कुरा २०७२ भुँइचालो गएको बेलाको हो । काठमाडौँमा गएको भुँइचालोको महसुस तराई मधेशतिर गरिएको थिएन तर महावीर भण्डारीको परिवारमा गएको भूँइचालो सायद सबैभन्दा पिडादायी थियो ।
सिरहा सुखिपुर नगरपालिका दहिपौडीका महावीर भण्डारी (माली) को छोरालाई अपहरण गरी अपहरणकारीले मारेर त्यहीको मोहनपुर गाउँमा गाडेको अवस्थामा फेला परेको थियो । गाडिएको लाश गन्हाउन थालिए पछि स्थानीयले थाह पाएर त्यसलाई उखाल्दा त लाश महावीर भण्डारी छोराको रहेको छ भनि सबैले थाह पाएका थिए ।
त्यसपछि यो कसले अपहरण गरे, किन अपहरण गरे सबै कुरा विस्तारै बाहिर आए तर त्यसको विरुद्धमा बोल्ने कोही तयार भएन । मोहनपुरबाट लाश महावीर भण्डारीको घरमा आइसकेको थियो । लाशलाई जलाउने तयारी चलिरहेको थियो । प्रहरी पनि आइ सकेको थियो तर दोषीलाई समात्नुपर्छ, दोषीको विरोध हुनुपर्छ भनि कसैले आँट गरेको थिएन कारण थियो यादव जाती ।
त्यहाँ यादव जातको बाहुल्य रहेको कारणले अन्य जातका व्यक्तिमध्ये कोही बोल्ने प्रयास गरेन, यादव समुदायले झन बोल्ने कुरा नै आएन । यी सबै कुरा एक जना बुहारी रिता दासको मनमा खेलिरहेका थिए जो जातले तत्मा हुनुहुन्छ । उहाँले आज यसको विरोधमा बोलिएन भने यस्ता थुप्रै घटना दवाउने प्रयास हुनसक्छ र दोषीको मनोबल बढ्न सक्छ । त्यसपछि उहाँले त्यस वरपर रहेका महिलालाई भेला गरी आज महावीर मालीको घरमा यस्तो घटना भएको छ, भोली तपाई हाम्रो घरमा पनि हुनसक्छ, त्यसैले आज हामी बोलिएनौ भने अपराधीको मनोवल झन बढ्छ र हाम्रो समाजमा अपराधका घटना बढ्नसक्छ भनि भन्नुभएको थियो ।
आन्दोलनको नेतृत्व
रिता दासको कुरा सुनेर सबै महिला आन्दोलनका लागि तयार भए । आन्दोलनको नेतृत्व रिता दासले गर्नुभएको थियो । नारा लगाउँदै जुलुस लिएर सबै महिला अपहरणकारी दिनेश यादवको घरमा गएर ढुगांमुढा गर्न थाले, दोषीलाई कारवाही हुनुपर्छ भनि माग गर्न थाले ।
पुरै गाउँभर हल्ला भयो रिता दासले दिनेशको घरमा आन्दोलनकारी लिएर जानुभएको छ रे । प्रहरी परिचालन भयो । आन्दोलनमाथि प्रहरीको हस्तक्षेप भयो । त्यतिबेलासम्म आन्दोलन गाउँभर फैलि सकेको थियो । आन्दोलनको दबावमा नै प्रहरीले दिनेश यादवलाई समात्न सफल भयो । त्यो दिनेश यादव अझै जेलमा छन् ।
हो, त्यही बेलादेखि रिता दासलाई सबैले चिन्न थाले । समाजले उहाँले अगुवा नेताको रुपमा स्विकार गर्न थाल्यो । त्यसपछि त गाउँमा हुने कुनै पनि झैझगडा तथा अन्यायका कुरामा रिता दासको अगुवाई हुन्थ्यो । केही समस्या हुँदा रिता दासलाई गुहार्न आउनेहरु पनि देखिन थाले । समाजको बेथितीको बारेमा बोल्न थालेपछि आफ्नो गाउँको मात्र होइन, अन्य गाउँका मान्छेले पनि रिता दासलाई चिन्न थाले जब कि उहाँ घरको बुहारी भएर घुँघटोमा बस्नु पथ्र्यो ।
हाल रिता दास एमाले पार्टीमा रहेर राजनीति गतिविधिमा सक्रिय हुनुको साथै समाजिक काममा पनि त्यतिकै सक्रिय हुनुहुन्छ ।
को हुनुहुन्छ रिता दास
रिता दासको माइती सिरहाकै औरही गाउँपालिका वडा नम्बर ५ औरहीमा पर्छ । बुवा रामस्वरुप दास र आमा तुलफी देवी दासका जेठी छोरी रिता दास बाल्यकालमा निकै सोझी र सरल स्वभावका हुनुहुन्थ्यो । कसैले बोलाए भने मात्र बोल्ने, अरुसँग कुनै मतलब नराख्ने, सिर्फ पढाई र घरको कामबाहेक अरु कुरासँग मतलब नराख्ने उनी गाउँकै श्रीसुन्दर जनता माध्यमिक विद्यालय औरहीमा कक्षा–८ सम्म पढ्नु भएको हो ।
माइतीमा चुपचाप रहनु भएको रिता श्रीमानको घर गएपछि किन क्रान्तकारी भएर निस्किनु भयो त ? कारण थियो, घरकी जेठी छोरी भएको कारणले आमा–बुवाले औधी माया गर्नुहुन्थ्यो, घरबाट कतै बाहिर निस्किन दिनुहुन्थेन । तराई मधेशमा छोरी, चेलेबेटीलाई घरमै राख्ने बाहिर हिडडुल गर्न नदिने अवस्था छ । अहिले त्यसमा केही सुधार भएको छ तर रिता दासको समयमा अलि कडा नै थियो । त्यही भएर उहाँभित्र भएको क्षमता बाहिर आइरहेको थिएन ।
तर श्रीमानको घरमा गएपछि उहाँ पूर्णरुपमा स्वतन्त्र हुनुभयो । श्रीमानले बाहिर आउजाउ गर्न छुट दिनुभयो । समाजमा मिसिन उहाँलाई इजाजत दिनुभएको थियो ।
जतिबेला रिता दासले स्कूलमा पढिरहनु भएको थियो, त्यतिबेला उहाँका बुवा रामस्वरुप हेटौडा कपडा उद्योगमा जागिरे हुनुहुन्थ्यो । जागिरमा हुँदा घर ठिकठाक चलिरहेको थियो । तर उद्योग बन्द भएको कारण जागिरबाट हटेपछि रिताको घरमा अभावको दिन सुरु भएको थियो । रिताका ठूलो बुवाका छोराछोरीको विहे पनि गर्नु थियो । सबै खर्च घरको अभिभावक भएको नाताले रामस्वरुपले नै ब्यहोर्नुभयो । त्यसले घरको आर्थिक अवस्था झन खराब भयो ।
यता, छोराछोरीलाई पढाउन तथा घर व्यवहार चलाउनका लागि रामस्वरुपलाई गाह्रो हुन थाल्यो । त्यसकै लागि भए पनि विदेश जाने मनस्थिति बनाउनुभयो । विदेश जानुअघि रामस्वरुपले आफ्नो छोरी रिता दासको विहे गर्दिनुभयो । त्यतिबेला रिता दास १४ वर्षको हुनुहुन्थ्यो र कक्षा–८ मा अध्ययनरत हुनुहुन्थ्यो । पढाई लेखाई राम्रै थियो । तर विहे भएको कारणले रिता दास बाध्य भएर त्यो पढाई छाड्नु भयो ।
विवाह
२०५४ सालमा दहिपौडीका सुशिल दाससँग विहे भयो । सुशिल दास एसएलसी पास गर्नुभएको थियो । तर जागिरको कुनै उपाय नलागेको ज्यामीको काम सुरु गर्नुभएको थियो । उता, श्रीमानको घरमा गएपछि रिता दासले पढाईलाई निरन्तरता दिन सक्नुभएन । पढाई गर्ने इच्छा रिता दासको थियो तर घरको अवस्था हेर्दा र सासु ससुराको कुरा सुनेर उहाँले पढाइको कुराको मनबाट नै निकाल्दिनुभयो । सासु ससुराले बुहारी किन पढ्नु पर्यो, पढेर के हुन्छ, पढेर नोकरी हुँदैन भने त्यो पढाई किन पढ्नु पर्यो भन्दै रिता दासलाई पढ्नबाट रोक्नु भएको थियो तर उहाँका श्रीमानले रिता दासलाई पढाउन चाहनु भएको थियो । तराई मधेशका समाजले हतपत छोरीलाई पढाउन चाहदैन, बुहारीलाई पढाउने कहाँ हो कहाँ ।
रिता दासको श्रीमानको आर्थिक अवस्था पनि राम्रो थिएन । श्रीमान सुशिल ज्यामीको काम गर्नुहुन्थ्यो । त्यसले घरपरिवार चल्थ्यो त्यसमा पढ्ने कुरा आउँदैन्थ्यो । त्यसमा पनि उहाँका सासु आमा र ससुराले पढ्न त के घरबाट निस्कन इजाजत दिइरहनु भएको थिएन । तर श्रीमान सुशिलको तर्फबाट कुनै प्रकारको रोकटोक थिएन । सुशिलले बेलाबेलामा रितालाई थप पढ्नका लागि प्रात्साहित गर्नुहुन्थ्यो । तर रिता दासका लागि घरबाट निस्किने वतावरण नै थिएन । घरको अवस्था हेरेर पढ्ने आँट नै उहाँले गर्नुभएन ।
रिता दासको एउटा छोरी भयो । घरको खर्च बढ्यो । सुशिलले गरेको ज्यामीको कामले घर खर्च पनि पुगिरहेको थिएन । त्यसपछि सुशिल पनि विदेश जाने मन मनाउनुभयो । सुशिल विदेश जानुभयो । त्यसपछि रिता दासले घर व्यवहार सम्हाल्नुभयो । छोरीलाई हुर्काउनु घरको काम गर्नुबाहेक उहाँको कहि आनाजाना थिएन । यहाँसम्म कि बाहिरका मान्छेसँग बोलचाल पनि थिएन ।
रिता दास भन्नुहुन्छ, ‘मालिक साहब’ (श्रीमान) विदेश जानु भएपछि मलाई पढ्नका लागि निकै भन्नुभयो, म कमाएर तिमी र छोरीलाई समेत पढाउँछु तिमी पढ् पटक पटक भन्नुहुन्थ्यो तर सम्भव थिएन छोरालाई पढाउनु कि आफू पढ्नु कि घरव्यवहार हेर्नु मैले पढिनन् तर आज पश्चाताप भइरहेको छ पढाईको कति महत्व रहेको छ भने कुरा बल्ल बुझ्न थालेको छु ।’
सहकारीमा सहकार्य
गाउँमा आएको जय माता बचत तथा ऋण सहकारीको सदस्य हुनुभयो उहाँ । महिनाको १० रुपियाँ त्यस सहकारीमा राख्नुहुन्थ्यो । सहकारीले कहिले काही गाउँघरमा बैठक राख्दा त्यसमा उहाँ सहभागी हुन जानु हुन्थ्यो उहाँ । त्यहाँ रिता दासको सहभागिता, बोल्ने तरिका, सम्झाउने तरिका सहकारीका प्रतिनिधिलाई निकै मन परेको थियो । सबै महिला भन्दा उहाँको व्यवहार फरक थियो । अरु महिला भन्दा पढाई पनि राम्रै हुनुहुन्थ्यो उहाँ ।
रिताको दासको त्यो सक्रियता देखेर सहकारीमार्फत केही थप काम दिउँ कि जस्तो पनि भएको थियो तर सहकारीको प्रतिनिधिले उहाँलाई सिधै सोध्ने आँट गरेनन् । रिता दास भन्नुहुन्छ, ‘संंजय सर (सहकारी प्रतिनिधि)ले गाउँकै एक जना ओझाइन काकीसँग सोध्नुभयो कि रिता दासलाई सहकारीको कार्यक्रमहरुमा लग्दा हुन्छ ।’ ओझाइनले हुन्छ उहाँका श्रीमानलाई सोधेर लाग्दा हुन्छ । त्यसपछि सहकारीका प्रतनिधिले रिता दाससँग कुरा गरेका थिए, अनि रिताले आफ्नो श्रीमानलाई सहकारीको प्रस्ताव बारेमा सोध्नुभएको थियो । श्रीमान सुशिलले हुन्छ, जानु भन्नुभएको थियो ।
त्यसपछि रिता दास घरबाट निस्कन थाल्नुभएको थियो । सहकारीले गर्ने कार्यक्रममा उहाँ सहभागी हुन जानु हुन्थ्यो । समाजिक कामहरुमा पनि जान आउन थाल्नुभयो । प्रौढ कक्षा
सहकारीले दहिपौडीमा प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यसमा शिक्षकको रुपमा रिता दासलाई राख्यो । आफ्नै टोलमा हरेक साँझ डेढ दुई घण्टा महिलाहरुलाई पढाउनु हुन्थ्यो । त्यसबापत सहकारीले उहाँलाई एक हजारको महिना दिएको थियो । त्यो निकै कम हो तर रिता दास त्यसमै खुशी हुनुहुन्थ्यो ।
उहाँ भन्नुहुन्छ, ‘अहिलेको जमानामा त्यो एक हजारले के नै हुन्छ तर मेरो लागि त्यो धेरै थियो, मेरो लागि निकै खुशीको कुरा पनि थियो किनभने म बाहिर निस्किन पाएको छु, महिलाहरुलाई पढाउन पाएको छु, सहकारीले ममाथि विश्वास गरेको छ, आज एक हजार दिएको छ भने भोली दश हजार दिनसक्छ ।’
प्रोढ कक्षामा उहाँले लगातार डेढ वर्ष पढाउनुभयो । प्रौढ बन्द भएपछि पनि सहकारीको सदस्य भएको कारणले त्यसका विभिन्न कार्यक्रम तथा गतिविधिमा उहाँ सहभागि हुँदै आउनु भएको छ । त्यसबाहेक उहाँ दलितको उत्थान, समाजका अन्य गतिविधिहरु पनि विस्तारै विस्तारै संलग्न हुन थाल्नुभयो ।
त्यही संक्रियताको कारण गाउँमा एउटा सडक निर्माणको काम आएको थियो । त्यहाँको सुपरभाइजरमा रिता दासलाई राखिएको थियो । त्यो काम रिता दासले होइन, सडककै ठेकदारले खोज्दै दिएको हो । रिता दासको सक्रियता र उहाँको बौद्धिकता देखेर सडक निर्माण गर्ने ठेकेदारले रिता दासलाई बोलाएर काम गर्नुहुन्छ भनि सोध्नु भएको थियो ।
रिता दासले पाए भनि गर्छु भन्नुभएको थियो । त्यसपछि त्यो सडक निर्माण कार्यको रेखदेखका लागि उहाँलाई राखिएको थियो । एक वर्ष जति त्यहाँ उहाँले काम गर्नुभयो । त्यहाँ उहाँले राम्रै पैसा कमाउनु भएको थियो । उहाँ भन्नुहुन्छ, ‘म सहकारीमा प्रवेश गरेपछि एक हजारको महिनामा काम गर्न तयार नभएको भए सायद त्यो सडक निर्माणमा मलाई काम दिदैन्थ्यो म आफ्नो क्षमताले त्यो काम पाएको थिए ।’
राजनीति
उहाँका एक जना छिमेकी देवनारायण यादव जो एमालेका कार्यकर्ता हुनुहुन्थ्यो । रिता दासको क्रियाशिलता देखेर पार्टीका गतिविधिमा संलग्न गराउन थाल्नुभयो । रिता दास पनि पार्टीका कार्यक्रमहरुमा जान थाल्नुभयो । २०६० देखि उहाँ एमाले पार्टीमा सक्रिय भएर लाग्नुभयो ।
श्रीमानले पनि उहाँलाई यसमा सहयोग गर्नु थाल्नुभयो । श्रीमानले कहि कतै आउजाउँका लागि रोकटोक गर्नुभएन । रिता दास भन्नुहुन्छ, ‘म आज जे छु श्रीमानै कारण छु, ममाथि मेरो श्रीमानले मात्र होइन मेरो बुवाले पनि गर्व गर्न थाल्नुभएको छ । मेरो बुवाले छोरी यतिका होसियार छिन् भनि थाह पाएको भए म सुरुदेखि नै बाहिर जान आउन दिन्थे भन्नुहुन्छ ।’
रामस्वरुपले छोरी रिता दासलाई छोरा जस्तो माया गर्नुहुन्थ्यो । जेठी छोरी भएको कारणले पढाउन लेखाउनमा कुनै कसर बाँकी राख्नु भएन तर घरबाट कतै बाहिर जान दिनुहुन्थेन । समाजको नजरबाट जहिले पनि बचाएर राख्नुहुन्थ्यो । तर घरको आर्थिक अवस्था कमजोर भएको कारणले रामस्वरुपले छोरी रिता दासलाई १४ वर्षकै उमेरमा विहे गरेर पठाई दिनु भएको थियो ।
तर भनिन्छ नि क्षमता छ भने ढुगांलाई फोडेर पनि रुख उम्रिन्छ । त्यस्तै भयो रिता दासका हकमा । उनी श्रीमानको घरमो आएपछि अलिकति स्वतन्त्रता पाउनुभयो । बाहिर विभिन्न व्यक्तिसँग संगत गर्नुभयो । र, समाजमा उहाँले छुट्टै पहिचान बनाउनुभयो । त्यही पहिचानका कारणले उहाँले महावीर भण्डारीलाई न्याय दिलाउन सफल हुनुभयो ।
विहे गरेर गएपछि सबैले उहाँलाई औरहीबाली भनेर बोलाउनु हुन्थ्यो तर जब उहाँ समाजमा सक्रिय हुनुभयो अनि उहाँलाई उहाँकै नाम रिता दासको नामबाट बोलाउन थाल्नुभयो । दहिपौडीमा सबैले उहाँलाई रिता दासको नामले चिन्न थाले । २०७२ सालमा उहाँले एमाले पार्टीको सदस्यता लिनुभयो । उहाँ अहिले सुखिपुर नगरपालिका समितिको उपसचिव र नेपाल उत्पीडित मुक्ति समाज मधेश प्रदेशको सचिवाल सदस्य पदमा हुनुहुन्छ ।
वडा सदस्य
२०७४ को स्थानीय चुनावमा उहाँ सुखिपुर नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा चुनाव लड्नु भएको थियो । ७७४ मत ल्याएर उहाँ वडा सदस्यमा चुनाव जित्नु भएको थियो । वडा सदस्यको रुपमा उहाँले आफ्नो वडामा राम्रो काम गरेको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘म एउटा वडा सदस्य मात्र थिए तर काम वडा अध्यक्ष जतिको गरे, त्यो मैले होइन, त्यहाँको जनताले मूल्यांकन गरिरहेको छ ।’
पाँच वर्षसम्म जनताको काममा आफूलाई पूर्णरुपमा समर्पित गर्नुभएका रिता दासले २०७९ को स्थानीय तह चुनावमा पुनः सोही पदमा उम्मेदारी दिनुभएको थियो तर उहाँ ३० भोटले चुनाव हार्नुभयो । रिता दास चुनाव हार्नुभयो तर हिम्मत हार्नुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘म चुनाव हारेको छु जस्तो मलाई लागि रहेको छैन, जनताले त्यही माया मलाई गर्नुहुन्छ, जनताको दुखसुखमा साथ दिइरहेको छु, जनताको लागि २४ घण्टा तयारी अवस्थामा हुन्छु ।’
चुनाव हारेपछि एमाले पार्टीले उहाँलाई प्रदेश सभाको चुनावमा प्रदेश सभातर्फ समानुपातिकमा नाम राखेको थियो । तर उहाँ वरियाताक्रममा पर्नुभएन । उहाँ पार्टीमा झन सक्रि हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अब राजनीति छाड्न सकिदैन, यत्रो लगानी गरिसकेपछि अब छाड्ने कुुरा हुँदैन, देश र जनताको सेवा जति दिन गर्न सकिन्छ गरिरहन्छु श्रीमानले पनि अब राजनीति नछोड्नु भन्नुभएको छ ।’
चुनाव हारे पनि निर्वाचन आयोगमा दुई लाख जरिवाना बुझाउनु भएको छ । चुनावमा भएको खर्च विवरण समयमा नबुझाउँदा सो जरिवाना बुझाउनु परेको थियो । त्यो जरिवाना रकम पनि उहाँले ब्याजमा लिएर बुझाउनु भयो । त्यसमा पनि उहाँलाई चिन्ता छैन । उहाँ भन्नुहुन्छ, ‘समाजका लागि म जे गर्न पनि तयार छु ।’
छोराछोरी
रिता दासको दुई जना छोरी र एक जना छोरा छन । जेठी छोरी शिवानी दास एच.ए.सम्म अध्ययन गर्नुभएको छ । उहाँको विहे भइसकेको छ । शिवानीको श्रीमान भारतमा इन्जिनियर हुनुहुन्छ । उहाँ पनि त्यही श्रीमानसँग बस्नुहुन्छ । छोरा अविनाश दास १९ वर्षका हुन् । उनी विराटनगरमा कमर्श पढी रहेका छन् । छोरी किरण दास अहिले कक्षा ८ मा पढी रहेकी छिन् ।
तपाईको प्रतिक्रिया