पक्की पुलको ठाउँमा झोलुङ्गे पुृल उपहार (फरकमत)

–विजयकुमार यादव
फागुन १२ गते धनुषा र सिरहाबासी लागि धेरै खुशीको दिन हुनसक्थ्यो । सिरहाको सिरहा नगरपालिका–१३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको ‘कठाल–मल्हनिया–मल्टिस्पान’ झोलुङ्गे पुललाई देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।
देशकै सबभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन प्रधानमन्त्रीबाट उद्घाटन गर्नु मधेश प्रदेशका लागि गौरबको कुरा हुन्थ्यो । मधेश प्रदेशका जनताले यसलाई एउटा ठूलो उपलब्धीको रुपमा लिन्थ्यो तर एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाईको पुल उद्घाटन भएपछि मधेशी जनतामा कुनै उत्साह छैन, कुनै खुशी छैन ।
त्यो कुरा प्रधानमन्त्री प्रचण्डले पुल उद्घाटन गर्दा आम जनताको उपस्थितिले नै पुष्टि गरेको छ । सिरहा–धनुषाको जनताले झोलुङ्गे पुलको होइन, धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माणको चाहना राखेको थियो । वर्षौदेखि आश लिएर बसेको पुल निर्माण नहुँदा जनता निराश भएका छन् । त्यही छेउमा झोलुङ्गे पुल उद्घाटन गर्दा जनतामा आक्रोश र निराशा दुवै देखिएको थियो ।
सिरहा–धनुषा जोड्ने हुलाकी सडकको त्यो पुलको निर्माण कार्य सुरु भएको १२ वर्ष बितिसक्दा पनि अझै पूरा भएको छैन । तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ । एउटा पुल तोकिएको समयभन्दा ६ महिनाअघि नै निर्माण हुनु र अर्कोतिर त्यही छेउमा रहेको अर्को पुल १२ वर्ष बित्दा निर्माण हुन नसक्नुले मधेशी जनतामा झन चिन्ता बढाएको छ । मधेशी जनताको सपना झोलुङ्गे पुल होइन, कपलाको पुल थियो, जुन सपना पुरा गर्न प्रधानमन्त्री प्रचण्डले तत्पर्यता नदेखाएको पुष्टि हुन्छ ।
यदि त्यो पुल निर्माण गर्न प्रधानमन्त्री प्रचण्ड गम्भीर भएको भए झोलुङ्गे पुलको उद्घाटन गर्न आउनु हुन्थेन । यदि झोलुङ्गे पुलको उद्घाटन गर्नु नै थियो भने आउनुभन्दा पहिलो हुलाकी सडकको सिरहा–धनुषा जोड्ने त्यो पुलको बारेमा एउटा ठोस सन्देश दिनुपथ्र्यो । उहाँबाट एउटा विश्वासिलो धारणा आउनु पथ्र्यो । झोलुङ्गे पुलको उद्घाटन गर्नुभन्दा पहिला हुलाकी सडकको त्यो पुलको अवस्थाको अवलोकन गर्नु पथ्र्यो र त्यहाँ ठेकेदार कम्पनीलाई विशेष निर्देशन दिनु पथ्र्यो तर त्यस्तो कुनै निर्देशन दिनु भएन उल्टै फर्किने बेलामा हेलिकप्टरबाट हुलाकी सकडकको सिरहा–धनुषा जोड्ने त्यो कमला पुलको अवस्थाको अवलोकन गर्नुभयो ।
यसैबाट पुष्टि हुन्छ कि देशका प्रधानमन्त्री त्यो पुल निर्माणप्रति कति संवेदनशिल हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डका व्यवहारले त त्यो पुल चाँडै निर्माण होस् भन्ने इच्छा देखाउनु भएको छैन ।
धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मल्हनिया जोड्ने झोलुङ्गे पुल निर्माण सक्नुपर्ने अवधि २०८१ असार ११ गतेसम्म थियो । निर्माणको जिम्मा पाएको श्री सपना÷उमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौँले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा ग¥यो । यो धेरै नै खुशीको कुरा हो तर जनता खुशी छैन । यही झोलुङ्गे पुल जस्तै हुलाकी सकडको त्यो कमला पुल निर्माण भएको भए प्रधानमन्त्री प्रचण्डको जय जय हुन्थ्यो ।
बरु त्यहाँका स्थानीय तथा नागरिक समाजको तर्फबाट समाजिक अभियन्ता रामरिझन यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर हुलाकी सकडको त्यो कमला पुल निर्माणका लागि लिखित रुपमै आग्रह गर्नुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं काँग्रेसका नेता रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं काँग्रेसका नेता कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गर्नुभयो । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।
उहाँहरुका आग्रहपछि प्रधानमन्त्री प्रचण्डले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । भत्केको कमला पुलको विषयमा पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाउनु भएको थियो ।
२०६८ मा तीन वर्षभित्र निर्माण गरिसक्ने सम्झौता भएको हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल अहिलेसम्म बनेको छैन । पुल अन्तिम चरणमा पुगेको भनिएका बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि थप समस्या भएको छ । पुल मर्मत काम भइरहेको छ तर यस्तो सुस्त गतिमा काम भइरहेको छ कि लाग्छ अर्को पाँच वर्षमा पनि यो पुल बन्द कि बन्दैन अन्योल नै छ । त्यहाँ काम गर्ने काम गर्ने कामदारहरुबाट बुझ्दा ठेकेदारले रकमको अभाव देखाइ रहेको छ । सरकारले रकम नै दिइरहेको छैन । जसले गर्दा कामलाई रफ्तार दिन समस्या भइरहेको काम गर्ने कामदारहरुको बुझाई छ । भाँसिएको कमल पुलको पूर्ण मर्मत गर्न अहिले थुप्रै काम बाँकी छ । काम भइरहेको कारण जनतामा थोरै भए पनि आश जागेको छ ।
(लेखक विजयकुमार यादव सिरहा जिल्लाका जसपाका नेता हुनुको साथै स्वास्थ्यकर्मी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया