Khadya Bibhag

करुणा झा जसले गर्नुभयो २० वर्ष निशुल्क पत्रकारिता

साहित्य भनेको एउटा नशा हो, पत्रकारिता पनि त्यस्तै नशावान हुन्छ जसलाई लागेपछि दायाँ बायाँ केही हेर्दैन बरु त्यसका लागि जेसुकै क्षति होस् मतलब हुँदैन । करुणा झाको जीवनमा पनि त्यस्तै भएको छ । सप्तरी राजविराजका करुणा झा जो २० वर्षदेखि साहित्य तथा पत्रकारितामा सक्रिय हुनुहुन्छ । तर त्यसबाट आर्थिक लाभ लिन सक्नु भएको छैन ।
पत्रिकामा साहित्य लेखनदेखि समाचार विचार सबै लेख्नु हुन्थ्यो उहाँले । एफएममा समाचार पनि वाचन गर्नुहुन्थ्यो उहाँ । राजविराजको स्थानीय पत्रिकामा मात्र होइन, काठमाडौँको विभिन्न पत्र पत्रिकामा समेत उहाँले कथा, कविता, विचार तथा समाचार लेख्नुभयो तर आजसम्म कसैबाट एक रुपियाँ पनि लिनु भएको छैन । लिनु भएको छैन भन्दा पनि उहाँलाई कसैले दिएन ।
भारत विहार सीतामढीका करुणा झा त्यहीँको स्कूलमा कविता लेखन तथा वाचन गर्नुहुन्थ्यो । उहाँले लेखेका कतिपय कविता हिन्दुस्तान दैनिक, दैनिक जागरण जस्ता पत्रिमा छापिन्थ्यो तर उहाँले त्यसलाई कहिले वास्ता गर्नु भएन । तर एउटा समय यस्तो आयो कि साहित्य तथा पत्रकारिताको उहाँ दिवाना हुनुभयो । करुणा झालाई आफै लागेको थिएन कि विस्तारै यो क्षेत्र नशा बनेर आउँछ । जीवनको एउटा ध्येय नै बन्छ ।

कमला बालिका उच्च हाइस्कूल सितामढीमा आठ कक्षा पढ्दादेखि नै उहाँले कविता लेख्नु हुन्थ्यो, वाचन गर्नुहुन्थ्यो तर साहित्यकार बन्छु भनि उहाँलाई लागेको थिएन । करुणा झा भन्नुहुन्छ, ‘म त्यतिकै नोटबुक तथा कापीका पानाहरुमा कविता कोर्थे, मौका मिल्यो भने त्यसलाई वाचन गर्थे, कहिले काही पत्रिकामा पनि प्रकाशनका लागि दिइन्थ्यो तर त्यो कुरालाई मैले कहिले सिरियस लिइनन् जब विहे गरेर राजविराज आए अनि मेरो कविता तथा लेखनको चर्चा तथा तारिफ हुन थाले, त्यसपछि मात्र त्यसप्रति आकर्षित भए र चासो पनि बढ्न थाल्यो ।’ हिन्दी भाषामा मास्टर्स डिग्रीसम्म अध्ययन गर्नुभएका करुणा झाले लहैलहैमा आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसक्नु भएको छ । त्यति मात्र होइन देश विदेशमा कविता वाचन गर्न जानुहुन्छ ।
साहित्यमा लागेपछि यति ठाउँमा सम्मानित हुनुभएको छ कि त्यो सम्मानपत्र राख्ने ठाउँ पनि छैन । उहाँ भन्नुहुन्छ, यो मेरो कमाई हो ।’ करुणा झालाई पत्रकारिताको नशा यस्तो चढ्यो कि उहाँले आफ्नै घरमा एफएम पनि खोल्नुभयो ।
शिक्षा
बुवा सुदर्शन झा र आमा धर्मशिला झाका कान्छी छोरी करुणा झा कमला गल्र्स हाइस्कुलबाट सन् १९८७ मा एसएलसी पास गर्नुभयो । गल्र्स स्कुलमा नै किन पढ्नु भयो भनि जिज्ञसामा उहाँले भन्नुभयो, ‘सीतामढीमा सबभन्दा राम्रो स्कूल त्यही थियो, त्यो स्कूलमा एसपी, कलस्टरका छोरीहरु पढ्थे, राम्रो पढाइ भएको कारण मेरा बुवाले पनि त्यही हाल्नु भएको थियो ।’ करुणाका बुवा सुदर्शन बैंकका म्यानेजर हुनुहुन्थ्यो ।
१० कक्षा पढेपछि करुणा झाको विहे सप्तरी राजविराजका इञ्जिनियर शैलेन्द्र मोहन झासँग भयो । सीतामढी नेपालको सीमासँगै रहेको कारणले उहाँहरुको आफन्तहरु नेपाल–भारत आउजाउ गर्नुहुन्थ्यो । शैलेन्द्र झाका बुवा पनि भारत सीतामढीतिर गइरहनु हुन्थ्यो । त्यही क्रममा चिनजान भयो र विहेको कुरा चलेको थियो । र, विहे भयो । बुवा सुदर्शन अस्वस्थ्य रहनु हुन्थ्यो त्यही भएर जीवनको के भरोसा भन्दै छोरीको विहे अलि चाँडै गर्नुभयो ।
करुणा झाले भन्नुभयो, ‘मेरो विहे भए पनि मेरो पढाईमा ब्रेक लागेन, बुवाले विहे कुरा चलाउँदा नै भन्नुभएको थियो कि विहे पछि तिमीलाई पढाउँछु जति पढ्न चाहन्छौं त्यति बढाउँछु, विहेपछि पनि आफ्नो पढाईलाई निरन्तरता दिए रामदयाल कलेज सितामढीबाट इन्टर पास गरे ।’
करुण झाका बुवाले छोरीहरुलाई औधी माया गर्नुहुन्थ्यो । छोरीहरुलाई छोरा जस्तै माया गर्नुहुन्थ्यो, छोरा जस्तै पढाई लेखाई देखि लिएर हरेक कुराको व्यवहार उहाँले गर्नुहुन्थ्यो । तीन जना छोरी भएपछि करुणा झाका बुवाले आफै परिवार नियोजन गराउनुभयो । करुणा झाका आमाले कम से कम एउटा छोरा हुनुपर्ने आशमा हुनुहुन्थ्यो तर करुणाको बुवाले छोरा र छोरी समान हुन् छोरी भए केही फरक पर्दैन भनि उहाँले आफै परिवार नियोजन गराउनु भएको थियो ।
करुणाका श्रीमान पनि भारतमै इञ्जिनिरिङ अध्ययन गर्दै हुनुहुन्थ्यो । इन्टरमा पढ्दा नै करुणाले एउटा छोरीको जन्म दिनुभयो तैपनि उहाँले पढाईलाई निरन्तरता दिनुभयो ।

इन्टर पास गरेर उहाँले ब्याचलरमा नाम लेखाउनु भयो तर त्यसलाई निरन्तरता दिन सक्नु भएन । श्रीमानको पढाई पनि सकि सकेको थियो । उहाँ नेपाल फर्केर आफ्नै कारोबार सुरु गर्नुभएको थियो । त्यही भएर करुणा झालाई पनि राजविराज फर्किनुभयो । राजविराज आएपछि पढाईमा डिस्टर्व भयो । घरमै अध्ययन गर्ने र परीक्षा दिन मात्र जानु हुन्थ्यो । ब्याचलर पास गर्न करुणा झालाई ५–६ वर्ष नै लाग्यो ।
कारण, राजविराज करुणा झाका लागि नौलो थियो । अहिलेको जस्तो थिएन त्यो बेला । सितामढी जस्तो शहरमा पढे लेखेका करुणा झा एकाएक नेपाल आउनु पर्यो त्यो पनि गाउँले परिवेशमा । भाषा पनि फरक, परिवेश, लोकेशन सबै फरक भएका कारण सबै कुरामा घुलमिल हुन केही समय लाग्यो । त्यसले उहाँको पढाईमा पनि असर गर्यो । बालबच्चा सम्हाल्नुको साथै घर व्यवहार चलाउनुबाहेक अरु केही गर्नु हुन्थेन । ब्याचलर सकाएको धेरै पछि उहाँले भारतबाट मास्टर्स पनि सकाउनुभयो ।
पत्रकारितामा संलग्न
राजविराजमा बस्न थालेपछि उहाँको प्राय समय घरमै बित्थ्यो । बाहिर त्यति खासै चिनजान पनि थिएन । त्यही भएर उहाँ बाहिर निस्कनु हुन्थेन । घरमा लोकल पत्रिकाहरु आउथ्यो । पत्रिका पढेर, टिभी हेरेर, रेडियो सुनेर उहाँको टाइम पास हुन्थ्यो । करुण झा पढे लेखेकी, साहित्यमा रुची राख्नुहुन्छ भने केही व्यक्तिलाई थाह थियो । कुरा २०६० तिरको हो, राजविराजमा मैथिली साहित्य परिषद्को कार्यक्रम थियो । त्यो कार्यक्रममा सहभागी हुन विवेकानन्द झाले करुणा झालाई पनि निमन्त्रणा दिनुभएको थियो ।
निमन्त्रणा अनुसार करुणा झा त्यो कार्यक्रममा जानुभयो । राजविराज आएपछि करुणा झाको लागि पहिलो कार्यक्रम थियो । त्यो कार्यक्रममा जानु मात्र भएन, त्यहाँ आयोजकको आग्रहमा आफ्नो मन्तव्य पनि उहाँले राख्नुभयो । त्यो मन्तव्यले उहाँले सबैको मन जित्नुभयो । उहाँले कार्यक्रममा राखेका धारणाले भोलीपल्ट त्यहाँको अधिकाँश लोकल पेपरमा समाचार नै बनेको थियो । करुणा झा भन्नुहुन्छ, ‘बोल्ने बानी मलाई स्कूलदेखि नै थियो, स्कूलमा कुनै कार्यक्रम हुँदा मलाई नै बोल्न लगाउँथ्यो, बोल्नका लागि मलाई कहिले अप्ठ्यारो लागेको थिएन, त्यो दिन परिषद्को कार्यक्रममा पनि मैले मैथिली भाषाको विषयमा आफ्नो धारणा निर्धक्क भएर राखेका थिए ।’
त्यसपछि उहाँलाई अन्य कार्यक्रममा पनि बोलाउन थाल्यो । त्यहाँ स्थानीय पत्रिकाले नै करुणा झालाई पत्रिकाहरुमा लेख्न आग्रह गर्नुभएको थियो । उहाँले पहिलो पटक त्यहाँको कृष्णा दैनिक पत्रिकामा कविता लेखेर दिनुभएको थियो । कविता छापिएको थियो । त्यो कविताको चर्चा पनि भएको थियो । उहाँको लेखहरु पनि छापिन थाल्यो । त्यसपछि उहाँले समाचारहरु लेख्न थाल्नुभयो ।
निशुल्क पत्रकारिता
विस्तारै विस्तारै उहाँ पत्रिकाको कार्यालयमा गएर नै कामदार जस्तै काम गर्न थाल्नुभयो । विभिन्न विषयमा लेख तथा विचार लेख्नुको साथै स्थानीय समाचारहरु पनि लेख्न थाल्नुभयो । त्यसपछि अन्य पत्रिकाहरुले पनि उहाँसँग कविता, कथा, लेखहरु माग्न थाले । भ्याउनेसम्म उहाँले अन्य अन्य पत्रिकालाई दिन थाल्नुभयो । त्यसपछि विस्तारै पत्रकार तथा साहित्यकारको रुपमा करुणा झाको चर्चा राजविराजमा हुन थाल्यो ।
काठमाडौँबाट प्रकाशन हुने हिमालिनीमा पनि काम गर्न थाल्नुभयो । हिन्दी मेडियमबाट पढेको कारण करुणा झाको हिन्दी लेखाई राम्रो थियो । त्यही भएर प्रायः प्रत्येक अंकमा उहाँको केही नकेही छापिन्थ्यो । तर उहाँले राजविराजदेखि काठमाडौँको सञ्चारमाध्यममा सक्रिय भएर काम गर्नुभयो । त्यसवापत उहाँले कसैबाट कुनै पारिश्रमिक पाउनु भएन । उहाँ भन्नुहुन्छ, ‘सबैले काम मात्र लगाउथे, लेख, समाचार, कथा कविता मात्र माग्थे त्यसवापत उहाँहरुले कहिले केही दिनुभएन । उहाँहरुले पनि दिनुभएन, मैले पनि मागिनन् ।’
पत्रकारिताको नशा यतिसम्म लागि सकेको थियो कि उहाँलाई लेखाईबाट नपुगेर उहाँ एफएममा पनि बोल्न थाल्नुभयो । राजविराजकै स्थानीय छिनमस्ता एफएममा विहान मैथिली भाषामा समाचार पढ्न थाल्नुभयो । विहान चिया खाएर सधै हिडेर एफएम जानु हुन्थ्यो समाचार पढ्नु हुन्थ्यो र त्यहाँबाट फर्केर आएपछि मात्र घरका अरु कामहरु गर्नुहुन्थ्यो ।
केही समय स्थानीय पत्रकार एवंं श्यामसुन्दरको साथमा पनि उहाँले समाचार पढ्नुभयो । रेडिया, टिभीमा बोल्ने सौख उहाँलाई सानैदेखि थियो । बाल्यकालमा रेडिया सुन्दा, टिभी हेर्दा उहाँलाई लाग्थ्यो कि मान्छेहरु कसरी बोल्दो होला । आफू यसरी कहिले बोल्ने हो भनि उहाँलाई बाल्यकालमा लागेको थियो । तर उहाँले एफएममा बोल्ने त्यो सपना पनि पुरा गर्नुभयो ।
एफएममा उहाँले चार वर्षसम्म लगातार काम गर्नुभयो । एक दिन पनि नटुटाइकन समाचार पढ्नुभयो तर त्यसको पारिश्रमिक एक रुपियाँ पनि उहाँले पाउनुभएन । एफएमबालाले पनि यो यति उति लिनुस् भनेनन्, यता, करुणा झाले पनि कहिले त्यसको चाहना राख्नुभएन । उहाँ भन्नुभयो, ‘मैले पैसाका लागि पत्रकारितामा लागेको होइन, मेरो सौख थियो, मेरो चाहना थियो जसले मलाई त्यो काम गर्न बाध्य पारेको थियो तर यसको मतलब मलाई पैसा चाहिएको थिएन भने होइन, यतिका दिनसम्म मिडियामा काम गरे कसैले पनि एक रुपियाँ दिएन ।’

करुणा झाले उल्टै आफ्नो खर्च गरेर अरुको मिडियामा काम गर्नुहुन्थ्यो । तर त्यसमा उहाँलाई कुनै चिन्ता थिएन । उहाँका श्रीमानले पनि बेलाबेला यो कुरा भन्नुहुन्थ्यो, के काममा लाग्नु भएको छ, त्यसबाट के फाइदा भइरहेको छ, समयको मात्र बर्बादी भइरहेको छ ।’ तर करुणा झा जवाफमा भन्नुहुन्थ्यो, ‘पैसा दिएन भने के भयो र, मान्छेले त चिनेका छन् नि, पत्रिकामा लेख्दा धेरै मान्छे पढ्छन् कि यो फलानो मान्छेले लेखेका छन्, एफएममा बोल्दा फलानो मान्छे बोलेको भन्छन् नि त्यही हो मेरो कमाई मलाई चाहिदैन पैसा ।’
राजविराजको एउटा बुहारी भए पनि करुणा झाको सक्रियता र लगनशिलताका कारण सबैले चिन्न थालेका थिए । उहाँको कविता, लेख, रचनाको चर्चा हुन्थ्यो । छोटो समयमा राजविराजमा उहाँलाई सबैले चिन्न थाले । यो नै उहाँको ठूलो कमाई थियो । करुणा झा भन्नहुन्छ, ‘म आफ्नो कामबाट सन्तुष्ट थिए र मलाई साहित्य तथा पत्रकारितामा काममा आनन्द आउँछ र यसमै म खुशी छु, श्रीमानलाई पनि यही भनेर कन्भिन्स गर्नुहुन्थ्यो ।’
अर्काको एफएममा यसरी सधै समाचार वाचन गर्न थालेपछि करुणा झाका श्रीमानले आफ्नै घरमा एउटा एफएम खोल्दिनुभयो । सी एफएम नामको सो एफएम करुणा झाले आफ्नै रेखदेखमा सञ्चालन गर्नुहुन्छ । राजविराजमा हुँदासम्म उहाँले त्यसमा समाचार पढ्नुहुन्छ । बाहिर कतै जानुभयो भने अरु स्टाफहरुले वाचन गर्छन् । अन्य ठाउँमा अब त्यति जानु हुन्न । अहिले पहिला जस्तो लेख्न बोल्न पनि छाड्नु भएको छ ।
थुप्रै पत्रिकाहरु बन्द पनि भएका छन् । भएका पत्रिकाहरुले पनि लेख, कविता तथा कथा तथा अन्य विचारहरु छाप्दैनन् । हिमालिनी पनि सायद बन्द भएको छ । त्यहाँ पनि उहाँले पठाउन छाड्नु भएको छ । पहिला पहिला गोरखापत्रको नयाँ नेपाल पृष्ठको मैथिली भाषामा पनि उहाँको लेख रचना प्रकाशित हुन्थ्यो तर अहिले पठाउँदा पनि छाप्दैन भनि उहाँको गुनासो छ । त्यही भएर यो खुद्रै लेखन भन्दा अलिकति मेहनत गरेर पुस्तक नै प्रकाशन गर्ने सोचमा उहाँ पुग्नु भएको छ ।
पुस्तक प्रकाशन
अहिले उहाँ साहित्यतर्फ बढी ध्यान दिन थाल्नुभएको छ । साहित्य रचना गरी किताब प्रकाशन गर्ने काम उहाँले गर्नुहुन्छ । हाल उहाँका ‘‘जीवन पथ पर चलते चलते” (हिन्दी निबन्ध संग्रह), ‘‘जीवनदान” (मैथिली लघु कथा–संग्रह), ‘‘भगजोगनी” (मैथिली कविता–संग्रह)लगायत छ वटा पुस्तक प्रकाशित छन् । दर्जनौ कथा, कविता, हांस्य व्यग्य, निबन्ध, लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँ एउटा लघु कथा संग्रह प्रकाशित गर्ने तयारीमा लाग्नुभएको छ । सो संग्रहमा ५० वटा कथा राख्ने सोच उहाँको रहेको छ । त्यसमध्ये उहाँले करिब २० वटा कथा लेखि सक्नु भएको छ ।

उहाँका पुस्तक मात्र होइन, गीतहरु पनि प्रकाशित भएका छन् । उहाँले लेखेका गीतहरु बजारमा आइसकेका छन् । उहाँका अधिकाँश गीतहरु क्रान्तकारी रहेका छन् । जो विभिन्न आन्दोलनका लागि तयार पार्नुभएको थियो । यतिका गीत तथा पुस्तकहरु प्रकाशन भएपनि हालसम्म त्यसबाट कुनै आम्दानी भएको छैन । सबैमा लगानी मात्र भएको छ ।
‘भगजोगनी’ कविता संग्रह साझा प्रकाशन गरेको छ । त्यसबाट उहाँले हालसम्म दुई हजार रुपियाँ रोयल्टी पाउनु भएको छ । हालसम्म पत्रकारिता र साहित्यमा लागेको कमाई त्यही दुई हजार रुपियाँ मात्र हो ।
उहाँले भन्नुभयो, हालसम्म पत्रकारिता र साहित्यमा लागेको कमाई त्यही दुई हजार रुपियाँ मात्र हो । ‘यसरी साझा प्रकाशनले पुस्तक प्रकाशित गर्दिन्छन् भने कुरा मलाई थाह थिएन, साझा प्रकाशनका तत्कालिन महानिर्देशक ममता झा (हाल जनमत पार्टीका जिल्ला इन्चार्ज) राजविराज आएको बेला एउटा कार्यक्रममा मधेश महिलाहरु लेख्दैन, यदि कसैले लेखे भने म साझा प्रकाशनबाट प्रकाशित गर्नका लागि सहयोग गर्न सक्छु भन्नुभएको थियो त्यो कुरा मैले पनि सुनेको थिए, उहाँले भन्नुभयो ।
उहाँले त्यो कुरा सुन्ने बित्तिकै ममता झालाई भेटेर आफूले मैथिली भाषामा लखेका कविता प्रकाशित गराउन चाहेको र त्यसमा सहयोग गर्नुहुन्छ भनि अपेक्षा पनि गरेको कुरा राख्नुभएको थियो । त्यसपछि ममता झाले हुन्छ भन्नुभएको थियो । ममताले भने झै करुणा झाको पुस्तक साझा प्रकाशनबाट प्रकाशित भयो । पछि त भाषा भाषीमा सबभन्दा बढी बिक्रिको रेकर्ड करुणा झाको ‘भगजोगनी’ कविताले बनाएको थियो । त्यो कुरा करुणा झाले ममता झाबाट नै थाह पाउनु भएको थियो ।
समाजिक काम
करुणा झाले दहेज मुक्त मिथिला नामको समाजिक संस्था खोल्नु भएको छ । सन् २०१२ वर्षदेखि त्यसमा उहाँ क्रियाशिल हुनुहुन्छ । तराई मधेशका विभिन्न जिल्लामा यो संस्था क्रियाशिल रहेको छ । दहेज मुक्त समाज निर्माण गर्नका लागि त्यो संस्थाले चेतना फैलाउने काम गरिरहेको छ । जसले विना दहेज विवाह गर्छन्, उसलाई प्रोत्साहित गर्नुको साथै सम्मान गर्ने काम पनि त्यो संस्थाले गर्दै आएको छ ।
तर करुण झा भन्नुहुन्छ, ‘दहेज करकापले लिनु हुँदैन, तर आमा–बुवाले छोरीलाई दिने सरसमानलाई दहेजको रुपमा बुझ्नु हुँदैन ।’ विहे हुँदा छोरा पक्षबाट दहेज माग्ने गरिन्छ, मोलमोलाई नै हुन्छ, दहेजमा कुरा मिलेन भने विहे नै हुँदैन, दहेजका कारण महिलाको हत्या, हिंसा हुने गरेको छ त्यसको विरोध आफूहरुले गरिरहेको उहाँले बताउनुभयो । कसैले दहेजकै लागि पैसा जोगाएर राख्छ भने त्यो गलत हो, त्यसरी पैसा जोगाएर राख्नु भन्दा छोरीको शिक्षामा खर्च गर्दा राम्रो हुने भनि भनाई करुणा झाको छ । उहाँ त्यसबाहेक नेपाल भारत मैत्री संघका सदस्य पनि हुनुहुन्छ ।
मधेश आन्दोलन
करुण झाले आफ्नो कविता र गीतबाट मधेश आन्दोलनलाई जगाउने काम गर्नुभएको हो । २०६४ मा भएको मधेश आन्दोलनमा उहाँले राजविराजको चौक चौकमा वीर रसको कविता वाचन गरेर आन्दोलनलाई सघाउने काम गर्नुभएको थियो । उहाँले लेखेको गीतले मधेशलाई उर्जा भर्ने काम गरेको छ । उहाँ भन्नुहुन्छ, ‘मलाई कसैले न आन्दोलनमा बोलाएका थिए न कसैले केही भनेका थिए । आन्दोलन हुँदैछ भनि थाह पाएर म आफै त्यहाँ जान्थे जहाँ आन्दोलन हुन्थ्यो त्यहाँ मैले आफ्नो कविता वाचन गर्थे ।’

करुणाले आन्दोलनकै लागि स्पेशल कविता लेख्नुभएको थियो । कविता त्यतिबेला निकै प्रशंसा भएको थियो । कतिपय पत्रिकाले त्यो कविता मागेर छापेको थियो । राजनीतिक दलका नेताहरुले पनि उहाँलाई चिन्न थालेका थिए । मधेश आन्दोलनमा उहाँको योगदानको चर्चा पनि हुन्थ्यो । नेताहरुले उहाँलाई आआफ्नो पार्टीमा ल्याउने प्रयास पनि गरेका थिए । तर उहाँ कुनै दलमा लाग्नु भएन ।
उहाँले भन्नुभयो, ‘मलाई नेताहरुले पार्टी प्रवेश गराउन चाहनु भएको थियो तर म कुनै पार्टीमा प्रवेश नगर्ने, एउटा कुनै एक पार्टीको भएर नबस्ने भनेर फर्काउथे ।’ पार्टीमा लागेपछि साहित्य सृजनालाई प्रभाव पार्छ कि भनि चिन्ता उहाँलाई थियो । साहित्य र पत्रकारितामा लाग्ने व्यक्ति स्वतन्त्र हुनुपर्छ भनि मान्यता उहाँको छ । मधेश आन्दोलनदेखि हुने हरेक प्रकारको आन्दोलन तथा राजनीतिक गतिविधिमा करुणा झाले आर्थिक सहयोगदेखि लिएर हरेक प्रकारको सहयोग गर्नुहुन्थ्यो । तर ती पार्टीहरुले आजसम्म सम्झेको छैन ।

तपाईको प्रतिक्रिया