यो असन्तुष्टि आक्रोशमा गएर विष्फोट हुन्छ कि भनि जोखिम छ

सभापति शेरबहादुर देउवाले आफै पनि विश्वास गरेर त्यो अभिव्यक्ति दिएको हुनुपर्छ । दोस्रो कुरा, यदि प्रधानमन्त्री बन्नु छ भने मैले यो यति एउटा कम से कम गर्नुपर्छ भनि उनलाई कसै कसैले भनेको हुनुपर्छ ।

–सिके लाल, राजनीतिक विश्लेषक
देशको व्यवस्था नै परिवर्तन गर्ने गरि सडकमा आवाजहरु उठ्न थालेका छन् । देशका प्रधानमन्त्री स्वयंले पनि गणतन्त्रमाथि खतरा छ भनि सर्वदलीय इमर्जेन्सी बैठक बोलाउँछन् । देशमा विदेशी एजेन्सीहरुको सक्रियता बढ्छन्, सुरक्षा निकायले भन्छन्, एलर्ट भएर बस्ने अवस्था छ । सरकार आज फालिन्छ, भोली फालिन्छ भनि कुना कुनातिर कुरा हुन थालेका छन् । राजा ल्याएर गणतन्त्र फ्याल्ने भनि राजावादी नेताहरुले चुनौती दिइरहेका छन् । आखिर यो देशमा के भइरहेका छन्, साँच्चै जनता यो व्यवस्थाप्रति असन्तुष्ट भएका हुन् त, साँच्चै गणतान्त्रिक तथा धर्मनिरपेक्षता ल्याउने नेताहरु हिन्दु राष्ट्र बनाउन लागेकै हो त, साँच्चै नयाँ वैकल्पिक शक्तिहरुले पुराना शक्तिहरुलाई धक्का दिएर फ्याल्दैछ त ? हामीले यी सबैको जिज्ञासा मेटाउने प्रयास राजनीतिक विश्लेषक एवं चिन्तक सिके लालसँग गरेका छौं ।
सडकमा गणतन्त्रको विरुद्धमा आक्रोश पोखिन थालिएको छ, त्यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
–अहिले लगभग संसारभरि नै आर्थिक स्थिति राम्रो छैन । नेपालमा पनि त्यही अवस्था छ । यहाँको आर्थिक अवस्था राम्रो छैन । । पसलहरु बन्द भएका छन् । आयस्रोत कमजोर भएको छ । मान्छेलाई बच्चाको स्कूल फि तिर्न गाह्रो भएको छ । अस्पताल जान, औषधी तिर्न गाह्रो भएको छ । चाडपर्व पनि राम्रोसँग मनाउन पाएन । त्यसैले जनतामा आक्रोशभन्दा पनि असन्तुष्टि छ । असन्तुष्टि आक्रोशमा त्यो बेला बदलिन्छ, जति बेला असन्तुष्टलाई यो लाग्छ कि मेरो कुरा सुनि दिने कोही भएन, त्यतिबेला असन्तुष्टि आक्रोशमा बदलिनेछ । दुर्भाग्यवश अहिलेको सरकारले पनि कुरा नसुन्ने किसिमको व्यवहार गरिदिने भएका हुनाले यो असन्तुष्टि आक्रोशमा विष्फोट हुन्छ कि भनि जोखिम छ । अहिले नै आक्रोशको विष्फोट भइसकेको छैन । आक्रोशको विष्फोट भयो भने त्यसलाई थेग्न सक्ने क्षमता हाम्रो संस्थाहरुसँग छैन । असन्तुष्टिलाई यही नै हाम्रो आधार हो भन्दै परायोजित विस्फोटहरु भइरहेका छन् ।
पछिल्लो समय धर्मनिरपेक्षताको विषयमा पनि सडकमा आन्दोलनहरु भइरहेका छन्, त्यसमा भित्रि रुपमा राजनीतिक दलका शीर्ष नेताहरुले पनि बोलीमा लोली मिलाई रहेको भान हुन्छ, तपाईलाई कस्तो लाग्छ ?
–हिन्दु धर्म र धर्मनिरपेक्षताको बिचमा कुनै अन्तरविरोध छैन । भगवान माने पनि हिन्दु नमाने पनि हिन्दु, मन्दिर गए पनि हिन्दु नगए पनि हिन्दु । माछा मासु खाए पनि हिन्दु नखाए पनि हिन्दु । समस्या हिन्दुसँग छैन । हिन्दु धर्मलाई पुरहेतवादको रुपमा अर्थाइएको छ । त्यसमा जाती व्यवस्था छ । जाती व्यवस्थामा के भनिएको छ भने कोही जन्मदै माथि गएका छन्, कोही जन्मिदै तल छन् ।
जाती व्यवस्था भनेको धर्मनिरपेक्षताको विरोधी अवधारणा हो । पुरहेतवाद धर्मनिरपेक्षताको विरोधी अवधारणा हो । हिन्दुत्व भनेको एउटा राजनीतिक विचारधारा हो । जसको धर्मसँग कुनै लेनादेना छैन । हाम्रो जुन राजनीतिक नेतृत्व छन् त्यो लगभग एकल जातीय छन् । चाहे त्यो प्रमुख प्रतिपक्षी दलको होस् वा सत्ताधारी दलको होस् । ती दलहरुलाई के लाग्छ भने हाम्रो बर्चस्वलाई कायम राख्ने हो भने हिन्दु राज्य एउटा आधार हुनुसक्छ । त्यसैले खडगप्रसाद शर्मा अ‍ोली राम जन्मभूमी ठोरीमा खोज्ने थाले, पशुपतीमा सुनको जलहरी चढाउन थाले । पुष्पकमल दाहाल भारतको उजैनमा गएर गेरुवावस्त्र ओढेर महाकालको पुजा गरे । कालोबोका चढाउने शेरबहादुर देउवाको कार्य प्रख्यात भएकै हो । कुनैको नाम लिनुस् सबैको भित्रि रुपमा हेर्दा ‘हाम्रो बर्चस्वको आधार हो’ भनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच पटक नेपाल आउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘यो एउटा हाम्रो हिन्दु राज्य थियो, जसलाई हामीले बचाउन सकेनौ ।’ प्रधानमन्त्री मोदीलाई के लागि रहेको छ भने पहिलो कार्यकालमा हिन्दु राज्य बनाउन त सकिन, दोस्रो कार्यकालमा नेपालमा यदि हिन्दु राष्ट्र कायम गराउन सकियो भने अर्को कार्यकालमा भारतलाई पनि हिन्दु राष्ट्र बनाउन नारा पाइन्छ । र, यो नाराले उत्तर प्रदेश र विहारमा त्यसको असर केही नकेही पर्छ भनि बुझेर नै यी सब भइरहेको छ किनभने भारतमा सन् २०२४ मा निर्वाचन छ भने आरएसएसको शतवार्षिकी सन् २०२५ मा छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि हिन्दु धर्मका बारेमा विचार गर्न सकिन्छ भनि कताकता अभिव्यक्ति दिनुभएको छ, त्यो के हो जस्तो लाग्छ तपाईलाई ?
–सभापति शेरबहादुर देउवाले आफै पनि विश्वास गरेर त्यो अभिव्यक्ति दिएको हुनुपर्छ । दोस्रो कुरा, यदि प्रधानमन्त्री बन्नु छ भने मैले यो यति एउटा कम से कम गर्नुपर्छ भनि उनलाई कसै कसैले भनेको हुनुपर्छ । तपाईले त्यति पनि गर्न सक्नु भएन भने तपाईलाई प्रधानमन्त्री बन्ने सम्भावना साह्रै न्युन छ, अहिलेका प्रधानमन्त्री तयार छन्, यसमा त्यसको सहयोगको जरुरी पर्छ, अग्रसरता नै लिनु भयो भने झन राम्रो भनि कसै कसैबाट सन्देश गएको हुनुपर्छ ।

प्रधानमन्त्री मोदीलाई के लागि रहेको छ भने पहिलो कार्यकालमा हिन्दु राज्य बनाउन त सकिन, दोस्रो कार्यकालमा नेपालमा यदि हिन्दु राष्ट्र कायम गराउन सकियो भने अर्को कार्यकालमा भारतलाई पनि हिन्दु राष्ट्र बनाउन नारा पाइन्छ ।

 

देउवाले भनि सकिपछि भोटको लोभमा अरु दलहरुले पनि अब फटाफट भन्न थाल्नेछन् होइन ?
–प्रतिस्पर्धाका लागि भिडको अगाडि उभिनेको पनि केही पृष्ठभूमी हुनुपर्छ नि त । नभए त दुर्गा प्रसाइँ राम्रै भिडका अगाडि उभ्याएका थिए । दुई तीन दिनमै फासफुस गतिमा पुग्यो । यत्रो लगानी गरेपनि फासफुसमा गयो । भिडको अगाडि उभिएको मान्छेलाई उभ्याई राख्नका लागि पनि एउटा संगठनको जरुरी पर्छ । एउटा वैचारिक आधारको आवश्यक हुन्छ । खाली भिडको अगाडि उभिएर मात्र हुँदैन । त्यसैले शेरबहादुर देउवा त्यस मामिलामा अगाडि हुनुहुन्छ । उहाँ हिन्दुत्ववादी हुनुहुन्छ । उहाँले यो पहिला पनि बोल्न सक्नु हुन्थ्यो तर अवस्था हेरेर उहाँले सो अभिव्यक्ति दिनु भएको छ । उहाँलाई लागेको छ, अहिले फलाम तातेको छ । तातेको बेला एक दुई चोट हानेर हेरौं । चम्चा बनि हाल्यो भने ठिकै छ नभए खेत खन्न काम लागि हाल्छ ।’
संघीयताप्रति कतिको जोखिम देख्नु भएको छ ?
–जोखिम त छ । तपाईले नेपालको इतिहास हेर्नुभयो भने सन् १९५१ पछि सन् १९५८ को चुनावसम्म राजाले जसरी छानीछानी प्रधानमन्त्री बनाउनु हुन्थ्यो । यो प्रजातन्त्र नहुने रहेछ भन्ने कुराको त १० वर्षसम्म कोशिस भएको थियो । त्यसैले तत्कालका लागि प्रजातन्त्र भए पनि केही दिनभित्रै त्यसलाई फाल्न राजालाई सजिलो भयो । त्यस्तै यस्तै किसिमको कोकोहोलो हुँदै गए भने अहिलेको संघीयता मन नपराउनेहरुलाई संघीयता फाल्न सजिलो हुन्छ । एउटा कुरा के बिर्सिनु हुन्न भने जे मतदाताले अहिलेको सांसदहरुलाई सांसद बनाएको छ, प्रदेशको सांसदलाई तिनै मतदाताले बनाएका हुन् । प्रदेशको पनि विधायका हो । यदि संघीयतालाई खारेज गर्ने वतावरण बनाउन प्रदेशको सांसदले त्यो भन्दा क्रान्तकारी निर्णय गर्ने हो भने नेपालको राजनीतिक अवस्था कस्तो होला । अहिले न ६ वटा प्रदेशमा बर्चस्ववादीहरुको सरकार छ, मधेश प्रदेश मात्र फरक देखिएको छ । तर सधै यस्तो रहदैन । त्यसैले यसलाई धेरै गम्भिरतापूर्वक लिनुको जरुरी छैन ।
यस्तो गेमहरु भइरह्यो भने सरकार टिकाउन कतिको गाह्रो हुन्छ जस्तो लाग्छ तपाईलाई ?
सरकारमा टिकि राख्नका लागि धेरैको कुरा मिलाउनुपर्ने हुन्छ । पुँजीपतिको दबाव नाफा बढाउनेतिर हुन्छ । जनताको दबाव मूल्य समान्य राख्नेमा हुन्छ । आन्तरिक दवाव कसे हुन्छ भने एउटाको कुरा सुन्ना साथ अर्कोले खेदो खन्न थालि हाल्छन् । कमजोरी नभएको कोही पनि हुँदैन । अन्तराष्ट्रिय दवाव कस्तो हुन्छ भने नेपालका प्रधानमन्त्रीले चीनको कुरा नसुन्ने हो भने नेपालमा गाह्रो छ । चीन हाम्रो छिमेकी राष्ट्र हो, शक्तिशाली देश हो, त्यसको कुरा सुन्नेपर्ने हुन्छ । चीनको कुरा गर्ने हो भने भारतले ल हाम्रो छिमेकी भएर चीनको कुरा गर्ने, हामी हौं नजिकको छिमकी भन्छन् । कुरा त सही हो । अमेरिकाको कुरा आफ्नो होला । अमेरिकालाई लाग्न सक्छ कि हामी नै तिमीहरुको प्रश्रय दाता । त्यसैले प्रधानमन्त्री पदमा रही रहन निकै गाह्रो छ । अहिलेको प्रधानमन्त्रीको समस्या के भयो भने तेस्रो दल भएर प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । त्यही भएर धेरैजसो समय पदमा कसरी टिकि रहने भनेमा चिन्ता हुन्छ । उहाँले आफू प्रधानमन्त्रीमा कसरी टिकि राख्ने भनि सम्पूर्ण ध्यान त्यसैमा दिनुभएको छ । त्यसबाहेक अरुतिर केही ध्यान दिनुभएको छ जस्तो लाग्दैन ।
संघीयता टिकाउनका लागि मधेशवादी दलको भूमिका कस्तो पाउनु भएको छ ?
–अहिले नेपालमा मधेशवादी दल नै छैन । वृषेशचन्द्र लालले गठन गर्नुभएको तराई मधेश लोकतान्त्रिक पार्टीबाहेक कुनै पनि मधेशी दलको नाममा मधेश भने शब्द नै बाँकी रहेन । अहिले गएको ६ महिना देशमा यत्रा ठूला ठूला मुद्दा बाहिर आएका छन् तर कहिले महन्थ ठाकुर बोल्नु भएको सुन्नुभएको छ, कहिले उपेन्द्र यादव बोल्नु भएको सुन्नु भएको छ, राजेन्द्र महतोले केही बोल्नु भएको सुन्नु भएको छ ? सब चुपचाप छन् । तर मसला सकिएको सलाईको काँठीहरु फ्यालिए पनि बट्टा नै खाली भएको छ भनि म मान्न तयार छैन । सिके राउतको पार्टीले त मत ल्यायो तर के ले ल्यायो भने विचारधारा परित्याग गरेर मत ल्यायो, त्यसैले अहिले सिके राउत पनि विकल्प होइन । मधेश अहिले पनि गञ्जागोलमा छ । त्यहाँबाट के निस्किन्छ भने अहिले भन्ने अवस्था छैन । तर तत्कालै केही नभए पनि भित्रभित्रै व्यापक असन्तुष्टि र चलायमान छ ।

कुनै प्राइभेट कम्पनीमा जतिसुकै गतिलो सेयर धनी भए पनि त्यो नाफाका लागि मात्र काम गर्छन् । गैर सरकारी संस्थामा उद्देश्य राम्रो छ, क्षमतावान मान्छे छन्, त्यसले केही परिवर्तन गर्लान् तर रुपान्तरण गर्न सक्दैनन् ।

 

पछिल्लो समय जुन नयाँ दलहरु उदाएका छन् त्यसबाट तपाई कति आशावादी हुनुहुन्छ ?
–अहिले मूल्यांकन गर्ने बेला भएको छैन । तर मूल्यांकन गर्ने बेला भएको छैन भन्दैमा जानुछ पशुपतिनाथ बस समातियो गोदावरीको भने त्यहाँ पुग्न सकिदैन, त्यसको त्यसरी नै मूल्यांकन हुन्छ । राजनीतिक दलको यात्रा लामो हुन्छ । नयाँ भनिएका दलहरुसँग मेरो असन्तुष्टि के हो भने कुनैसँग वैचारिक स्पष्टता छैन । वैचारिक स्पष्टा नभएपछि त्यो दलमा जतिसुकै क्षमतावान व्यक्ति भएपछि पनि त्यो क्षमतावान व्यक्तिहरुको झुण्ड भएर जान्छ । कुनै प्राइभेट कम्पनीमा जतिसुकै गतिलो सेयर धनी भए पनि त्यो नाफाका लागि मात्र काम गर्छन् । गैर सरकारी संस्थामा उद्देश्य राम्रो छ, क्षमतावान मान्छे छन्, त्यसले केही परिवर्तन गर्लान् तर रुपान्तरण गर्न सक्दैनन् । रुपान्तरणका लागि वैचारिक क्षमता बहुत जरुरी हुन्छ । अहिले पुरानो दल पनि स्खलित हुँदै जानुको कारण के हो भने त्यसको वैचारिक आधार कमजोर हुँदै गयो । खडगप्रसाद शर्मा ओलीलाई माक्र्सवाद लेलिनवादसँग गोरु बेचेको कुरा छोड दिउ, गोरु मोलमेलाईको साइनो पनि छैन । पुष्पकमल दाहालमा कही कतैबाट पनि केही पनि मिल्दो जुल्दो छैन । समाजवाद र बीपी कोइरालाको विचारधारा शेरबहादुर देउवासँग केही कतै पनि मिल्दैन । त्यसैले नयाँ दलसँग अहिले नै अपेक्षा गर्ने अवस्था म त देख्दिन ।
नेपालको राजनीतिक दल र नेता विदेशी शक्तिप्रति निकै आश्रित भएको पाइन्छ त्यस्तो किन ?
–पहिलो कुरा त ती नेता र दलहरुलाई आत्मविश्वास छैन । आन्तरिक अवस्था अन्योलपूर्ण रहेको छ । यो हाम्रो मात्र अवस्था होइन, विदशेमा जहाँ पनि बाहिरी सहारा खोज्ने गरिन्छ । तर डरलाग्दो कुरा के हो भने बाहिर हस्तक्षेपकारीको बिचमा नै प्रतिस्पर्धा हुन थाले भने अनि द्वन्द सृजना हुन्छ । म जहिले पनि भन्छु, हामीसँग तीनटा छिमेकी छन्, दुईटा भूइमा र एउटा आकाशमा । आकाश भनेको अमेरिका र भूइमा भनेको चीन र भारत । अहिले भारत र अमेरिका एक ठाउँमा छन् । कुनै बेला चीन र भारत थिए । दुईटा एक ठाउँमा भएपछि तेस्रो ठाडै प्रतिस्पर्धा गर्न आउँदैन । एउटा अलिकति तटस्था देखायो भने प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाकै चरणमा नपुगि सकेको हुनाले जति नै अनुदारवादी बढ्दै गए पनि जस्तो कि हाम्रो अभिव्यक्तिको स्वतन्त्रता पुरै समाप्त भएको छैन, प्रहरी राज्यको अवस्था आएको छैन । धर्मको अवस्थामा हामी पुगि सकेका छैनौं । जब कुनै बाहिर शक्ति प्रतिरक्षात्मक भइदिन्छन् त्यसपछि उ आक्रामक भएर आइदिन्छन् । त्यसपछि अवस्था निकै कठिन हुन जान्छ ।

तपाईको प्रतिक्रिया