प्रचारमै सिमित जनमत सरकार

–विजयकुमार यादव
मैले ‘जनमत सरकार’ भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यो भाषा जनमत पार्टीको हो । सात वटा प्रदेश छन् । हरेक प्रदेशमा कुनै नकुनै पार्टीले सरकारको नेतृत्व गरेका हुन्छन् । तर मधेश प्रदेश यस्तो सरकार हो जहाँ पार्टीको नामबाट प्रचार गरिन्छ । मधेश प्रदेशको सरकार ‘मधेश सरकार’ हो तर डा.सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले त्यो सरकारलाई जनमत नेतृत्वको सरकार भन्ने गरेका छन् ।
जनमत नेतृत्वको सरकारले नीति तथा कार्यक्रम ल्याइ सकेको छ । नीति तथा कार्यक्रम आइसकेपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहितका नेता तथा कार्यकर्ताले नारा दिएका छन् ‘जनमत है तो मुमकिन है ।’ जनमतले मधेशी जनतालाई देखाएको सपना मुमकिन होस् भनि कामना छ । म चाहन्छु कि त्यो सपना पुरा होस् । जनमत नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको अक्षरस कार्यान्वयन होस् । सपना देख्नु नराम्रो होइन तर देखेको सपना जब टुट्छ अनि त्यसको नतिजा कस्तो हुन्छ त्यो कुरा सिके राउतभन्दा बढी अरुलाई थाह छैन ।
उहाँले १० लाख युवालाई रोजगार दिने भनेर नै सप्तरी–२ बाट चुनाव जित्नु भएको थियो । त्यो सपनाबाट लठ्ठ भएर सप्तरी–२ का जनताले सिके राउतलाई जिताएका थिए तर त्यो सपना अहिले पुरा भएको छैन । सपना टुटेको छ अनि त्यसको नतिजा अहिले सिके राउतको के भएको छ त्यो उहाँलाई थाह छ । सप्तरीका जनताले उहाँको अहिले नाम पनि सुन्न चाहेको छैन । चुनावको समयमा ठूला ठूला सपना देखाएर अहिले गायब भएको गुनासो गर्न थालेका छन् ।
त्यसको जवाफमा सिके राउतले संसदमा सरकारमा शक्ति नै पुगेन । मधेशका जनताले धेरै सँख्यामा जिताएर नै पठाएन । सरकारमा भएपनि आफूहरुको कुरा नै सुनिरहेको छैन । रोजगारी दिनका लागि चाहिएको मन्त्रालय नै दिएन जस्ता बहाना बनाएर पन्छिने गर्नुभएको छ । अहिले त त्यो भन्दा ठूला ठूला सपना देखाउन थाल्नु भएको छ । जनमत नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको कार्यक्रम हेर्दा, सुन्दा जुसुकैको मन हुरुक्कै हुन्छ, मेरो नहुने कुरा नै छैन ।
पूर्ण साक्षर मधेश प्रदेश–साक्षरता अभियान, हरेक जिल्लामा पुर्ण सज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेन्स, हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क, एक करोड वृक्षारोपण, मधेश प्रिमियर लिग, मधेश इतिहास पार्क, मधेश लगानी सम्मेलन, एक पालिका एक लाइब्रेरी, हरेक चार विघामा एक बोरिङ कार्यक्रम, मधेश स्टार्ट अफ र इनोवेशन सेन्टर, टीच फर मेधश लगायत थुप्रै महत्वकाँक्षी योजनाहरु छन् । जो सुन्दा आहा भन्न मन लाग्छ । यी जति पनि कार्यक्रमहरु छन् अगामी आर्थिक वर्षमा सुरवात गर्ने भनेको छ । त्यसका लागि अर्बौ होइन, खर्बौ लगानी चाहिन्छ तर ती सबै कहाँबाट आउने हो त्यसको कुनै स्रोत देखाएको छैन ।
हुनसक्छ, अगामी आर्थिक वर्षको बजेटमा यी योजनामा बजेट हाल्नेछ तर के यी कार्यक्रमहरुका लागि प्रदेश सरकारले वजेटको व्यवस्थापन गर्न सक्छ त ? गर्न सक्छ जस्तो मलाई लाग्दैन । म त भन्छु, यो अगामी एक आर्थिक वर्षमा मात्र होइन, १० वर्षमा पनि यो कार्यक्रम कार्यान्वयनमा आइ दिए भने मधेशको कायापलट हुन्छ । तर म मात्र होइन, मधेशमा कसैले पनि सिके राउतको विकास र योजनामाथि विश्वास गरिरहेको छैन । किनभने सिके राउतले कामभन्दा बढी प्रचार गर्नुहुन्छ, त्यसले गर्दा कसैले उहाँमाथि विश्वास गरेको देखिदैन । उहाँको यो युद्धस्तरको प्रचारशैली आजको मात्र होइन, उहाँ छुट्टै मधेशको कल्पना गरेको बेलादेखि नै काम भन्दा बढी प्रचारमा ध्यान दिनुभएको थियो । सस्तो लोकप्रियतामा रमाउनेमध्येका एक हुनुहुन्छ, सिके राउत ।
कुरा गर्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो छ भन्ने कुरा अध्यक्ष सिके राउतले आफै पटक पटक भन्नुएको छ । उहाँले यो सरकार र अहिलेको व्यवस्थाबाट केही गर्न सकिदैन भनि पटक पटक भन्नुभएको छ । त्यसका लागि उहाँले नौलो गणतन्त्र ल्याउन आन्दोलनको तयारीमा लाग्नुभएको छ ।
अहिलेको सरकार, मन्त्री तथा ब्युरोक्रेसीबाट केही गराउन सकिदैन भनि उहाँले पटक पटक भन्नुभएको छ तर प्रदेशमा आफ्नो पार्टी जनमत पार्टीले सरकारको नेतृत्व पाउने बित्तिकै विभिन्न महत्वकाँक्षी योजनाहरु सार्वजनिक गर्नुभएको छ । उहाँले अहिलेको सरकार तथा मन्त्रीहरु केही गर्न सक्दैन भन्नुभएको छ भने अर्कोतिर यस्तो महत्वकाँक्षी नीति तथा कार्यक्रम ल्याउनु भएको छ । ती योजनाहरु अनुसार काम होला भनि कसैले विश्वास गर्न सक्दैन ।

तपाईको प्रतिक्रिया