Khadya Bibhag

जनमत र लोसपाले सरकार तथा गठबन्धन बारे किन लिन सकेन निर्णय ?

काठमाडौँ फागुन २१ गते । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले अहिलेको वर्तमान सरकार र गठबन्धनको बारेमा कुनै निर्णय लिन सकेनन् ।
आज दुवै पार्टीको छुटा छुटै बसेको बैठकले सरकार र गठबन्धनको बारेमा कुनै निर्णय लिन सकेन । लोसपा ‘वेट एण्ड सी’ (पर्ख र हेर) को अवस्थामा रहेको छ ।
हाललाई कुनै पक्ष वा विपक्षको बारेमा निर्णय नलिने केही समय हेर्ने निर्णय गरेको सो पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो । उहाँले आफूहरु अहिले पक्ष वा विपक्ष कहाँ जाने निर्णय नगरी ‘वेट एण्ड सी’ को अवस्थामा रहेको बताउनुभयो ।
सरकार तथा गठबन्धनको बारेमा थप केही निर्णय लिनुपरे पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको उहााले बताउनुभयो । अहिले बनेको गठबन्धनले लोसपासँग कुरा गर्न चाहे भने त्यसको बारेमा अध्यक्ष महन्थ ठाकुरले निर्णय लिने भएको छ ।
त्यस्तै जनमत पार्टीले पनि अहिले बनेको नयाँ गठबन्धनमा जाने कि नजाने बारेमा कुनै निर्णय लिन सकेन । पार्टीका उपाध्यक्ष दीपक साहले भन्नुभयो, ‘हाम्रो पार्टीले अहिलेको सरकारलाई सुरुदेखि समर्थन गरकै छ तर अहिले बनेको नयाँ गठबन्धनमा जाने कि नजाने बारेमा हाललाई कुनै निर्णय गरेका छैनौं ।’
जनमतले गत २०७९ पुस १० गते बनेको माओवादी–एमाले गठबन्धनले गरेको सहमति कार्यान्वयन हुनुपर्ने जोड दिएको छ । मधेश प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने थियो । त्यसमा जसपा पहिलो चरणमा नेतृत्व गर्ने भने दोस्रो चरणमा जनमतले नेतृत्व गर्ने थियो । तर हालसम्म त्यो कार्यान्वयनमा आएको छैन । संघीय सरकारमा पनि सहमती भए अनुसार मन्त्रालय नदिएको गुनासो जनमतको रहेको छ ।

तपाईको प्रतिक्रिया