Khadya Bibhag

बालकुमारी घटनामा कहाँ चुक्यो प्रधानमन्त्रीको जासुस

‘बालकुमारी घटनामा चिज देखिएको जस्तो छैन त्यसभित्र अर्कै केही छ, थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ भन्ने मैले अनुभूती गरेको छु ।’
दुई जना युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटनाको तीन दिनपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति हो यो । बालकुमारीनजिकै रहेको ग्वार्कोस्थित वैदेशिक रोजगारीमा इपिएस कार्यालयमा फारम भर्न नपाएका युवाले पुस १३ गते बिहानैदेखि सडकमा आन्दोलन गरिरहेका थिए ।
त्यतिसम्म कुराको जानकारी नराख्ने प्रधानमन्त्री प्रचण्डले त्यो घटनालाई गणतन्त्रमाथिको षड्यन्त्र भएको घटनासँग जोडेर हेर्नु भएको छ । त्यो अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डको खुब आलोचना भयो । के बालकुमारीमा युवा आक्रोशित छन्, जुनसुकै बेला भड्किन सक्छ भनि अनुमान प्रधानमन्त्री कार्यालयलाई अनुमान थिएन र ? थियो । परस्थिति बारे सबै जानकार थिए तर त्यसलाई विश्लेषण गरेर नियन्त्रणमा लिने प्रयास कसैले गरेन ।
प्रधानमन्त्री मातहतमै देशको जासुसी सस्था राष्ट्रिय अनुसन्धान विभाग छ । सो अनुसन्धान विभागअन्तर्गत सूचना संकलन गर्ने, गुप्तचरी गर्ने २२ सय जनताको जत्था छ । त्यसको आधा जनशक्ति त काठमाडौँ उपत्यकामा खटेका हुन्छन् । तैपनि त्यहाँको परस्थिति बारे प्रधानमन्त्री कार्यालयले किन विश्लेषण गर्न सकेन र नियन्त्रणमा लिन सकेन भनि प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न तेर्सिएको छ । आफ्नो मातहतका कार्यालयले गरेको गल्तीलाई ढाकछोप गर्न प्रधानमन्त्री प्रचण्डले गणतन्त्रमाथि खतरा रहेको भनि टिप्पणी गर्नुभयो ।
बेचारा घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई सरकारले पुस १४ गते निलम्बन नै गर्यो र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालय र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलायो ।
घटनाको विश्लेषण गर्ने हो भने उहाँहरुको कुनै दोष देखिदैन । गृहमन्त्रालयको सूचना षड्यन्त्रले जस्तो सूचना दिने हो त्यसै सुचनाको विश्लेषण गरी तल फिल्डमा खटिने प्रहरी अधिकारीले कार्यान्वयनमा जाने हो तर न प्रधानमन्त्री प्रचण्ड मातहत रहेका जासुसी संस्था (अनुसन्धान विभाग)ले न कुनै सूचना दिन सक्यो न गृहमन्त्रालको सूचना संयन्त्रणले सूचना पुर्याउन सक्यो ।
सरकारको करोडौंको लगानीमा उच्चस्तरीय तालिम, प्रविधि, हतियारसहित अनुसन्धान विभागलाई प्रधानमन्त्री प्रचण्डले आफ्नो मातहत राख्नु भएको छ । देशको जासुसी गर्ने संस्था अर्थात गुप्तचर संस्था राष्ट्रिय सुरक्षाको मामिलामा प्रमुख अंग मानिन्छ । उसले दिने सूचनाका आधारमा नै देशको सुरक्षा अवस्थाको बारेमा विश्लेषण हुन्छ ।
सुरक्षा र देशको वस्तुस्थिति बारे अनुसन्धान विभागले मात्र होइन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सूचना सङ्कलनका लागि संयन्त्र बनाएका छन् । त्यसका लागि ती निकायले पनि करौडौ रुपियाँ खर्च गरेका हुन्छन् । ती सबैले संकलन गर्ने सूचनालाई विश्लेषण गरी वस्तुस्थितिमाथि काबु लिने गरेका हुन्छन् । तर बालकुमारी घटनामा सबैले लापरवाही गरेको देखिन्छ । कसैले कसैलाई सूचना नै दिएन । र दुई जना कलिला युवाको ज्यान गयो ।
राष्ट्रिय अनुसन्धान विभागले गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्रसँग मिलेर काम गर्नुपर्ने हो । तर, सो अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा राखिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला आफूलाई शक्तिशाली देखाउन र देशका सम्पूर्ण संयन्त्रमाथि नियन्त्रण गर्नका लागि राष्ट्रिय अनुसन्धान विभागलगायत विभिन्न निकाय आफ्नो मातहत लिनुभएको थियो । विभागलाई प्रधानमन्त्री कार्यालयअन्तरर्गत राखेपछि सेना, प्रहरीले त्यसको सूचनालाई कुनै महत्व दिँदैन । यता, अनुसन्धान विभागले पनि आफूलाई सुपर ठान्छ र गृहमातहत रहेको सूचना संयन्त्रलाई कुनै महत्व दिँदैन ।
विभाग गृहमन्त्रालय मातहत हुँदा चार वटै सुरक्षाको सुचना संयन्त्र बिच छलफल हुन्थ्यो । एक–एक हप्तामा बैठक बस्थ्यो र सबै सूचनाको विश्लेषण हुन्थ्यो तर विभाग प्रधानमन्त्री कार्यालयमार्फत गएपछि गृहले विभागको सूचनालाई वास्ता गर्न छाडेको छ । यिनै खिचातानीको बिच आएका सूचनाहरु अलमलमा परे र बालकुमारीमा दुई जना युवाको ज्यान गयो । यी सूचना संयन्त्रको बारेमा सरकारले पुनः विचार नगर्ने हो भने देशमा यो भन्दा ठूलो घटना हुँदैन भनि भन्न नसकिने टिप्पणी भइरहेको छ ।

तपाईको प्रतिक्रिया