Khadya Bibhag

सिके राउतमा किन आयो यो खालको विचलन ?

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत २०७९ को संसदीय चुनाव जितेपछि सरकारमा जानका लागि दौडधुपमा लाग्नुभयो । अन्य ठूला दललाई भन्दा अध्यक्ष राउतलाई सरकारमा जान हतार थियो । सरकार बन्ने सुरसार पनि थिएन तर उहाँले सरकारमा सहभागी हुने घोषणा गर्नुभएको थियो र त्यसका लागि उहाँले घरदैलो पनि गर्नुभयो ।
त्यस्तो किन त भनि त्यतिबेला प्रश्न गर्दा उहाँले भन्नुभएको थियो, ‘हामी जनताको कामका लागि आएका हौं र जनताको काम सरकारमा नगइकन हुँदैन । विकास निर्माणका कामहरु सरकारको माध्यमबाट मात्र हुने भएकाले सरकारमा जान आवश्यक छ ।’ तर संसद र सरकारमा गएको एक वर्ष भइसकेको छ । एक वर्षमा केही उपलब्धी गर्न नसकेपछि उहाँ व्यवस्थामाथि नै प्रश्न उठाउनु थाल्नु भएको छ । पुरै सिस्टम परिवर्तनकै कुरा गर्न थाल्नु भएको छ ।
सरकारमा सहभागी भएको ६ महिनापछि सिके राउत नेतृत्वको पार्टीले सत्ताभोगी भयो, उसले केही गर्न सकेन भनि आरोप लाग्न थालेपछि उहाँले तिमीहरु जनमत पार्टीलाई धेरै भन्दा धेरै सिट दिएर किन संसदमा पठाएनौं, यहाँ संसद र सरकारमा अंकगणित खेल हुँदो रहेको छ । एक जनालाई मात्र जिताएर पठाएपछि त्यसले गर्ने काम कति हो, उसको यहाँ कसैले सुनिरहेको छैन भनि प्रतिकृया दिनुभएको थियो ।
आउने चुनावबाट धेरैभन्दा धेरै सीट जिताएर संसदमा पठाउनुस्.अनि हामीले काम गरेर देखाउँछौं भन्दै जनमताका अध्यक्ष राउतले मिसन ८४ सुरु गर्नुभयो । मधेश प्रदेशमा आफ्नै सरकार बनाउने, लुम्बनी प्रदेश र कोही प्रदेशमा सम्मानजनक उपस्थिति देखाउने तथा संघीय संसदमा धेरै भन्दा धेरै संसद जिताएर ल्याउने अभियान उहाँले चलाउनुभयो । त्यसका लागि वडा तहबाट नै संगठन सुदृढीकरणमा लाग्नुभयो । अधिवेशनका कार्यतालिका सार्वजनिक गर्नुभयो । तर त्यो भनाईमा पनि अध्यक्ष राउत धेरै दिन टिक्न सक्नुभएन ।
अब उहाँले भन्न थाल्नुभएको छ, संसदमा बहुमत लिएर आए पनि यहाँ केही गर्न सकिदैन, ब्युरोक्रेसीले काम गर्न दिँदैन अब यो व्यवस्था नै फेर्नुपर्छ । पुरै व्यवस्था नफेरेसम्म मधेशी जनताको कल्याण हुँदैन । उहाँले सञ्चारकर्मीसँग भन्नुभएको छ, ‘हामीले धेरै संसद जिताएर ल्याए पनि के हुन्छ, बहुमतको सरकार बनाए पनि के हुन्छ कर्मचारीतन्त्रमा त्यही काँग्रेस, त्यही माओवादी, त्यही एमालेको बर्चस्व छ, त्यही पार्टीका युनियनहरु बलिया छन् हाम्रो सरकार भए पनि उनीहरुले एउटा कामलाई पनि अगाडि बढ्न दिँदैन । हामीलाई डिस्टर्ब गरिरहन्छ ।’
यी कुराहरु सुन्दा त चुनाव जितेपछि जनतालाई देखाएको सपना क्षणभरमा नै अध्यक्ष राउतले भताभुङ गर्नुभयो । मधेशी जनताले सोच्न थालेका छन् कि जिताएर पठाए पनि केही काम गर्न सक्दैन भने किन मत खेर फाल्ने बरु काँग्रेस, एमाले र माओवादीलाई मत दिए भने काम लाग्छ ।’
सिके राउत एउटा अडान र एउटा विचारमा टिक्न सक्नु भएन । विचार र कार्यशैलीमा पटक पटक आएको विचलनले उहाँ आफ्नो लक्ष्यसम्म पुग्न नसकेको टिप्पणी भइरहेको छ । छुट्टै देश बनाउने उद्देश्य लिएर अमेरिकाबाट नेपाल आउनु भएका राउत त्यसका लागि लामोसमय संघर्ष गर्नुभयो तर त्यो अभियानलाई पनि एक धारबाट अगाडि बढाउन सक्नु भएको थिएन ।
त्यतिबेला पनि विभिन्न क्रियाकलाप र प्रयोगमै समय बर्बाद गर्नुभएको टिप्पणी भइरहेको छ । कहिले नमुना चुनाव, कहिले कोठली बाहर मतदान त कहिले सेना दस्तालाई तालिम, कहिले मुठीदान कार्यक्रम त कहिले फूल वितरण, कहिले निमको पेड रोप्ने त कहिले के त कहिले के भनेर उहाँले आन्दोलनलाई अल्झाई रहनुभयो । र, अन्ततः त्यो सफल भएन र सरकारसँग ११ बुँदे सम्झौता गरेर मुलधारमा उहाँ आउनुभयो ।
मूलधारमा आए पनि कहिले एउटा लक्ष्य र उद्देश्यमा पार्टीलाई अगाडि बढाउन सक्नु भएन । कहिले भ्रष्टाचार विरुद्धको आन्दोलनमा लाग्नुभयो भने कहिले किसानलाई मल खाद उपलब्ध गराउने आन्दोलनमा लाग्नुभयो । उहाँ आन्दोलन पनि विभिन्न रुपमा गर्न थाल्नुभयो जसले गर्दा उहाँका पार्टीका कार्यकर्ताहरु अन्योलमा देखिएका थिए । आखिर सिके राउतले गर्न के खोज्नुभएको हो भनि प्रश्न नेता तथा कार्यकर्ताले पनि गर्न थालेका थिए ।
आखिर सिके राउतमा यस्तो विचलन किन आयो त । मधेशका एक जना राजनीतिक विश्लेषक भन्नुहुन्छ, ‘सिके राउतमा निकै ठूलो महत्वकांक्षा छ र उहाँले त्यस्तै प्रशिक्षणा कार्यकर्तालाई पनि दिनुभएको छ ।’ उहाँले हरेक कुराको रिजल्ट (परिणाम) तत्काल खोज्नुहुन्छ । उहाँलाई लागेको थियो चुनाव जितेर सरकारमा गएपछि त्यसको भोलीपल्टबाट नै जादुको छडी घुमाए जसरी सबै काम हुन थाल्छन् जनतासँग गरेका वाचा पुरा हुन थाल्छन् । तर उहाँले सोचे जस्तो भएन र उहाँ आतिन थाल्नु भएको छ, जथाभावी बोल्न थाल्नु भएको छ ।
उहाँमा कुनै कुराको धैर्यता छैन, त्यो आज मात्र होइन, बाल्यकाल, विद्यार्थीकाल, जागिरकालमा पनि त्यो देखिएको छ । उहाँको जीवनी पढ्दा पनि थाह हुन्छ कि छिटोछिटो रिजल्ट खोज्ने, यदि त्यो प्राप्त भएन भने प्रतिकृया देखाइ हाल्ने । एक पल्ट त यस्तो अवस्था आएको थियो कि उहाँ जोगि भएर पनि हिड्नु भएको थियो । हरेक कुरा तत्काल पाउने आकांक्षा देखाउनु हुन्छ यदि त्यो पाइएन भने तत्कालै प्रतिकृया पनि देखाई हाल्ने उहाँको बानी हो र त्यो बानी अहिले राजनीतिमा देखाइ रहनु भएको छ । तर व्यक्तिगत जीवनमा जस्तो राजनीतिमा ती सबै सम्भव छैन ।
ती विश्लेषकले भन्नुभयो, ‘नेपालको राजनीतिमा त्यो सम्भव नै छैन, राजनीतिमा धैर्यता पनि धेरै ठूलो कुरा हो, एउटा टीममा बसि सकेपछि त्यो टिम खराब होस् या सही त्यसले गरेको दिशानिर्देशका आधारमा हिड्नुपर्छ यदि टिमले राम्रो काम गरेन, राम्रो लागेन भने तत्काल छोडेर हिड्नुपर्छ यदि टिम छाडिएन भने त्यसले गर्ने सही गलत निर्णयकोे भागिदार पनि बन्नुपर्छ ।’ एउटा टिममा खेलेपछि त्यो टिम हार्दा कसैले म हारेको छैन त्यो टिम हारेको हो भन्न पाइदैन, टिम हारेपछि त्यसको जस अपजस त्यो टिममा रहेका सबैले लिनुपर्छ तर सिके राउतमा त्यो बानी छैन ।
टिम खराब हो त्यही भएर हार्यो म खराब छैन फलानोको कारण हार्यो भन्दै पन्छिने गर्नुहुन्छ उहाँ । उहाँ सफल नहुनुको मुख्य कारण त्यही नै हो भनि राजनीतिक विश्लेषकहरुको बुझाई छ । एउटा सुझबुझ भएको नेतामा यो खालको विचलन आउनुले देशलाई कुनै बेला ठूलो दुर्घटनामा लैजानसक्छ । त्यस्तो व्यक्तिले कुनबेला के निर्णय लिन्छन् त्यो कसैलाई थाह हुँदैन ।

तपाईको प्रतिक्रिया