मधेस प्रदेश माओवादी केन्द्रका बहुमत सांसदले संसदीय दलको नेता भरतप्रसाद साहलाई पदबाट हटाउन प्रदेश सभाको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका साह मधेश प्रदेशमा पार्टीहित विपरित गलत गतिविधि गरेको दावीसहित प्रदेश सभा माओवादी संसदीय दलमा सो प्रस्ताव दर्ता गराउनु भएको हो ।
माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी सो प्रस्ताव दर्ता गराउनु भयो । यसरी प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेश सभासदस्यहरु जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहनु भएको छ । प्रदेश सभा सदस्य रहबर अन्सारीले आफूहरुले उपनेता समिर भट्टराईलाई सो प्रस्ताव बुझाई सकेको र उहाँले प्रमुख सचेतक महतोलाई आवश्यक कार्यवाही अगाडि बढाउन भनिसकेको बताउनुभयो ।
दलको सम्पूर्ण सदस्य सँख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोही अुनसार प्रकृया अगाडि बढेको छ । उपनेता समिर भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइससक्नु भएको छ ।
उहाँहरुले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाउनु भएको छ । आफू मुख्यमन्त्री बन्नका लागि माओवादीकै गठबन्धन सरकार ढाल्न भारतको सुरसण्डमा प्रदेशका सांसदहरुलाई लगेर बैठक गरेको आरोप पनि उहाँमाथि लगाइएको छ । हस्ताक्षरकर्तामध्येका सांसद रोहवर अन्सारीले नेता साह सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप रहेको बताउनुभयो । बजेट निर्माण गर्दा पार्टीका कुनै पनि सांसद कुरा नसुनेको, कसैसँग कुनै राय सल्लाह नलिएको आरोप पनि उहाँमाथि छ ।
पिएलएमबिआइएस सिस्टममा कर्मचारीले ह्याक गरेको अभिव्यक्ति पनि अर्थ मन्त्री रहेकै बेला नेता साहले दिएको बताउँदै प्रदेश सभा सदस्य अन्सारीले आफै अर्थ मन्त्री भएको बेला सिस्टमलाई कसले ह्याक गर्छ त्यसको जिम्मेवारी स्वयं उहाँले नै लिनुपर्ने बेला कर्मचारीमाथि दोष थुपारेको पनि गुनासो गर्नुभयो ।


तपाईको प्रतिक्रिया