डा.सिके राउतले नेपालबाट मधेशका २२ जिल्ला अलग गरेर छुट्टै देश बनाउनका लागि लामो समय आन्दोलन गनर्नुभयो । उहाँले मधेशलाई देशबाट अलग गर्न सक्नु भएन तर अहिले आठ जिल्लाको मधेश प्रदेश उहाँको हातमा आएको छ । छुट्टै मधेश देश बनाउनका लागि शान्तिपूर्ण आन्दोलन गरेका सिके राउत आफ्नो तर्फबाट सम्पूर्ण तयारी पुरा गरिसक्नु भएको थियो ।
सम्पूर्ण प्रशासनिक संरचना बनाउनुको साथै त्यसको मान्यताका लागि संयुक्त राष्ट्र संघमा निवेदन पनि दिनुभएको थियो । तर उहाँले मधेशलाई नेपालबाट अलग गर्न सक्नुभएन । मुलधारको राजनीतिमा आउनुभयो । जनमत पार्टी गठन गर्नुभयो । २०७९ मा चुनाव लड्नु भयो । थोरै भए पनि स्थानीयदेखि प्रदेश र संघमा आफ्नो पार्टीको उपस्थिति देखाउनुभयो । अहिले आएर उहाँको पार्टी जनमतले मधेश प्रदेश सरकारको नेतृत्व नै गरेको छ । सिके राउत जो छुट्टै मधेश देश बनाउन चाहनु भएको थियो, आज संसदीय राजनीतिमा त्यही मधेशको नेतृत्व पाउनु भएको छ । अब प्रश्न उठ्छ, जे चाहनाले उहाँ मधेशलाई छुट्टै देश बाउन खोज्नु भएको थियो । उहाँले त्यही चाहना अनुसारको मधेश बनाउनु हुन्छ त ?
उहाँले मधेश वा देशको नेतृत्व पाए भने केही गरेर देखाउछौ भनि पटक पटक भन्नुभएको छ । आज आठ जिल्लाको भए पनि कोर मधेश उहाँको हातमा छ । मधेश जनताले त्यही अनुसार अपेक्षा गरेको छ । मधेशमा केही गर्नकै लागि नै अध्यक्ष राउतले मधेश सरकारसँग संघीय सरकार साट्नु भएको छ । उहाँले मधेश सरकार पाएपछि संघ सरकारतिर त्यति ध्यान नै दिनुभएको छैन । अहिलेको काँग्रेस–एमाले गठबन्धन सरकारलाई जनमत पार्टीले समर्थन गरेको छ तर सरकारमा कसैलाई पठाउनु भएको छैन ।
सो पार्टीका उपाध्यक्ष दीपक साहले भन्नुभयो, ‘हामीलाई संघीय सरकारसँग सरोकार छैन, हामीले हाम्रो सम्पूर्ण ध्यान मधेश प्रदेशमा गरेका छौं, त्यही कारणले संघीय सरकारमा हामी सहभागी भएका छैनौ ।’ जनमत पार्टीले मधेश सरकारको नेतृत्व एमाले–माओवादी गठबन्धन सरकारकै पालामा पाएको थियो । गठबन्धन परिवर्तन भएपनि काँग्रेस–एमाले गठबन्धनले मधेश प्रदेशमा जनमत गठबन्धन नेतृत्व सरकारलाई निरन्तता दियो । त्यसवापत जनमतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्यो तर सरकारमा सहभागी भएन । मधेशलाई सघीय सरकारसँग साटफेर गर्यो । जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुनुको साथै संघीय सरकारमा पनि सहभागी भएका छन् ।
जनमत पार्टीले पुरै अवधि मधेश सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव काँग्रेस–एमाले गठबन्धनसँग गरेको छ । हालसम्म गठबन्धनबाट कुनै आश्वासन प्राप्त भएको छैन, जनमत पार्टी स्रोतका अनुसार जनमतलाई पुरै कार्यकाल मधेश सरकारको नेतृत्व दिनका लागि एमाले सकारात्मक भए पनि काँग्रेसले मानेको छैन ।’ पुरै कार्यकाल पाए भने जनमत पार्टी संघीय सरकारमा सहभागी हुने छैन ।
जनमत पार्टीका एक पदाधिकारीले भन्नुभयो । ‘मधेश सरकार हामीलाई सधैका लागि सुम्पि दियो भने हामी संघीय सरकारको सोधखोज कहिले गर्दैनौं हाम्रो धारातल, बेस सबै मधेशमा भएको कारण त्यहाँको सरकारलाई नेतृत्व गर्नु पार्टीको जिम्मेवारी र कर्तव्य पनि हो । त्यसैले जनमत पार्टी मधेशका लागि जे पनि त्याग गर्न तयार छ ।’ मधेशमा जसपास नेपाल नेतृत्वको सरकार थियो । जसपा नेपालले केन्द्रमा सरकार छाडेपछि मधेश प्रदेशमा पनि उसको सरकार अल्पमतमा परेको थियो । विश्वासको मत नपाएपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि त्यो सरकारको नेतृत्व जनमत पार्टीले पाएको हो ।
तपाईको प्रतिक्रिया