Khadya Bibhag

संघर्षशील बादलको अन्तरकथा

–रामरिझन यादव,,,
माक्र्सवाद भनेको सिद्धान्त फलाक्ने विचार मात्र होइन यो त दुनियाँलाई अमूल परिवर्तन गर्ने सार्वभौम नियम हुन भन्ने कुरा बादल र म सँगसँगै अधिग्रहण गरेको थिए । यो शिक्षाले हाम्रो मित्रतालाई प्रगाढ बनायो । वर्षौ वर्षसम्म कहिल्यै कुनै भ्रम सिर्जना हुन दिइएन । कतिसम्म भने पार्टीगत रुपमा हामी अलग अलग रहेको अवस्थामा समेत हाम्रो राजनीतिक व्याख्यामा प्रचुर सामानता पाइन्थ्यो ।
त्यसको कारण के थियो भने हाम्रो व्याख्या र विश्लेषण द्वन्द्वात्मक भोतिकवादमा आधारित हुन्थ्यो । जो माक्र्सवादको मूल प्रस्थापना हो । उनी मेरा नङगौटिया मित्र थिए । म र बादलप्रसाद यादव सन्हैठा स्कूलमा तीन कक्षादेखि सिरहा स्कूलको एसएलसीसम्म सँगसँगै पढेको थिए । पछि उनी उच्च शिक्षाका लागि जनकपुरतिर लागे र म भने भारत विहारको मधुवनी जिल्लास्थित आरके कालेजको छात्र भए ।
त्यसैले औपचारिक शिक्षा र माक्र्सवादी दर्शनको शिक्षा हामी दुबै जना सँगसँगै प्राप्त गरेका थियांै । यही शिक्षाले हामी दुबै जनालाई आफ्नो गाउँ ठाउँमा अन्य शिक्षित व्यक्तिबाट भिन्न पार्न वा अलग देखाउन अहम् भूमिकाको निर्वाहन गर्यो ।
शिक्षा त्यतिकै प्राप्त हुँदैन । गुरु चाहिन्छ । चाहे त्यो महाभारतको एकलब्यजस्तो नै किन न होस् । औपचारिक शिक्षाको मेरो गुरु थिए, भारतका पूज्यनीय गुरु सोहन मिश्र तथा उनको गुरु को थिए अहिले सम्झना भएन । तर, हाम्रो माकर््सवादी गुरु एउटै हुन्, अहिलेका माओवादी केन्द्र नेता तथा भूपू मन्त्री रामकुमार यादव । हामी दुबै जनाले माक्र्सवादी शिक्षाको कखहरा उहाँबाट नै सिकेका थियौ । त्यसैले यो दुइटै ज्ञानको प्राप्ति पश्चात् जीवनभर एउटै लयमा राजनीतिमय भएर काम गरिरह्यौ । जो समाज र राष्ट्रमा पहिचान स्थापित गर्न सबैभन्दा ठुलो हतियार बन्यो । कास पढे लेखेकाहरुले म र बादलजस्तै आफ्नो औपचारिक शिक्षा सँगसँगै राजनीतिक ज्ञान पनि हासिल गर्न सकेको भए सायद हाम्रो मधेशी समाजमा रहेको वैचारिक कहाली लाग्दो अवस्था रहने थिएन ।
कारण, आफ्नो जीवन निर्वाहनका लागि चाहिने पेशागत, सीपगत तथा प्राविधिगत शिक्षा सँगसँगै समाज रुपान्तरणको लागि चाहिने खुराकी ज्ञान पनि त्यतिकै आवश्यक हुन्छ । हामी दुबैले त्यो अधिग्रहण गरेको हुनाले नै आ–आफ्नो गाउँको पहिचान दिलाउन सफल भयौं । यही प्रस्थापनालाई टेकेर आज मैले सिरहा जिल्ला सिरहा नपा–२२ हकपाडाका नङगौटीया मित्र बादलप्रसाद यादव, जसको परिवारसँग मेरो बहुआयामिक सम्बन्ध छ मैले आज केही कुरा कोट्याउन प्रयास गरेको छु ।
हाम्रो मधेशी समाज आफूलाई जतिसुकै पढे लेखेको डिङग हाकोस् राजनीतिक चेतनामा अन्य समाजसँग सापेक्षिक रुपमा न्यून छ । र, जबसम्म त्यो होश, बोध र चेतले परिपूर्णता प्राप्त गर्दैन तबसम्म बादल र रामरिझन निरन्तर यो समाजमा उत्पादन भइरहने सामाजिक नियम हो । किनकि, रुपान्तरण समाजको अनिवार्य शर्त हो ।
सर्वहारा छोरा
बादल प्रसाद यादव एउटा समृद्ध किसानका छोरा थिए । उनका बुवा रामेश्वर यादव खेती किसान गर्नुको साथै गाउँघरमा नामी पहलमान पनि थिए । एउटा यस्तो किसान जसको घरमा हाती घोडादेखि दुईचार जोडा हलगोरु र सैयौको सँख्यामा गाई हुन्थ्यो । तिनताक हल गोरुका संख्याले उनको खेतीपातीकोे हैसियत निर्धारण हुन्थ्यो । बादलको घरमा त्यो कुराको कमी थिएन । तिनै वस्तुहरुले परिवारको पहिचान समाजमा स्थापित गर्ने हुनाले पुर्खाले आफ्ना सन्ततीका लागि प्रयाप्त धन सम्पत्ति आर्जन गरेका थिए ।

तर गाउँमा धनी कहलाए पनि उनको परिवार सानो खालको सामन्त थियो । जुन गाउँमा चारैतर्फ फूसको घर हुन्छ त्यस्तो गाउँमा कसैले टायलको घर बनायो भने त्यस्तालाई नै पक्की (कोठाबाला) भन्ने चलन जस्तै बादलका पुर्खा त्यस्तै खालका सामन्त थिए । यस्तो परिस्थितिमा पनि बादलको उत्पादन त्यो परिवारबाट हुनु आफैमा उदेकलाग्दो पक्ष हो ।
माक्र्सवादी बादल
कम्युनिष्ट त गरिब मात्र हुन्छन् भन्ने तत्कालीन सोचलाई बादलले ठूलो हाँक दिएका थिए । हो पनि, बादलबाहेक अहिलेसम्म त्यो परिवारमा कोही माक्र्सवादी भएनन् । यसले पनि के पुष्टि गर्दछ भने विचारधाराको उत्पादन जहाँ पनि हुन सक्ने सम्भावना हुन्छ । विश्वका महान माक्र्सवादी एन्गेल्स ठूलो पुँजीपतिका छोरा थिए । त्यस्तै बादल पनि हकपाडा गाउँको सबैभन्दा ठूलो सामन्तका छोरा पहिलो कम्युनिष्ट हुनुभयो । अनि मात्र उहाँबाट शिक्षा ग्रहण गरी छ्यापछ्याप्ती भएका छन् । यद्यपि समय, काल र परिस्थितिले उनलाई धार परिबर्तन गर्न बाध्य पार्यो । तर, उनको लवाई खुवाई र बोलाई जीवनको अन्त्यसम्म सर्वहाराजस्तै रह्यो ।
बादल एक्लो छोरा थिए र उनका तीन जना दिदी वहिनी थिए । बादलको विवाह हालका औरही गाउँपालिका खजनपुरका फुलेश्वर यादव (पूर्व हेडमास्टर)को परिवारमा भएको हो । फुलेश्वर यादवका परिवार पनि त्यो एरियाका सानोतिनो जमिन्दार नै हो । फुलेश्वर यादवका छोरा विजय यादव जसपामा सक्रिय राजनीति गरिरहेका छन् । उनी पटक पटक मन्त्री पनि भएका छन् । खजनपुरका फुलेश्वरको परिवार जस्तै हकपाराका रामेश्वरको पनि परिवार थियो । भनिन्छन, फुलेश्वर यादवको परिवारभन्दा रामेश्वरको परिवार अलि धनीमनी थियो ।
त्यही परिवारमा विहे गरेका बादलका तीन जना छोरा छन् भने तीन जना छोरी छन् । बादलका एक जना छोरा व्यपारमा संलग्न छन् भने अर्को छोरा मधेश प्रदेश सरकारमा चालकको रुपमा कार्यरत छन् । अर्को कान्छो छोरा जसपामा आवद्ध भएर राजनीति गर्नुको साथै घर व्यवहार सम्हाल्दै आइरहेका छन् ।
लडाकुपन
बादलप्रसाद यादव लडाकु, संघर्षशील तथा हिम्मतिल्ला स्वभावका व्यक्ति थिए । यसप्रकारको गुण ह्वातै सबैमा आउदैन । केही त परिवेशले ल्याउछ भने केही वंशानुगत पनि हुन्छ । जातीय स्वभावले पनि कतिपय अवस्थामा उसको पहिचान निर्माण गर्न सहायकको भूमिका निर्वाहन गर्दछन् । यस्तो परिस्थितिमा बादलको बारेमा व्याख्या र विश्लेषण गर्ने हो भने उनी एउटा पहलवानका छोरा थिए । तर, बुवा पहलवान भए पनि साह्रै सोझो र इमान्दार प्रकृतिका व्यक्ति थिए ।
त्यसैले वंशानुगत सँगसँगै परिवेशले बादललाई शारीरिक रुपमा बलियोमात्र होइन मनोवैज्ञानिक रुपमा पनि साहसी बनायो । जो समयको अन्तरालसँगै उनको पहिचान बन्यो । संगठनभित्र गर्न नसकिने र हुन नसकिने कामको अभिभारा पार्टी केन्द्रबाट अह्राएपछि साथीले ह्वातै बादललाई याद गर्थे । योे कुरा उनको गाउँमा भिन्दा भिन्दै आयोजना गरिएका दुईटा श्रद्धाञ्जली सभामा वक्ताहरुको व्यक्त विचारबाट पनि पुष्टि हुन्छ ।
बादलको प्रारम्भिक रुपमा कम्युनिष्ट भएकोले तत्कालीन संयुक्त जनमोर्चा नेपालका नेताहरु (रामकुमार यादव, विश्वनाथ साह, रामरिझन यादव, प्रकाश पोखरेल, विन्देश्वर महतो) उनीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न हकपाडा आएका थिए । आयोजित श्रद्धान्जली सभामा बादलका विद्यार्थीकालीन मित्र कमरेड प्रकाश पोखरेल, जो अहिले नेकपा (मायोवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् । संस्मरणात्मक रुपमा निरंकुश पञ्चायतकाली जनकपुरको थुप्रै घट्ना कोट्याए ।
एउटा घटनाको उद्धृत गर्दै भने एकपटक प्रहरी थानाको अगाडि नारा लेख्नु पर्ने थियो । कुनै पनि साथी तयार भइरहेका थिएनन् । सोझै गोली हान्न सक्ने ठाउँ थियो । त्यतिकैमा एकजना साथीले बादलको नाम सुझाए । त्यसपछि बादलले त्यो काम दुई दिनभित्र सहजै फत्ते पारेका थिए ।
त्यस्तै कुनै अर्को एउटा घट्नामा बादललाई बाध्य भएर जनकपुर क्याम्पस छोड्नु परेको थियो । यसलाई प्रतिबाद गर्दै श्रद्धाञ्जली सभामा जसपा नेता अशेश्वर यादवले जनकपुरबाट डरले गर्दा बादल भागेको होला भन्ने कुरा आफूलाई विश्वास नभएको बताउँछन् । उनको भनाई बादलमा डर नामको कुनै चीज नै थिएन । यसले पनि उनी साहसी, जोशिला र जाँगरिला थिए भन्ने कुराको पुष्टि हुन्छ ।
हत्याको दुष्प्रयास
उनी कति लडाकु थिए भन्ने कुरा अहिलेको पुस्तालाई बताउन आवश्यक छ । तिनताक जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस नेवी संघको गढ मानिन्थ्यो । अखिललाई प्रवेश निषेध जस्तै थियो । स्ववियुको निर्वाचनमा जतिसुकै प्रयास गरे पनि अखिललाई जित्नै नदिने नेवि संघको वर्षौदेखिको रणनीति कायम थियो । त्यस्तो परिस्थितिमा बादलको प्रवेश त्यो क्याम्पसमा हुन्छ ।
गौतम ढुङगेलको नेतृत्वमा थलहाका रामनारायण यादव (मनरुप सरको ज्वाई), प्रकाश पोखरेलसहित बादलले रारा क्याम्पसमा सिर्जना गरेको चुनौती नेवि संघलाई भारी पर्न थाल्यो । जहाँतहाँ क्याम्पस भरी बादलको चर्चा हुन थाल्यो । त्यसैले एक दिन बादललाई सफाई गर्न नेविसंघका नेता भरत अर्यालको नेतृत्वमा लालकिशोर साह (जनकपुरका पूर्व मेयर)लगायत एक झुण्ड व्यक्तिहरु साँझ पख क्याम्पससँग टाँसिएको आँप गाछीमा लुकेर बसेका थिए ।
झम्मक साँझ परेको थियो । बादल बाजारबाट हस्याङ पस्याङ गर्दै क्याम्पस चोकमा आई पुगे । यतिकैमा बादलले चोकमा रहेको पान पसलेबाट केही अनहोनी घटना हुन सक्ने सुइको पाएका थिए । उनी त्यहीबाट फर्के । त्यतिकै बेला सिरहा सुब्बा औरहीका वीरेन्द्र यादव भने सरासर आँप गाछीमा प्रवेश गरेपछि उसको मुख छोपियो र यही हो बादल ठोक गोली भनेपछि वीरेन्द्र चिच्याएर भने, ‘होइन हौ म बादल होइन वीरेन्द्र हुँ ।’ पर रुखको फेदमुनी लुकेर बसेका लालकिशोर साह आए । उनले वीरेन्द्रलाई पहिचानपछि बल्ल उसको ज्यान जोगियो । होइन भने उनको ज्यान जाने निश्चित थियो । यसरी बादल बाल बाल बाँचेका थिए ।
नेविसंघले बादललाई किन मार्न चाहन्थे भन्ने कुरा कौतुहल्ताको विषय हुन सक्छ । वास्तवमा बादल आक्रमक स्वभावका थिए । उनको आक्रमकताले गर्दा वर्षौ वर्षदेखि नेवि संघबाट त्रसित अखिल समर्थक विद्यार्थीहरु आफूलाई सुरक्षित महसुस गर्न थालेका थिए । यसले गर्दा आउने चुनावमा अखिलले जित्ने गाईगुँई समेत चल्न थालेको थियो किनभने त्योभन्दा पहिले रारा क्याम्पसको इतिहासमा अखिल कहिल्यै जितेको थिएन ।
काँग्रेसका वरिष्ट नेता विमलेन्द्र निधि त्यतिबेला नेवि संघका केन्द्रीय सभापति थिए । आफ्नै होमटाउनमा वर्षौदेखिको कायम बर्चश्वलाई यथावत राख्न निधि पनि प्रयत्नरत हुनुहुन्थ्यो भन्ने कुराको ज्वलन्त प्रमाण म पनि हुँ । किनकि, म अखिलको प्रचार प्रसार गर्न मधुवनीबाट जनकपुर पुगेका थिए ।
जहाँ क्याम्पस चोकमा मेरो विमलेन्द्र निधिसँग जम्का भेंट भएको थियो । भयङ्कर डिसक्सन हुन थाल्यो भन्ने कुरा मलाई याद छ । म त्यतिबेला पनि अहिलेजस्तै खाद्यीको पैजामा कुर्ता र बन्डी लगाउथे, जसले नेवि संघमा भ्रम सिर्जना गरेको थियो । पक्कै पनि यो दह्रीबाला खाद्यीधारी हाम्रो समर्थक होला भन्ने विश्वास टुटेपछि मलाई विमलेन्द्र निधि रहेको ठाउँ क्याम्पस चोकमा लगियो । जहाँ नेवि संघका एक हुल विद्यार्थी पहिलेदेखि नै त्यहाँ विद्यमान थिए । विवाद हुँदै जाँदा एक जना विद्यार्थीले मेरो बन्डीको खल्तीबाट पुस्तक झिकेको थियो ।
जसको मैले जोरदार विरोध गरेपछि विमलेन्द्र निधिले माफी माग्नुभएको थियो । त्यो हाते पुस्तक थियो, ‘माओत्सेतुङगाको रेडबूक’ । म त्यतिबेला पाकेटमा अट्ने खालका रेडबूक लिएर हिड्थे । अहिलेको भन्दा पनि ठूलो कम्युनिष्ट भएको थिए । कसैको कुरा नसुन्ने, आफूलाई मात्र राम्रो भने भन्ने जुन पाठ पढाइएको थियो त्यो थेगोसरह गलामा बसेको थियो नेविसंघ जस्तै । बादलमा पनि यो कुरा पर्याप्त झल्किन्थ्यो ।
माक्र्सवादबाट मधेशवाद
बादल माक्र्सवादबाट मधेशवादलाई कसरी अंगाल्न पुगे भन्ने कथा पनि उनको जनकपुर क्याम्पस जस्तै रोचक छ । विद्यार्थीकालमा नै उनी माक्र्सवादका विद्यार्थी भइसकेको कुरा अघि नै उल्लेख गरिसकेको छु । उनी आफ्नो जीवनमा १६ वर्षदेखि अंगालेको माक्र्सवादी अवधारणालाई व्यवहारमा त्यतिबेलासम्म लागु गरे जतिबेलासम्म राज्यले वैयक्तिक रुपमा हस्ताक्षेप नगरेको होस् ।
२०५६ सालमा मैले चुनाव लड्दा उनी कट्टर माक्र्सवादी रहेको मलाई याद छ । त्यसै बेलादेखि माओवादी जनयुद्धले जोड पकड्न थालेको थियो । सबैलाई थाहा भएकै कुरा हो कि संयुक्त जनमोर्चा नेपालका एकमात्र सांसद लिलामणि पोखरेलले संसदमा माओवादी विरुद्ध कांग्रेस र एमालेद्वारा ल्याइएको आतंककारी विधेयकलाई सख्त विरोध गरेका थिए । यसले पनि सरकारमा जनमोर्चाप्रति शंका उपशंका उब्जाएको थियो ।
जनमोर्चाका कार्यकर्ताहरुलाई धडपकड गर्न थालेको थियो । राप्रपाबाट चुनाव जित्नुभएका तत्कालीन हकपाडा गाविसका अध्यक्ष सियाराम यादव जो जीवनको अन्त्यमा सबैभन्दा नजिकको अभिभावक बनेर माओवादीको आरोपमा बादललाई गिरफ्तार गर्न लगाउनु भएको थियो । त्यसैले के भनिन्छ भने राजनीतिमा कुनै स्थायी वा अस्थायी मित्र हुदैन ।
उनले बादलमाथि माओवादीको आरोप लगाउन थालेपछि ज्यान जोगाउन बाध्य भएर उनले काग्रेसको सदस्यता लिएका थिए । तर, मन, वचन र कर्मले कहिल्यै कांग्रेस नभएकोले उनी त्यहाँ धेरै दिन टिक्न सकेनन् । २०६४ सालमा भएको युगान्तकारी मधेश जनविद्रोहमा उनले हाम फाले । राजनीतिक जीवनकालको लामो संघर्षको मध्यान्तरको रुपमा रहेको उनको कांग्रेस प्रवास त्यहीबाट सकियो ।
तर, बादलले गरेको संघर्षलाई जसपाले पनि आँक्न सकेनन् । जसपामा हुँदा एक पटक उनी २०७४ तिर सिरहा नगरपालिका वडा नम्बर २२ मा वडा सदस्यमा जितेका थिए । हुन त संयुक्त जनमोर्चाबाट पनि २०४८ र २०५४ मा गरी दुईपटक तत्कालिन हकपडा वडा नम्बर ४ मा वडा अध्यक्षमा चुनाव जितेका थिए । त्यसैले उनी स्थानीय राजनीतिमा नै रुमलिएको जस्तो मलाई भान हुन्छ । माथि उक्लिन सकेनन् । लगानीको हिसावले उनको जायज प्राप्तिमा कहाँ पूर्ण विराम लाग्यो भन्ने प्रश्न अनुतरित छ । यहाँ मैले माक्र्सवादबाट मधेशवाद शब्दको उल्लेख गरेको मूलकारण के हो भने माक्र्सवाद बिसौं शताब्दीको सर्वोत्कृष्ट दर्शन रहेको प्रमाणित भइसकेको छ ।
तर, एक्काइसौ शताब्दीको पूर्वाद्र्धमा स्थापित हुन पुगेको मधेशवाद नेपालमा बसोवास गर्ने एक करोडभन्दा बढी मधेशी मुक्तिकामी जनताको एउटा यस्तो हतियार हो जसले मधेश र मधेशीको लागि मात्र होइन सिंगो उत्पीडित जातजातिका लागि सिद्धान्तको रुपमा स्थापित हुन पुग्यो । नेपालमा उसको सबैभन्दा ठूलो देन–संघीय शासन प्रणाली हो ।
बादलको गाउँमा राजनीतिक
बादलको गाउँ हकपाडा पढेलेखेका भए पनि राजनीतिक रुपमा चेत पलाएको धेरै पछि हो । स्थानीय रुपमा केही व्यक्तिहरु पञ्चायतकालमा पनि राजनीति गर्थे । तर त्यो राजनीतिमा कुनै दम थिएन । व्यक्तिवादी राजनीति भएकोले त्यसलाई सामुहिकतामा रुपान्तरण गर्न बादलले अहम् भूमिका खेलेको थियो । त्यसैले बादल त्यो गाउँको पहिलो राजनीतिक व्यक्ति हुन् जसले व्यक्तिवादी, सामन्तवादी निरंकुशतन्त्रको विरुद्धमा झण्डा उचालेका थिए ।
उनको आगमन सँगसँगै हकपाडामा राजनीतिक चेतको प्रष्टफुटन भयो । धेरैले विविध थरी राजनीतिक धारसँग आबद्ध भए । कोही नेवि संघ भए । कोही सदभावना भए । राप्रपा भए । तर राजनीतिक रुपमा चेतको विकास बादलबाट मात्र भयो भन्ने कुरा उनी एउटा राष्ट्रिय पार्टीको जिल्ला अध्यक्ष मात्र होइन इन्चार्ज समेत भइसकेको हुनाले हकपाडावासी खुशी हुन सक्छन् ।
तर, त्यो भन्दा ठूलो कुरा के हो भने राजनीति रुपमा संघर्ष कसले गर्यो भन्ने सम्बन्धमा कोट्याउदै जादा बादलबाहेक कोही भेट्दैन । जनयुद्धकालमा पनि केही सहीद नभएका होइनन् । तर ती सबै बादलका उत्पादन थिए । हुन त २००७ सालमा प्रजातन्त्रको आगमन सँगसँगै हकपाडाका धनीमानीको घरमा कांग्रेस पसेको हो । तर राजनीति भने पसेनन् । फलस्वरुप चेत र चेतनाले उन्नयन हुन पाएनन् । पञ्चायतकालभरि तिनै व्यक्ति वा उनका सन्ततीहरुले राजाको सेवामा आआफ्ना दिन खर्चे, राजनीति भने गरेनन् । राजनीतिको शुरुवात त त्यतिबेला भयो जतिबेला बादलले अखिलको सदस्यता लिए । त्यो सदस्यताले बादललाई मात्र होइन सिंगो हकपाडा गाउँको चेतमा एउटा यस्तो कोषे ढुङगा थप्यो जो इतिहास बन्यो ।
इतिहास त्यतिकै बन्दैन । यसले साहस, संघर्ष र आन्दोलनको माग गर्दछ । विद्यार्थीकालदेखि बादलले जो संघर्ष गरेका छन् त्यसको एउटा छुट्टै इतिहास छ । कैयौं पटक मृत्युको मुखबाट बाँचेका छन् । कमसेकम दुई पटक त मलाई पनि याद छ । योभन्दा पनि बढी हुन सक्छन् । यसका लागि अझ अनुसन्धान गर्नुपर्छ । उनका पुराना साथीहरुमध्ये धेरै बिति सकेका छन् । ती साथीमध्ये सत्यनारायण यादव, कुशे यादवलगायत साथीको याद मलाई पनि आउँछन् । अन्य साथीहरु शिवनारायण यादव, विशेश्वर दास, लखन यादव महराजी, जगवीर यादव, लक्ष्मण यादव (गोनुवा), रामदेव महरा, विपतिया रामजस्ता साथीको सहयोगमा बादलले हकपाडामा पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
बादलको घरमा वामपंथी समाज
मैले अघि बादलको सौर्य र शक्तिको बारेमा बखान गर्दा तत्कालीन संयुक्त जनमोर्चाका केही नेताहरुको नाम उल्लेख गरेको छु । म भूतपूर्व भए पनि उनीहरु भने अहिलेका माओवादी केन्द्रका पुराना नेताहरु हुन् जोसँग बादलले वर्षौवर्ष संघर्षमा बिताएका थिए । उनको राजनीतिक जीवनको शुरुवात नै उहाँहरुसँग भएको थियो । त्यसैले यी व्यक्तिहरुको हकपाडा आगमनको सामाजिक राजनीतिक महत्व छ ।
उहाँहरु निश्चित रुपमा बादललाई श्रद्धाञ्जली अर्पण गर्न आएका थिए भन्ने कुरामा कुनै द्विविधा छैन तर पार्टीमा नै नभएको र पार्टी परित्याग गरिसकेको अवस्थामा घरमा नै गएर श्रद्धान्जली सभाको आयोजन गर्नु कम्युनिष्ट पार्टीको विपरित सोच हो । किनकि, कम्युनिष्ट पार्टी परित्याग पश्चात उसलाई गद्यार मात्र भनिदैन बरु तल्लो स्तरसम्मको व्यवहार गरिन्छ । तर, माओवादी र एमालेमा त्यो छैन ।
उहाँहरु समाजवादी प्रजातान्त्रिक धारलाई अनुसरण गरिसक्नु भएकाले जसपासँग समाजवादी मोर्चा बनाएकोले भोलीका दिनमा एकीकरण हुने सम्भावना पनि छ । अर्को कुरा, बुढेसकाल लागेपछि परिपक्व हुँदो रहेछ भन्ने कुरा पनि उनीहरुको आगमनले पुष्टि गर्दछ ।
अन्त्यमा, २०८० मंसिर ९ गते बादलको असामयिक, अप्रत्याशित, असामान्य र अनौठो किसिमको मृत्युले सबैलाई स्तब्ध र मर्माहात पारेको छ । किनकि, उनी पथपरहेजको ज्वलन्त प्रमाण थिए । वर्षौवर्षदेखि उनको खानपिनमा कुनै किसिमको परिवर्तन आएको थिएन । जतिबेला पार्टीको कार्यक्रममा जाँदा खल्तिमा दुईचारवटा रोटीसँगै नुन र काँचो खुर्सानी बोक्न बिर्सिदैन्थे । यो उनको आदत अभ्यासमा रुपान्तरित भइसकेको थियो । यतिका परहेजसँग रहने व्यक्ति कसरी यति चाँडो दुनियाँ छोडेर गए भन्ने कुरा सबैको लागि सोचनीय विषय बनेको छ ।
म त व्यक्तिगत रुपमा यस्तो साथी गुमाएको छु जोसंग मेरो बहुआयामिक सम्बन्ध र साइनो थियो । यस्तो व्यक्तिको संस्मरणमा एउटा कुनै ट्रष्ट निर्माण हुन सकेको भए त्यसले बादललाई युगौ युगसम्म जिवन्तता प्रदान गर्थ्यो । तर परम्परावादी सोचको कारण दस लाख रुपैयाँभन्दा बढी स्वहा भयो । कुनै गुणात्मक काम हुन सकेनन । लाखौ लाख बर्बाद गर्ने समाजका अगुवाहरुलाई सदबुद्धी कहिले आउलान भन्ने कुरा सिंगो मधेशी समाजको उन्नयनका लागि कार्यरत संस्थाहरुले सोच्नै पर्छ । कमसे कम जुन राजनीतिक पार्टीसँग उनी आबद्ध थिए, त्यसका नेताहरुले पनि सोच्नु पर्ने विषय हो यो ।
के ठूलो भोज समाजको लागि लाभदायक छ, छैनन भने नेताहरुले बहिष्कार गर्न सक्नु पर्छ । अन्यथा मधेशी समाज दाइजोमा बर्बाद भएजस्तै भोजबाट ओरालो लाग्ने पक्का छ । बादल भोजको प्रतिक थिएन । उनी समाज रुपान्तरणको पक्षपाती थिए । भोजले समाजलाई रुपान्तरण गरेको इतिहास छैन । त्यसैले मृतकको सोच के थियो त्यो अनुकूल सन्तानले काजकिरिया गर्नु पर्नेमा उनको विपरित धार अपनाएको देखिन्छ । हिन्दु दर्शनको आधारमा व्याख्या र विश्लेषण गर्ने हो भने यसले उनको आत्मालाई कहिल्यै सन्तुष्टि दिदैन । शब्दश्रद्धान्जली ।
(जगिया जानकी कुटिर, सिरहा नगरपालिका–१९ सन्हैठा)

तपाईको प्रतिक्रिया