जसपाको संगठित सदस्य एक लाख ४५ हजार, यसरी हुँदैछ महाधिवेशन
१६ बैशाख २०८१, आईतवार २२:२८
जनता समाजवादी पार्टी नेपाल महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । अन्तिम तयारीमा जुटिरहेको बेला सो पार्टीले आफ्नो सांगठनिक सदस्यको सँख्या सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनका अनुसार एक लाख ४६ हजारको सँख्यामा सांगठनिक सदस्य पार्टी कार्यालयलाई प्राप्त भएको छ । त्यसमा करिब एक हजार सदस्य प्रवासमा रहेका छन् ।
जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि प्रकृया सुरु गरेको छ । त्यसका लािग पार्टीको संगठित सदस्यसँख्या टुगों लगाएको छ । त्यसका लागि महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पनि पारित गरेको छ । बैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकले कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदललले तयार पारेको निर्देशिका पारित गरेको छ । निर्देशिका अनुसार एक हजारदेखि १२ सयसम्म महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको छ ।
कार्यकारिणी सदस्य राउतले महाधिवेशन प्रतिवेदन एक हजारदेखि एघार सयसम्म रहने बताउनुभयो । अब निर्देशिका अनुसार चाँडै नै महाधिवेशन प्रतिनिधि चयन हुने उहाँले बताउनुभयो । तत्कालिन समाजवादी पार्टी र राजपाबिच एकीकरण भएर जसपा बन्दासम्म पार्टीमा आवद्ध रहेका सम्पूर्ण सदस्यहरुलाई संगठित सदस्यको रुपमा राखिएको छ ।
त्यस्तै २०८० फागुन ३० गतेभित्र जसले साधारण सदस्यता लिएर संक्रिय सदस्य बनेका छन् त्यसलाई पनि संगठित सदस्यमा राखेको छ । २०८० फागुन ३० गतेपछि सदस्यता लिएकालाई संगठित सदस्यको रुपमा मानिएको छैन । फागुन ३० गतेअघि जसले साधारण सदस्यता लिए र संक्रिय सदस्यका लागि प्रकृया अनुसार निवेदन दिएका छन् ती सबै संगठित सदस्य बनेको उहाँले बताउनुभयो ।
पार्टीको संगठित सदस्य टुगों लगाए पनि पार्टीको सम्पूर्ण सदस्य सँख्या कति रहेका छन् त्यसको यकिन तथ्यांक पार्टीसँग छैन । संगठन विभागका सचिव लाक्पा शेर्पाका अनुसार साधारण सदस्यको तथ्यांक पार्टी केन्द्रीय कार्यालयसँग हुँदैन । पार्टीको शक्ति भनेकै संगठित सदस्य हो, त्यसको तथ्यांक अध्यावधिक हुन्छ, अरु साधारण सदस्यको तथ्यांक नराखिएको उहाँले बताउनुभयो ।
यसरी चयन हुन्छ प्रतिनिधि
महाधिवेशनमा प्रतिनिधि निर्वाचित गर्दा कम्तिमा एक तिहाई महिला सहित विविधता प्रतिविम्बित हुने गरी विभिन्न जातीय÷सामाजिक समूहहरुबाट समावेशी हुने गरी निर्वाचन गरिने निर्देशिकामा उल्लेख छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका २०० सम्म संगठित पार्टी सदस्यबाट एक जनाको दरले प्रतिनिधि निर्वाचन हुने बताइएको छ । छनौट पश्चात्त प्रत्येक २०० मा थप एक–एक जना प्रतिनिधि निर्वाचित हुने निर्देशिकामा उल्लेख छ । पहिचानमा आधारित प्रत्येक राष्ट्रिय समिति (लिम्बुवान, किरांत, मधेश, शेर्पालुङ, ताम्सालिङ, नेवा, तमुवान, मगरात, थरुहट, खसान तथा शिल्पी÷दलित) बाट एक जना महिला सहित तीन जना निर्वाचित हुनेछ ।
प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु मध्येबाट दुई जना महिलासहित पाँच जना प्रतिनिधि निर्वाचन हुन्छ तथा जिल्लाभित्रका २०० भन्दा कम संगठित सदस्य हुने जिल्ला समितिले पदाधिकारी तथा सदस्यहरुमध्ये बाट एक जना महिला सहित दुई जना प्रतिनिधि निर्वाचन गरिने निर्देशिकामा उल्लेख छ । जिल्लाभित्रका २०० भन्दा बढि संगठित सदस्यता भएका जिल्ला समितिले पदाधिकारी तथा सदस्यहरुमध्ये बाट एक जना महिलासहित तीन जना प्रतिनिधि निर्वाचन हुनेछ ।
केन्द्रीय सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुबाट एक जना महिला सहित दुई जना प्रतिनिधि निर्वाचन हुने बताइएको छ । प्रवास बिशेष प्रदेश समिति अन्तरर्गतका पदाधिकारी तथा सदस्यहरुमध्ये बाट दुई जना महिलासहित पाँच जना प्रतिनिधि निर्वाचन गर्नेछ । राष्ट्रिय समन्वय समितिबाट दुई जना महिलासहित पाँच जना प्रतिनिधि निर्वाचित हुनेछन् । केन्द्रीय सल्लाहकार समितिबाट दुई जना महिलासहित पाँच जना प्रतिनिधि निर्वाचन हुने निर्देशिकामा उल्लेख छ ।
पार्टीका केन्द्रीय निकायमध्येबाट कम्तिमा दुई जना महिलासहित पाँच जना प्रतिनिधि निर्वाचित गर्ने तथा आफ्नो पार्टी सदस्यता कायम रहेको निकायमध्ये कुनै एकबाट उम्मेदवार बन्न सक्नेछ । यसैगरि समाजवादी टे«ड युनियन महासंघ तथा यसका घटकहरुबाट सात, प्रेस मञ्च, नेपालबाट तीन, पिछडा वर्ग महासंघ, नेपालबाट पाँच, नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ, नेपालबाट तीन, समाजवादी महिला संघ, नेपालबाट, पाँच, समाजवादी युवा संघ, नेपालबाट पाँच, समाजवादी विद्यार्थी युनियन, नेपालबाट पाँच, समाजवादी किसान महासंघ, नेपालबाट सात जना प्रतिनिधि चयन हुने निर्देशिकामा उल्लेख छ ।
संघीय समाजवादी खेलकुद महासंघ, नेपालबाट तीन, समाजवादी सांस्कृतिक महासंघ, नेपालबाट, संघीय कानुन व्यवसायी एसोसिएसनबाट पाँच, सुकुम्वासी व्यवस्थापन संघबाट तीन, समाजवादी दलित मुक्ति संगठन, नेपालबाट पाँच, मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालबाट सात, बौद्धिक पेशाकर्मी महासंघ तथा यसका घटकहरुबाट सात, समाजवादी आदीवासी जनजाती महासंघ तथा यसका घटकहरुबाट सात, मुस्लिम संघ नेपाल, समाजवादी युवा स्वयमसेवक संघ, समाजवादी भु.पू सैनिक महासंघ, समाजवादी खस संघ र समाजवादी थारु संघबाट पाँच–पाँच जना प्रतिनिधि चयन हुने कार्यकारिणी सदस्य लालबाबु राउतले बताउनुभयो ।
निर्वाचित समिति गठन
स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढंगले प्रतिनिधि निर्वाचन गर्न गराउन दिपेन्द्र झाको नेतृत्वमा केन्द्रमा केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ । त्यस्तै, प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । केन्द्रीय निर्वाचन समितिले प्रदेशमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन प्रकृया पार्टीको विधान तथा निर्देशिका अनुसार गराउन प्रदेश निर्वाचन तदर्थ समिति संग समन्वय गर्ने बताइएको छ । प्रदेश निर्वाचन तदर्थ समितिले प्रत्येक जिल्लामा निर्वाचन अधिकृत खटाउने छ भने निर्वाचन अधिकृत चयन गर्दा पार्टीको जनवर्गीय÷बौद्धिक पेशाकर्मी संगठनलाई प्राथमिकतामा राखिनेछ ।
निर्वाचन अधिकृतले संगठित सदस्यहरुको नामावली संगठन विभाग वा प्रदेश समितिबाट प्राप्त गर्नेछ । निर्वाचन अधिकृतले आवश्यकता अनुसार जिल्लामा मतदान अधिकृत तथा अन्य सहयोगीहरु नियुतm गर्नेछ । निर्वाचन अधिकृतले राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्दा विधानको धारा ८४ र ८५ तथा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका बमोजिम हुने बताइएको छ ।
प्रदेश निर्वाचन तदर्थ समितिको प्रतिनिधि छनौटको निर्वाचन उपर चित्त नवुझेको खण्डमा पार्टिको विधान वमोजिम पुनरावलोकनका लागि निवेदन दिन सक्ने पार्टीद्वारा जारी गरिएको सर्कुलरमा उल्लेख छ । राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुनका लागि विधानको धारा – ८५ अनुसार उम्मेदवारको योग्यता पुगेका संगठित सदस्यले मुलुकको कुनै पनि ठाँउबाट प्रतिनिधि बन्न सक्नेछ । प्रतिनिधि चयन गर्दा विधान तथा निर्देशिका अनुसार भए÷नभएको केन्द्रीय निर्वाचन अधिकृतले गर्ने भनिएको छ ।
प्रतिनिधि छनौट भए पश्चात्त ज्येष्ठ १५ गते सम्म संगठन विभागले अभिलेखिकरण गर्ने तथा केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूची प्रकाशन गर्ने पनि भनिएको छ । प्रतिनिधिको विवरणमा नाम–थर, ठेगाना, सदस्यता नम्बर, निर्वाचित भएको क्षेत्र, फोटो तथा सम्पर्क नम्बर प्रमाणित गर्न संगठन विभागले अधिकारी तोक्ने सर्कुलरमा उल्लेख छ ।
संगठन विभागले प्रतिनिधिको प्रमाणिक विवरण र परिचय–पत्र तयार गरी विवरण सहित केन्द्रीय निर्वाचन समितिलाई निर्वाचनका लागि उपलब्ध गराउने छ ।
प्रतिनिधिको प्रमाणिक विवरण उपर कसैलाई चित्त नवुझेको खण्डमा प्रमाणसहित निवेदन दिइएमा केन्द्रीय निर्वाचन समितिले भएको त्रुटी सच्याउनु पर्नेछ । यसरी प्रतिनिधिको प्रमाणिक विवरण प्राप्त भए पश्चात्त केन्द्रीय निर्वाचन समितिले प्रदेश निर्वाचन समितिसँग समन्वय गरी निर्वाचनको कार्यक्रम, निर्वाचन विधि लगायत निर्वाचनका सम्मपूर्ण विवरण सार्वजनिक गर्ने भनिएको छ ।
प्रतिनिधि चयन सम्बन्धि विवादको अन्तिम निर्णय केन्दीय निर्वाचन समितिले गर्ने भनिएको छ । यसका अतिरितm आवश्यक पर्ने थप नियमावली, निर्देशिका र कार्यविधि केन्द्रीय निर्वाचन समितिले निर्माण गर्ने तथा अन्य प्रकृया यसै निर्वाचन समितिद्वारा निर्धारण हुने सर्कुलरमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया