर पिउन लगाए । राजनीतिक दलको इसारामा विदेशीहरु आए । यी दुवैको समिश्रणले देश धर्मनिरपेक्ष भयो । धर्मनिरपेक्ष हुँदा पनि खासै फरक थिएन । हिन्दु धर्मभन्दा दुनियाँमा अरु कुनै धर्मनिरपेक्ष छदैछैन । हिन्दु नै यस्तो धर्म हो जसले कसैलाई निषेध गर्दैन । इसाइको धर्मलाई हेर्नुहुन्छ भने त्यसको बाइबलले अरु धर्मलाई स्विकार गर्दैनन्, अरुलाई स्विकार गर्ने विचार छैन । इस्लाम धर्मले पनि अरुको अस्तित्वलाई स्विकार गरेको छैन । तर हिन्दुले सबैलाई स्विकार गरेको छ । धर्मनिरपेक्षताको नाममा यो देशका नेताहरु हिन्दुलाई समाप्त पार्ने चलखेलमा लागेका छन् ।
इस्लाम र इसाई धर्मले जसरी अरुलाई स्विकार गर्दैनन्, त्यसरी नै कम्युनिष्टहरुले अरुलाई स्विकार गर्दैन । यी तीनटैले अरुको अस्तित्वलाई स्विकार गरेका छैनन् । धर्मनिरपेक्षताको नाममा इसाइहरुले पिता प्रमेश्वरको नाम लिएर चर्चहरु विस्तार गर्न थाले, इस्लामहरुले धर्मको नाममा जिहादीहरु तयार गर्न थाले भने कम्युनिष्टहरुले नेपालमा चिनियाँ विस्तारवादलाई ठाउँ दिए । र त्यसपछिको दिनमा हिन्दुमाथि प्रहार सुरु भएको हो । विदेशबाट मुस्लिम मौलानाहरु आएर जिहादीको प्रशिक्षण दिइरहेका छन् । तराई मधेशमा हिन्दुले कुनै पुजापाठ गरिरहेका छन् भने त्यहाँ मुस्लिमहरुले भाँड्ने काम गरिरहेका छन् । हुलदङ्गाको काम गरिरहेका हुन्छन् । छठ पुजा लिएर विवाद हुँदा राधेश्याम पटेलको हत्या मुस्लिम समुदायबाट भएको थियो । सुनसरीमा अष्टाम भाँड्ने काम गर्यो, धनुषा, महोत्तरी, सर्लाही, सिरहाहरुमा पनि त्यस्तै त्यस्तै क्रियाकलाप मुस्लिमबाट भएको हो । विदेशी मौलानाहरु तराई मधेशमा रहेका मुस्लिमलाई प्रशिक्षण दिन थालेपछि हिंसा भड्किएको हो । हिन्दुहरुमाथि जाई लागेपछि अब हामी पनि संगठित हुनुपर्छ भनि त्यसमा लागेका हौं ।
तपाईले यो देव भूमी हो, जानकी र बुद्धको देश हो भने जस्तै यो देश त मुस्लिमहरुको पनि हो, होइन र ?
–यो देश हिन्दु सनातनकै देश हो । इस्लामिक सँस्कृति नेपालको सँस्कृति होइन । इस्लामिक सँस्कृति तालिवानबाट आयातित सँस्कृति हो । कसैको घरमा भाडामा बस्न गएपछि केही दिनपछि यो घर मेरै हो भनि भन्न पाइदैन । इस्लामिक धर्म तथा सँस्कृतिलाई हामी सम्मान गर्छौ । तर यो चाहि होइन कि यो देश इस्लामिक देश हो । यो देश सनातन सँस्कृतिको देश हो, हिन्दु समुदायको देश हो । ८४ प्रतिशत हिन्दुको जनसँख्या भएको देश इस्लामको कसरी हुनसक्छ त्यो सम्भव नै छैन । इस्लाम धर्मलाई पनि सम्मान गर्छौ । उहाँहरुले पनि आआफ्नो पुजा पाठ गरिरहनु भएको छ । त्यसमा हाम्रो कुनै गुनासो छैन । उनीहरुले हिन्दुहरुको पुजापाठ, चाडपर्वहरुलाई मुस्लिमले देखि सहन सकेका छैनन् । यो इस्लामिक र इसाइको हुनै सक्दैन । तर यो देशलाई जबर्जस्ती इस्लामिक देश बनाउन षड्यन्त्र भइरहेको छ ।
राजाहरुले आफूलाई विष्णु अवतार भनि यो देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुभएको थियो तर इतिहास हेर्ने हो भने यो देश बनाउन, राज्य एकीकरण गर्नका लागि मुस्लिमहरुको पनि योगदान छ नि यो कुरा तपाई किन स्विकार गर्नुहुन्न ?
–नेपालमा राजाको कारणले हिन्दु धर्म आएको होइन । यो धर्म सनातनदेखि चल्दै आएको धर्म हो । यो देशमा सनातन हिन्दु सँस्कृतिको धर्म हो । इतिहासको कुरा गर्ने हो भने धेरै कुरा संशोधन गरी तोडमोड गरी हालिएका हुन्छन् । त्यसलाई आआफ्नो तरिकाले ब्याख्या गरिरहेका हुन्छन् । पृथ्वीनारायण शाहले देश एकीकरण गर्ने बेला कुखुरी र अन्य हतियार बनाउन मुस्लिमहरुलाई ल्याउनु भएको थियो रे पछि उनीहरु नेपालमै बस्न थालेको इतिहास छ । तर यो कुरा पत्याउन गाह्रो छ । इतिहासलाई तोडमडोड गरेका छन् । लोहाको काम त लोहारले गर्ने हो, मुस्लिमहरु त छालाका व्यपारी हुन् । मुस्लिमहरुलाई खुशी पार्नका लागि इतिहासलाई तोडमडोड गरेका छन् । हामीले त्यो इतिहासलाई मान्दैनौं ।
तपाईको विचारमा मुस्लिमहरु नेपाली होइन ?
–नागरिकताधारीको हिसावले नेपाली नागरिक हुन् तर सँस्कृति र पहिचानका हिसाबले नेपाली होइन । जो नेपालीको भित्रि मनमा नेपाली मौलिक सँस्कृतिसँग माया छैन, प्रेम छैन, जसलाई तालिवानी सँस्कृति फैलाउनमा रुची छन्, त्यो वास्ताविक नेपाली हुन सक्दैन । कसैलाई इटलीको सँस्कृति प्यारो छ भने कसैलाई तालिवानको सँस्कृति प्यारो छ भने त्यो नागरिकताधारी भएपनि असल नेपाली हुनसक्दैन ।
तपाईको अभियानमार्फत विशेष गरी मुस्लिम लक्षित कार्यक्रम भइरहेका हुन्छन् तपाईहरु मुस्लिमको विरुद्धमा अभियान चलाई रहनुभएको छ कि हिन्दुलाई संरक्षण गर्न ?
–हामी मुस्लिम विरोधी होइनौं, हामी जिहादीको विरोधी हौं, आतङ्वादको विरोधी हौं । जो मानवताको विरोधी हुन्, हामी त्यसका विरोधी हौं । जो विदेशीको इसारामा नेपालमा हिंसा मचाउन खोजिरहेका छन्, हामी त्यसका विरोधी हौं । आजको आवश्यकता अनुसार हिन्दु समाजलाई संगठित गर्ने र आत्मरक्षाका लागि तयार पार्ने काम हामी गरिरहेका छौं ।
नेपालका मुस्लिम जिहादी (आतङ्वादी) त होइन नि ?
–नेपालका मुस्लिमहरु निकै सज्जन थिए । तर विदेशी मौलानाहरु नेपालमा आएर धर्मको नाममा मुस्लिमहरुलाई जुन प्रशिक्षण दिए, आफ्नो कौम (समुदाय)का लागि मार्ने र मर्नसम्मको तरिका सिकाए, जिहादीको लाइनमा जान उक्साए त्यसबेलादेखि नेपालका मुस्लिमहरु पनि जिहादीको बाटो समातेका छन् । युवा मुस्लिमलाई जुन प्रशिक्षण दिएका छन्, त्यसले गर्दा तराई मधेशमा हिंसा, हत्या बढेका छन् । युवाहरुलाई देशको विरुद्धमा, हिन्दुको विरुद्धमा उक्साई रहेका छन् । उनीहरुलाई तलबार तथा अन्य हतियारहरु चलाउन सिकाइ रहेका छन् । त्यसले गर्दा मधेश अहिले हिंसात्मक बन्दै गइरहेको छ ।
विदेशबाट मौलानाहरु आएर प्रशिक्षण दिएपछि यस्तो भएको हो भनि तपाईहरुले भन्नुहुन्छ, मुस्लिमहरुले पनि भारतलगायत अन्य ठाउँबाट हिन्दुहरु आएर नेपालमा मुस्लिमको विरुद्धमा गतिविधि गरिरहेका छन् भन्छन् नि यसमा तपाईको भनाई के छ ?
–दुनियाँमा कतै पनि हिन्दु देश छैन । दुनियाँमा धर्मनिरपेक्ष देश छन् कि इस्लामिक देश छन् कि इसाइ धर्म मान्ने देश छन् । हिन्दु राष्ट्र कतै छैन भने कहाँको हिन्दु नेपाल आएर त्यस्तो गर्छन् त । भारत एउटा धर्मनिरपेक्ष देश हो, त्यहाँ हिन्दुको मात्र कुरा हुँदैन सबै धर्मको कुरा हुन्छ । यस्तो परस्थितिमा नेपाललाई कसले सहयोग गर्छन् । नेपाल मात्र एउटा हिन्दु राष्ट्र हो । अरु देशले नेपालका हिन्दुलाई सहयोग गरे भनि आरोप मिथ्या आरोप हो । यदि नेपाली हिन्दु धर्मलाई बाहिर सयोग भएको भए नेपाल संवैधानिक रुपमा धर्मनिरपेक्ष राज्य हुँदैन्थ्यो । उहिले हिन्दु राष्ट्र घोषणा भइसकेको हुन्थ्यो ।
तपाईहरुको अभियानले चीनको पनि विरोध गरिरहेको हुन्छ, चीनको विरोध किन ?
–हामीले चीनको विरोध गरेका होइनौं, चीनले नेपालसँग जुन खेलबाड गरिरहेको छ, त्यसको विरोध गरिरहेका छौं । कुटनीतिक मार्यादा विपरित गएर नेपालको भूमी समय समयमा मिच्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, मन लागेको बेला नाका खोल्ने, मन नलागेको बेला नाका बन्द गरिदिने, नेपालबाट अध्ययन गर्ने जाने विद्यार्थीको पढाईमा अवरोध पुर्याई दिने जस्ता काम चीनले गर्दै आएका छन् । नेपाललाई तिब्बतीकरण गर्ने जुन प्रयास गरिरहेको छ त्यसको हामी विरोध गरिरहेका छौं । हामीलाई चीनमाथि जुन शंका थियो, त्यो विस्तारै पुष्टि हुँदै गइरहेका छन् । सन् २०१२ मा नेपाल र चीनबीच पोखरा अन्तराष्ट्रिय विमान स्थल बनाउने सम्झौता भएको थियो । सन् २०१७ मा चीनसँग बीआरआइको सम्झौता भएको थियो तर अहिले आएर त्यो पोखरा विमान स्थलको निर्माण कार्य बीआरआइअन्तरर्गत नै भएको हो भनि चीन पक्षको दावी रहेको छ । पोखरा एयरपोर्ट र बीआरआइबीच कुनै साइनो छैन ।
निकट भविष्यमै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्दै हुनुहुन्छ यसरी ठूला छिमेकी राष्ट्र चीन, पाकिस्तान, ठूलो जनसँख्या भएको मुस्लिमलाई चिढाएर पार्टी चलाउन सक्नु हुन्छ त ?
–अभियानलाई पार्टी नै बनाउने निर्णय अहिले गरिसकेका छैनौं । तर हामी आफ्नो राष्ट्रियता र पहिचानका लागि काम गर्ने हो । नेपाल आमाको अस्मिताका लागि लडि रहँदा कसैले आफ्नो विरोधी ठान्छन् भने यो विरोध नै सही । भोली पार्टीको रुपमा परिणत भइ नै दिए पनि हामी आफ्नो नेपाल आमाको अस्मिताका लािग जो कोहीसँग लड्छौं । हामीलाई नेपाली जनतासँग सरोकार छ, हामीलाई हिन्दु सँस्कृतिसँग सरोकार छ तर चीनसँग, पाकिस्तानसँग, मुस्लिम वा अन्य कुनै मुलुकसँग सरोकार छैन । तर हामी वैदेशिक कुटनीतिक मर्यादाभित्र रहेर नै सबै कार्य र गतिविधि गर्छौ र गरिरहेका छौं । हामी कसैको विरोधी होइनौं तर हामीमाथि कोही जाइ लाग्यो भने हामी कसैलाई छोडदैनौं ।
त्यसो भए नेपाललाई हिन्दु राष्ट्र कहिलेसम्म बनाउनु हुन्छ ?
–नेपाल हिन्दु राष्ट्र थियो, हिन्दु राष्ट्र छ र रहनेछ पनि । सिर्फ संविधानमा मात्र धर्मनिरपेक्ष उल्लेख भएको छ । तर नेपालमा हिन्दुका सबै गतिविधि जारी नै छन् । कुनै हिन्दु कतै गएका छैनन् । मठ, मन्दीर, पार्टी, पौवा कहि गएका छैनन् । हिन्दु राष्ट्रको बेला जस्तो थियो अहिले पनि त्यस्तै छन, सिर्फ फरक भनेको संवैधानिक रुपमा धर्मनिरपेक्ष राष्ट्र भनेको छ । हाम्रो प्रयास संविधानबाट धर्मनिरपेक्ष राष्ट्र हटाएर गणतान्त्रिक हिन्दु राष्ट्र उल्लेख गराउने रहेको छ । हामी जनतामा चेतनाको विकास गरेर जुन दिन दबाव बढाउनका लागि जनआन्दोलन गर्छौ त्यो दिन संविधानबाट पनि धर्मनिरपेक्षता हराउँछ र संघीय गणतान्त्रिक हिन्दु राष्ट्र निर्माण हुन्छ ।
तपाईहरु मेची–महाकाली यात्रा सञ्चालन गर्न लाग्नु भएको छ, खासमा त्यो यात्राको उद्देश्य के हो ?
–यो देश धर्मनिरपेक्ष देश हो भने सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ । धर्मनिरपेक्षताको आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन । एकल धर्मको विकासका लागि मुस्लिम आयोगको स्थापना किन ? यो प्रश्न चौतर्फी उठ्न थालेका छन् । यदि मुस्लिम धर्म हो भने हिन्दु पनि धर्म हो, बौद्ध पनि धर्म हो, किराँत पनि धर्म हो । मुस्लिमको आयोग बने जस्तै हिन्दु, बौद्ध, किराँतलगायत अन्य धर्मको पनि आयोग बन्नुपर्छ । मधेशी आयोग छ, थारु आयोग छ, दलित आयोग छ । यिनैमध्ये कुनैमा मुस्लिमलाई समावेश गर्दा हुन्थ्यो । त्यतिकै पनि मुस्लिमहरु आफूलाई मधेशी ठान्छन् । तर राज्यले जवर्जस्ती छुट्टै राख्न खोजेको छ । त्यसमा हाम्रो विरोध छ । या धर्मनिरपेक्ष राज्य हो भने सबै धर्मलाई समान अधिकार दिनुपर्छ सबै धर्मको एउटा एउटा आयोग बनाइ दिनुपर्छ । धर्मनिरपेक्षलाई मर्यादित बनाउनका लागि मुस्लिम आयोग खारेज गर्नुपर्छ । मुस्लिम आयोग खारेज गर या हिन्दु, बौद्ध, किराँत धर्मको पनि आयोग बनाउ भनि नाराका साथ हामी मेची–महाकाली यात्रामा निस्किने तयारीमा लागेका छौं । त्यो जनसंवाद यात्रा पनि हुनेछ । यात्राको माध्यमबाट गाउँगाउँ गएर जनजागरण गराएर यो देशमा जनताको आन्दोलन गर्नेछौं ।

तपाईको प्रतिक्रिया