Khadya Bibhag

प्रदीप यादवको प्रश्नः ‘देशको सुरक्षा ठूलो कि टिकटक’

  • प्रदीप यादव,,,,
नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेका छैनन् । किनकी टिकटककै कारण केही नेताहरू रातोरात जन्मेका छन् । अहिले टिकटक बन्द हुदाँ ती नेताहरूलाई निन्द्रानै हराम भएको छ । यहाँसम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरुले पनि रोइलो गरिरहेका छन् । साईबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनिहरूमा रूवाबासी चलेको छ ।
टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर लोकप्रिय कमाउने टिकटक बिशेषज्ञ एवं राजनीतिक मौसमविद्हरूको सपना चकनाचूर भएको छ । केही राजनीतिक मौसमविद्हरू जसरी मौसम परिवर्तन भएसँगै मान्छेले आफनो काम फेर्छ त्यसरी नै सस्तो लोकप्रियतामा लागेका ती नेताहरू अहिले बोली फेर्दै रुवाबासी गरिरहेका छन् ।
सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहार स्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको छ । किनभने लामो समयदेखि टिकटकमार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ । टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्वपूर्ण पनि छ । किनभने पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभुषाका व्यक्तिहरू बिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पु¥याउने काम भइरहेको सर्वविदितै छ । र यसमा सामाजिक सञ्जालहरूमध्ये पनि टिकटकको सबैभन्दा ठूलो भूमिका छ ।
उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ । त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने काम लगायतका अधिकांश हर्कतहरु टिकटककै माध्यमबाट भएका थिए । यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइएको छैन । किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै प्यारो जस्तो देखियो ।
देशमा टिकटकमार्फत हिंसा फैलिरहँदा नबोल्नेहरू आज प्रतिबन्ध लागेपछि अभिव्यक्तिमाथि अभिव्यक्ति दिइरहेका छन्, नियमनका कुरा गरिरहेका छन् । त्यही कारणले समाजभित्र बिसङ्गती, विकृति र अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण तथा नियमन गर्ने मनसायबाट प्रेरित भएर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सोह्रै आना जायज छ । मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटक जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ ।
त्यसमाथि टिकटक जस्ता सामाजिक सञ्जालमार्फत वर्षेनी अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेका छन् । टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौँ रुपैयाँ खर्चिरहेका छन् भने लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण काम समेत गरिरहेका छन् ।
टिकटकमार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएका छन् । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।
त्यस्तै कलिलो उमेर समुहका युवायुवतीहरू शिक्षा लिनुको साटो टिकटक स्टार बन्ने लोभमा आफनो पढाई नै चौपट गरिरहेका थिए । टिकटकका कारण आम नेपाली सर्वसाधारणको गोपनीयता समेत जोखिममा छ । चिनियाँ प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको छ ।
यस्तै खालका सुरक्षा जोखिमकै कारण संसारका अन्य कयौँ देशहरूले यसअघिनै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । उदाहरणका लागि छिमेकी मुलुक भारत, युरोपेली देशहरू बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिका लगायतका देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।
अन्त्यमा टिकटक जस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताहरूको मनोसामाजिक स्वास्थ्यमाथि पनि असर पु¥याइरहेको कयौँ अध्ययनहरूले देखाएका छन् । जसले गर्दा आत्महत्या, हत्या, हिंसा र अन्य आपराधिक घटनामा समेत वृद्धि भएको छ ।
तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको छ । समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन ।
मलाई यतिसम्म जानकारी छ कि सरकारको यो निर्णयको बाहिर विरोध गर्ने नेताहरू स्वंयले पनि भित्रभित्रै समर्थन पनि गरि रहेका छन् । म आफु नै टिकटक प्रयोगकर्ता भए पनि सरकारको यो जायज निर्णयको पूर्ण समर्थन गर्दै आईरहेको छु ।
(लेखक प्रदीप यादव जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ)

तपाईको प्रतिक्रिया